हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

तन्नेरी | दम्पती

सहज सहयात्रा

'श्रीमान्–श्रीमती एक रथका दुई पाङ्ग्रा' भन्ने उक्ति एकै पेशा भएकालाई झ्न् सुहाउँदो रहेछ। समाजमा अलग पहिचान बनाइरहेका यस्ता तन्नेरी जोडीको सहयात्रा अझ् सहज र सौहार्दपूर्ण रहेको उनीहरूको अनुभव छ।

डम्बरकृष्ण श्रेष्ठ

“नारी–पुरुष बराबरी, जीवनको हर क्षेत्रमा दुवै शक्ति हाराहारी...”

 

प्रहरीः विमला–विजय।

जनगायक रामेशको शब्द, सङ्गीत र स्वरमा गुञ्जने यो गीत विमला र विजय जस्ता एउटै पेशामा आबद्ध दम्पतीहरूकै लागि बनेझ्ँै लाग्छ, जो हरतरहले एकअर्कामा समान छन्।

गएको असार तेस्रो साता मात्र विवाह गरेका काठमाडाँै, बूढानीलकण्ठकी विमला घिमिरे (२४) र ललितपुर, लेलेका विजय सिलवाल (२४) दुवै प्रहरी सहायक निरीक्षक (असई) हुन्। एकै उमेर, पेशा र पदमा रहेका यो जोडीको भेट दुई वर्षअघि नेपाल प्रहरीको नयाँ दरबन्दीका लागि भर्ना फारम भर्ने बेलामा भएको थियो।

पहिलो भेटबाटै साथी बनेका दुवैले प्रहरी जवानमा भर्ना भएपछि परिवारको सहमतिमा गएको २२ असारमा घरजम गरेका हुन्। विमला र विजयको जोडीलाई घरपरिवार, आफन्त र साथीभाइले समेत 'भाग्यमानी' भन्छन्। हुनपनि ०६१ सालमा उनीहरू प्रहरीमा भर्ना भएपछि हिंसात्मक द्वन्द्व क्रमशः कम हुँदै गयो। प्रहरी सहायक निरीक्षकका लागि परीक्षा दिएर बसेका दुवै विवाह गरेको हप्तादिनमै जवानबाट असईमा छनौट भए। विमला भन्छिन्, “मरिन्छ कि बाँचिन्छ भन्ने अवस्थामा सेवामा भर्ना भइएको थियो तर अहिलेसम्म सबै सपना, चाहना एकपछि अर्को गर्दै पूरा हुँदै गएका छन्।” विमला हाल प्रहरी प्रधान कार्यालयको पुस्तकालयमा कार्यरत छिन् भने विजय महाराजगञ्जमा तीनमहिने तालिम लिँदैछन्। राम्रो काम गरेर उच्च तहसम्म पुग्ने चाहना राखेका दुवैको जीवनको लक्ष्य समाजसेवा हो।

पत्रकारः शुभेच्छा–राजेन।

भनाइ नै छ 'श्रीमान्–श्रीमती एक रथका दुई पाङ्ग्रा'। श्रीमान्–श्रीमती नै एउटै पेशामा लागेका यस्ता धेरै जोडी हाम्रा समाजमा अलग पहिचान बनाउँदै जीवन बिताइरहेका छन्। डाक्टर, वकिल, सेना, पत्रकार, शिक्षण पेशा जसरी नै खेलकुद, कला, साहित्य, सङ्गीत अनि सरकारी, गैर सरकारी संघ–संस्थालगायतमा एउटै पेशामा धेरै जोडी काम गरिरहेका भेटिन्छन्।

कालो कोटमा सजिएका अधिवक्ता भीम ढकाल (३५) र उनकी श्रीमती लक्ष्मी ढकाल पोख्रेल (२८) को दिनचर्या सर्वोच्च अदालत र नेपाल बार एशोसिएशनको रामशाहपथस्थित भवनभित्रै बित्छ। काठमाडौँ सीटी ल फर्मका सञ्चालक भीम आफ्ना पक्षका मुद्दामा वकालत गर्न दिनहुँ जसो अदालत पुग्छन्। त्यहीँ बार एशोशिएसनको कानुनी सहायता परियोजनामा सहायक अधिकृतका रूपमा अधिवक्ता लक्ष्मी कार्यरत छिन्। एउटै पेशा अनि हरसमय सँग–सँगै भइने भएकाले दुवै 'एक रथका दुई पाङ्ग्रा' भन्ने उखान आफूहरूका लागि नै बनेको ठान्छन्। भीम भन्छन्, “एकै पेशामा हुँदा धेरै सजिलो छ, नबुझ्ेका कुरामा छलफल गर्न मात्र हैन, एकअर्काले हेरिरहेका मुद्दाहरूमा समेत सहयोग आदान–प्रदान हुन्छ।”

