पुस्तक
| समीक्षा
भाषा र पत्रकारिता
किताबः हाम्रो भाषा
लेखकः शरच्चन्द्र वस्ती
प्रकाशकः हिमाल किताब, हिमाल एशोसिएसन, ललितपुर,
२०६३
पृष्ठः २३२+ मूल्यः रु १५०.
दश वर्षदेखि
खोजमूलक रिपोर्टिङ गर्दा, गराउँदा खोज पत्रकारिता केन्द्रले सूचना
सङ्कलनमा राम्रो दखल भएका पत्रकारहरूको समेत भाषा–शैलीमा समस्या देख्योर
पत्रकारिता पाठशालाको १२ हप्ते पाठ्यक्रममा नेपाली भाषा–शैली समावेश
गर्यो। यो विषय पढाउन अघि सरे– नेपाली भाषा र पत्रकारिता दुवै क्षेत्रमा,
त्यसमा पनि अझ सम्पादनमै पोख्त– शरच्चन्द्र वस्ती।
सामान्यतया स्कूल–कलेज, विश्वविद्यालय र प्रशिक्षण संस्थामा
हुने पत्रकारिताको अध्ययन–अध्यापन र प्रशिक्षणमा भाषा–शैलीको पढाइ
हुँदैन; भएपनि नगण्य छ। वस्तीले पनि पढाउने क्रममा कुनै उपयोगी पुस्तक
सिफारिस गर्न सकेनन्। त्यसैले भाषाका नियम र लेखनशैलीका बारेमा पत्रकारहरूलाई
सजिलोसँग बुझाउन सकिने गरी आफैँले सामग्री जुटाए, पत्रपत्रिकाकै उदाहरणहरू
खोजे, तिनमा सम्पादनको आफ्नो अनुभव पनि मिसाए र पाठशालाका दुई वटा
प्रशिक्षार्थी समूहमा परीक्षण गरेर खारे। अनि तयार भयो यो किताब– हाम्रो
भाषा। नेपाली पत्रकारहरूलाई शुद्ध, सरल र सही ढङ्गले लेख्न सहयोग पुर्याउने
आशले हिमाल एशोसिएसनले यसलाई प्रकाशित गर्यो।
भाषा–विज्ञानको किताब भएपनि यो रोचक शैलीमा लेखिएको
छ। पत्रपत्रिकामा छापिएकै समाचार, सम्पादकीय र लेखरचनाका थुप्रै व्यावहारिक
उदाहरण समेटेर कुरा बुझाउने प्रयास गरिएको छ। ती उदाहरणसँगसँगै नेपाली
भाषाका सिद्धान्त, नियम र अनुशासन पनि घुसाइएका छन्। गर्नै नहुने कुराका
उदाहरण पनि छन् भने कसो गर्दा राम्रो हुने भन्ने सुझाव पनि छन्। कैयौँ
उदाहरणले यस्तो गल्ती पनि लेखिँदो रहेछ भनेर आश्चर्यमा पार्छन्। र,
प्रत्येक उदाहरणले पाठकलाई कहिल्यै नबिर्सिने छाप छोड्छन्।
किताबको प्राक्कथनमा वस्तीले स्थितिलाई बडो सटिक ढङ्गले
चित्रण गरेका छन्– पत्रकारहरूमा भाषागत कमजोरी अढाई दशकअघि जति थियो,
आज पनि त्यति नै छ। पत्रकारहरू साधनस्रोत र प्रविधिले धेरै अगाडि बढिसके
पनि भाषिक त्रुटि र अदक्षताले प्रस्तुतिमा कमजोर छन्। एकथरी मानिस
'नेपाली उतिसारो आउँदैन' भन्दा गर्व गर्छन् भने अर्काथरी 'नेपाली पनि
सिक्नुपर्छ र? म जे लेख्छु त्यही नेपाली' भन्नेहरू छन्। यसले गर्दा
सामान्य प्रयोगकर्ताहरू समेत अन्योलमा परेर अर्थ नबुझी शब्दको जथाभावी
प्रयोग गर्छन्।
सम्भवतः यही स्थितिले वस्तीलाई यो किताब लेख्न घच्घच्यायो।
किताबमा लेखकले तीन प्रमुख भाषिक त्रुटि र कमजोरीलाई औँल्याएका छन्–
व्याकरण र शब्द–शब्दार्थसँग सम्बन्धित, वाक्य र अर्थलाई प्रदूषित पार्ने
तथा भनाइको आशय, जोड, ध्वनि र समग्र प्रभावमा आघात पुर्याउने। 'शब्दानुशासन'
र 'शब्द प्रयोग' दुई खण्डमा गरेर शब्द र यसको बनोट, रूपविस्तार एवं
शक्ति तथा वाक्य, नाम, सर्वनाम, विशेषण, अव्यय, क्रिया, अङ्क, उद्धरण,
अनुच्छेद, दोष, अलङ्कार, शैलीजस्ता भाषाका विविध पक्षबारे चर्चा गरिएको
छ। धेरैले नेपाली भाषाको शुद्धताको एक मात्र मापदण्ड मान्ने गरेका
ह्रस्व–दीर्घ, हिज्जे जोडेर र छुट्याएर लेख्ने पदयोग–वियोग जस्ता पक्षलाई
भने किताबले छोएको छैन। किन होला? नियम नै स्थिर भइनसकेकाले भन्दै
लेखकले उल्टै प्रश्न गरेका छन्– 'आफैँ टुङ्गो नलागेको कुराको चर्चा
गरेर कुनै टुङ्गोमा पुग्न सकिन्छ र?'
