अर्थ
| बजार
पालो स्वदेशी जुत्ताको
जाडो र विवाहको मौसममा स्वाभाविक रूपमा बढ्ने
बजारको प्रमुख हिस्सा लिन जुत्ता उद्योगहरू फेरि तातिएका छन्। सँगसँगै
देखिदैछ– सस्ता, गुणस्तरीय स्वदेशी जुत्ताले बजारमा वर्चस्व स्थापना
गर्ने सम्भावना।
• विवेकराज मौर्य
चीनको प्राविधिक
सहयोगमा २०२२ सालमा आधुनिक प्रविधिद्वारा जुत्ता उत्पादन शुरु गरेको
मुलुकको पहिलो बाँसबारी छाला तथा जुत्ता कारखाना बन्द भएको १३ वर्ष
भइसक्यो। त्यसयता स्थापित आधुनिक तथा सङ्गठित उद्योगहरूको व्यवसाय
पनि निरन्तर बढिरहेको छ। चीन, भारत, थाइल्याण्ड लगायतका मुलुकबाट आयात
गरिने जुत्ता तथा चप्पलको बजार–वर्चस्वलाई स्वदेशी उत्पादनहरूले चुनौती
दिन थालेका छन्। नेपाली उपभोक्तामाझ् स्वदेशी ब्राण्ड तथा उत्पादनप्रति
रहेको अविश्वास पनि हट्दै गएको छ। 'डिजाइन' को व्यापकता, गुणस्तर तथा
बनोटमा एकरूपता, प्रतिस्पर्धी मूल्य र प्रचुर विज्ञापनका कारण स्वदेशी
जुत्ता–चप्पलको उत्पादन तथा बजारमा उल्लेखनीय परिवर्तन आएको हो। पाँच
वर्षअघि पुरुषहरूले लगाउने जुत्तामा स्वदेशी उत्पादनको हिस्सा २० प्रतिशत
हुन्थ्यो भने हाल त्यो ३५ प्रतिशत पुगेको उत्पादकहरूको अनुमान छ।
केही वर्षअघिसम्म शहरिया मध्यवर्गीय उपभोक्ताहरूले अवहेलना
गर्ने स्वदेशी उत्पादनको बजार अचानक बढ्नुको कारण बताउँदै कोसेली शूजका
प्रबन्ध निर्देशक रविनकुमार श्रेष्ठ भन्छन्, “उपभोक्ताले चीनबाट आयातीत
सस्ता जुत्ता त पाए तर ती गुणस्तरीय थिएनन्। एकचोटि स्वदेशकै उत्पादन
प्रयोग गरेर हेरौँ न भन्ने मनस्थितिले उनीहरू नेपाली उत्पादनतर्फ आकर्षित
भएका हुन्।”
सस्तो मूल्यका कारण चीनबाट आयातीत जुत्ता लगाउने बानी
परेका उपभोक्ताहरू समेत अब गुणस्तरप्रति सजग हुन थालेका छन्। “उपभोक्ताहरू
जुत्ताको गुणस्तरप्रति प्रश्न गर्न थालेका छन्। जुत्तामा कति महिनाको
ग्यारेण्टी/वारेण्टी छ भनी चासो राख्ने कुरा सामान्य भइसकेको छ आजभोलि”,
काठमाडौँ–भोटाहिटीका एक जुत्ता व्यापारी भन्छन्।
डिजाइन र गुणस्तरको होड
 |
| तस्बिरहरूः किरण पाण्डे |
सञ्चालनमा रहँदासम्म बाँसबारी छाला तथा जुत्ता कारखाना
गुणस्तरीय उत्पादनमा प्रतिवद्ध थियो। उसले पहिल्याएको व्यवसायकै कारण
पछिल्लो समयमा स्थापित जुत्ता उद्योगहरूका लागि बजारको ढोका खुलेको
हो। तर गुणस्तरीय उत्पादन दिएपनि बाँसबारीले उपभोक्ताको चाहना बमोजिमका
नयाँ–नयाँ डिजाइन ल्याउन सकेन। निजीकरणले मात्र त्यसलाई प्राण दिन
सकेन। २०४९ सालमा कारखाना बन्द हुनुमा फितलो व्यवस्थापन नै मूल कारण
रहेको बताउँछन्, त्रिवि व्यवस्थापन संकायका प्राध्यापक डा. पुष्कर
मास्के। बाँसबारी बन्द हुनु अन्य कारखानाका लागि पाठ बन्यो।
बाँसबारीको परिणति दोहरिन नदिन पछिल्लो समयमा जुत्ता
उद्योगीहरू उपभोक्तालाई बढीभन्दा बढी डिजाइन तथा विकल्प दिन प्रतिस्पर्धा
गरिरहेका छन्। काठमाडौँ उपत्यकाका साना ठूला प्रायः सबै जुत्ता कारखानाले
