हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खेलकुद

बलरामको उदय

 

नेपालका नम्बर एक खेलाडी पशुपति पनेरुलाई प्रतिस्पर्धात्मक फाइनलमा २१–१९, १२–२१ र २१–१९ ले पराजित गर्दै सशस्त्र प्रहरीका बलराम थापाले तेस्रो अधिराज्यव्यापी कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिताको एकल उपाधि जितेका छन्। ९ मङ्सिरमा भएको फाइनलमा थापाको आक्रामक खेलका अगाडि पनेरुको 'डिफेन्स' र राम्रो 'फुटवर्क' को केही चलेन। पूरै म्याच अवधिमा उत्कृष्ट 'शट' हरूको मद्दतले बलरामले चिरपरिचित प्रतिद्वन्द्वी पनेरुलाई दबाबमा राखेका थिए। यसअघिका दुवै संस्करणको फाइनलमा पनेरुले बलरामलाई पराजित गरेका थिए। बलराम यो विजयलाई निरन्तरको अभ्यास र मेहनतको प्रतिफल ठान्छन्। उनी भन्छन्, “यो विजयलेे तीन–चार वर्षदेखि चलेको मेरो हारको शृङ्खलालाई अन्त्य गरेको छ।”

बलरामले एकल उपाधिको रु.२५ हजारसँगैै प्रतियोगितामा रु.३७ हजार हात पारे। यो विजयपछि बलराम चुप लागेर बस्ने सोचमा छैनन्। अब उनको ध्यान आगामी पुसमा नेपाल प्रहरीले आयोजना गर्ने खुल्ला प्रतियोगितातर्फ लक्षित भएको छ। “यो सफलतालाई निरन्तरता दिन पनि मैले नयाँ रणनीति अनुसार खेलस्तर बढाउनुपर्छ”, बलराम भन्छन्।

महिला एकलको उपाधि भने श्रीलङ्कामा सम्पन्न दशौँ सागमा कास्य पदक जित्ने विराटनगरकी सुमिना श्रेष्ठलेे प्राप्त गरिन्। उनले भोजपुरकी सरादेवी तामाङलाई १९–२१, २५–२३ र २१–१७ ले पराजित गरेकी थिइन्। फाइनलमा सुमिनाको अनुभव र क्षमताका अगाडि छरिती सराको केही लागेन। उपाधिसँगै सुमिनाले रु.१५ हजार नगद र ट्रफी पनि जितिन्। अन्य स्पर्धातर्फ पुरुष डबल्समा पशुपति पनेरु र रामसिंहको जोडीले जित्यो भने मिक्स डबल्सको उपाधि बलराम थापा र सरादेवी तामाङको जोडीले। त्यसैगरी किशोर राणा र सुझ्ना श्रेष्ठले क्रमशः ब्यायज सिंगल्स र गर्ल्स सिंगल्स जिते।

यसअघिका संस्करणभन्दा निकै व्यवस्थित मानिएको यस प्रतियोगितामा देशभरका करीब चार सय खेलाडी सहभागी थिए। प्रतियोगिताको पुरस्कार राशी र उपलब्ध सुविधाले खेलाडीहरूको हौसला बढाउनुका साथै ब्याडमिन्टन खेललाई लोकप्रिय बनाउन मद्दत पुर्‍याएको दाबी बलरामको छ। प्रतियोगिता सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्ड हलमा ६–९ मङ्सिरसम्म चलेको थियो। सशस्त्र प्रहरीका संस्थापक महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठको स्मृतिमा २०६० सालदेखि यो प्रतियोगिता हुँदै आएको छ। स्मरणरहोस्, स्व. श्रेष्ठ स्वयं पनि ब्याडमिन्टनका कुशल खेलाडी थिए।

सुरेशराज न्यौपाने


दोहा मिसन फेरि पनि खेलाडी उपेक्षित

महेश प्रधान
अभ्यासमा व्यस्त कमलबहादुर अधिकारी।

पन्ध्रौँ एसियाली खेलकुदमा सहभागी हुन ५१ खेलाडी सम्मिलित १२० जनाको 'जम्बो' नेपाली टोली कतारको राजधानी दोहातर्फ प्रस्थान गरिसकेको छ। जसमध्ये सयजना नेपाल सरकारको खर्चमा र बाँकी नेपाल ओलम्पिक कमिटीको सौजन्यमा दोहा गएका हुन्। दोहा मिसनका लागि सरकारले रु.१ करोड १२ लाख खर्च छुट्याएको छ।

