रमझम
पपमा नया अनुहार
पप सङ्गीतमा आशलाग्दा नयाँ अनुहारहरू देखिए
पनि निरन्तरताका लागि मौलिक शैली र पहिचान बनाउनु जरुरी छ।
•
अनुशील श्रेष्ठ
छम–छम तिमीले पाउजु बजाउँदा...(मिङ्मा
शेर्पा)
बलेको आगो जलेको प्रेम... (राजीव लोहनी)
यादहरू..., पश्चाताप...(दिव्य सुब्बा)
तिम्रो मायामा...(सिने गुरुङ)
आज आकाशमा एउटा तारा खसेछ...(डम्बर नेपाली)
आउँदैछु म त्यहाँ...(पूजा राई)
आँखाभरी आँसु किन....(जवीक)
दिनहुँ लोकप्रिय बन्दै गएका यस्ता गीतहरूबाट नेपाली
पप सङ्गीतमा आशलाग्दा नयाँ अनुहारहरू जन्मिरहेका छन्। दुई वर्षयता
चर्चामा आएका पप गायक/गायिकाहरूलाई मात्र हेर्ने हो भने पनि उनीहरू
छोटो समयमै श्रोताको मनमा छाउन सफल मात्र भएका छैनन्, सेलिब्रिटीका
रूपमा छुट्टै पहिचानको समेत बीजाङ्कुर गरिसकेका छन्।
 |
| तस्बिरः किरण पाण्डे |
| राजीव लोहनी, पूजा राई र दिव्य सुब्बा।
(बायाँबाट क्रमशः) |
एक वर्षअघि आफ्नो पहिलो अल्बम प्रथा निकाल्नुअघि गायक
दिव्य सुब्बाले आफ्ना रेकर्डेड गीत लिएर दुई वर्षसम्म म्युजिक कम्पनीहरूको
ढोका चहार्नु परेको थियो। सितु डिजिटलले उनको अल्बम बजारमा ल्याउनुअघि
दिव्य नेपालका प्रायः सबै अल्बम उत्पादककहाँ पुगेका थिए तर उनको गीत
कसैले रुचाएनन्। भन्छन्, “दुई वर्षसम्म धेरैतिर धाएँ तर अल्बम निकालिदिन
कोही तयार भएनन्।” गीत तयार गर्न र उत्पादक खोज्न समेत गरी पाँच वर्ष
लगाएर अल्बम बजारमा ल्याएपछि छोटो समयमै उनले पाएको सफलताले अहिले
धेरै कम्पनीको ध्यान खिचेको छ। उनका पश्चाताप... र यादहरू... बोलका
गीत र म्युजिक भिडियो पपप्रेमीमाझ् मजैले छाएका छन्। दिव्यले यसबीच
दुई दर्जन भन्दा बढी स्टेज कार्यक्रममा गाइसकेका छन्। गायक बुबा स्वर्गीय
केवल सुब्बाबाट गाउन सिकेका दिव्य शब्द र सङ्गीत पनि रचना गर्छन्।
अहिले चर्चामा रहेको गीत पश्चाताप... को सङ्गीत फिलिपिनी गीतबाट लिइएको
पनि उनी खुलेरै बताउँछन्। नयाँ पुस्ताको गायक भएकाले आफ्ना गीतहरू
प्रचलित ट्रेण्डभन्दा स्वाभाविक रूपले अलग भएको बताउँदै उनी भन्छन्,
“नयाँ जेनेरेशनको सोचाइ र चाहनालाई ध्यान दिएर म गीत गाउँछु।”
गायक राजीव लोहनीले भने दिव्यले जस्तो अल्बम निकाल्नका
लागि धेरै धाइरहनु परेन। पहिलो गीत दबाएर मेरो माया... सुन्नासाथ म्युजिक
डटकम उनको ट्युन नामक अल्बम निकाल्न तयार भएको उनी सुनाउँछन्। भन्छन्,
“अल्बम निकाल्न भौँतारिनु परेन तर तयारी चाहिँ अढाई वर्ष नै गरेँ।”
०६२ सालमा पहिलो अल्बम निकालेर सफलताको सिँढी उक्लँदै गरेका राजीवले
आर्थिक र व्यक्तिगत फाइदा समेत पाउन थालेकाले सङ्गीतमै राम्रो भविष्य
देखेका छन्। उनी भन्छन्, “छोटो समयमै पाएको सफलताले हौसला बढेको छ।
त्यसैले अझ् राम्रो गर्न मेहनत गरिरहेको छु।” निराजन उप्रेतीको शब्द
