हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण

बढ्यो चहलपहल

पाँचथरदेखि पोखरासम्मका गतिविधि हेर्दा लाग्छ, राजनीति गाउँ छिर्न थालेको छ। तर, अन्तरिम संविधान, संसद र सरकार बन्न बाँकी रहेको तथा आफू सत्तामा पुगिनसकेको बहानामा माओवादीले अवरोध गर्ने काम पनि जारी राखेका छन्।

लक्ष्मी गौतम, पाँचथर/सोमनाथ बास्तोला, इटहरी/अजित तिवारी, जनकपुर

लक्ष्मी गौतम
पाँचथर, रविमा प्रहरी इकाई पुनःस्थापनापछि स्थानीयवासीहरूसँग अन्तर्क्रिया गर्दै प्रजिअ हरिकृष्ण उपाध्याय।

लामो समयपछि २० मङ्सिरमा देशाटनमा निस्केका नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा बुटवल हुँदै धनगढीसम्मका नेता–कार्यकर्ताहरूसँग भेटघाट र छलफल गरेर काठमाडौँ फर्किए। २४ मङ्सिरमा नेकपा एमालेका स्थायी समिति सदस्य केशव बडाल पार्टीको दैलेख जिल्ला अधिवेशनमा भाग लिएर फर्किए। नेपाली काङ्ग्रेसभित्र गणतान्त्रिक धारको नेतृत्व गर्ने केन्द्रीय सदस्य नरहरि आचार्य र प्राध्यापक कृष्ण खनाल लोकतान्त्रिक गणराज्यको पक्षमा जनलहर सिर्जना गर्न मङ्सिर महिनाभरि पूर्वी पहाडी जिल्लामा व्यस्त रहे। त्यस्तै, धादिङ काङ्ग्रेसका नेता–कार्यकर्ताहरू एक महिना लामो शान्ति अभियान लिएर जिल्लाको विकट उत्तरी क्षेत्रमा पुगे। १६ मङ्सिरमा ट्रेड युनियन काङ्ग्रेसले लहानमा विशेष महाधिवेशन र प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घले विराटनगरमा छैटौँ राष्ट्रिय सम्मेलन गरे। यसअघि ६ मङ्सिरमा नेपाल किसान सङ्घले राजविराजमा तेस्रो महाधिवेशन गरेको थियो।

गाउँ पस्यो राजनीति
पाँचथरको सदरमुकाम फिदिमबाट १६ कोश टाढा रहेका लिम्बा, दुरदिम्बा, च्याङ्गथापु र फलैँचा गाविसमा अहिले विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता प्रशिक्षण र संगठन बिस्तारमा सक्रिय छन्। २०५८ सालयता गाउँ जान नसकेका दलहरूको प्रवेशले जिल्लाको राजनीति तातेको छ। गएको असोजयता नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पूर्णकुमार शेर्मा, सांसद अशोक कोइरालालगायतका नेताले पाँचथरका ४१ वटै गाविसका कार्यकर्तासँग भेटघाट गरेका छन्। यसैगरी केन्द्रीय सदस्य हर्कमान तामाङ्ग र जिल्ला सचिव गणेश काम्वाङ्ग सहितको एमाले टोली पनि प्रशिक्षण र भेटघाट गर्न गाउँ छिरेको छ।

कात्तिक पहिलो साता सभामुख सुवास नेम्वाङ इलामको माइपोखरीमा देखिए। स्थानीयबासीहरूका भनाइमा आठ वर्षमा देशका कुनै केन्द्रीय नेताको पहिलो आगमन थियो त्यो। सभामुखको आगमनको प्रभाव सिद्धिथुम्का, इभाङ, बाझ्ोँ, साकरपुरा, गजुरमुखी, चमैता, पुवामझ्ुवा, माबु, गोरखे, जिर्मले र इरौँटारलगायतका गाविसमा समेत परेको त्यहाँ बढेको राजनीतिक गतिविधिले देखाउँछ।

