विश्लेषण |
शान्ति सम्झौता
“जनयुद्ध सिद्धान्ततः नै गलत थियो”
मोहनविक्रम सिंह, महामन्त्री नेकपा
(एकता केन्द्र–मसाल)
५ मङ्सिरदेखि माओवादी जनयुद्धको औपचारिक
समापन भएकै हो?
जसलाई आमरूपमा जनयुद्ध भनिन्छ, त्यो वास्तवमा जनयुद्ध थिएन। त्यो एउटा
उग्रवामपन्थी गल्ती थियो। कथित जनयुद्धको दौरानमा शोषित, उत्पीडित
जनतामाथि पनि आक्रमण गर्ने नीति अपनाइएको थियो। त्यसकारण त्यो युद्ध
सिद्धान्ततः नै गलत थियो।
१० वर्षको विद्रोहले
धेरै क्षेत्रमा परिवर्तन त ल्यायो नि हैन?
११ वैशाख र अहिले भएका परिवर्तन माओवादीले दाबी गरेजस्तै
कथित जनयुद्धका कारण भएको मान्न हामी तयार छैनौँ। माओवादीले ११ वर्ष
अपनाएका उग्रवामपन्थी नीति गलत थिए भन्ने कुरा व्यवहार र इतिहासले
प्रमाणित गरेका छन्। ११ वैशाखको राजनीतिक परिवर्तन मूल रूपमा शान्तिपूर्ण
आन्दोलनको परिणाम हो। प्रतिगमन र निरङ्कुश राजतन्त्रका विरुद्ध देशमा
लामो समयदेखि लगातार चल्दै आएको शान्तिपूर्ण आन्दोलनमा पछि माओवादीहरू
सामेल भएका हुन्। प्रतिगमनका विरुद्ध लडिरहेका दलहरू शान्तिपूर्ण आन्दोलन
अफापसिद्ध भयो भन्दै माओवादीको लाइनमा गएका भए पो माओवादीको राजनीतिक
विजय हुन्थ्यो। त्यो त उल्टो भयो। वर्षैँको युद्धमा हजारौँको ज्यान
जाँदा पनि हुन नसकेको काम १९ दिनको आन्दोलनले गरेको थियो। त्यो माओवादीको
राजनीतिक पराजय हो।
तर, उनीहरूको विद्रोहकै
कारण देशमा संविधानसभाको चुनाव हुन लागेको त हो नि?
माओवादीका कारणले मात्र संविधानसभाको चुनाव भएको ठान्नु सही होइन।
मार्क्सवादी–लेनिनवादी सिद्धान्त अनुसार, आवश्यकताको आधारमा संसदीय
चुनावमा भाग लिनु र त्यसको बहिष्कार गर्नुपर्छ। तर, माओवादीले जुन
बेला बहिष्कार गर्नुपर्ने स्थिति थियो, भाग लिए। भाग लिनुपर्ने अवस्थामा
बहिष्कार गरे। २०४६ सालपछि जनआन्दोलनको उभार आएको थियो। सार्वभौम सत्ता
जनतामा आएको थिएन। त्यसबेला सारा शक्ति लागेर संविधानसभाको चुनावमा
जोड दिनुपर्थ्यो। त्यसबेला अहिलेका माओवादीसहितका अन्य राजनीतिक पक्षहरूले
राजाप्रति जो सम्झ्ौतापरस्त नीति अपनाए, त्यसले गर्दा संविधानसभाको
चुनाव हुन सकेन। हामीले त पहिलेदेखि नै लगातार रूपमा संविधानसभाको
पक्षमा आवाज उठाउँदै आयौं। पछि माओवादीले पनि संविधानसभाको आवाज उठायो।
अन्य दलहरूले पनि सार्वभौमसत्ता जनतामा ल्याउन सङ्घर्ष जरुरी छ भन्ने
स्वीकार गरे। अनि आन्दोलनको उभार आयो। माओवादीले सशस्त्र सङ्घर्ष र
उग्रवामपन्थी नीति छाडेर शान्तिपूर्ण रूपमा मद्दत पुर्याएका हुन्।
इमान्दारी के हुन्थ्यो भने, उनीहरूले एमालेले जस्तै पहिलेको उग्रवामपन्थी
नीतिलाई गलत घोषणा गरेर आत्म–आलोचना गर्नुपर्थ्यो।
तर लक्ष्य नभई बाटो मात्र
बदलेको माओवादीको भनाइ छ नि?
