देश | समाचार
बन्यो नयाँ राष्ट्रिय गान
 |
| डम्बरकृष्ण श्रेष |
| प्रदीपकुमार राई |
सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची–महाकाली।
प्रकृतिका कोटि–कोटि सम्पदाको आँचल
वीरहरूका रगतले स्वतन्त्र र अटल
ज्ञान भूमि, शान्ति भूमि, तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।
ओखलढुङ्गाको फाप्ले–८, हिलेपानीका कवि व्याकुल माइला (प्रदीपकुमार
राई) का यी हरफलाई नेपालको सम्भावित नयाँ राष्ट्रिय गानको रूपमा चयन
गरिएको छ। १४ सदस्यीय राष्ट्रिय गान चयन कार्यदलले देशभरबाट आएका १२
सय ९२ रचनामध्येबाट यो गीत छानेको हो।
कार्यदलले १४ मङ्सिरमा पर्यटन तथा संस्कृति मन्त्री प्रदीप ज्ञवालीलाई
गीत हस्तान्तरण गरेको छ। भूगोल, प्रकृति, भाषा, धर्म–संस्कृति, वीरता,
बहुलवादी समाज, नेपालीको एकता र अग्रगामी कदम समेटिएकोले उक्त रचनालाई
राष्ट्रिय गानको रूपमा चयन गरेको कार्यदलका एक सदस्य, गायक रामेशले
बताए। उनले भने, “सरकारले हामीलाई सुम्पिएको काम सम्पन्न गरेका छौँ,
यसलाई अनुमोदन गर्ने जिम्मा आम नेपालीको हो।” ६ महिनाअघि संस्कृतिविद्
सत्यमोहन जोशीको संयोजकत्वमा गठित राष्ट्रिय गान चयन कार्यदलका सदस्यमा
मोदनाथ प्रश्रित, अम्बर गुरुङ, बैरागी काइँला, दुर्गालाल श्रेष्ठ,
वेञ्जु शर्मा, रामेश श्रेष्ठ, अमर गिरी, नन्दकृष्ण जोशी, बुँद राना,
गोपाल ठाकुर, आहुती, श्रवण मुकारुङ र जलकृष्ण श्रेष्ठ थिए।
गीत चयन गर्ने क्रममा देशभरबाट आएका रचनाहरूमध्ये शुरुमा २८० र पछि
१० उत्कृष्ट गीत छनौट गरेर अन्तिम चरणमा तीन वटा छानिएको थियो। छनौटमा
हरिहर तिमिल्सिनाको रचना दोस्रो र रामप्रसाद ज्ञवालीको रचना तेस्रो
भएका थिए।
हाल ललितपुर, तिखेदेवलमा बस्दै आएका ओखलढुङ्गाको निम्नमध्यम परिवारका
३४ वर्षीय प्रदीपकुमार राईले सम्भावित राष्ट्रिय गानका लागि आफ्नो
रचना छनौट भएपछि जिम्मेवारी थपिएको महसूस गरेका छन्। २०४७ सालमा पढ्न
राजधानी आएका कानुनका स्नातक राई हाल जनप्रशासनमा स्नातकोत्तर अध्ययन
गरिरहेका छन्। डेढ दशकदेखि साहित्यमा लागेका राई आफ्नो रचना देशको
राष्ट्रिय गानको रूपमा चयन हुनु जीवनकै मह140वपूर्ण क्षण भएको बताउँछन्।
नाम घोषणा भएपछि उनले हिमाल सँग भने, “रचनामा जनआन्दोलनको लहरबाट उठेको
सबै नेपालीको भावना समेटेको छु।”
मन्त्रिपरिषद्बाट अनुमोदन भएमा व्याकुल माइलाको यो गीतले चक्रपाणि
चालिसेद्वारा रचित 'श्रीमान गम्भीर नेपाली ...' लाई विस्थापित गर्नेछ।
•
डम्बरकृष्ण श्रेष्ठ
आधा शताब्दी बित्यो,
पुल बनेन
झ्ापाको
भद्रपुर र भारत, बिहारको गलगलिया जोड्ने मेची नदीमा