एकवर्षअघि मात्रै काठमाडौँमा जिल्ला सम्मेलन गरेका तेह्रथुम काङ्ग्रेसका कार्यकर्ता अहिले छातेढुङ्गा, ह्वाकु, खाम्लालुङ्गजस्ता विकट गाविससम्म पुग्न थालेका छन्। यसअघि एमालेले वसन्तपुरमा युवाहरूको अञ्चलस्तरीय भेला गरेको थियो। ताप्लेजुङ्गका विकट ओलाङचुङगोला, याम्फूदिन, पापुङ, नाल्बु, सावा, मोरङको उत्तरी क्षेत्रका ११ गाविसका साथै सङ्खुवासभाको सदरमुकामदेखि आठ दिनको पैदल यात्रामा पुगिने किमाथाङ्का, हटिया, पावाखोला, पाथीभराजस्ता गाविसमा समेत प्रमुख राजनीतिक दलका गतिविधि देखिन थालेका छन्। धनकुटाको खोकु–छिन्ताङमा यो वर्ष एमालेका अशोक राई पुगे। दुर्गा लिङ्खा लगायतका सांसद पनि धेरै वर्षपछि मतदाताहरूसामु देखापरे। नेताहरूको आवागमनले धनकुटाका बुधबारे, चानुवा, डाँडागाउँ, कुरुलेतेनुुपा, वसन्तटार, मुढेबास, आहाले, महाभारत, मारेककटहरे जस्ता माओवादी प्रभावित गाविसको जनजीवनमा एकखालको रौनक छाएको छ।

मङ्सिरको पहिलो साता काङ्ग्रेस केन्द्रीय सदस्य नरहरि आचार्य आइपुग्नुअघि दुई वर्षयता भोजपुर सदरमुकाममा कुनै दलका केन्द्रीय नेताले रात नबिताएको स्थानीयबासीहरू बताउँछन्। भोजपुरका इन्सेक प्रतिनिधि ज्ञानेन्द्र खड्काका अनुसार जिल्लाको हसनपुर, बालाङखी, पाङचा, नागी, अन्नपूर्ण, खावा, दोभाने, खाटम्बा जस्ता विकट गाविसमा समेत वर्षौँपछि दलका कार्यकर्ता संगठन बिस्तारमा लागेका छन्। उदयपुरका विकट मानिने लाफागाउँ, आँपटार, लिम्पाटार, ठानागाउँ, बासबोटे, बलमटा, मैनामैनी, चौडन्दी, रुपाटार, ओख्ले, इनामे, नामेटारी, बारामा समेत दलहरू पुग्न थालेका छन्। विष्णु राउत लगायतका सांसदहरू संविधानसभाको निर्वाचनमा समेत आफ्नो वर्चस्व कायमै राख्न गाउँ–गाउँमा दौडधूप गरिरहेका छन्।

द्वन्द्वको समयमा राजनीतिबाट विमुख तराईका गाउँहरूमा पनि दलका गतिविधिले तीव्र्रता पाएका छन्। दलहरूका भेला, सङ्गठन बिस्तार र प्रशिक्षण सुनसरीका सीमावर्ती गाविसमा पनि पुगेका छन्। सप्तरी र सिरहाका ग्रामीण भेगमा भने जनतान्त्रिक तराई मुक्ति मोर्चाको बढ्दो आतङ्कले जनजीवनमा शान्ति प्रक्रियाको असर देख्न पाइएको छैन।