र सङ्गीतमा राजीवले गाएको बलेको आगो जलेको प्रेम... र आफ्नै शब्द,
सङ्गीत र स्वरको फूल रोज्दा काँडा पाएँ... बाट श्रोतामाझ् चिनिएको
बताउँछन्उनी।
 |
| तस्बिरः अनुपप्रकाश |
| मिङ्मा शेर्पा। |
राजीवकै साथी मिङ्मा शेर्पालाई चाहिँ श्रोतामाझ् आफ्नो
पहिचान बनाउन पाँच वर्षभन्दा बढी समय लाग्यो। ०६० सालतिरै यथार्थमा
नामक अल्बम निकाले पनि उनलाई आशलाग्दो गायकको रूपमा चिनाउने काम भने
दुई वर्षपछि बजारमा आएको अल्बम फिल ले गर्यो। यस अल्बमकै छम–छम तिमीले
पाउजु बजाउँदा..., नमूना बनाइदियौ... गीतले उनलाई नयाँ उचाइ दिएको
छ अहिले। मिङ्मा आफ्नो रोजाइ र प्राथमिकता मेलोडी भएको बताउँछन्। छोटो
समयमै नाम र दाम कमाउन सफल यी तन्नेरी गायक ९ मङ्सिरमा गाउनकै लागि
अमेरिका प्रस्थान गरेका छन्। अमेरिकाका लागि उड्नुअघि उनले हिमाल सँग
भने “एक वर्षयता चाहिँ गीत गाएरै म पनि केही भएछु जस्तो फिल भएको छ।”
तीन दर्जन स्टेज कार्यक्रममा गीत गाइसकेका मिङ्माको
घरमा पनि साङ्गीतिक माहौल देख्न सकिन्छ। उनको हिट गीत छम–छम...को शब्द
र सङ्गीत उनकै दाइ दावा छिरिङको हो भने दिदी कर्मा डोल्मा पनि गीत
गाउँछिन्। पप गीतलाई कतिले अर्थ न बर्थका गीत भन्ने गरेपनि मिङ्मा
आफ्ना गीतहरूको शब्द, मेलोडी र स्तरीयतामा निक्कै ध्यान दिने गरेको
बताउँछन्। गीत र सङ्गीत पनि आफैँ रचना गर्ने मीठो स्वरका तन्नेरी मिङ्मा
भन्छन्, “स्तरीय गीत दिन सकियो भने सङ्गीत क्षेत्रमा टिकिरहन सकिन्छ
र म सधैँ यही प्रयत्न गर्नेछु।”
यो मन अल्बममार्फत् चिनिएकी गायिका सिने गुरुङले तिम्रो
मायामा... बाट आठौँ इमेज अवार्डस्मा उत्कृष्ट पप गायिकाको उपाधि नै
पाइन्। ओपल इन्टरनेशनलले बजारमा ल्याएको यो मन का अरू गीत पनि रुचाइएका
छन्। सिने गुरुङसँगै मिङ्मा, दिव्य र राजीवका गीतले पनि २०६२ को इमेज
अवार्ड पाएका थिए। त्यतिखेर मिङ्मा उत्कृष्ट पप गायक, दिव्य उत्कृष्ट
नवगायक बनेका थिए भने राजीवको गीतको म्युजिक भिडियो उत्कृष्ट घोषित
भएको थियो।
दुई वर्षअघिसम्म नेपाली सङ्गीत क्षेत्रमा नामै नसुनिएका
धेरै गायक–गायिका अहिले एकपछि अर्को चर्चा बटुल्न व्यस्त छन्। दिव्यहरूभन्दा
केहीअघि मात्रै गायन क्षेत्रमा देखिएका सुदीप गिरी, कर्मा रुम्बा,
भरत सिटौला, अविनाश घिसिङले आफ्नै चिनारी बनाइसकेका छन्। उनीहरूसँगै
देखिएका डम्बर नेपाली मेलोडी अल्बमको आज आकाशमा एउटा तारा..., आशीष
बाङ्देल सामीप्य को आउँदैछु...., अमृत क्षेत्री अराईवल को मैले हेर्ने
एउटा तारा... आदि गीतबाट चर्चामा आएका छन्। यसै पङ्क्तिमा अरुण कार्की,
प्रतीक थापा, सञ्जय किशोर, विवश पौडेल, बुद्ध एन श्रेष्ठलगायतका गायकहरू
पनि देखिएका छन्।
राता–रात 'हिट'
 |