तैपनि उपसंहारमा वस्तीले वर्णविन्यास व्यवस्थित गर्न
भएका प्रयासको सराहना गर्दै 'नेपाली बृहत् शब्दकोश' लाई त्यसको केही
जस दिएका छन्। सँगसँगै त्यही शब्दकोशका दोष देखाउँदै उनले ह्रस्व–दीर्घ
दुवै ठीक, 'श' र 'स' दुवै ठीक, जोड्दा पनि ठीक र छुट्याउँदा पनि ठीक
हुने गरिदिएर नियमलाई अपवाद र अपवादलाई नियम बनाएको तथा गाह्रो परेको
ठाउँमा झन् भ्रममा पारेको अवस्था पनि औँल्याएका छन्। यसरी सरलतातिर
जाने नाममा आफ्नो भाषाको विशेषता त्यागेको, क्षमता घटाएको र लत्तो
छोडेको भन्ने उनको मत छ।
नेपालका अधिकांश ठाउँमा विद्यालयदेखि नै नेपाली भाषा
र व्याकरणको राम्रो पढाइ हुने गरेको छैन। यस्तो पृष्ठभूमिबाट पत्रकारिता
पेशामा आउनेहरूलाई भाषामा दक्षता त चाहिन्छ नै। भाषा नजानिकन गरिने
पत्रकारिताले पत्रकारको इज्जत बढाउँदैन, बरु घटाउँछ। शरच्चन्द्र वस्तीको
यो किताबले पत्रकारहरूलाई नेपाली भाषाका सिद्धान्त, नियम र अनुशासन
सजिलैसँग पढ्न र बुझ्न अनि पत्रकारिता गर्दा सही लेख्न–बोल्न मद्दत
पुर्याउनेछ। किताब पत्रकारहरूलाई मात्र होइन, नेपाली भाषा लेख्नु,
बोल्नु र पढ्नुपर्ने विभिन्न पेशाका व्यक्ति र विद्यार्थीहरूलाई समेत
काम लाग्ने खालको छ।
हस्त गुरुङ
प्राप्त
कृति
 |
बाल्यकालसँग लोभिँदै बाल्यकालमा
(आत्मसंस्मरण)
लेखिकाः अलका आत्रेय चूडाल
प्रकाशकः रुद्रप्रसाद चूडाल, काठमाडौँ, २०६३
पृष्ठः १४८, मूल्यः रु.१५०
|
 |
लेकाली मीतआमा र अरू सिर्जनाहरू
(कथा–सँगालो)
लेखकः लक्ष्मीप्रसाद निरौला
प्रकाशकः रत्न पुस्तक भण्डार काठमाडौँ, २०६३
पृष्ठः ८६, मूल्यः रु.५५
|
 |
नेपाल थर्काइदिने १९ दिन
(दोस्रो जनआन्दोलनसम्बन्धी पुस्तक) लेखकः अरविन्द
रिमाल
प्रकाशकः टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठान,
काठमाडौँ, २०६३
पृष्ठः ९६, मूल्यः रु.७५
|
|
अर्केष्ट्रा (कथा–सङ्ग्रह)
लेखकः दुर्गा विनय
प्रकाशकः नियात्रा प्रकाशन, झापा, २०६२
पृष्ठः ६४+, मूल्यः रु.५०
|
|
गायत्री मन्त्रको भाव साथमा परमात्म तत्वज्ञानको कखगघ
(धार्मिक व्याख्यान)
लेखकः सुरेन्द्रप्रसाद पौड्याल
प्रकाशकः नेपाल पूजा प्रतिष्ठान, काठमाडौँ,
२०६३
पृष्ठः १२८+, मूल्यः रु.१००
|
|
सेतु
(अमेरिकी नेपाली कविता)
सम्पादकः हरिराज भट्टराई
प्रकाशकः सेतु प्रकाशन, अमेरिका, २०६२
पृष्ठः १४०+, मूल्यः अमेरिकी
डलर ५.९९ |
|