हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

मेरो पियारो धरान

आफ्नो भनेको आफ्नै हो। आफ्नो सबैलाई प्यारो लाग्छ। युगकविका नाममा ख्याति पाएका सिद्धिचरण श्रेष्ठले आफ्नो जन्मथलो वखलढुङ्गालाई सम्झँदै 'मेरो प्यारो वलखढुङ्गा' भन्ने कविता नै लेखे। त्यही शैली र भाकामा धरानका जानेमाने बुद्धिजीवी र कवि कृष्णप्रसाद श्रेष्ठले पनि एकताका कविता लेखेका थिए 'मेरो पियारो धरान' भनेर। 'सेउती खोला र सर्दु खोलाको अँगालोमा बाँधिएको साँगुरी डाँडाको सिरानी हालेको ...' यस्तै यस्तै किसिमको भाव भएको उनको कविता थियो 'मेरो पियारो धरान'।

डम्बरकृष्ण श्रेष्ठ
धरानको भानुचौक।

यस पङ्क्तिकारलाई पनि कवि कृष्णप्रसाद श्रेष्ठकै भाकासित भाका मिलाएर भन्न मन लाग्छ 'मेरो पियारो धरान'। भन्न मन लाग्छ 'तिम्रै न्यानो काखमा हुर्कें, तिम्रै वात्सल्यमा म बढेँ, तिम्रै अन्न–जल खाएँ, तिम्रै उरमा वाणी पाएँ, तिम्रै हावामा सास फेरेँ, तिम्रै प्रकाशले नेत्र खुले, मेरो पियारो धरान'।

नाभि मेरो धनकुटाको डाँडागाउँमा गाडियो, तर हृदय गाडियो धरानको धरामा। त्यहीँ स्कूलदेखि कलेजसम्मको शिक्षा पाएँ। त्यहीँ बाल्यकाल बित्यो, किशोरावस्था आयो र प्रारम्भिक युवाकाल बिताएँ। टाढा रहेर पनि 'पहिलो प्रेम' जस्तो धरानको प्रेम हृदयमा टाँस्सिइरहेकै छ। धरान फर्कने अवसर मनले सधैँ खोजिरहन्छ।

धरान सुन्दर उसै छ अरूका लागि पनि तर मेरा लागि त्यो झनै सुन्दर छ आफ्नोपनले गर्दा। तरहराको मैदान छाडेर चारकोसे जङ्गलमा गाडी पस्नासाथ धरानको हरकले तान्छ। तर सेउतीको पुल तरेर उकालो लागेपछि तीनकुनेको गेटसम्मै सडकको दायाँबायाँ ठड्याएका थरीथरीका साइनबोर्डहरूले भने हेर्नेका आँखा बिझाउँछन्। हुन त सबैमा भिन्न–भिन्न संस्था र कम्पनीहरूले 'वेलकम टु धरान' नै लेखेका छन्। अहिल्यै ५० वटा जति पुगिसके होलान् त्यस्ता साइनबोर्डहरू र यस रीतले त साइनबोर्डको लर्कोले सेउतीको पुललाई पनि नाघेर जाला। सके तरहरा नै पुग्ला। त्यस्तो सुन्दर ठाउँको प्रवेशद्वारमा त्यो कुरुपताको प्रदर्शन किन चाहियो?

इनपुटको आउटपुट
यसो विचार्दा लाग्छ हामी नेपाली 'सिङ्गल ट्य्राक' का मानिस हौँ। या 'वन वे ट्राफिक' मा विश्वास गर्ने जाति हौँ। 'खान्ते–पिन्ते' मा त हाम्रो जोड अघोरै छ। तर खाएको–पिएको वस्तु बाहिर निस्कन्छ भन्ने कुरामा हाम्रो हेक्का रहँदैन। अर्को शब्दमा, 'इनपुट' पछि 'आउटपुट' पनि हुन्छ भन्नेमा हामीलाई शायद होस हुँदैन।

खडेखडे दुनियाँका आँखा सामुन्ने शुचि गर्नु त हाम्रो परापूर्वकालदेखि चलिआएको संस्कृति नै भइहाल्यो। त्यो संस्कृति सबैलाई ग्राह्य छ, पाच्य छ र स्वीकार्य छ। त्यस्तो कार्य कसैलाई अशोभनीय लाग्दैन, बरु स्वाभाविक लाग्छ। ताल परे शुचि मात्र होइन आची नै गर्न पनि हच्कने बानी छैन नेपालीको।