१५ मङ्सिरदेखि दुईसातासम्म चल्ने सो प्रतियोगितामा नेपालले एथलेटिक्स, सूटिङ, भारोत्तोलन, गल्फ, उसु, तेक्वान्दो, कराँतेलगायत १४ खेलमा भाग लिनेछ। तीमध्ये कराँते र तेक्वान्दोका चार स्पर्धामा मात्र पदकको सम्भावना रहेको तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक थानेश्वर राई बताउँछन्। राई भन्छन्, “हामी राम्रो भएको खेलमा पनि पछाडि परिसकेका छौँ। त्यसकारण धेरै आशावादी हुने ठाउँ छैन।” राईका अनुसार नेपालले चार कास्य पदक जितेमा पनि दोहाको यात्रा गर्ने करीब ३० जना बराबर एक कास्य हुनजान्छ, जुन आफैँमा निराशाजनक परिणाम हो।

यस सहभागिताले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल र खेलाडीले भन्दा अफिसियल र नातेदारको विदेश सयरले बढी मह140व पाउने परम्परालाई निरन्तरता दिएको छ। खेलकुदमा गरिएको परिवर्तनको अपेक्षा विपरीत विगतको गलत परम्परालाई निरन्तरता दिन शिक्षा तथा खेलकुद मन्त्री मङ्गलसिद्धि मानन्धर स्वयं पनि जिम्मेवार छन्। उनको नेतृत्वमा मात्रै आठ जना अफिसियल दोहा जाँदैछन्। त्यसैगरी राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष अजर मानन्धरको सिफारिसमा नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) का कार्यकर्ता बासु जोशीले दोहा यात्राको अवसर प्राप्त गरेका छन्। अनावश्यक रूपमा सहभागी सङ्ख्या बढ्नुलाई सामान्य ठान्छन् कोषाध्यक्ष मानन्धर। उनी भन्छन् “पहिलेभन्दा कम नै हो। एकैचोटि सुधार गर्न गाह्रो हुँदो रहेछ।”

खेलकुद अधिकारीहरू पनि दोहा भिलेजमा प्राप्त हुने निःशुल्क आवास, भोजन तथा ३० वटा प्लेन टिकटका कारण अहिलेको सङ्ख्यालाई ठूलो मान्न नहुने बताउँछन्। तथापि, आवश्यकताभन्दा बढी व्यक्तिको दोहा यात्राले प्रतिव्यक्ति ६८० अमेरिकी डलरका दरले ३४ हजार डलर बराबरको थप व्ययभार राज्यले व्यहोर्नुपर्नेछ। यो स्थितिप्रति असहमति जनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी महासंघका महासचिव कुमार कार्की भन्छन्, “कुनै राजनीतिक व्यक्तिको साटो बरु खेलाडीलाई अवसर दिएको भए राम्रो हुनेथियो।”

मनोज घिमिरे


अग्रगमनसँगै तातेको लिग

१३ मङ्सिरमा सम्पन्न नेबिल थ्रीस्टार र सरस्वती क्लबबीचको खेल ।

प्रतिगमन कालमा भएका खेलकुद संघहरूको निर्वाचन बदर गर्ने राष्ट्रिय खेलकुद परिषद्को निर्णयबाट लिग खेलमा अवरोध पुग्छ भन्ने एन्फा अध्यक्ष गणेश थापाको दाबीलाई गलत साबित गरिदिएको छ, १५ कात्तिकदेखि शुरु भएको शहीद स्मारक सानमिगल फूटबल लिगको सहज निरन्तरताले।

