हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

तन्नेरी

सगसगै पढाइ र सेवा

राजधानीका कलेजहरूमा एउटा नयाँ चलन भित्रिएको छ– पढाइसँगै सेवा–सहयोग जुटाउने। मनोरञ्जनका निहुँमा मौलाएका 'कलेज–कल्चर'हरू भन्दा फरक यो अभ्यासले विद्यार्थीहरूलाई सामाजिक परिवर्तनको माध्यम बन्न प्रेरित गरिरहेको छ।

मीन बज्राचार्य
नयाँ कलेज कल्चरः ह्वाइटहाउस कलेजका विद्यार्थीले राफल टिकट बेचेर बालबालिकाका निम्ति स्वेटर र पाठ्यसामग्री बाँडे।

भदौको दोस्रो साता बाँके, बर्दियामा आएको बाढीले धेरैको घरबार लुट्यो, एकैचोटि गाँस–बास–कपासको समस्या उत्पन्न भयोे। यो विपत्ति थेग्न सरकारी तथा गैरसरकारी संस्थाहरूले सहायताको हात अघि बढाएकै बेला राजधानीका विभिन्न कलेजका विद्यार्थीहरूले समेत राहत–कार्यमा हातेमालो गरे। उनीहरूले आफ्नै पहलमा चन्दा, राहत–सामग्री तथा लत्ताकपडा सङ्कलन गरी पीडितसम्म पुर्‍याउने हरसम्भव प्रयास गरे।

“समाचारमा उनीहरूको नाङ्गो शरीर देख्यौँ, खान नपाएको सुन्यौँ। त्यसैले उनीहरूलाई कुनै हालतमा पनि सहयोग गर्नुपर्छ भन्ने लाग्यो”, भन्छिन् विश्वनिकेतन साइन्स क्याम्पसकी छात्रा मनु अधिकारी। त्यसका लागि कलेजका उनीलगायत २५ जना मिलेर घरदैलो चन्दा सङ्कलन कार्यक्रम सञ्चालन गरे। सहयोग जुटाउन बालाजु औद्योगिक क्षेत्रमा पर्ने विभिन्न उद्योगमा समेत पुगे। “धेरैले राम्रो काम गर्न लागेकोमा सहयोग सँगै स्यावासी दिए, केहीले भने त्यो पैसा हामी आफैँले खर्च गर्ने हो कि भन्ने शङ्का समेत देखाए” मनु भन्छिन्। समग्रमा, शङ्काभन्दा बढी साथ पाएकाले उनीहरू रु.१५ हजार तथा दुई सय थान लत्ता–कपडा सङ्कलन गर्न सफल भए। अनि रेडक्रसको सहायतामा नेपालगञ्ज पुगी पीडितहरूको हातमै सङ्कलित रकम र राहत सामग्री राखिदिए।

बाढीपीडितकै लागि ओरियण्ट कलेजका छात्रछात्राले पनि चन्दा उठाएका थिए तर केही फरक शैलीमा। उनीहरूले आफ्ना शिक्षक–शिक्षिकासँग प्रतिव्यक्ति रु.१०० उठाएर रु.१० हजार जम्मा गरे। आफैँ बाढी प्रभावित स्थल जान असमर्थ भएकाले सो रकम एचबीसी एफएमको बाढीपीडित सहयोग कार्यक्रम मार्फत् सम्बन्धित ठाउँमा बुझ्ाएको सो कलेजमा कक्षा १२ मा अध्ययनरत सन्तोष राई बताउँछन्। किन गरियो त यो सहयोग? सन्तोष भन्छन्, “समाजमा बसिसकेपछि एकले अर्काको दुःखसुख त बुझनैपर्‍यो नि!”