केन्द्रबाट गाउँमा पुर्‍याउने राजनीतिक नारा र सन्देश नआएको भन्दै नेपाली काङ्ग्रेस धनुषाका कार्यकर्ताले मङ्सिरको दोस्रो साता जनकपुर आएका महामन्त्री रामचन्द्र पौडेललाई र्‍याखर्‍याख्ती पारे। पौडेलले शान्ति स्थापनामा पार्टीले निर्वाह गरेको भूमिकाका बारेमा जनतालाई जानकारी गराउन केन्द्रीय सर्कुलर पर्खिन अनुरोध गरेका थिए। पार्टीको सर्कुलर नआएपनि गाउँमा राजनीतिक गतिविधि बढाउन आफूहरूले ढिलो नगर्ने नेका धनुषाका सभापति रामकृष्ण यादव बताउँछन्।

एमालेद्वारा सञ्चालित 'लोकतान्त्रिक गणतन्त्रका लागि जनअभियान' तराईका अधिकांश गाउँमा पुगेको छ। अभियानका रौटहट उत्प्रेरक रामकुमार भट्टराईका अनुसार जिल्लाका ९९ मध्ये ७७ गाविसमा कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकीमा जारी छ। बाराका ९८ गाविसमा पहिलो र दोस्रो चरणको तथा पर्साका ८२ वटै गाविसमा पहिलो चरणको अभियान सकिएको छ। अभियानका बारा उत्प्रेरक नागेन्द्र चौधरी भन्छन्, “राजनीतिले गति लिन थालेको छ।”

उता माओवादीहरू शहर नआउञ्जेल गाउँ जान नसकेको एमाले कास्कीले गाउँ–गाउँमा जनअभियान थालेको छ। नेपाली काङ्ग्रेसको जनजागरण अभियान र मोहनविक्रम सिंह निकट जनमोर्चाको गणतान्त्रिक अभियान पनि विना अवरोध सम्पन्न भएका छन्। बाग्लुङ्गमा पनि गाउँघरमा राजनीतिक दलका साना–ठूला कार्यक्रम हुन थालेका छन्। २८ मङ्सिरमा बुर्तिबाङ्गमा नेपाली काङ्ग्रेस प्रजातान्त्रिक र कुश्मीशेरामा एमालेका सभाहरू सम्पन्न भए। बाग्लुङ्गमामाओवादीसहितको सर्वदलीय बैठक बसेर विकास निर्माणको काम गर्ने चलन शुरु भएको त धेरै भइसक्यो। प्रायः प्रशिक्षण र राजनीतिक कार्यक्रम गर्ने माओवादीले यतिबेला गाउँ–गाउँमा साँस्कृतिक अभियान चलाएका छन्।

सेवा र सुरक्षा बिस्तार

वीरेन्द्र साह
बाराको कोल्वी गाउँमा सर्वसाधारणसँगको अन्तर्त्रि्कयामा प्रहरीको जिल्ला नेतृत्व।

राजनीतिक गतिविधि, आवागमन र सम्पर्कले सरकारी संयन्त्रलाई पनि आफ्नो पहुँच बिस्तार गर्न सजिलो पारेको छ। शान्ति बहालीसँगै हिजोका विस्थापित संयन्त्र पुनर्स्थापित हुन र सदरमुकाममा केन्द्रित सरकारी सेवा गाउँसम्म पुग्न थालेका छन्। मङ्सिर लागेलगत्तै पाँचथरका प्रजिअ हरिकृष्ण उपाध्यायका साथै जिल्ला न्यायाधीश, अनुसन्धान अधिकृत, स्थानीय विकास अधिकारी र प्रहरी अधिकारीहरूले जिल्लाका रवि, राँके, पौवाभञ्ज्याङ्ग, गोपेटार, अमरपुर र नागी गाउँ पुगेर स्थानीय बासिन्दासँग अन्तरक्रिया गरेका थिए।