| तस्बिरः अनुपप्रकाश |
| सिने गुरुङ। |
पहिलो अल्बम बसन्त बजारमा ल्याएको तीन महिना नबित्दै
पूजा राई 'सेलिब्रिटी' बनिसकेकी छन्। पाँच महिनाअघि बजारमा आएको कलेक्सन
अल्बम ट्यालेण्ट फोर मा आएको एउटै गीतले गायक जवीकलाई पप सङ्गीतमा
'हट केक' बनाइदिएको छ।
नेपाली पप सङ्गीतमा पछिल्लो पटक रक गायिकाका रूपमा उपस्थित
पूजा आउँदैछु म त्यहाँ... बोलको गीतमा टेलिभिजनको पर्दामा छाइरहेकी
छिन्। पप गायनमा महिला स्वरको कमी भएको अवस्थामा हि–पप र स्लो रक लिएर
आएकी पूजालाई मिडियाले पनि उत्तिकै साथ दिएका छन्। पप सङ्गीतमा अलग्गै
छवि बनाउन तल्लीन पूजा तीन महिनामै नपत्याउँदो रूपमा चर्चा पाउन थालेकोमा
दङ्ग छिन्। भन्छिन्, “म केटी भएकीले मात्र श्रोताले मन पराएको त पक्कै
होइन होला।” शुरुमा रहरै रहरमा गीत गाएकी पूजा छोटो समयमै पाएको सफलताले
हौसिएकी छिन्। भन्छिन्, “अब निरन्तर गायन क्षेत्रमा लागिरहन्छु। सङ्गीतकै
अध्ययनमा लाग्ने तयारी पनि गरिरहेकी छुु।” रक बाहेक अरू गीत गाउन आफूलाई
नसुहाउने जस्तो लागे पनि विस्तारै सबै किसिमका गीत गाउने उनको धोको
छ। भूतपूर्व ब्रिटिश आर्मी स्वर्गीय बसन्तकुमार राईकी कान्छी छोरी
पूजाले बुबाकै नाममा बसन्त अल्बम निकालेकी हुन्।
आँखाभरि आँसु किन... बोलको एउटै गीत गाएर जवीक अहिले
पप गायन क्षेत्रमा परिचित बनेका छन्। पाँच महिनाअघि मात्र कलेक्सन
अल्बममा समेटिएको उनको अलग्गै शैलीको स्वर अहिले युवाहरूको छनौटको
गीत बन्न थालेको छ। काउण्टडाउनमा अगाडि आउन थालिसकेको छ यो गीत। र,
जवीकले आशलाग्दो उपस्थिति देखाइसकेका छन् सङ्गीत–वृत्तमा। दुई महिनापछि
एकल अल्बम जिरो माइल निकाल्ने तयारीमा रहेका उनी भन्छन्, “अल्बम आउनुअगावै
यसरी मेरो गीत हिट होला भनेर सोचेकै थिइनँ।”
यस्ता धेरै नयाँ प्रतिभाहरू दिनहुँजसो आफ्नो अल्बम लिएर
गायन क्षेत्रमा आइरहेका छन्। दिनेश अधिकारीको शब्द र राम थापाको सङ्गीतमा
रविन शर्माको स्वर रहेको एक जमानाको चर्चित गीत तिमी यसै लजायौ, म
उसै धकाएँ... को रिमिक्स लिएर पप गायनमा आएका सपन श्रेष्ठ पनि उत्तिकै
आशलाग्दो प्रतिभाका रूपमा देखिएका छन्। दुई वर्षको तयारीपछि ताल म्युजिकबाट
चाहना अल्बम निकालेका सपन आफ्ना गीत सुन्नासाथ म्युजिक कम्पनी अल्बम
निकाल्न तयार भएको बताउँछन्। रिमिक्स बाहेकका आफ्ना अरू गीत पनि कम
नभएको दाबी गर्दै उनी भन्छन्, “धेरै मेहनत गरेकाले अरू गीत पनि श्रोताले
मन पराउने कुरामा ढुक्क छु।”
 |
 |
| नव पप–गायकः जवीक र सपन श्रेष्ठ। |
केही महिनायता मात्र अल्बम निकालेर गायन क्षेत्रमा आएका
नयाँ गायकहरू एफएम र टेलिभिजनका माध्यमबाट श्रोता–दर्शकमाझ् पुगेपछि
चर्चामा आउन थालिसकेका छन्। केही गायकले पुराना रिमिक्स गीतलाई आफ्नो
