जनता
संसदका व्यवस्थापक
 |
| मीन बज्राचार्य |
'माओवादीसहितको अन्तरिम
संसद गठन हुने' २२ कात्तिकमा निश्चय भएपछि मङ्सिरको
चटारोले छोप्यो सूर्यकिरण गुरुङलाई। संसद सचिवालयका कर्मचारीसहितको
गुरुङको टोलीले अन्तरिम संसदको व्यवस्थापनको तयारी शुरु गर्यो। राणा
प्रधानमन्त्री चन्द्र शमशेरका पालामा विदेशी पाहुना भेट्न लगभग १००
वर्ष पहिले बनाइएको भवनभित्रै त्यो उपाय खोज्नुको विकल्प थिएन। बैठक
कक्ष फराकिलो बनाउने, ठूल्ठूला 'पिलर' ले सांसद–सभामुखबीच देखादेखमा
बाधा नपारुन् भनेर सभामुखको टेबलमा र दायाबायाँ गरी चार वटा एलसीडी
(हे. तस्बिर) राख्ने, 'पिलर' पछि बसेका सांसदहरूले सभामुखलाई वा 'रोष्ट्रम'
बाट बोलिरहेको देख्न सकिने गर्न सभामुखको दायाँ बायाँ २.४ मिटरका दुई
वटा 'स्क्रीन' राख्ने काम गरियो।
२०५ जना सांसद अट्ने बैठक कक्षमा अहिले ३४० जना सदस्य
अटाउन सक्ने व्यवस्था गरिएको छ। त्यति साँघुरो ठाउँमा यो कसरी संभव
भयो? हिजो पत्रकार, दर्शक वा कूटनीतिज्ञ कसले प्रयोग गर्ने ठाउँ कटौतीमा
पर्यो? गुरुङ भन्छन्, “पत्रकारहरूको चालीस सीट कटौती गरिएको छैन,
उनीहरूलाई बार्दलीमा समेत राखिनेछ। कूटनीतिक नियोगका पदाधिकारीहरू
'रोयल ग्यालरी' मा बस्नेछन्।” तर, उनले स्वीकार गरे, “दर्शकदीर्घाका
केही सीट भने कटौतीमा परे।” गुरुङको नेतृत्वमा रहेको सचिवालय प्रशासनले
अन्तरिम संसदका लागि मात्रै होइन, संविधानसभाको चुनाव जितेर आउने ४२५
सदस्यलाई कसरी अटाउने भन्ने गृहकार्य पनि शुरु गरिसकेको छ।
४९ वर्षअघि ब्रिटिस सैनिक परिवारमा काठमाडौँमा जन्मिएका
गुरुङले देहरादूनबाट विद्यालय तहको शिक्षा पूरा गरेपछि नेपाल ल क्याम्पसबाट
कानूनमा स्नातक गरेका हुन्। उनले पटना विश्वविद्यालयबाट 'न्यु इन्टरन्याशनल
इकोनोमिक अर्डर' र क्यानडाको युनिभर्सिटी अफ अल्वेर्टाबाट 'इन्टरन्याशनल
एक्स्ट्राडाइशन ल' मा एलएलएम गरेपछि केही वर्ष नेपालगञ्ज स्थित महेन्द्र
बहुमुखी क्याम्पस र पोखराको पृथ्वीनारायण क्याम्पसमा पढाए पनि। नेपालमा
२०४६ सालको जनआन्दोलन चलिरहँदा उनलाई क्यानडाबाट विद्यावारिधि गर्ने
अवसर प्राप्त भयो। तर, लगत्तै भएको चुनावपछि तत्कालीन सभामुख दमननाथ
ढुङ्गानाले संसद सचिवालयको सचिव बनाएपछि गुरुङले १४ वर्ष त्यहीँ बिताए।
अहिले उनी त्यहाँको महासचिव छन्।
हाम्रो संसदीय इतिहासको सन्दर्भमा १४ वर्षको अनुभव आफैँमा
महवपूर्ण हो। शायद यही सोचेर हुनसक्छ, गुरुङले आफ्नो संस्मरण, संसदीय
अभ्यास र कार्यविधि समेटेर दुई वटा पुस्तक प्रकाशन गर्ने तयारी गरिरहेका
छन्। अब छिट्टै राजदूत हुने चर्चा चलेको बारेमा उनले कुनै जवाफ दिन
मानेनन्, हाँस्दै यत्ति मात्र भने, “मैले कसैसँग अनुरोध गरेको छैन।”
|