राहतमा हातेमालोः बाढीपीडितलाई राहत सामग्री दिन विश्वनिकेतन क्याम्पसका विद्यार्थी नेपालगञ्ज पुगेका थिए।

समाज–भलाइको उद्देश्यसँगै 'कलेज कल्चर' जोगाउन यस्ता कार्यक्रम गर्नेहरू पनि छन्। गत महिना मात्रै ह्वाइटहाउस कलेजका चार छात्राले राफल टिकट बिक्री गरेर १६० बालबालिकालाई १६० स्वेटर, किताब राख्ने ८० वटा झ्ोला तथा ४२ दर्जन कापीकिताब वितरण गरेका छन्। “यसका लागि हामीले सर्वप्रथम कार्यक्रमबारे जानकारी दिने पर्चा निकाल्यौँ”, सो कलेजमा कक्षा १२ मा अध्ययनरत प्रतीक्षा भण्डारी भन्छिन्, “त्यसपछि साथीभाइ तथा चिनेजानेका मान्छेलाई चिट्ठा किन्न आग्रह गर्‍यौँ।” रु.२५ तथा रु.५० का चिट्ठा बिक्री गरी रु.७२ हजार सङ्कलन गर्न सफल भए पनि पैसा जुटाउने यो अभियान सजिलो भने थिएन। धेरैले उनीहरूलाई पत्याएनन् पनि। तर हरेक वर्ष त्यहाँ अध्ययनरत विद्यार्थीहरूले कुनै न कुनै सामाजिक काम गर्ने परम्परालाई निरन्तरता दिन उनीहरूले यो उपाय अपनाएका थिए। प्रतीक्षा भन्छिन्, “व्यवस्थापनको विद्यार्थी भएकाले किताबी ज्ञानलाई व्यवहारमा उतार्न समेत हामीले यो अभ्यास गरेका हौँ।”

प्राइम कलेजका विद्यार्थी–हरूले पनि त्यस्तै सिर्जनात्मक काम गरे। कलेज म्यागेजिन निकाल्नका लागि विभिन्न संघसंस्थाबाट प्राप्त रकमबाट उनीहरूले रङ्गीन पत्रिका मात्रै निकालेनन्, एक वृद्धाश्रममा पुगी वृद्धवृद्धाको स्वास्थ्योपचार समेत गराइदिए। “म्यागेजिन निकाल्ने क्रममै हामीले खर्च कटाएर रु.४० हजार बचायौँ जसबाट काठमाडौँ–महादेवस्थान वृद्धाश्रमका वृद्धवृद्धाका लागि 'हेल्थ–क्याम्प' चलायौँ, न्याशनल इन्टिग्रेटेड कलेजकी क्यान्सरपीडित छात्रा सुनीता लामालाई औषधि उपचार खर्च र द्वन्द्वपीडित तथा महिला, बालबालिकालाई पढाउने खर्चका रूपमा 'उत्साही महिलाहरूको समूह' लाई सहयोग गर्ने मौका पायौँ” भन्छन् प्राइममा अध्ययनरत शेखर मास्के। आफूभन्दा जुनियर विद्यार्थीलाई सामाजिक काममा उत्प्रेरित गर्न समेत यस्ता काम गरिएको मास्के बताउँछन्।

यस्ता अभियान सामाजिक सेवामा मात्र सीमित छैनन्। ओरियण्टका सन्तोष भन्छन्, “सेवा सँगसँगै व्यक्तित्व विकासको मौका पाउँछौँ, आफ्ना कुरा अरूलाई बुझ्ाउन सक्ने क्षमताको विकास भएको छ।” त्यस्तै, 'कोसँग कसरी बोल्नुपर्ने रहेछ' भन्ने कुरा जान्न पाएको बताउँछिन् ह्वाइटहाउसकी प्रतीक्षा।

दुरुपयोग पनि
विद्यार्थीहरूको यो अभियानमा यदाकदा केही विकृति/विसङ्गतिहरू पनि जोडिने गरेका छन्। आकर्षक नारासहित विभिन्न 'फन्ड रेजिङ' कार्यक्रम सञ्चालन गर्ने अनि त्यसबाट उठेको रकम दुरुपयोग गर्ने प्रवृत्ति विद्यार्थीहरूको सामाजिक अभियानका निम्ति कहिलेकाहीँ तगारो बन्ने गरेको छ। खोज्ने क्रममा उदाहरणीय काम गरेको नाटक गरेर चन्दादातालाई झ्ुक्याउने विद्यार्थीहरू पनि हामीले भेट्टायौँ। काठमाडौँको एक चर्चित कलेजका छात्रले हामीसँग भने, “भन्ने बेलामा च्यारिटी गर्छौँ भनियो, सय–सय रुपैयाँ पर्ने टिकट भिडाइयो तर न चिट्ठा नै खोलियो न कुनै च्यारिटी नै भयो।” त्यो पैसाले के गरियो त? जवाफमा उनले भने, “गोवा घुम्न गयौँ।”

