रिपोर्ट
| पाठेघर खस्ने समस्या
पीडाको पोको बोकेका महिला
•
रुपा जोशी
 |
| तस्बिरहरूः रुपा जोशी |
| पाठेघर खस्ने समस्याको स्थायी उपचार अपरेसन
हो, तर सुमित्रा ढकालले देखाएको जस्तो 'रिङ पेसरी' भन्ने चिज लगाए
पनि दुःख खपेर बस्नुपर्दैन। |
पाँचथर, सुभांग
गाविसको द्वन्द्वले आधा ध्वस्त थोते भवन। सद्दे भागमा हुलाक र उपस्वास्थ्य
चौकी कुम जोरेर बसेका। भवन अगाडि चर्को घाममा पालो कुरेर बसेका बिरामीहरू।
“तपाईँ किन आउनुभएको आमै?” मैले एकजनालाई सोधेँ।
थोते मुख पाकुम–पाकुम पार्दै उनले भनिन्, “आँखा राम्ररी
देख्दिनँ!”
“तपाईँको आङ्ग खसेको त छैन?”
“छैन बा, ठीक छ।”
मसँग यति भनेको १० मिनेटमा ७३ वर्षीया पम्फादेवीलाई
हेल्थपोष्ट भित्र पाँचथर जिल्ला जनस्वास्थ्य प्रमुख डा. गुणराज लोहनी
र अनमी भगवती मैनालीले फकाइफुलाई सुताएर जाँच गर्दा मुठ्ठी भन्दा ठूलो
आकारको पाठेघर झ्रेको पाइयो। पम्फादेवी जस्ता अरू धेरै महिला पनि पाठेघर
खसेको कुरो नगरी टाउको दुखेको, सास फुलेको, आदि बहाना बनाएर सुभांग
हेल्थपोष्ट आएका थिए। यस्ता धेरै बिरामी जाँचेको अनुभव सुनाउँदै डा.
लोहनी भन्छन्, “धेरै बजुहरू पहिला टाउको दुख्यो, आँखा पोल्यो, घाँटी
दुख्यो, छाती पोल्यो भन्दै डाक्टरले बुझ्ोस् भनेर विस्तारै लक्षणहरू
तल–तल सार्नुहुन्छ। र, दुई–तीन मिनेटपछि खास समस्या थाहा हुन्छ।”
महिलाहरू पाठेघर खसेकोले उठबस गर्नै नसक्ने, अत्यन्त
दुख्ने, पानी र अलि पछि पीप अनि रगत बग्ने अवस्थासम्म चुपचाप सहेर
बस्छन्। अनि खप्नै नसक्ने भएपछि मात्र स्वास्थ्यकर्मीकहाँ जान्छन्।
“धेरैजसोको पाठेघर रगडिएर घाउ र अल्सर भइसकेको हुन्छ”, डा. लोहनीभन्छन्,
“हाम्रो समाजमा महिलाहरू आफ्नो गुप्ताङ्गसँग सम्बन्धित समस्याबारे
भन्नै सक्तैनन्।”
सुभद्रा तिम्सिनाले त्यस्तै गरेर ५५ वर्ष बिताइन्। “ऐले
हो र, ०७ सालमा झ्रेको मेरो आङ”, श्रीमानको श्राद्धलाई खौरिएको टाउको
पछ्यौरीले ढाक्दै ८२ वर्षीया सुभद्रा भन्छिन्, “आलो सुत्केरीमै घाँसको
भारी जुरुक्क बोकेर घर ल्याएकी थिएँ, पछि चुलो लोटाउँदा निस्क्यो।
त्यहाँदेखि यस्तै छ। उ बेला एक महिना सुत्केरी बारेपछि भात–तिउन पकाउने,
मेलापात गर्ने, पानी बोक्ने, घाँस काट्ने सबै काम गर्नुपर्थ्यो।” पम्फादेवी
थप्छिन्, “मेरी सासू त १५ दिनकी सुत्केरीलाई तीन धार्नीको गाग्रामा
पानी ल्याउन लाउँथिन्!” ३५ वर्षदेखि पीडित पम्फाले नौ वर्षकी छँदा
बिहे गरेकी र १६ सन्तान जन्माएकी थिइन्।
पाँचथरको चारदिने हाम्रो बसाइमा भेट भएका पाठेघर झ्रेका
सबै महिलाले यो समस्या सुत्केरी अवस्थामै भारी काम गरेर भएको बताएका
थिए। फिदिमको माथिल्लो गाउँकी ८३ वर्षीया श्रीमती लिम्बूको कान्छो
छोरो पाएको ६ दिनमा यस्तो भएको थियो। “पानी लिन एक घन्टा हिँड्नुपर्थ्यो।
जुरुक्क गाग्री बोकेको, यस्तो भयो। त्यो बेलादेखि छिटो हिँड्नु हुँदैन,
दुख्छ”, भन्छिन् उनी। तर घरको काम भने अझ्ै गर्दैछिन्– “के कर्नु?