हिजोसम्म टुटेको सदरमुकाम–गाउँ सम्बन्ध जोडिन थालेको पछिल्लो समय पाँचथरको मालपोत कार्यालयमा देखिने भीडले पनि देखाउँछ। माओवादीले जग्गा बिक्रीमा रोक लगाएपछि सुनसान भएको पाँचथर मालपोतमा हिजोआज माओवादी स्वयं आएर काम गराउन थालेका कार्यालय प्रमुख लक्ष्मी भट्टराई बताउँछन्। सदरमुकाममा नागरिकता र राहदानी बनाउने काम बढेको छ। जिल्ला न्यायाधीश विश्वमङ्गल आत्रेयका अनुसार, अदालतमा मुद्दा दर्ता र तामेल हुन थालेका छन्। २०६१ सालमा विवेक पौडेललाई माओवादीले अपहरण गरेर राजिनामा दिन धम्की दिएपछि गाउँ जान नसकेका तामेलदारहरू म्याद तामेली र लगत असुलीका लागि सदरमुकाम बाहिर जान थालेका छन्। धनुषा जिल्ला अदालतका तामेलदार माधव निरौला पनि गाउँघरमा म्याद तामेल गर्न जान थालेको बताउँछन्।

द्वन्द्वका कारण विस्थापित प्रहरी इकाईहरूको पुनःस्थापना शुरु भएको छ। पाँचथरका रवि, यासोक, राँके, पौवाभञ्ज्याङ्ग, थर्पु र जोरसालस्थित प्रहरी इकाई पुनःस्थापना भइसकेकातथा प्राङ्गबुङ्ग, अमरपुर, गोपेटार, याङ्गनामलगायतका प्रहरी पोष्ट र सीमा प्रशासन कार्यालय च्याङ्गथापु चाँडै पुनःस्थापना हुने प्रजिअ उपाध्याय बताउँछन्। सङ्खुवासभाको शीतलपाटी, चन्दनपुर, जलजला र बाह्रविसेबाट विस्थापित प्रहरी चौकीहरू पनि पुनःस्थापित भइसकेका छन्। झ्ापामा पनि १० वटा प्रहरी चौकी पुनःस्थापित भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विस्थापित प्रहरी इकाईहरूको पुनःस्थापना गर्दै जाँदा स्थानीय झ्ैझ्गडा र मुद्दामामिला प्रहरी चौकीमै आउन थालेका अञ्चल प्रहरी कार्यालय, जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक उपेन्द्रकान्त अर्याल बताउँछन्। धनुषाका १९ मध्ये पाँच, महोत्तरीका १३ मध्ये दुई, सर्लाहीका १४ मध्ये दुई, सिन्धुलीका नौमध्ये चार र सिरहाका ३२ मध्ये नौवटा ग्रामीण क्षेत्रका प्रहरी इकाईहरू पुनःस्थापित भइसकेका छन्। आफू सरकारमा नगएसम्म चौकी पुनःस्थापना हुन नदिने अड्डी लिएका माओवादीले नवलपरासी, दोलखा, रामेछापलगायतका जिल्लाका केही ठाउँमा अवरोध सिर्जना गरे पनि सिन्धुलीको डकाहा चौकी पुनःस्थापना गर्दा भने फूलमाला र अबिरले स्वागत गरेका छन्। एसएसपी अर्याल भन्छन्, “ग्रामीण क्षेत्रमा जान प्रहरीमा उत्साह छ।”