५० देखि १५० डिजाइनका जुत्ता उत्पादन गर्दै आएका छन्। फिटराइट ब्राण्डका
जुत्ता तथा चप्पलहरूको उत्पादक, विराट शूका प्रबन्ध निर्देशक विराट
थापा भन्छन्, “हामीले स्कूल जुत्ताबाट उत्पादन शुरु गरेका थियौँ। अहिले
हामीसँग करीब ७० प्रकारका छालाका जुत्ता, ९–१० प्रकारका स्पोर्ट शू
तथा स्याण्डलहरू छन्। छिट्टै नै महिलाहरूका लागि स्याण्डल ल्याउने
तयारी भइरहेको छ।”
निजी क्षेत्रमा हवाई चप्पलबाट उत्पादन शुरु गरेको किरण
शूज म्यानुफ्याक्चरर अहिले सबैभन्दा ठूलो जुत्ता उत्पादक मानिन्छ।
यसले गोल्डस्टार, स्पार्क, कन्कड तथा सेभेनस्टार ब्राण्डका २५ डिजाइनमा
दैनिक आठ हजार जोर जुत्ता उत्पादन गर्दै आएको छ। उत्पादनको करीब ६०
प्रतिशत भारतमा खपत हुने गोल्डस्टार जुत्ता सस्तो र टिकाउ भएकै कारण
निम्न वर्गमाझ् लोकप्रिय रहेको व्यापारीहरू बताउँछन्।
डिजाइनमा आएको विविधता र गुणस्तरप्रति आम उपभोक्ताको
बढ्दो विश्वासले कम्पनीहरूलाई थप हौस्याएको छ। शिखर शूजका प्रबन्ध
निर्देशक रामकृष्ण प्रसाई भन्छन्, “यो उद्योगमा अझ्ै पाँच गुणाले व्यवसाय
बढ्नेे सम्भावना छ।”
विदेशी दबदबा कायमै
 |
नेपालमा करीब डेढ दर्जन छाला प्रशोधन उद्योगहरू छन्।
तर तिनबाट प्राप्त हुने छाला चाहेजस्तो नहुने भएकाले स्तरीय जुत्ता
उत्पादनका निम्ति ७५ प्रतिशत छाला भारत र चीनबाट आयात गर्नु पर्छ।
एकजोर जुत्ता बनाउन ३५ थरीका कच्चापदार्थ चाहिन्छन्। गुणस्तरलाई ख्याल
गर्दै प्रायः कच्चापदार्थ भारत, चीन र ताइवानबाट झ्िकाइन्छ। जुत्ताको
सोल बनाउने कारखाना पनि विस्तारै देखिन थालेका छन्। तर स्तरीय छाला
प्रशोधनका निम्ति पर्याप्त प्रविधि नभएका कारण स्वदेशी जुत्ता कारखानाले
त्यस्तो छाला कम मूल्यका जुत्ता बनाउन प्रयोग गरिरहेका छन्। प्रविधिको
अपर्याप्तताका कारण क्षमताअनुरूप छाला प्रशोधन गर्न नसकिरहेका कतिपय
छाला कम्पनीहरूले पहिलो चरणको प्रशोधनपछि छालालाई थप प्रशोधनका निम्ति
विदेश पठाउने गरेका छन्। कुनै पनि सफल उद्योगको सकारात्मक असर देशको
अर्थतन्त्र, समाज र आश्रित उद्योगमा पर्ने जनाउँदै लेदर विङ्सका प्रबन्ध–निर्देशक
सुरेन्द्रप्रसाद दाहाल भन्छन्, “जुत्तालाई चाहिने एकाध कच्चापदार्थ
मात्र नेपालमा उत्पादन हुन्छ। यो उद्योग बढ्दै गयो भने त्यस्ता कच्चा
पदार्थ उत्पादन गर्ने उद्योग पनि फस्टाउँछन्।”
एकातिर जुत्ता उद्योगहरूले कच्चा पदार्थका निम्ति विदेशकै
मुख ताक्नुपर्ने अवस्था छ, अर्कोतिर बजारको उल्लेख्य हिस्सा अझ्ै पनि
विदेशी ब्राण्डकै नियन्त्रणमा रहेको छ। जुत्ता उद्योगीहरूको भनाइमा
स्वदेशी र विदेशी ब्राण्डलाई एउटै आँखाले हेर्ने सरकारी नीतिका कारण
पनि स्थानीय उत्पादनको बजार विस्तार हुन नसकेको हो। १२ वर्षदेखि निम्न
तथा मध्यमवर्गीय महिलाहरूका निम्ति स्याण्डल उत्पादन गर्दै आएको एनकेसी
शूजका प्रोप्राइटर झ्लक केसी भन्छन्, “सरकारी नीतिले व्यापारी र उत्पादकलाई