बारी खन्नु परो... मकै छर्नु परो... सुठुनी रोप्नु परो... भारी बोक्नु
परो...।”
सुभांग–४ की राममाया स्वाङका दुई बच्चा जन्मेर तेस्रो
गर्भमा भएका बेला पाठेघर खसेको थियो। ६० वर्षकी राममाया भन्छिन्, “घाँसको
भारी ठूलै थियो। यसै तान्दा आएन। बेस्सरी बल गरेर बोकेँ। केही बाहिर
निस्केजस्तो भयो। त्यसको पाँच दिनपछि पूरै निस्क्यो।” गर्भावस्थामा
पेटमा बच्चा छँदा निस्केको पाठेघर पछि भित्र त पस्छ, तर कामको बोझ्
रहिरहेमा फेरि र्झ्छ।
 |
| पाँचथर, सुभांगको उपस्वास्थ्य चौकीमा जँचाउन पालो कुरेर बसेका
बिरामीहरू। |
एकतीन तुषारेकी निर्मला खत्रीको त पहिलो बच्चा जन्मेकै
दिन पाठेघर झ्रेको थियो। १५ वर्षको उमेरमा बिहे गरेदेखि नै छुट्टै
बसेकाले दुई जीउकी छँदा पनि जोईपोई भएर उनीहरूले घरधन्दा, भकारोे,
मेलापात, घाँस–दाउरा, पानी–पँधेरो सबै भ्याउनु पर्थ्यो। दुई छोरा–छोरीकी
आमा निर्मला भन्छिन्, “ट्वाइलेट जाँदा नानीको टाउको निस्केको जस्तो
भएको थियो। यस्तै होला भनेर कसैलाई भनिँन, पछि बुझदा पो थाहा भो।”
धेरै महिलाहरू निर्मलाले जस्तै आफ्नो जीउको प्रकृति
थाहा नभएर र के स्वाभाविक, के अस्वाभाविक नजानेर केही नगरी बस्छन्।
केही गरे पनि आफन्तसँग कानेखुशी गर्दै झ्ारफुक, वनदेउताको पूजा र अनेकथरि
घरायसी उपचार गर्छन्। तर स्वास्थ्य संस्थामा जाँदैनन्। पीडाले पाको
भएकी निर्मला प्रश्न गर्छिन्, “किन भन्नु अरूलाई? निको हुने भए पो।
सबलाई फलानोको त त्यस्तो रैछ भन्ने थाहा मात्र हुने।” सुभांग–४ की
भीमकुमारी खरेलथप्छिन्, “गाउँमा खोजी गरिदिने मान्छे पनि भएनन्, भएकाले
पनि उपचारको खोजी गरेनन्।”
्रीमती लिम्बुले आफ्नो दुलाहालाई बताएकी थिइन्, तर उनले
पनि क्यै गर्न सकेनछन्। भन्छिन्, “भनेँ... के भयो भयो भने, सकियो!”
शनिबारको हाटमा चोकमागु सर्स्यौँलाबाट फिदिममा बोडी साट्न आएकी छलिमाया
सुवेदीको अनुहार एकदमै थाकेको देखिन्थ्यो। बर्सेनि बच्चा पाएकी छलिमाया
५० वर्षदेखि खसेको पाठेघरलाई थाङ्ना–झ्ुत्ता खाँदेर अड्याउँदै जसरी
सकिन्छ काम गर्दै आएकी छन्।
िरक्तिएर भन्छिन्, “जाउँ, कता जाउँ? कसरी जाउँ? खप्न
सक्ने जति खप्यो, बस्यो। रोग यही हो, मरियो भने मरिहालिन्छ! बूढी मरी
त भन्लान्, भर्खरकी मरी भन्दैनन्!!” छलीमायाले चिनेकी एक जनाको पाठेघर
खसेर उपचार गराउन खोज्दा मर्ने बेलामा किन चासो बढाउने भनेर श्रीमान्
र छोरा–बुहारीले नै जान दिएनछन्! फिदिम, थाक्लेकी पवित्रा खनाल पनि
धेरै समयसम्म कसैलाई नभनी बसेकी थिइन्– “के गर्नु बा, उपाय नजान्नेहरूसँग
कुरा गरेर पनि के हुन्थ्यो र?”