पुल बनाउन भद्रपुरे अगुवाहरूले माग गर्न थालेको आधा शताब्दी बितिसक्यो,
पुल बनेको छैन। २००८ सालमा मातृकाप्रसाद कोइरालाले नेतृत्व गरेको सरकारसँग
पुलको माग गर्न काठमाडौँ गएकाहरूमध्ये भवानी घिमिरे र त्रिरत्नलाल
श्रेष्ठ मात्र जीवित छन् भने सुरजमल सरावगी, एसएल शर्मा, हंसनारायण
चौधरी, पूर्णप्रसाद भुर्तेल र केवी पराजुलीको निधन भइसकेको छ। पुल
नबनेको मात्र होइन, कोइराला मन्त्रिपरिषद्ले पुलको निम्ति त्यतिबेलै
दिने निर्णय गरेको काठ समेत त्यहाँ कहिल्यै पुगेन।
२०२८ सालमा तत्कालीन अञ्चलाधीश मनमोहन
मिश्रले २० वर्षअघिको सरकारी निर्णय पछ्याउँदै काठेपुलको शिलान्यास
गरेका थिए। त्यसको ११ वर्षपछि १५ जेठ २०४१ मा तत्कालीन प्रधानमन्त्री
लोकेन्द्रबहादुर चन्दले चाँदीको कर्नीले सिमेन्ट राखेर बगरमा पुलको
शिलान्यास गरे। यसबीच दुई दर्जन भन्दा बढी सरकार गठन–विघटन भए, तर
पुल बनेन। नेपाल सरकारले नसुनेपछि अहिले स्थानीय अगुवाहरू पुल निर्माणको
माग लिएर भारत सरकारलाई अनुरोध गर्न दिल्ली जाँदैछन्। “आफ्नो सरकारले
नसुनेपछि हामी भारत सरकारलाई विन्ती बिसाउन जाँदैछौँ”, मेचीपुल निर्माण
समितिका सदस्य पत्रकार माधव विद्रोही भन्छन्।
हिउँदमा आवतजावत गर्नको निम्ति यस वर्र्ष
पनि भद्रपुरका युवाले रु.५० हजार जोहो गरेर बाँसको पुल बनाएका छन्।
पुल प्रयोग गर्नेहरूसँग प्रतिव्यक्ति रु.२ उठाउँदा गत वर्ष रु.२ लाख
५० हजार सङ्कलन भएकोले पनि पुलको आवश्यकता कति रहेछ भन्ने अनुमान लगाउन
सकिन्छ। पत्रकार विद्रोही भन्छन्, “सरकारलाई नैतिक दबाब दिन पनि बाँसे
पुल बनाइएको हो।”
•
गोपाल गड्तौला, झ्ापा
ज्यानमारा
हात्ती समातियो
मोरङ र
सुनसरीका विभिन्न स्थानमा ६ देखि १९ कात्तिकसम्ममा १२ जनाको ज्यान
लिएको जङ्गली हात्ती समातिएको छ। चितवनबाट आएका तीन हात्ती विशेषज्ञसहित
१५ सदस्यीय टोलीले घरेलु हात्तीको सहयोग लिएर त्यो हात्तीलाई २ मङ्सिरमा
नियन्त्रणमा लिएको हो। सो हात्तीले सुनसरी, इटहरी–२ का कुमार राई,
रञ्जित परियार, सुकमाया राजधामी, लीला पाण्डे, इटहरी–३ का पुष्प मगर,
तरहराका दिलकुमारी राई, पकली–४ का रसेद रहिम मिया, पाँचकन्या–५ का
गणेश राउत, धरान–१५ का सुष्मा भुजेल र पदमकुमारी बुढाथोकी, मोरङ, केराबारी–५
का नरेन्द्र पाण्डे र मधुमल्ला–९ का धनकुमारको ज्यान लिएको थियो।
जिल्ला वन कार्यालय सुनसरीका प्रमुख मुरारी शर्माका
अनुसार, कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट ल्याइएका दुई वटा
पोथी हात्ती नजिक आएको मौका पारेर राति दुई बजे विशेषज्ञहरूले उक्त
जङ्गली भाले हात्तीलाई लठ्याउने सुई हानेका थिए। हात्तीलाई इटहरी–२