एकै नजरले हेर्नु नै गलत हो।” उनको भनाइमा आयातीतको तुलनामा स्थानीय
जुत्ताहरूको कारोबार कमै भए पनि स्थानीय उद्योगहरूले सामाजिक अभिभारा
समेत बहन गरेका छन् र ठूलो सङ्ख्यामा रोजगारीका अवसर प्रदान गरेका
छन् जसलाई सरकारले उपेक्षा गर्न मिल्दैन।
स्पष्ट छ, स्थानीय उद्योगप्रतिको सरकारी उदासीनता र
कमजोर नीतिका कारण निजी जुत्ता उद्योगहरू अपेक्षाअनुरूप प्रोत्साहित
हुन नसकेका हुन्। लेदर विङ्सका दाहालको भनाइमा यसबाट पार पाउन जुत्ताको
कच्चा पदार्थ आयातमा लगाउने गरेको अत्यधिक कर हटाइनुपर्छ। “आयातीत
उत्पादनको तुलनामा कच्चा पदार्थमा १० प्रतिशत कम अर्थात् १५ प्रतिशत
कर लगाइए पनि निम्न विजक (मूल्य कम गरेर) वा भन्सार छलेर ल्याएका उत्पादनहरू
बजारमा छ्याप्छ्याप्ती हुने गरेकाले प्रतिस्पर्धा गर्न गार्हो हुन्छ”,
दाहाल भन्छन्।
उद्योगी तथा सरकारी निकायसँग मुलुकको कूल जुत्ता बजार तथा उपयोगसम्बन्धी
यकिन तथ्याङ्क नभए पनि पुरुषले लगाउने जुत्तामध्ये ३५ प्रतिशत बजार
नेपाली उत्पादनको रहेको उद्योगीहरूको अनुमान छ। महिलाका लागि आवश्यक
जुत्ताको करीब ५० प्रतिशत नेपाली उद्योगले नै धानेका छन्। पुरुष–जुत्तातर्फ
संगठित उद्योगहरूले स्थानीय उत्पादनको बजारको आधा हिस्सा मात्र पाउन
सकेका छन्। व्यापारीको भनाइमा यसरी आधा–आधा बाँडिएको व्यापारमा दुई
थरीको सरकारी नीतिले पनि समस्या पारेको छ। कोशेली शूजका श्रेष्ठ भन्छन्,
“कोही करको दायरामा नपर्ने, कोही प्यानमा दर्ता भए पुग्ने, कसैलाई
भ्याटमै दर्ता हुनुपर्ने बाध्यताले गर्दा खुलेर प्रतिस्पर्धा गर्न
सकिन्न।”
सफलताभित्रको सन्त्रास
 |
नेपाली जुत्ता उद्योगको अर्को समस्या हो– नक्कली ब्राण्डको
बिगबिगी। एउटा उद्योगले अर्को उद्योगको डिजाइन नक्कल गर्ने प्र्रवृत्ति
व्यापक बनेको छ। चर्चित डिजाइनमा हल्का परिमार्जन गरी विभिन्न ब्राण्ड
अन्तर्गत बनेका एकै डिजाइनका जुत्ताहरू बजारमा देख्न पाइन्छ। उद्योग
विभागमा एउटा डिजाइन दर्ता गर्न रु.७ हजार बुझ्ाउनु पर्ने तर डिजाइनमा
सिलाइसम्मको हल्का फरक देखाउनसके अर्कै डिजाइन दावी गर्न पाइने भएकाले
पनि डिजाइन चोरी रोक्न गाह्रो भएको शिखर शूजका प्रसाई बताउँछन्।
सस्तो तर लोकप्रिय गोल्डस्टार ब्राण्डसँग मिल्दाजुल्दा
थुप्रै नक्कली जुत्ता बजारमा आउने गरेका छन्। सम्बद्ध उद्योगीको भनाइमा,
यति हुँदा–हँुदै पनि अनेकौँ प्रयासमार्फत् यसको लोकप्रियतालाई घट्न
दिइएको छैन। अमीर राणा भन्छन्, “नेपाल लगायत भारत र चीनमा पनि हाम्रो
ब्राण्डको हुबहू नक्कल गरिएको छ। अनि, विक्रेताले ग्राहकलाई झ्ुक्याउने
गरेका छन्।” सर्वोच्च अदालतले गोल्ड स्टारको नक्कल गरी बनाइएको जुत्ताको
उत्पादन बन्द गर्ने आदेश दिएको भए पनि कमजोर अनुगमनका कारण नक्कली
जुत्ताहरूको उत्पादन नरोकिएको राणाको कथन छ।
भारतमा मात्र ८० वटा उद्योगले गोल्डस्टार को नक्कल गरिरहेका