उपस्थितिको आधार बनाएका छन् भनेे केही एकदमै नयाँ गीत लिएर देखा परेका
छन्। मोहित अल्बमको पानी खाने निहुँले... रिमिक्स गीतबाट मोहित मुनाल,
टार्गेट अल्बमको मनछाडे मैच्याङलाई... रिमिक्स गीतबाट मिलन सुर्खेतीलगायत
नयाँ प्रतिभाका रूपमा देखा परेका छन्। त्यस्तै इमर्ज अल्बम लिएर आएका
बसन्त, कारण अल्बमका हेमन्त राना पनि संभावनायुक्त लाग्छन्।
नेपालमा पप सङ्गीत क्षेत्रमा सुरुआतदेखि निरन्तर लागिरहेका
गायक ओमविक्रम विष्ट पप गायनमा देखा परेका नयाँ युवाहरू प्रतिभाशाली
भएको बताउँछन्। सङ्गीतमा अलग्गै पहिचान बनाउन नसके यस्ता प्रतिभाहरूले
चाँडै पलायनको बाटो रोज्नुपर्ने उनको धारणा छ। भन्छन्, “आशलाग्दा युवाहरू
आएका छन्, तर उनीहरूले आफूलाई टिकाइराख्न छुट्टै पहिचान बनाउनुपर्छ।”
विदेशी सङ्गीतको नक्कल मात्र गर्ने भन्दा पनि आफ्नै मौलिकता दिनसक्नेको
आयु लामो हुने उनले बताए। हुनपनि, अहिले राम्रा देखिएका गायक–गायिकाहरूले
यो माहौलमा आफ्नै शैली र पहिचान बनाउन नसक्ने हो भने उनीहरू बर्सेनि
आउने र हराएर जानेहरूको लहरमै सीमित नहोलान् भन्न सकिन्न।
रमझम
रिपोर्ट
बसाइ अस्करतिर
७९ औँ अस्कार
अवार्डका लागि विदेशी भाषाको फिल्मअन्तर्गत यसपटक बसाइँ ले नेपालको
प्रतिनिधित्व गर्दैछ। नेपालबाट मोशन पिक्चर्स एकेडेमीले यसको चयन गरेको
हो। यसअघि अस्करमा क्याराभान र मुनामदन लाई पठाइएको थियो।
लीलबहादुर क्षेत्रीको चर्चित उपन्यास बसाइँ
चलचित्रको पर्दामा उतारिएको डेढ वर्ष बित्यो। यस अवधिमा दार्जीलिङ,
कालिम्पोङका दर्शकहरूले यो फिल्म हेर्न पाए पनि नेपालका अधिकांश दर्शकले
त्यो मौका पाएका छैनन्। केही च्यारिटी शोबाहेक यो सार्वजनिक हुन नसक्नुको
कारणबारे निर्देशक सुवास गजुरेल भन्छन्, “उपयुक्त समयको पर्खाइमा थियौँ।
अब आगामी जनवरीमा रिलिज हुनेछ।”
धेरैले पढेको साहित्यिक कृतिमा आधारित चलचित्र भएकाले पनि बसाइँ प्रतिको
दृष्टिकोण अरू नेपाली चलचित्रभन्दा भिन्दै रहेको छ। २ घण्टा ४० मिनेटको
बसाइँ लाई अस्करमा पठाउँदा ३५ मिनेट छोट्याइएको छ। रु.४० लाखको लागतमा
तयार यो चलचित्रमा गणेश उप्रेती धने, मिथिला शर्मा मैना, मुकुन्द श्रेष्ठ
मोटे कार्की, उत्तम प्रधान रिकुटे, रञ्जु लामिछाने झ्ुमा बनेका छन्।
पाँचै जनाले औपन्यासिक चरित्रमा न्याय गरेका छन्। बसाइँ मा नयनराज
पाण्डेको पटकथा, लीलबहादुर क्षेत्रीको संवाद, बसन्त श्रेष्ठको नृत्य,
शक्तिबल्लभको सङ्गीत र राज थापाको छायाङ्कन रहेको छ।
बसाइँ लाई पर्दामा उतार्ने पहल २०५७ सालदेखि
भएको हो। मजदुर र माया बैगुनी चलचित्रको निर्देशन तथा रोमियो जुलियट,
भष्मासुरको नलीहाड जस्ता थुप्रै नाटकमा काम गरिसकेका निर्देशक गजुरेल
२०३५ मा क्याम्पसमा बसाइँ पढ्दा नै यसको कथावस्तुसँग प्रभावित भएका