नेपाल ल क्याम्पसमा बीएल सकेर २०५४ सालमा वकालत गर्न थालेका भीमले लक्ष्मीलाई अध्ययनका क्रममा सहयोग गरेका थिए। पछि भीमकै ल फर्ममा काम गर्न आइपुगिन् लक्ष्मी। उनीहरूले २०५८ मा विवाह नै गरे। दुवैको मन मिलेपनि क्षेत्रीको छोरा भीम र बाहुनकी छोरी लक्ष्मीबीच जातको कुरामा अभिभावकहरूको असहमति आएपछि दुवैले आफ्नै पहलमा बूढानीलकण्ठ मन्दिरमा विवाह गरेका थिए। अहिले अढाई वर्षको छोरा निकुञ्जका साथ उनीहरू रमाइलो जीवन बिताइरहेका छन्।

वकिलः भीम–लक्ष्मी।

भीम र लक्ष्मीको जस्तै कथा छ काठमाडौँ मेडिकल कलेज (केएमसी), सिनामङ्गलमा सेतो एप्रोनमा बिरामीको उपचारमा तल्लीन डाक्टर दम्पती शैलेस र विनीता प्रधानको। केएमसी को आकस्मिक कक्षको सामुदायिक सेवा विभागकी इञ्चार्ज विनीता र प्याथोलोजी विभागमा कार्यरत शैलेसले कार्यालय बाहेक पनि विरामीको चाप र इमर्जेन्सी कल मा रातसाँझ् जुनसुकै समयमा अस्पतालमा हाजिर हुनुपर्छ। ६ वर्षअघि प्रेम विवाह गरेको यो जोडीले विवाहअघि वीर अस्पतालमा एक वर्ष सँगै काम गरेको थियो। बङ्गलादेश र चीनबाट एमबीबीएस उत्तीर्ण उनीहरूले बिहेपछि शिक्षण अस्पतालबाट एमडी गरेका छन्। आकस्मिक सेवामा काम गर्ने भएकाले विनीता बढी समय अस्पतालमै व्यस्त हुन्छिन्। शैलेस प्याथोलोजी विभागमा भएपनि आफूले हेरेका विरामीको गलत रिपोर्ट नजाओस् भनेर आफैँ नै ल्याव टेष्टहरू गर्छन् र धेरै समय अस्पतालमै बिताउँछन्। कतिपय बिरामी र रोगहरूका बारेमा एकअर्काको सहयोगले ठूलो काम गर्ने गरेको शैलेसको अनुभव छ।

सधैँभरि व्यस्त भइरहनुपर्ने पेशा भएकाले काम बाहेक अरू कुरामा ध्यान नै नजाने बताउँछिन् विनीता। ललितपुरमा संयुक्त परिवार भएकाले चारवर्षीय छोरा शशाङ्कलाई हुर्काउन सजिलो भइरहेको बताउँदै उनी भन्छिन्, “घर–व्यवहारमा परिवारको साथ पाएकाले बिरामीको सेवामा बढी ध्यान दिन पाइएको छ।” कहिलेकाहीँ शैलेस र विनीताले घरका विशेष पार्र्टी र उत्सवहरू समेत एकअर्काको अनुपस्थितिमा मनाउनुपर्छ। शैलेस भन्छन्, “एक पटक घरमा छोराको जन्मदिन मनाइँदै थियो। अस्पतालमा एक जनाको एपेण्डीसाइट्सको केश आएछ। फोन आएपछि विनीताले तुरुन्तै जानु पर्‍यो।” उनले थपे “आज पनि घरमा पार्टी छ तर हाम्रै कारणले राति ८ बजे राखिएको छ र हामीलाई ९ बजे पुगे पनि छूट छ।”

ब्याङ्क कर्मचारीः रामेश्वर–रमिला।

काठमाडौँमा हिमालयन ब्याङ्कमा काम गरिरहेका रामेश्वरमान श्रेष्ठ र ब्याङ्क अफ काठमाडौँमा काम गर्दागर्दै तीन वर्षअघि उनीसँग विवाह–वन्धनमा बाँधिएकी रमिला श्रेष्ठ अहिले कतारको दोहामा ब्याङ्किङ क्षेत्रमै कार्यरत छन्। रामेश्वर हिमालयन ब्याङ्ककै हिमाल रेमिटको कतार शाखा–प्रमुख छन् भने रमिलाले गत वर्षदेखि कतारकै दोहा ब्याङ्कमा जागिर पाएकी छिन्। श्रीमान्–श्रीमती दुवैको पेशा एकै भएकाले नै यो अवसर हात परेको बताउँछिन् रमिला।

उता, अधिकांश पत्रकारहरू समयमा घर नपुग्ने, खाने–सुत्ने टुङ्गो नहुने भएकाले उखानै बनेको छ “पत्रकारका घरमा खाना चिसो र श्रीमती रिसले तातो हुन्छिन्।” तर यो उखान आफूहरूमा लागु नहुने बताउँछिन् पत्रकार शुभेच्छा विन्दु। भन्छिन्, “कामबाट दुवै आएर एकैसाथ खाना पकाएर खान्छौँ र एक जना ढिलो भए अर्काले पर्खन्छौँ।” नेपाल समाचारपत्र दैनिकमा कार्यरत शुभेच्छाका श्रीमान राजेन मानन्धर द हिमालयन टाइम्स मा काम गर्छन्।