उत्सव छ गाउँमा

अजित तिवारी
जनकपुरमा हालै सम्पन्न मिथिला महोत्सवका सहभागी।

गाउँमा यसअघि रोकिएका मेला र उत्सवहरू धमाधम लाग्न थालेका छन्। पाँचथरका भारपा र सुभाङको सीमास्थित चतुरेबजारको मेलामा यो वर्ष करीब ८० हजार मानिस आएका बजार व्यवस्थापन समितिका अध्यक्ष विष्णु बुढाथोकी बताउँछन्। जोरपोखरी बजारमा बालाचतुर्दशी मेला लागेको छ। पाँचथर, मेमेङस्थित मत्सेबुङ्गको औँशीपूर्णे पाक्षिक हाट पाँच वर्षपछि लाग्न थालेको छ। तेह्रथुमको सदरमुकाम म्याङलुङमा करीब–करीब बन्द भइसकेको शुक्रबारे हटिया चालु भयो। वसन्तपुर, जिरीखिम्ती, शुक्रबारे, मोराहाङ्ग, औँसीडाँडा, सङ्क्रान्ति र चुहानडाँडाका बजारहरू रातिसम्म खुल्न थालेका छन्। छातेढुङ्गाको मदन मेलामा पनि यो पटक भीड लाग्यो। कात्तिकमा जिल्लाको आम्बुङ गाविसमा तीन दिनसम्म चलेको गाउँ विकास महोत्सवमा पनि भीड लागेको थियो।

चार वर्षदेखि बन्द प्रायः ताप्लेजुङको सिवा बजारमा चहलपहल छाएको छ। दोभान, पूर्णडाँडा, कावेलीलगायतका बजारमा चहलपहल बढेको छ। खुकुलो परिस्थितिबाट उत्साहित जिल्लावासीहरू द्वन्द्व चर्केयता लाग्न नसकेको पुुसे र माघे मेलाको तयारीमा जुटेका जिल्ला उद्योग बाणिज्य सङ्घका उपाध्यक्ष दिनेश अधिकारी बताउँछन्। २२ मङ्सिरमा इलाम रेडक्रसद्वारा सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस हातामा आयोजित साङ्गीतिक कार्यक्रम राति १० बजेसम्म चल्यो। २०५६ सालयता यति अबेरसम्म भएको यो पहिलो कार्यक्रम थियो। ९–१३ मङ्सिरमा सम्पन्न इलामको श्रीअन्तु महोत्सवमा अघिल्लो वर्षको तुलनामा दोब्बर, ६० हजारभन्दा बढी, दर्शक आएका आयोजकहरू बताउँछन्।

सङ्खुवासभा, स्याब्रुनमा माओवादी तालिमस्थल रहेको ठाउँमा गएको १५–१६ कात्तिकमा ऐतिहासिक नागेश्वर महोत्सव सम्पन्न भयो। पँाच वर्षदेखि भोजपुरको दिङ्गलामा लाग्न नसकेको बालाचतुर्दशी मेलामा यसपालि हजारौँ जनता उपस्थित भए। दिङ्गला, घोडेटार, च्याङ्ग्रेलगायतका ग्रामीण बजारको कारोबारमा पनि अनपेक्षित वृद्धि भएको उद्योग बाणिज्य सङ्घ भोजपुरका उपाध्यक्ष डम्बर श्रेष्ठ बताउँछन्।

शान्तिपछि सामाजिक चहलपहल ह्वात्तै बढेको जनकपुरमा हालै आयोजित मिथिला महोत्सवदेखि ग्रामीण क्षेत्रका झ्ण्डा मेलासम्ममा बढेको भीडबाट स्पष्ट हुन्छ। जनकपुरस्थित आशा चलचित्र मन्दिरका सञ्चालक अर्जुन गिरि गाउँघरमा मेलापर्वहरू आयोजना हुनु र आलुगोदाम बनेका सिनेमा हलमा रात्रि शो चल्नुले जनजीवन सामान्य हँुदै गएको ठान्छन्।

गण्डकी अञ्चलमा पनि महोत्सवको लहर चलेको छ। मङ्सिर महिनामा पोखरा र लेखनाथमा सम्पन्न दुई महोत्सवले यी क्षेत्रलाई मज्जाले तताए। माओवादी चलखेल ज्यादा रहेको लेखनाथमा वरपरका गाउँबाट मात्रै एक लाखभन्दा बढी मानिस आएका आयोजकले बताएका छन्। उता सदरमुकामबाट निक्कै टाढा रहेको बाग्लुङ्गको गल्कोटमा सम्पन्न 'घुम्टे महोत्सव' मा ७० हजार दर्शक जुटेका छन्।