थिए। चलचित्र क्षेत्रमा लागेपछि यसलाई पर्दामा उतार्ने सपना पूरा गर्न
उनी उपन्यासकारलाई भेट्न आसामको गुवाहिटीसम्म पुगे। भन्छन् “उहाँले
उपन्यासको मर्म नमर्ने शर्तमा स्वीकृति दिनुभयो। ”
चलचित्रमा प्रयुक्त ग्रामीण परिवेश, भेषभुषा,
सामग्री र दृश्यविधानले समेतबसाइँ को केन्द्रीय भाव र मौलिकतालाई मर्न
दिएका छैनन्। रोटेपीङ, हाटबजार, रोपाइँका दृश्य सही ठाउँमा उतारिएको
छ। निर्देशक गजुरेल भन्छन्, “हामीकहाँ मौलिक चलचित्र कमै बन्छन्। बसाइँ
लाई बौद्धिक वर्गले समेत हेरेर मूल्याङ्कन गरिदिनुपर्छ। अनि मात्र
भोलिका दिनमा यस्ता चलचित्र बनाउन जाँगर चल्नेछ।”
•
कृष्ण शाह यात्री
रमझम विविध
डिजिटलमा
कागबेनी
जय नेपाल र
कुमारी चलचित्र भवन लाई नयाँ रुप दिएर विगत पाँच वर्षदेखि चलचित्र
वितरण तथा प्रदर्शन गर्दै आइरहेको क्वेष्ट इन्टरटेन्मेन्टले निर्माण
गरेको पहिलो चलचित्र कागबेनी को छायाङ्कन सकिएको छ। ५ मङ्सिरमा काठमाडौँको
साङ्ग्रिला होटलमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक भुषण
दाहाल र निर्माता भाष्कर ढुङ्गानाले कागबेनी उच्च हिमाली भेगको जनजीवनमाथि
निर्माण गरिएको, गीत तथा नृत्य बिनाको 'थि्रलर' चलचित्र भएको बताए।
एचडी (हाइ डेफिनिशन) प्रविधिमा खिचिएको यो चलचित्रमा सौगात मल्ल, निमा
रुम्बा, दीया मास्केलाई प्रमुख भूमिकामा देख्न सकिने छ। नकिम उद्दिन
र राजेश सिद्धि सहयोगी निर्माता रहेको कागबेनी को छायाङ्कन विदुर पाण्डेले
गरेका छन्। प्रशान्त रसाइलीको पटकथा रहेको नयाँ शैलीको यो चलचित्रमा
अनुप बरालले काष्टिङ डाइरेक्टरको जिम्मेवारी सम्हालेका थिए।
मिथिला महोत्सव
३–९ मङ्सिरमा
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले बाह्रबिघा स्थलमा आयोजना गरेको
मिथिला महोत्सव ले मिथिला क्षेत्रको भाषा, संस्कृति र आफ्नोपनमा नयाँ
जागरण ल्याएको छ। अपन भाषा, अपन भेष, हमरा चाहिँ मिथिला प्रदेश भन्ने
नारासहित आयोजित महोत्सवको उद्घाटन नेकपा एमालेका महासचिव माधव नेपालले
गर्नुभएको थियो।
सो अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम
हेर्नेहरूको सङ्ख्या डेढलाख भन्दा बढी रहेको सांस्कृतिक समितिका संयोजक
जीवनाथ चौधरीको दाबी छ। महोत्सवमा स्थानीय रामानन्द युवा क्लव, मिथिला
नाट्यकला परिषद्, युवा नाट्यकला परिषद्, आकृति217 भारत, नयाँदिल्लीको
स्पर्श समूह, दरभङ्गा र मधुवनीका संस्थाहरूले नाटक तथा सांस्कृतिक
कार्यक्रम प्रस्तुत गरेका थिए। महोत्सवमा काव्य तथा विचार गोष्ठी समेत
भएका थिए। मैथिली भाषा, संस्कृति र कलाका लागि महोत्सव कोशेढुङ्गा
सावित भएको आयोजक समितिका संयोजक रामचन्द्र झ्ाले बताए।
•अजित,
जनकपुर
खोकु छिन्ताङ दुख्यो
कि...