र चीनबाट पनि नक्कल भई आउने गरेको बताउँदै राणा भन्छन्, “ट्रेडमार्क
र बौद्धिक सम्पत्तिमाथिको अधिकार (आइपीआर) को चोरी रोक्न सरकारी निकायबाट
प्रयास भएको छैन।” कतिपय परिस्थितिमा नक्कली उत्पादककहाँ आफैँले छापा
मार्न लगाएको उदाहरण दिँदै उनी थप्छन्, “ट्रेडमार्क चोरी कुनै एक उद्योगको
मात्र हुँदैन। उद्योग विभागका चार जना कर्मचारीले मात्र आइपीआर विभाग
हेर्न सक्तैनन्।”
उता, आफूले उत्पादन गरेको स्पोर्टस् जुत्ता 'चीनबाट
आयात गरी नेपालमा आफ्नो छाप (लोगो) हान्ने गरेको' भन्ने आरोपको प्रतिवाद
गर्दै छालाजुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्षसमेत रहेका विराट
थापा भन्छन्, “नेपाली जुत्ता उद्योग फस्टाएको देख्न नरुचाउनेहरूका
कारण हामीजस्ता व्यवसायीलाई मार परेको छ। तिनलाई पैठारी गरी ल्याएको
जुत्ता बिक्री गर्दा अधिक फाइदा छ।”
उद्योगले व्यहोर्नुपरेको अर्को समस्या दक्ष जनशक्तिको
अभाव पनि हो। घरेलु तथा साना उद्योग कार्यक्रम अन्तर्गत २०१९ सालमा
तत्कालीन पश्चिम जर्मनी सरकारले स्वरोजगारका निम्ति नेपालीलाई जुत्तासम्बन्धी
तालिम दिन थालेको थियो। यसले निरन्तरता पाउन नसकेको पुराना उद्योगीहरू
बताउँछन्। तर, अहिले नेपाली जुत्ता उद्योगमा आवश्यक जनशक्ति तयार पार्ने
कुनै निकाय छैन। प्रविधि र शैली तीव्र गतिमा परिवर्तन भइरहेको पृष्ठभूमिमा
उद्योग आफैँले जनशक्ति उत्पादन गर्ने काम खर्चिलो हुने भएकाले उद्योगीहरू
यसमा सरकारी निकायको सहयोग चाहन्छन्। प्यारागन फुटवेयरका प्रोप्राइटर
रामहरि तोलाङ भन्छन्, “बेरोजगारीको समस्या बढ्दै गएको पृष्ठभूमिमा
सरकार र संघ मिलेर स्वरोजगारीका निम्ति तालिम सञ्चालन गर्नुपर्छ।”
यो पेशामा परम्परागत जुत्ता निर्माता (सार्की) हरू भन्दा अरु नै बढी
आउन थालेको उल्लेख गर्दै उनी भन्छन्, “उनीहरूलाई जुत्ता निर्माणसम्बन्धी
धेरै ज्ञान छैन। त्यसैले तालिम आवश्यक छ।”
आयातीत जुत्ता र नक्कलीको दबदबा, दक्ष जनशक्तिको समस्या
तथा सरकारी उदासीनताका बावजुद उद्योगीहरू आफूले विकास गरेको उद्योगमा
सन्तुष्ट छन्। २०५१ सालसम्म विभिन्न सरकारी कार्यक्रममा कर्मचारीलाई
जुत्ता उपलब्ध गराउनका निम्ति टेण्डर आव्हान गरिन्थ्यो। बाँसबारी कारखाना
बन्द भएयता सरकारी निकाय तथा संघसंस्थाहरूले जुत्ताको सट्टा पोशाकका
निम्ति रकम बाँड्न थालेका छन्। यस्ता निकाय तथा संघसंस्थाले युनिफर्मका
निम्ति छुट्याएको रकम नबाँडी जिन्सी सामान नै दिने प्रणाली बनाएको
भए स्वदेशी उद्योगहरूले थप काम पाउने जुत्ता उद्योगीहरूको विश्वास
छ।
यसरी जुत्ता–चप्पलसँग सम्बन्धित उद्योगहरू नयाँ युगमा
प्रवेश गरिसकेका भए पनि तिनले उपलव्धिको छलाङ्ग भने हानिसकेका छैनन्।
उनीहरू अझ्ै 'पर्ख र हेर' कै स्थितिमा छन्। हाल नेपाललाई 'नयाँ नेपाल'
भनिने गरेको परिप्रेक्ष्यमा देशको जुत्ता उद्योगका निम्ति पनि सरकारले
नयाँ सोच र नीति ल्याए यो उद्योग अझ् फस्टाउनेे पक्का छ।
|