सुस्त तर प्रगतिउन्मुख चाल
राजनीतिक गतिविधिको सहारामा आर्थिक क्षेत्रले पनि टाउको उठाउन थालेको छ। सुनसरी, मोरङ, झ्ापा, सिरहा, सप्तरी र उदयपुरमा कारोबार गरिरहेको पूर्वाञ्चल ग्रामीण विकास ब्याङ्कका विस्थापित शाखाहरूमध्ये सातवटा पुनःस्थापित भएका छन्। ब्याङ्कका कार्यकारी निर्देशक श्यामदेव जैसी झ्ण्डै १० हजार नयाँ सदस्य थपिनु, लगानी बढ्नु, असुली नभएको ऋण उठ्न थाल्नुले पनि आफ्नो मनोबल बढेको बताउँछन्। द्वन्द्वका बेला माओवादीको मुख्य तारो बनेको यस ब्याङ्कको करीब रु.७ करोडको लगानी बक्यौता भएर बसेको थियो। “अहिले प्रत्येक महिना रु.१ करोडका दरले कारोबार वृद्धि भइरहेको छ”, जैसी बताउँछन् शान्ति बहालीपछि जनकपुरमा नेपाल इन्भेष्टमेन्ट ब्याङ्क र प्रभु वित्तीय संस्थाले सेवा बिस्तार गरेका छन्। ब्याङ्क अफ काठमाण्डू शाखा खोल्ने तयारीमा छ। द्वन्द्वका कारण शहरकेन्द्रित कृषि विकास ब्याङ्कका शाखाहरू छिट्टै पुनःस्थापना गर्न शुरु गरिने क्षेत्रीय निर्देशक राजेन्द्रकुमार मैनाली बताउँछन्। ब्याङ्कको धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलीका नौवटा शाखा विस्थापित भएका छन्।

जनकपुर बस व्यवसायी सङ्घका उपसभापति तेजनारायण चौधरीले शान्ति वार्तापछि विभिन्न रुटका लागि थप १० वटा नयाँ यात्रुबाहक बस सञ्चालनमा आएको बताए। चौधरीका अनुसार, नयाँ बसको माग बढ्न थालेपछि सिप्रदी ट्रेडिङले जनकपुरमै बडी बनाउने 'वर्कशप' खोलेको छ। पर्यटकहरूको बढ्दो आगमनले पोखराका अधिकांश होटलका कोठा 'बुक' भएका छन्। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने सडक महोत्सवसँगै पोखराको रात्रिजीवन पनि फर्किने विश्वासमा छन् पर्यटन व्यवसायीहरू।


'अन्तरिम सरकार नबनेसम्म गाउँ नआउनू'

अन्तरिम संविधान, सरकार र संसद निर्माणमा ढिलाइ भएकोमा राज्यलाई दबाब दिन हुनसक्छ, माओवादीले कैयौँ ठाउँमा अवरोध सिर्जना गरेका छन्। त्यसैले स्थिति सामान्य हुँदै गए पनि विस्थापितहरू गाउँ फर्किन सकिरहेका छैनन्। गाविस सचिव सदरमुकाम छाड्न डराइरहेका छन्। गाउँ पुगेका सचिवहरूलाई रामेछापमा त माओवादीले 'अन्तरिम सरकार नबनेसम्म गाउँ नआउनू' सम्म भनेका छन्।

तर, कतिपय ठाउँमा गाविस सचिव माओवादीलाई नटेरी गाउँ पुगेका पनि छन्। कति ठाउँमा माओवादीले नै गाविस सचिवलाई स्वागत गरेका छन्। धनकुटाका ३४ गाविसबाट विस्थापितमध्ये आधाभन्दा बढी र झ्ापाका ४७ मध्ये १८ गाविस सचिव कार्यस्थलमा फर्केका छन्। सचिवहरूको आगमनसँगै कैयौँ गाउँमा वर्षौँदेखि नभएका गाउँ परिषद बैठक बसेका छन्। पाँचथरका आङ्गना, मौवालगायत आठ गाविसमा परिषद बैठक सम्पन्न भएका स्थानीय विकास अधिकारी भक्तिप्रसाद उप्रेती बताउँछन्।