स्थित वन अनुसन्धान केन्द्र परिसरमा फेला पारिएको थियो। कृषि तथा सहकारी
मन्त्रालयका पशु चिकित्सक बालकृण गिरीका अनुसार भाले हात्तीमा वर्षको
दुईपटक यौन उत्तेजना हुन्छ र त्यस्तो बेला उसले बिगार गर्न सक्छ। नियन्त्रणमा
रहेको हात्तीको अगाडिको दाहिने खुट्टामा गोली लागेकाले पीडा सहन नसकेर
मान्छे मारेको अनुमान विशेषज्ञ टोलीले गरेको छ। टोलीमा गिरीसहित राष्ट्रिय
प्रकृति संरक्षण कोषका विष्णु लामा र हर्कमान लामा संलग्न थिए।
•
गोपाल दाहाल, धरान
बाजा बजाउँदै विकास
गर्ने
 |
गाउँघरमा हुने विवाह–ब्रतबन्धमा
दमाईहरूले बजाउँदै आएको बाजा अब पाल्पाको एउटा गाउँका मगर युवाहरूले
बजाउन थालेका छन्। दोभान–९ को शिव गुफा युवा क्लबका १३ देखि १८ वर्षका
ती युवाहरूको रचनात्मक काम देखेर गाउँवासीहरू दङ्ग छन्। झयाइँ–झयाइँ
पार्दै मीठो धुन र ताल मिलाउन मात्र सिपालु छैनन् उनीहरू, ब्ााजा पनि
आफँै बनाउँछन्। विवाहको मौसममा उनीहरूलाई भ्याई–नभ्याई हुन्छ। “गाउँकै
ठिटाहरू बाजा बजाउन खप्पिस भएपछि चाड–पर्व र शुभकार्यमा दमाई खोज्दै
चार–पाँच दिन भौँतारिनु नपर्ने भएको छ”, स्थानीय चोपलाल गिरी भन्छन्।
कालिका प्राविका प्रधानाध्यापक हरि पाण्डेय युवाहरूले कुनै पनि पेशा
जातिविशेषको हुँदैन भन्ने सन्देश दिएको बताउँछन्।
गाउँवासीहरूको प्रशंसाले युवाहरू पनि मख्ख छन्। “यस्तो प्रशंसा होला
भन्ने कल्पनै गरेका थिएनौँ”, क्लब अध्यक्ष तिलकबहादुर सोमै भन्दछन्,
“दमाई जातिको काम भनेर सोचेको भए मौलिक बाजा लोप पो हुन्थे कि!” उनीहरूले
बाजा बजाएर हुने आम्दानी गाउँको विकास–निर्माण र सामाजिक कार्यमा पनि
खर्च गर्ने भएका छन्। गाविस सचिव यादव अर्याल भन्छन्, “दमाईहरू पुर्ख्यौली
पेशा धान्न नसकेर पेशाबाट पलायन भएको बेला यिनले रीतिरिवाज र संस्कृति
जोगाएका छन्।”
•
गोविन्द लुइँटेल, पाल्पा
गाउँघरमा
राजदूतहरू
 |
| राजदूतहरू क्रमशः शिवशंकर मुखर्जी (भारत), फिन थिन्स्टेड (डेनमार्क)
र महेन्दर सिंह (मलेसिया)। |
लोकतन्त्र स्थापनापछि
उदयपुरमा विदेशी कूटनीतिज्ञहरू आउने क्रम बढेको छ। अहिलेसम्म उनीहरूबाट
उदयपुरले करीब रु.४ करोडको सहयोग पाएको छ। फिनल्याण्ड राजदूतावासका
प्रथम सचिव सुश्री इभामायाला २६ कात्तिकमा आएकी थिइन् भने त्यसको दुईदिनपछि
नेपालका लागि भारतीय राजदूत शिवशङ्कर मुखर्जी र मलेसियन राजदूत महेन्दर
सिंह आए।
त्यसअघि २९ असोजमा डेनमार्कका राजदूत फिन थिन्स्टेड,
गत वर्ष २३ मङ्सिरमा बेलायती राजदूत किथ ब्लुमफिल्ड, दुई वर्षअघि चिनियाँ
राजदूत सुन हेपिङ पनि आएका थिए। आउने कूटनीतिज्ञहरू कुनै न कुनै सहयोग