तर दोष निर्लज्जताको मात्र होइन त्यस संस्कृतिको हो जसले शरीरबाट हुने निसर्जनलाई तह लगाउन सिकाएन। आलीशान भवन बनाउन सिकायो, बाथरुमलाई सफा राख्न सिकाएन। बाथरुममा ताला लगाउन सिकायो। बाथरुममा पानी हाल्न सिकाएन। राजधानीमा लिफ्ट र एस्केलेटर लागेका डिपार्टमेन्टल स्टोर र सुपरमार्केट त खुलेका छन्। तर टोइलेट सोध्नोस् चार तलामुनिको छिँडीमा कुनै कुना देखाउँछन्। कति रेस्टुराँको टोइलेट गएर फर्केपछि टेबुलमा बसेर खान होइन वान्ता गर्न मन लाग्छ।

कार्यालय, चिकित्सालय, शिक्षालय, विद्यालय, देवालय, भोजनालय, मदिरालय, सङ्गीतालय, पुस्तकालय, मनोरञ्जनालय, वस्त्रालय, चित्रालय, सङ्ग्रहालय, जहाँ जाउँ त्यहाँ एउटै कुराको कमी छ― त्यो हो सफा शौचालय।

पहिलो कुरा त सार्वजनिक ठाउँमा शौचालय चाहिन्छ भन्ने हेक्का नै हामीमा छैन र कथम् शौचालय भए पनि त्यसलाई सफा राख्नुपर्छ भन्ने चेत हुँदैन। त्यस्तो चेत आउनलाई पनि हामीले गणतन्त्रै पर्खिनुपर्ने?

पर्दानसीन सालिक
बरा पृथ्वीनारायण शाह एक्ला होइनन् रातो कपडाको घुम्टोभित्र लुक्ने। 'अप्रिल आन्दोलन' पछि गणतन्त्रवादीहरूको घानमा पर्ने बडामहाराजको मात्र होइन एक जना प्रजाको सालिक पनि थियो। त्यो सालिक हो विराटनगरदेखि धरान जाँदा बाटामा पर्ने दुहबी बजारको मुखैमा खडा रहेको कार्की नामका एक जना प्रजाको। तिनी शायद जमिन्दार थिए अथवा भूमिपति ठूला सामन्त त्यस्तै केही थिए। नामका अगाडि वृ.ज. पनि लेख्थे क्या रे! पञ्चायत राजाका बेला राजसभाका सभापति पनि भएका थिए। पिताका प्रतापले उनका छोरा पनि दरबारको हु.प्र.ले सरकारी जागिरे हुँदा भया, कमाउ पद पाउँदा भया र आखिरमा राजाको परम निगाहले मुख्य सचिवको पद पनि पड्काउँदा भया। तर जनआन्दोलनको तापमा परेर खुस्किँदा भया।

राजा वीरेन्द्रपछि प्रजामा ती कार्कीजी मात्र यस्ता व्यक्ति होलान् जसको सालिक जीवनकालमै ठडिएको थियो। त्यो ठडिएको पनि यस्तो ठाउँमा जसलाई सरकारले राजमार्ग भनेर दरेको थियो। राजमार्गको मध्यभागलाई ओगटेर त्यस आदमकद सालिक ठड्याउने कामको विरोध नभएको होइन, तर विरोधको आवाजलाई शक्तिको लाठोमुङ्ग्राले दबाइयो। सत्ता, शक्ति र सम्पत्तिको कुरुप प्रदर्शन बनेर नियम–कानुन, सभ्यता–शिष्टाचारलाई गिज्याउँदै अप्रिल–आन्दोलनका दिनसम्म त्यो सालिक त्यसै ठाउँमा उभिइरह्यो। आखिर त्यही भयो, जो हुनुथियो। कार्की–कारनामाबाट परिचित जनताको रिस त्यस सालिकमाथि पोखियो। सालिकलाई घुम्टोभित्र लुकाउनुपर्ने स्थिति आइपर्‍यो।

आपत्ति प्रजाको सालिक बनाइयो भन्ने कुरामा होइन। सालिकलाई सडकमाझ ठड्याइएकोमा हो। लगेर राखे हुन्छ कुनै सार्वजनिक पार्क या उद्यानमा यदि कार्कीसा'बले त्यस्तो कुनै उद्यान निर्माण गरेको भएमा। स्कूल या कलेजको प्राङ्गणमा राखे हुन्छ यदि त्यो उनले बनाइदिएको भएमा। पुस्तकालयमा पनि हुन्छ यदि त्यसको स्थापना र सञ्चालन उनैले गरिदिएको भएमा। धर्मशालामा पनि हुन्छ यदि त्यो उनैले चलाइदिएको भएमा। मिल या कारखानामा पनि हुन्छ यदि त्यो उनको निजी सम्पत्ति भएमा। तर राजमार्गलाई घच्चा पारेर त्यसरी राख्न मिल्ने कुरो हुँदै होइन।

रातो तुल ओढ्न बाध्य भएको त्यस सालिकलाई त्यस ठाउँबाट पूरै हटाउने उपयुक्त समय वास्तवमा अहिले नै हो। त्यस सालिकलाई पर्दानसीन अवस्थामै त्यहाँबाट किन नहटाउने?