हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

कसरी हुने 'कूल्'?

सी ए टी क्याट : क्याट माने बिरालो,
आर ए टी र्‍याट : र्‍याट माने मुसो,
बी ए टी ब्याट : ब्याट माने चमेरो

आफ्नो जमानामा त अङ्ग्रेजी यसरी नै पढाइन्थ्यो र त्यसरी नै पढियो। त्यसअनुसार सी ओ ओ एल् कूल्् : कूल्् माने चिसो भनेर पढियो। तर अचेल कूल्् भनेको चिसो होइन, ठण्डा पनि होइन। त्यसो भनेर बुझ्न थालियो भने त आफैँ ठण्डा होइन्छ। मानिसले गोक्ते, कोदे या पाखे भन्ने छन्। अचेल कसैले दुइटै ओठलाई गोलाकार बनाएर अङ्ग्रेजीमा 'कूल्' भन्यो भने त्यसको माने गजबको, शानदार, राम्रो, भव्य, सुन्दर भनी बुझ्नुपर्छ। कसैको हेराइ 'कूल््' हुन सक्छ। कसैको लगाइ 'कूल््' हुन सक्छ, कसैको हिँडाइ। कसैको भावभङ्गिमा, तौरतरिका, आनीबानी 'कूल्' हुन सक्छ। 'ही लुक्स कूल््' को अर्थ 'ऊ चिसो देखिन्छ' भनेको होइन, ऊ बडो शानदार देखिन्छ भनेको हो। अचेल जाडो याम छ। कसैले 'हाउ कूल््' भन्यो भने 'कस्तो चिसो' भनी बुझ्न हुँदैन। त्यसलाई त 'कस्तो गजब', 'क्या उम्दा' भनेको भनी बुझ्न पर्छ।

अब यति भनिसकेपछि के गर्दा र कसो गर्दा हेर्नेका आँखामा 'कूल््' होइन्छ त्यो पनि बुझ्न जरुरी हुन्छ।
यदि तपाईं मोटरसाइकल चलाउनुहुन्छ भने सीधा सोझो र मन्द गतिमा नचलाउनुहोस्। त्यसलाई दायाँ–बायाँ, 'जीग् ज्याग' पार्दै अरूलाई जथाभाबी उछिन्दै हाँक्नुहोस्― त्यो 'कूल््' हो। अझ धुवाँ जाने पाइपको 'मफलर' झिकेर ठूलो आवाज निकालेर मोटरसाइकल हाँक्नोस्― त्यो झनै 'कूल्' हो।
तपाईं माउन्टेन बाइक चलाउनुहुन्छ भने कोपुन्डोल, डिल्लीबजार, पानीपोखरी, पुरानो बानेश्वर, एकान्तकुना, अझ गौरीघाटतर्फबाट मित्रपार्क आउने उकालो साइकल चलाउनुहोस्― त्यो 'कूल' हो।
यदि तपाईं कार चलाउनुहुन्छ भने, पैदल यात्रीले समेत सुन्ने गरी 'फूल ब्लास्ट' मा कारस्टेरियो बजाउनुहोस्― त्यो 'कूल्' हो।
तपाईं मोबाइल फोन प्रयोग गर्नहुन्छ भने खल्तीपिच्छे भिन्नभिन्न मोबाइल फोन राख्नोस् कुनै नेपाल टेलिकमको, कुनै मेरो मोबाइल, कुनै सीडीएमए। दुवै हातमा एकसाथ दुइटा मोबाइल फोन लिनोस् र अरूलाई देखाएर पालैपालो नम्बर डायल गर्नोस्― त्यो 'कूल्' हो।
सडक पार गर्दा रातो बत्ती देखेर नडराउनोस्, बरु रातो बत्ती बलेकै बेला सडक पार गर्नोस्, तर नदौडिकन। त्यसो गर्दा दुइटै हात पेन्टको खल्तीमा राख्नोस् र सवारीचालकहरूलाई तेर्छो नजरले हेर्नोस्― त्यो कूल् हो।
चिया सबैले खान्छन्, कफी पनि धेरैले खान्छन्। तर घरमा खाने र जहाँतहीँ खानेको कुनै हैसियत हुँदैन। तपाईं ठमेल जानोस्, त्यहाँ पनि जाभा या जात्रा यस्तै नाम गरेको रेष्टुराँमा जानोस्। तातो कफी त जसले पनि खान्छ। त्यहाँ गएर तपाईं 'कोल्ड कफी' खानोस्― त्यो कूल् हो।
नेपालीमै बोले पनि घरिघरि तपाईं 'मेरो नेपाली राम्रो छैन सरी' भन्ने गर्नोस्, त्यो 'कूल्' हो।
मङ्सिर–पुस महिनामा राति 'टीसर्ट' मात्र लगाएर ठमेल या दरबार मार्ग घुम्न जानोस्― त्यो 'कूल्' हो।
कलम भिर्नुहुन्छ या कलमले लेख्नुहुन्छ? उसो भए 'मों ल्बाँ' भिर्नोस् र चट्ट खल्तीबाट झिकेर अरूले देख्ने गरी सही गर्नोस्― त्यो 'कूल्' हो।
घडी लगाउनुहुन्छ? सिटीजन, सिको त पुराना भए। ट्याग हुयेर, रेडोको पनि गन्ती छैन। 'रोलेक्स' लगाउनुहोस् जो अध्यक्ष प्रचण्डको नाडीमा थियो शान्ति सम्झौतामा सही गर्दा― त्यो 'कूल्' हो।