'शङ्का, मनमुटाव हुँदैन'
एकै पेशामा रहेका दम्पतीको पारिवारिक जीवन समेत अरु भन्दा सहज हुने गरेको पाइएको छ। एक–अर्काको काम र व्यस्तताबारे सबै थाहा हुने भएकाले आपसी मनमुटाव, शङ्का तथा असमझ्दारी धेरै नहुने अनुभव सबैको छ। विमला भन्छिन्, “अरु पेशाकासँग बिहे गर्दा 'ड्युटी भन्दै राति–राति कता जान्छे' भन्थे होलान् तर हामीमा त्यस्तो छैन।” विजय थप्छन्, “एकअर्काको कामका बारेमा थाहा भएपछि शङ्का, अविश्वास जस्ता कुरै उठ्दैनन्।”

भीम र लक्ष्मी दुवै कार्यालयको काम र व्यस्ततालाई हेर्दै घरमा खाना पकाउने र भाँडा माझने काम पनि मिलेर गर्छन्। दुवै पालै पालो एक–अर्काको सहयोगमा एलएलएमको पढाइ सक्न चाहन्छन्। एक जनाको आम्दानी घर खर्च र अर्कोको कमाइ वचत गरिरहेका दुवै सन्तुष्ट छन्। कहिलेकाहीँ घर झ्गडा र विवाद त हुन्छ होला नि? लक्ष्मी भन्छिन्, “छलफल हुँदा सामान्य मतभेद र विवाद त हुन्छ नै। यो स्वाभाविक हो तर शनिबार मेरो कार्यालय छुट्टी हुँदा पनि उहाँले समय ननिकाल्दा चाहिँ चित्त दुख्छ।” भीम थप्छन्, “नेपाल बारको सदस्य पनि भएकाले म प्रायः बिदाको समयमा पनि व्यस्त हुन्छु, घरमा समय दिएनन् भनेर उनी रिसाउँछिन् अरु झ्गडा हुँदैन।”

डाक्टरः शैलेस–विनिता।

डाक्टर जोडी शैलेस र विनीता अरू पेशाका दम्पती भन्दा आफूहरू अलग रहेको बताउँछन्। विनीता भन्छिन्, “एकअर्काले गर्ने काम र त्यसको जिम्मेवारीप्रति जानकार भएकाले अलग–अलग पेशाका दम्पतीमा हुने जस्तो मनमुटाव हुँदैन।” शैलेस मेडिकल क्षेत्रकै केही कुरामा विवाद/बहस भएपनि छलफलबाट हल गरिने बताउँछन्। उनी भन्छन्, “मनमुटाव क्षणिक हुन्छ, अलग–अलग पेशामा काम गर्ने दम्पतीहरू जस्तो श्रीमान् एकातिर र श्रीमती अर्कातिर भएकाले हुने शङ्का, उपशङ्का र असहज वातावरणको सामना भने कहिल्यै गर्नु परेको छैन।” रामेश्वर भन्छन्, “एकै पेशा हुँदा कार्यालयको कामका बारेमा घरमा पनि छलफल हुन्छ।” र, रमिला थप्छन्, “त्यसबाट दुवैलाई फाइदा पनि हुने गरेको छ।”

पत्रकार शुभेच्छा विन्दु एक–अर्काको काम र त्यसको छुट्टै मह140व हुने भएकाले मनमुटाव नहुने, ढिलो आएमा एकले अर्कालाई कहिल्यै शङ्का नगर्ने भएकाले सजिलो भएपनि तीन वर्षीय छोरा जीवितेशलाई पर्याप्त समय दिन नसक्दा भने दुःख लाग्ने गरेको बताउँछिन्। दुवै दैनिक पत्रिकामा काम गर्ने भएकाले व्यस्त छन् तर अफिसको काम र कुरा घरमा नहुने बताउँछिन् शुभेच्छा। भन्छिन्, “घर आएपछि हामी पत्रकार हुदैनाँै, तरपनि, आफूले गर्ने ब्रेकिङ्ग न्युज र समाचार सोर्स सधैँ गोप्य नै रहन्छ।”

यद्यपि, यहाँ उल्लिखित जोडीहरू समाजका प्रतिनिधि पात्र मात्र हुन्। उनीहरूका कुराले विभिन्न क्षेत्रमा एकै पेशामा रहेका थुप्रै जोडीहरूका भोगाइ र भावनाको समग्र प्रतिनिधित्व नगर्न पनि सक्छ। खोज्दै जाँदा एउटै पेशा वा एकै कार्यालयमा हुँदाका असजिलाहरूको समेत लामो सूची बनाउन सकिन्छ। विमला–विजय, भीम–लक्ष्मी, शैलेस–विनीता, रामेश्वर–रमिला र शुभेच्छा–राजेनको सहकार्यलाई भने उल्लेख्य दृष्टान्त मान्न सकिन्छ। उनीहरूले देखाएका छन् – समझ्दारी नै सबभन्दा ठूलो कुरा हो। यो भएपछि न अविश्वास हुन्छ न त आशङ्का। एउटै पेशामा हुँदा अझ् सहज र स्वादिलो बनेको छ उनीहरूको सहयात्रा