यस्ता क्रियाकलापले इमान्दार अभियन्ताहरू समेत शङ्काको घेरामा पर्ने र स्वार्थरहित काममा बाधा आउने विद्यार्थीहरूको अनुभव छ। “३०–४० हजार रुपैयाँले के नै हुन्छ र? धेरै भए एक/दुई हप्ता मोजमस्ती गर्न पुग्ला। तर त्यस्तो बानीले भविष्यमा भ्रष्टाचारका निम्ति उक्साउन सक्छ”, भन्छिन् मनु। शेखरको पनि उस्तै धारणा छ। उनी भन्छन्, “त्यस्तो काम गर्ने विद्यार्थीको छवि सधैँका लागि धमिलिन्छ। र, भोलि राम्रै काम गर्न खोजे पनि अरूले पत्याउँदैनन्।”

केही अपवादलाई छोडेर हेर्ने हो भने राजधानीमा अध्ययनरत युवाहरूमा सेवाभाव बढ्दै गएको देख्न सकिन्छ। र, त्यसनिम्ति उनीहरू झ्न्झ्न् प्रेरित हुँदैछन्। ह्वाइटहाउसकी प्रतीक्षाले भनिन्, “हामीले सहयोग गरेका बालबालिकालाई 'पछि गएर के बन्छौ?' भनी सोद्धा तिनले डक्टर, इन्जिनियर भनेनन्। बरु 'तपाईँहरू जस्तो बन्न चाहन्छौँ' भन्दा हामीले पनि समाजमा केही योगदान दिन सक्दा रहेछौँ भन्ने अनुभव भएको छ। र, यस्ता काममा लागिरहने सोचाइ बनाएका छौँ।”

“हाम्रो पालामा आजभोलि जस्तो समाजसेवा गर्नुपर्ने चेतना आइसकेको थिएन, सञ्चारको कमीले पनि होला”, भन्छन् महामञ्जुश्री उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक चूडामणि मरासिनी। उनको अनुभवमा अहिले जस्तो कुन ठाउँमा कस्तो समस्या पर्‍यो भन्ने कुरा पनि तत्काल थाहा हुन्नथ्यो। तीन दशकअघि त्रि–चन्द्र कलेज पढेका मरासिनीले त्यतिखेर विद्यार्थीहरू आफ्नै पहलमा सामाजिक काममा लागेको देखेका थिएनन्। अहिले आफ्नै विद्यार्थी यस्ता काममा सम्मिलित भएको देख्दा उनलाई खुसी लागेको छ। उनी भन्छन्, “१७, १८ को उमेरमा यो तहको बौद्धिकता र उत्साह देखिनुमा पाठ्यक्रममा समाविष्ट सामाजिक शिक्षा जस्ता विषयको समेत उल्लेख्य भूमिका छ।”

प्रेरणा मरासिनी


एक्लो प्रयास

कम्प्युटर सफ्टवेयर उत्पादक संस्था एमेडियसमा सहायक म्यानेजर (सेल्स) का रूपमा कार्यरत सङ्गीता दासको एक्लो प्रयासबाट बाँके, बर्दियाका बाढीपीडितहरूका लागि दुई लाख ६ हजार रुपैयाँ सङ्कलन भएको छ। सङ्गीताले सो रकम एमेडियस र एमेडियस सिस्टम प्रयोगकर्ता ट्राभल एजेन्सी तथा अन्य इच्छुकहरूबाट व्यक्तिगत सम्बन्धका आधारमा करीब ४५ दिनमा सङ्कलन गरेकी हुन्। सङ्कलित रकम उनले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष रमेशकुमार शर्मालाई हालै हस्तान्तरण गरेकी थिइन्। यसअघि उनले भारतको गुजरातका भूकम्प–पीडितहरूका लागि ८८ हजार रुपैयाँ सङ्कलन गरी भारतीय राजदूतावासमा बुझ्ाएकी थिइन्। “भारतको विपत्तिमा त सहयोग गरेकी थिएँ भने आफ्नो देशका लागि त झ्न् गर्नै पर्‍यो नि!” उनी भन्छिन्।