गरेर वा सहयोगको वाचा गरेर फर्किएका छन्। करीब ३ वर्षमा विदेशी कूटनीतिज्ञहरूको
पहलमा उदयपुरले पुस्तकालय भवन, पुस्तक, विज्ञान प्रयोगशाला भवन, फर्निचर,
खानेपानी योजना आदिमा कम्तीमा रु.३ करोड ८४ लाख र एउटा एम्बुलेन्स
सहयोग पाएको छ।
कूटनीतिज्ञहरू शहर बजारमा मात्र नभई जिल्लाका दुर्गम
र पहाडी गाउँसम्म पुगेका छन्। डेनिस राजदूत थिन्स्टेड पहाडी गाविस
पोखरीमा निर्मित लघु जलविद्युत् परियोजनाको उद्घाटन गर्न तीन घण्टा
हिँडेर योजनास्थल पुगेका थिए। योजनाका अध्यक्ष नैनबहादुर खड्काका अनुसार,
करीब रु.६० लाखको सो योजनामा डेनमार्कले रु.३१ लाख सहयोग गरेको छ।
फिनल्याण्डको सहयोगमा निर्मित दुई वटा विद्यालय भवन उद्घाटन गर्न दूतावासकी
प्रतिनिधि इभामायाला सदरमुकामबाट ७५ किलोमिटर पूर्व रामपुरबजारदेखि
डेढघण्टा पैदल हिँडेकी थिइन्। मलेसियाका राजदूत सिंह पनि पैदल उकालो
चढेका थिए।
जिल्लामा राजदूतहरू निम्त्याउने मेलोमेसो मिलाउने काम
भने काठमाडौँमा रहने नेका प्रजातान्त्रिकका नेता डा. नारायण खड्काले
गर्ने गरेका छन्। “अरू नेताहरूले जस्तो सस्तो लोकप्रियताको कुरा नगरी
कुनै सार्वजनिक पदमा नभएका उनले काठमाडौँ बसेर समेत जिल्लाको विकास
निर्माणमा ध्यान दिएका छन्”, नेका प्रजातान्त्रिकका उदयपुर सभापति
नारायण कार्की भन्छन्। लामो समयसम्म क्यानाडामा प्राध्यापन गरेका डा.
खड्काले विदेशीहरूसँगको आफ्नो सम्बन्ध र सम्पर्कलाई जिल्लाको विकासमा
प्रयोग गर्नुलाई यहाँ उनको भावी राजनीतिसँग पनि जोडेर हेर्ने गरिएको
छ।
•
महेश्वर चाम्लिङ, उदयपुर
छायो शान्ति, खुल्यो
तस्करी
राजस्व अनुसन्धान
विभागले ८ मङ्सिरमा वीरगञ्जबाट पथलैया हँुदै अवैध रूपमा राजधानी भि156याइन
लागेको लाखौँको सामान समातेपछि शान्ति स्थापनासँगै तस्करहरूको चलखेल
बढेको खुलासा भएको छ। विभागले काठमाडौँ, नरदेवीको एउटा गोदाममा छापा
मारेर रु.३ लाख ६० हजार बराबरका बनारसी साडी, कुर्ता–सुरुवाललगायतका
लत्ताकपडा बरामद गरेको थियो (हे.तस्बिर)। ती सामानको दाबी कसैले पनि
गरेका छैनन्। रु.१३ लाख बराबरका लत्ताकपडा रहेको बाङ्गेमुढास्थित दुई
गोदाम सिल गरेर अनुसन्धान शुरु गरिएको छ।
भारतका रक्सौल र बैरगनिया नाकाबाट अवैध रूपमा भि156याइने यस्ता सामान
पुराना कागजपत्रको आधारमा ल्याउने गरिएको अनुसन्धानमा संलग्न अधिकारीहरू
बताउँछन्। रक्सौलस्थित भारतीय भन्सार कार्यालय नजिकैका गोदामबाट ज्यालादारीमा
सामान भि156याउने भरियाहरू पक्राउ पर्ने गरेपनि ठूला ब्यापारीहरू भने
उम्कने गरेका छन्।
अनुसन्धान अधिकारीहरूका अनुसार, वीरगञ्जका नामी तस्कर रामशङ्करको
सहयोगमा राजधानीका रञ्जनागल्ली र नारायण आर्केडका व्यापारीहरूले अवैध