केही ठाउँमा माओवादीको चन्दा र कर सङ्कलन जारी छ। उदयपुरमा लाग्ने साप्ताहिक हाटमा किराँत वर्कर्स पार्टीको नाममा कर उठाउन थालिएको छ। सप्तरीमा जनतान्त्रिक मुक्ति मोर्चाको त्रासले व्यापार–व्यवसायमा ढुक्क हुने अवस्था नआएको व्यापारीहरू बताउँछन्।


राजनीतिक जीवन फर्किंदैछ

आठ महिना अघिसम्म राजनीतिक पार्टीका बैठक पनि सटाक–सुटुक, छिटो–छरितो गर्नुपर्थ्याे। दशैँ–तिहार आए–गए, कसैलाई उत्साह थिएन। बालाचतुर्दशी, शिवरात्रि, रामनवमी मेला बिर्सिए जस्तै भएका थिए। साप्ताहिक, पाक्षिक, हाटबजार हराएझ्ैँ लाग्दथे। पहाडका उकाली–ओराली एक्ला, सुनसान र सशङ्कित लाग्थे। अहिले त गाउँघरको सामाजिक–राजनीतिक जीवन नै बदलिन थालेको छ। शहरको भन्दा लोभलाग्दो हुँदैछ। संविधानसभाको निर्वाचनमा भोट कहिले खसाल्न पाइने हो? नयाँ नेपाल कस्तो हुन्छ? त्यति मात्रै चासो छ।
भर्खरै मात्र सङ्खुवासभाको दुर्गम स्याब्रुन गाविसको जौवारीमा ठूलो एकादशीको महादेव मेला लाग्यो। माओवादीले तालिम गर्न जौवारी डाँडा सम्याएर राम्रो बनाएछन्। आसपासका ८–१० गाविसका घरलौरी जनता मेलामा दुई दिन–दुई रात खचाखच थिए। सँगिनी, वालन, च्याब्रुङ, डम्फुसेलो, मारुनी, धाननाचजस्ता तीन दर्जनभन्दा बढी नाचगान प्रतियोगिता भए। जनताले मेलामा पनि एमाले, काङ्ग्रेस लगायतका पार्टी प्रतिनिधिहरूका भाषण रमाइलो मानेर सुने।

केही आशलाग्दो शुरुआत हुनथालेको छ। जिल्लाको विकास निर्माण सर्वदलीय बैठकको सहमतिबाट गर्ने टुङ्गो लाग्यो। माओवादीसहितको सहमतिमा अक्करे भीरमा बाटो बनाउने निधो भयो। जिल्ला सदरमुकाम जोड्ने वसन्तपुर–चैनपुर–खाँदबारी सडकका ठेकेदार काममा फर्किए। गैरसरकारी संस्था आरआरएनले सालडाँडामा विद्यालय भवन बनाउने निर्णय गर्‍यो। छुवाछुत, भेदभाव अन्त्यका लागि दलित र गैरदलितबीच चैनपुर बजारमा सूचना केन्द्र राख्न अन्तर्क्रिया कार्यक्रम भयो। जिल्लामा खानेपानी आयोजना सञ्चालन गर्न सर्वदलीय बैठक गरियो। माओवादीसहितको सर्वदलीय आमसभा पनि भयो। अहिले पार्टीहरू गाउँ इलाकामा भेला, छलफल र अधिवेशन गरिरहेका छन्। राजनीतिक कार्यकर्ता व्यस्त छन्। गाउँघरको जीवन सामान्य हुनथालेको छ।

परशुराम मेघी गुरुङ, सांसद, सङ्खुवासभा