धनकुटाको
खोकु छिन्ताङे जनताका पीडाका गीत गाएर लोकप्रिय बनेका
कलाकार किशोर थुलुङको साङ्गीतिक कार्यक्रम २८ आँै शहीद स्मृति दिवसको
अवसरमा छिन्ताङमा हालै सम्पन्न भयो। पञ्चकन्या शहीद पार्कमा भएको कार्यक्रममा
थुलुङले आफ्नै स्वरको खोकु छिन्ताङ दुख्यो कि..., सँगै सम्झ्ेर किन...,
गाउँ गाउँबाट उठ... लगायतका गीत गाउँदै २८ वर्ष अगाडिको खोकु–छिन्ताङ
हत्याकाण्डको सम्झ्ना गराए। कार्यक्रममा स्थानीय कलाकारहरू सूर्य वालिङ
र लोकेन्द्र तेले राईले साथ दिएका थिए। धरानको हिमायती परिवारसँग आबद्ध
भई १४ वर्ष अघिदेखि गायनमा लागेका थुलुङ जनवादी गीतसङ्गीतबाट जीविका
नचल्ने भएपछि ब्यापारमा लागेका छन्।
सिद्धराज, धनकुटा
थाङ्का सिक्ने
लहर
उदयपुरमा
अहिले थाङ्का आर्ट सिक्ने
लहर चलेको छ। कटारीको चिहानडाँडा र त्रिवेणीको गुराँसेमा कात्तिकको
अन्तिम साताबाट शुरु भएको तालिममा ५५२ जनाको सहभागिता छ।
थाङ्का सिक्नेहरूमा अधिकांश 'प्ल टु' पढ्दै
गरेका किशोरकिशोरीहरू छन्। व्यावसायिक रूपमै थाङ्कामा लाग्ने सोच बनाएकी
त्रिवेणी उच्च मावि कटारीमा कक्षा ११ मा अध्ययनरत मन्दिरा गौतम भन्छिन्
“थाङ्कामा जीविकाको सम्भावना देखेकाले तालिम लिएर यसैलाई व्यवसायको
रूपमा अँगाल्ने सोच बनाएकी छु।” तालिम स्थानीय कलाकारहरूका लागि समेत
उपयोगी सावित भएको छ। स्थानीय पत्रपत्रिकाहरूमा व्यङ्ग्यचित्र लेख्दै
आएका जीवन तामाङ र प्रेमकुमार राई तालिमले आफ्नो सीप र क्षमता बढाएको
बताउँछन्।
नेपाल समाज सेवा बुद्ध संघले आयोजना गरेको तालिम ६ महिना चल्ने छ।
थाङ्का कलाको विकास र प्रबर्द्धनमा लागिपरेको संघले यसअघि सिरहा र
सप्तरीमा पनि यस्तै तालिम सम्पन्न गरिसकेको छ। संघले राजधानीबाहिर
थाङ्काको व्यावसायिक उत्पादन गर्ने योजनाअनुरुप दक्ष जनशक्ति तयार
गर्न लागेको प्रशिक्षक विनोद लामाले बताए। व्यवसायीका अनुसार विदेशमा
नेपाली थाङ्काको माग बढ्दो छ। प्रशिक्षक लामा भन्छन्, “त्यही माग पूर्तिकै
लागि संघले मोफसलमा उत्पादन विस्तार गर्न लागेको हो।”
•
सन्तोष बराइली, उदयपुर
पाँचथरमा परिवर्तन
लोकतान्त्रिक
जनआन्दोलनको पृष्ठभूमि समेटेर पाँचथरका कलाकारहरूले
परिवर्तन नामक भिडियो चलचित्र तयार गरेका छन्। वीरेन्द्र स्मृति क्लबको
दोस्रो प्रस्तुति तथा अइन्द्रकुमार थापा निर्माता रहेको सो चलचित्रको
कथा लेखन र निर्देशन देवजङ्ग थापाले गरेका छन्। मुख्य सहायक निर्देशकमा
पवन विष्ट छन्। सुवराज थापा, मीना सोडारी, दिनेश श्रेष्ठ, आशा विश्वकर्मा
आदि कलाकार रहेको चलचित्रको व्यवस्थापन उमेश काफ्ले र देवेन कुँवर,
छायाङ्कन सुवास कान्दु तथा नृत्य निर्देशन बुद्धराज लिम्बू र कमिता
तुम्वापोले गरेका छन्।
•लक्ष्मी गौतम, फिदिम
|