रूपमा यस्ता सामान ल्याउने गरेका छन्। पक्राउ परेका सामान रञ्जना गल्लीका
महावीरद्वारा सञ्चालित महावीर क्लोथ स्टोर, गङ्गाधरको पवन इम्पोरियम
र सुरेश मुण्डाको अभिनन्दन स्टोर, नारायण आर्केडको दोस्रो तल्लामा
रहेका देवकीको सुहानी इम्पेक्स, अञ्जन श्रेष्ठको मौउसा ट्रेडिङ तथा
पहिलो तल्लाका ओम प्रकाशको दिपेश ट्रेडिङ कन्सर्नले वीरगञ्जबाट झ्िकाएका
बुझ्िएको छ। अनुसन्धानकर्मीले रञ्जनागल्लीस्थित रामाकान्तको रुपाना
क्रिएसन स्टोर, नवीन र सुरेशको आरती इण्टरप्राईजेज, तरुण मित्तलको
जी.एस. स्टोर, सुनिल जैनको के.आर. फैन्सी स्टोर, सन्दीपको तिरुपति
ड्रेसेज तथा प्रदीपको दीक्षा इम्पोरियम र आनन्द स्टोरलाई पनि शङ्काको
घेरामा राखेका छन्।
लत्ता–कपडासँगै जीरा–मसला, काजु, किसमिस आदि वस्तु पनि अवैध रूपमा
राजधानी भित्रिने गरेका छन्। असोजको पहिलो साता ओम ट्रान्सपोर्टले
पुराना कागजपत्रकै आधारमा वीरगञ्जबाट काठमाडौँ ल्याउन लागेको तीन टन
जीरा राजस्वले पक्राउ गरेको थियो। ११ मङ्सिरमा पनि रु.३५ लाख बराबरको
सामान बोकेर ल्याएको एउटा ट्रक राजस्वले नागढुङ्गामा पक्राउ गरी अनुसन्धान
गरिरहेको छ। अनुसन्धान विभागका इटहरी, पथलैया, वुटबल, कोहलपुर र थानकोटस्थित
चेकपोष्टले अवैध ढङ्गले ल्याइने सामानको निगरानी गरेपनि कतिपय कर्मचारीकै
मिलेमतोमा यस्ता सामान भित्रिने गरेका छन्।
तराईका सीमावर्ती जिल्लाबाट अवैध रूपमा ल्याइएका रासायनिक मल पनि
राजस्वले बरामद गरिरहेको छ। कात्तिकको अन्तिम साता रु.२ लाख १० हजार
बराबरको तीन सय बोरा र ९ मङ्सिरमा ११० बोरा मल राजधानी ल्याइरहेका
दुई वटा ट्रक राजस्वले पक्रेको छ। त्यसअघि दुई हजार बोरा अवैध मल पथलैयामा
बरामद भएको थियो। धादिङमा पाँच हजार बोरा मल लुकाएर राखिएको सूचना
राजस्व विभागले प्राप्त गरेको छ।
तिब्बतको खासाबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै कात्तिकको अन्तिम
साता अवैध रूपमा ल्याइएको रु.४ लाख ५० हजार बराबरका रेडिमेड गार्मेण्टका
सामान राजस्वले बरामद गरेको छ। त्यस्तै तातोपानी भन्सारबाट जाँचपास
भएका ६ वटा मालबाहक ट्रक नियमित मार्गबाट नआई चरिकोट जाने बाटोको खरिढुङ्गामा
लुकाइएको अवस्थामा पक्राउ गरिएकोमा हतियार बोकेका शंकास्पद माओवादीले
छुटाएर लगेका थिए। ना ३ ख २३, ना २ ख ५४८, ना २ ख ३४८१, ना २ ख ४९०९
र ना २ ख ३५८५ नम्बरका ती ट्रकमा रेचल विजनेस, ग्यालेक्सी इण्टरप्राइजेज,
रुबन विजनेस, ग्रमीण इण्टरप्राईजेज, अम्बे इण्टरनेशनल र टु इण्टरप्राईजेजले
ल्याएका रेशम कपडा, टि.भी., भीसीडी र डीभीडी थिए।
•
डम्बरकृष्ण श्रेष्ठ
|