एकातिर राखेप र संघबीचको विवाद क्रमशः सेलाउँदै गएको छ भने अर्कोतिर खेल मैदानमा अप्रत्याशित परिणाम आउने क्रम जारी छ। महँगा र चर्चित क्लबहरूले निराशाजनक प्रदर्शन गरेपनि महेन्द्र पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी क्लब जस्ता विभागीय क्लबहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन्। त्यसैगरी कमजोर मानिने ब्यायज युनियन, सरस्वती, बिग्रेड ब्यायजजस्ता क्लबहरूले पनि राम्रो चुनौती पेश गरेका छन्। प्रतियोगिताको पहिलो अप्रत्याशित नतिजा फ्रेन्ड्स क्लबद्वारा मनाङमर्स्याङ्दीमाथिको २–० को विजय थियो।

गतवर्षको लिग विजेता मनाङमर्स्याङ्दीको खराब प्रदर्शन यतिमै सीमित छैन। १७ वर्षमुनिका राष्ट्रिय खेलाडीहरू सम्मिलित सङ्कटाले चर्चित खेलाडीहरू रहेको मनाङलाई बराबरीमा रोकेर नराम्रो झ्ट्का दिएको छ। मनाङभन्दा अपत्यारिलो प्रदर्शन २०६१ सालको लिग विजेता नबिल थ्रीस्टारको रहेको छ। सुरेन्द्र तामाङ, प्रदीप महर्जनलगायतका राष्ट्रिय खेलाडीहरूको वर्चश्व रहेको थ्रीस्टारलाई सशस्त्र प्रहरीको एपीएफ क्लबले २–० ले पराजित गरेर सबैको स्याबासी पाउन सफल भएको छ। दुई मङ्सिरमा सम्पन्न उक्त खेलको केन्द्रबिन्दु बने, एपीएफका सन्तोष साहुखल। उनी थ्रीस्टारबाट यस वर्ष मात्र स्थानान्तरण भएका हुन्। थ्रीस्टारको कमजोर प्रदर्शनले ९ मङ्सिरमा पनि निरन्तरता पायो। त्यो दिन त्रिभुवन आर्मी क्लबसँग ०–४ ले पराजित हुँदै थ्रीस्टार उपाधिको दौडमा पछि परेको छ। तर, सरस्वती क्लबसँगको खेलमा नाइजेरियाका ओवाग बिमिरो जुनियर र चिडेबी चेना अक्पुलोनलाई मैदानमा उतारेर फितलो प्रदर्शनको क्रमलाई रोक्न भने सफल भएको छ। उक्त खेल थ्रीस्टारले ४–० ले जितेको थियो। गतसाल ओबागले ब्रिगेड ब्यायजबाट उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।

यसपालिको लिगमा १४ मङ्सिरसम्म महेन्द्र पुलिस क्लब र त्रिभुवन क्लब अपराजित रहेका छन्। खेल मैदानको प्रदर्शन हेर्दा सेनाको त्रिभुवन क्लब यस वर्षको लिग दाबेदारीमा अग्रपंक्तिमा छ भने त्यसलाई पछ्याउँदै छ महेन्द्र पुलिस क्लब। उपाधिका लागि एपीएफ र फ्रेन्ड्स क्लबको दौड पनि कम आशलाग्दो छैन। उता १७ वर्षमुनिका किशोरहरूको सङ्कटाको यात्रा चाहिँ बलिया टीमलाई बराबरीमा रोकेर लिग तालिकालाई उलटफेर गर्नमै केन्द्रित देखिन्छ। ऊ अहिलेसम्म मनाङ, एपीएफ, ब्यायजयुनियनलाई बराबरीमा रोक्न सफल भइसकेको छ। उता लिगको अङ्क तालिकामा पछाडि परेका बिग्रेड ब्यायज, जावलाखेल, सरस्वती र ब्यायज युनियनको ध्यान उपाधि हात पार्ने भन्दा पनि 'रेलिगेशन' बाट बच्नमै केन्द्रित देखिन्छ।

त्यसो त तीन महिनासम्म चल्ने लिगमा अप्रत्याशित नतिजाहरू नआउलान् भन्न सकिन्न। त्यसैले निर्धारण गर्नेछ यस वर्षको लिग च्याम्पियन। व्यक्तिगत प्रदर्शनको हकमा भने अहिलेसम्म हरि खड्का, विकर्ण श्रेष्ठ, सन्तोष साहुखल, जिवेश पाण्डे, भरत खवास र ऋषि राईको प्रदर्शन प्रशंसनीय रहेको छ।