डा.रायमाझ्ीले पनि राजावादी नीति अपनाउँदा कम्युनिष्ट पार्टीको सिद्धान्त
र नीति छाडेको कहाँ भने र? धेरै वर्षपछि बल्ल कम्युनिष्ट पार्टी विघटन
गरे। ख्रुस्चेभहरूले पनि मार्क्सवाद, लेनिनवाद र समाजवादको सिद्धान्त
छाडेको कहाँ भनेका थिए र! भारतमा सीपीआई, सीपीएम दक्षिणपन्थी हुँदा
पनि नीति बदलेको भनेका छैनन्। त्यसैले के भन्छन् भन्दा पनि के गर्छन्
भन्ने कुरा मह140वपूर्ण हो। उनीहरूले त भनिसकेका छन् नि 'हामी बुर्जुवा
गणतन्त्रबाट नयाँ जनवादी गणतन्त्रमा शान्तिपूर्ण किसिमले जान्छौँ'
भनेर। शान्तिपूर्ण पद्धतिलाई रणनीतिक र सैद्धान्तिक रूपमा स्वीकार
गरेका छन्। त्यो भनेको सशस्त्र सङ्घर्षको नीतिको अन्त्य हो। हामीले
शुरुदेखि नै माओवादीका कार्यकर्ता इमान्दार भएपनि नेतृत्वपंक्ति अति
अवसरवादी छ, सत्तालोलुपताको कारणले सशस्त्र सङ्घर्ष शुरु गरेको हो
अन्त्यसम्म पुर्याउँदैन, बीचमा धोका दिन्छ भनेकै थियौँ। अहिले सत्य
सावित भएको छ।
तपाईलाई आफू सिन्को नभाँच्ने,
अरूको आलोचना मात्र गर्ने नेता भनिन्छ नि?
सिन्को नभाँच्ने भन्दैमा परिस्थिति नआउँदै हाम फाल्नु सही
हुँदैन। २०१७ सालदेखिका घटना, व्यवहार, तथ्य, प्रस्तुतिसँग दाँजेर
हेर्दा हाम्रो नीति बारम्बार सही सावित भएको देखिन्छ। हामीले २०१७
सालमा राजाको कदमलाई गलत भनेपनि कम्युनिष्ट पार्टीका थुप्रै नेताहरू,
महामन्त्री समेतले समर्थन गरेका थिए। इतिहासले हाम्रो विश्लेषण सही
प्रमाणित गर्यो। पूर्व मालेको सशस्त्र विद्रोह हामीले भने जस्तै गलत
सावित भयो। २०४६ पछि हामीले संविधानसभाको चुनाव नभई सार्वभौमसत्ता
जनतामा आउन सक्दैन भन्दा अहिलेका माओवादीहरू समेतले त्यसको विरोध गरे।
देशमा प्रतिगमनको खतरा पैदा भएको बेला एकतापूर्ण सङ्घर्षमा जोड दिँदा
अन्य राजनीतिक दलहरूले हाँसोमा उडाए, माओवादीले स्यालहुइयाँ भने। माओवादीका
शीर्षस्थ नेता मोहन वैद्यले त राजा सात कोष टाढा फलामको पिँजडा भित्र
छन् भने। अहिले इतिहास सबैको सामुन्ने छ। त्यसैले सशस्त्र सङ्घर्ष
परिस्थितिमा निर्भर हुने कुरा हो।
|