आवरण
फुक्यो देश!
•
कनकमणि दीक्षित
कस्तो देश
थियो हाम्रो १० वर्ष अगाडिसम्म– भारी बोकेर जुनसुकै दिशामा हिँडे पनि
हुने। बेलुका जुनसुकै घरमा बास माग्न पनि सकिने। १९७० को दशकमा नेपालबाटै
'ट्रेकिङ' भन्ने शब्द अङ्ग्रेजी भाषामा छिरेको हो। बाटोमा भेटिने भरिया,
बटुवा, बालबच्चा जसले पनि पाइला पाइलामा 'ओहो! कहाँ जान आँट्नु भा'को...',
'कताबाट पाल्नु'भो...', 'अनि केमा हो नि...', 'कहाँसम्म पुग्ने हो
कुन्नि!' भनेर सोध्दै नागरिक–नागरिकबीच सम्बन्ध बनाउने संस्कार भएको।
हिंसा शुरुभएपछि बाटोघाटोको त्यस्तो मिजास
र सम्बन्ध एक्कासी ठप्प भयो र त्यसको ठाउँ लियो– सतर्कता, भय र कुण्ठाले।
नेपालीको आँखाको चमक हराउँदै गयो। गाउँवासीको मन रोयो। झ्ोला बोकेर
लहडमा कतै हिँड्न नमिल्ने भो। गारेटोमा भेटिएको भरिया, पँधेरोबाट आएकी
महिला, या पाठशालाबाट किताबकापी च्यापेर घर फर्कँदै गरेको बालक – सबैले
आगन्तुकका आँखामा आँखा जुधाउन छाडे। चौतारीमा थकाइ मार्ने यात्रुहरू
सुस्केरा हाल्दै आफँैभित्र खुम्चिएर बस्नथाले। भलाकुसारीको राष्ट्रिय
परम्परा बिलायो। हँस्यौली र ठट्टा हरायो।
केटाकेटीहरू पाखापर्बत, घर, चराचुरुङ्गी
र झ्रनाको तस्बिर कोर्नुको साटो बन्दुक र हेलिकप्टरको आकार उतार्न
थाले। सकेट बम र प्रेसर कुकर बम मात्रै होइन, 'एसएलआर' र 'थ्रीनटथ्री'छुट्याउन
सक्ने भए। गाउँघर, मेलापात र हाट बजार जाने परम्परा टुट्यो। समुदाय–समुदायबीच
सदियौँदेखि सम्बन्ध गाँस्ने माध्यम हरायो। सङ्गिनी, बालन र पूजा–पाठमा
प्रतिबन्ध लगाइयो। बाटो–घाटोमा विद्युतीय धराप राख्ने जनविरोधी कार्य
गरियो। उस्तै ज्यादती गरियो– हेलिकप्टरबाट बम बर्साएर। सिङ्गो राष्ट्रिय
मानसिकता आतङ्कित र असन्तुलित बन्यो। सदाका लागि सामाजिक संरचना ध्वस्त
हुने हुन् कि भन्नेसम्म डर भइसकेको थियो।
तर, धन्न त्यस्तो केही भएन। विद्रोहीलाई
चेत खुल्यो। बन्दुकबाट केही जितिने रहेनछ भनेर ऊ घुमाउरो बाटोबाट भए
पनि हिंसाको राजनीतिबाट शान्तिको राजनीतिमा आउन तयार भयो। निरङ्कुश
राजालाई बन्दुकले होइन जनताको बलले पछार्नु पर्नेरहेछ, उनी पछारिए।
नागरिक समाजले सुरक्षित राखिदिएको स्वतन्त्रता र आत्मस्वाभिमानको दियोलाई
राजनीतिक दलहरूले हातमा लिएर गम्भीरतापूर्वक मुलुकलाई दूरगामी शान्तिको
बाटोमा डोर्याउन थाले। शान्ति–सम्झ्ौता र हिंंसाको राजनीतिको औपचारिक
अन्त्य भयो। त्यो थियो ५ मङ्सिरको दिन!
हेर्दाहेर्दै मुलुकको अनुहार बदलियो। खुम्चिएको
राष्ट्रिय निधार सफा हुँदै गएको छ। बाटोमा भेटिने महिला, पुरुषका आँखामा
चमक फर्किन थालेको छ। स्कूले विद्यार्थीमा पहिलेकै उत्सुकता फर्कने
छाँट देखिँदैछ। ध्वस्त नहुँदै, सबै कुरा नबिग्रँदै, देश र देशवासीले
फेरि आफ्नो भविष्य बनाउने मौका पाएको आभास हुन थालेको छ। यो स्वःस्फूर्त
हुन गयो। मुलुकभर आएका यस्ता परिवर्तनका प्रमाणहरू मेचीदेखि महाकालीसम्मबाट
यो अङ्कका लागि सङ्कलित लेख र रिपोर्टमा हामीले पायौँ। र, यही उत्साहबर्द्धक
सन्देश लिएर हिमाल खबरपत्रिका को अङ्क तपाईँको हातमा आएको छ। हामीले
देख्यौँ, फेरि ठाउँ–ठाउँमा मेला लाग्न थालेका छन्, थोरै ठाउँमा भए
पनि पुलिस चौकी पुनःस्थापना भएका छन्। राजनीतिक दलका सभा–बैठकहरूले
गति लिएका छन्। भत्किएका संरचना फेरि निर्माण हुँदैछन्। सबैतिर सबै
कुरा ठीक भइसकेको पक्कै छैन, तर देश त्यतैतिर उन्मूख छ।
अहिलेसम्म जे–जति भयो, यो पनि नागरिकको
आफ्नो उत्साहले भएको हो। शान्ति बहालीमा केन्द्रित सरकार र उसका पदाधिकारीले
राज्यव्यवस्था र सुशासनमा गत ६ महिनामा थोरै मात्र योगदान गरेको यथार्थ
हो। देश आफैँ ठडिएको हो, सरकारको नेतृत्वमा होइन। शान्तिको चमक फिर्ता
आउन थालेको पनि लाखौँ नागरिकको निजी आस्था र बुझ्ाइका कारणले हो।
राज्य बल्लतल्ल गाउँ छिर्न थाल्यो। यो
तानिएको लहराबाट पहरो नै आओस्। मुख्यतः सरकारले अब कानूनी राज्यको
प्रत्याभूति देओस्। नेपाल प्रहरीलाई सबैतिर पुनःस्थापना गरोस्। विकास
कार्यक्रम थालोस्। सरकारले दिनुपर्ने सेवा, सुविधा, निगरानी, व्यवस्थामा
सबै कुरा पुर्याउन तत्पर होस्। यो सब गर्नमा सरकार र संसदमा पुग्न
आतुर विद्रोहीलाई पनि आपत्ति नहुनु पर्ने हो। देश र समाजको पुनःनिर्माण
गर्न चाहिएको राजनीतिक स्थायित्व अगाडि शान्ति चाहिन्छ भने त्यो शान्तिका
लागि नागरिकको मनमा फेरि उत्साह जाग्नुपर्छ। आँखामा चमक फर्कनुपर्दछ।
त्यसो हुनथालेको हामीले देखिसक्यौँ। जय होस्!
|