होर्डिङ बोर्डहरूको सहर

हरेक सहरको आ–आफ्नो विशेषता हुन्छ। कुनै सहर एक थोकका लागि चिनिन्छ, कुनै सहर अर्का थोकका लागि। कुनै सहरको पुरानो चिनारीलाई नयाँ कुराले प्रतिस्थापित गर्दछ। जस्तै कलकत्ता या कोलकातालाई हाउडा पुलले चिनाउँदै आएकोमा त्यसको ठाउँ अब विद्यासागर सेतुले लिएको छ। क्वालालम्पुरलाई त्यहाँको जम्ल्याहा टावरले चिनाउँछ। त्यसैगरी हाम्रो कान्तिपुरी नगरी कुनै बेला मन्दिरहरूबाट चिनिन्थ्यो, अहिले यो होर्डिङ बोर्डहरूबाट चिनिन्छ।

आएको पाहुनालाई स्वागत गर्नुपर्‍यो, जानेलाई धन्यवाद, बाईबाई भन्नुपर्‍यो― एयरपोर्टमा, बसपार्कमा, नाका–नाकामा। त्यस्तोमा होर्डिङ बोर्डभन्दा सजिलो उपाय के हुनसक्छ र?

यतिका जनता छन्, तिनलाई सम्झाउनु पर्‍यो, अर्ति–उपदेश, शिक्षा दिनु पर्‍यो, सन्देश सुनाउनु पर्‍यो होर्डिङ बोर्डभन्दा प्रभावकारी अर्को माध्यम के हुनसक्छ र?

फेरि यसलाई घरको भित्तामा झुण्ड्याउन पाए घरको रङरोगन गरिरहने झन्झट पनि पर्दैन। भत्किएको कौसी छ भने त्यो बनाइरहन पनि पर्दैन। यसले प्राकृतिक पर्दाको पनि काम गर्छ। फोहोरको डङ्गुरलाई पनि यसले छोपिदिन्छ। सुनिन्छ, होर्डिङ राख्न दिएबाट घरपतिलाई बहाल र नगरपालिकालाई राजस्व आउँछ। योभन्दा असल कुरा अरू के हुनसक्छ र?

यसो त कुरा काट्नेहरू भन्छन्― हिमालको दृश्य छेलियो 'रे र 'भिजुअल पोल्युसन' भयो 'रे। छ तला अग्लो घर बनाउँदा हिमालको दृश्य नछेलिने, होर्डिङ बोर्डबाट मात्रै छेलिने? होर्डिङ बोर्डहरूलेे त बरु प्रदूषणलाई रोक्ने काम गरेको छ― ध्वनि प्रदूषणलाई छेक्ने पर्खाल बनेर। यसबाट सुरक्षामा खतरा छ भन्नेहरू पनि छन्। कुनै होर्डिङ बोर्ड हावाहुरीले गर्दा ढलेर आजसम्म कसैलाई केही भएको छ? बरु खतरा त रूखहरूबाट छ। त्यसैले त तिनलाई निमिट्यान्न पारेको नि। चैत–वैशाखमा रूख ढलेर भएको वेमाख कसरी बिर्सने? त्यो हेरी होर्डिङ बोर्डबाट अहिलेसम्म के वेमाख भएको छ र?

सहरलाई नै नितान्त नौलो चरित्र प्रदान गर्ने, मुलुकको राजस्व वृद्धि गर्ने यस्ता होर्डिङ बोर्डहरू त जति बढाउन सक्यो उति राम्रो। सिंहदरबारको रिङ्गै पर्खाल यसै खाली छ। टुँडिखेल वरिपरिको फलामे बारको टाउको पनि यसै खाली गइरहेछ। खुलामञ्च पनि यसै छ। ठड्याए हुन्छ होर्डिङ बोर्डहरू त्यहाँ, किन बेर गर्ने?