सात महिनाअघि सल्लेरीमा र दुई महिनाअघि जोरपोखरीमा बसेका
स्वास्थ्य शिविरले धेरैलाई पाठेघर र्झ्ने समस्याका बारेमा जान्ने र
कुरा गर्ने मौका दिए। पवित्राले आफ्नो मात्र ठानेको समस्या अरूको पनि
रहेछ भन्ने थाहा पाइन्। उपचार गर्न अर्को शिविरको पर्खाइमा बसेकी उनले
साउती गरे झ्ैँ भनिन्, “ऊ त्यो तल्लो घरमा पनि छ रे! अनि सल्लेरीकी
फलानीले त काटेर फालिसकिन् रे! यत्रालाई रै'छ, थाहै थिएन। मेरो छोरोले
पनि भन्थ्यो– यत्रो संसारको समस्या रै'छ र पनि कसैलाई थाहा नभएको!”
फेदेन (फिदिमको सक्कली नाम) सहकारी संस्थाकी अध्यक्ष
र माथिल्लो गाउँकी हर्ताकर्ता देवीमाया नेम्बाङले केही साताअघि बुहारी
कृष्णमायालाई यस्तो समस्या गाउँमा क–कसलाई छ भनेर सोध्दा आफ्नै बुहारीको
पाठेघर खसेको थाहा पाइन्। कलेज जाने १९ वर्षकी छोरी अनुलाई समेत आमाको
समस्या थाहा रहेनछ! कृष्णमायाका पति शंकर नेम्बाङले थाहा पाए पनि श्रीमतीले
कहिले लुक्छ, कहिले निस्कन्छ भनेर उपचार गराउन नखोजेकीले खासै केही
नगरी बसेछन्। “अब फेरि शिविर आयो भने जाने”, भन्छन् उनी।
 |
 |
| ५५ वर्ष पीडा खपिसकेपछि रिङ लगाएर
सञ्चो मानेकी श्रीमती लिम्बू र कामको बोझ्ले पहिलो बच्चा जन्मँदै
पाठेघर र्झ्ने समस्याबाट पीडित निर्मला खत्री। |
महिलाले संकोचले भन्न नसकेको पाठेघर खस्ने समस्याबारे
प्रायः पुरुषहरू पनि चुपचापै देखिए। कतिलाई आफ्नै श्रीमतीको पाठेघर
झ्रेको थाहा रहेनछ। श्रीमानसँग शारीरिक सम्पर्क हुँदा पनि श्रीमतीहरूले
पाठेघरलाई भित्र ठेलठाल पार्ने भएकाले अलि चासो नराख्ने पुरुषहरूले
पत्तो पाउँदा पनि रहेनछन्। कति त 'महिलाको समस्या' भनेर पन्छिने पनि
गर्छन्। “यो समस्यालाई बाहिर ल्याउन मुख्य भूमिका त पुरुषकै हुन्छ”,
भन्छन् डाक्टर लोहनी, “पुरुषहरूले महिलाको यो अवस्थाको छिटो पहिचान
गर्न मद्दत गर्न सक्छन्।” फिदिममा कार्यरत ताप्लेजुङका शिक्षक वसन्त
आङबुहाङ स्वीकार्छन्, “पुरुषको यसमा कमजोरी छ।” हालसालका स्वास्थ्य
शिविरले गर्दा फिदिम वरपरका महिला र पुरुषहरू अब बढी सचेत भएका छन्।
भारपाका एक पुरुष भन्दैथिए, “पहिले लुकाएर राखिएको विकराल समस्या रहेछ,
शिविर पछि गाउँमा गाइँगुइँ चलेर पो थाहा भयो।”
योजनाबद्ध तवरले सही सूचना नपाउँदा नचाहिँदो हल्ला फैलिने
खतरा पनि हुँदोरहेछ। एक शिक्षिकाले हामीलाई भने अनुसार, सल्लेरीमा
शिविर बस्दा उनको गाउँबाट अलि कम उमेरका महिलाहरू पनि गएका थिए रे।
तर, पालो कुरिरहेका बिरामीहरू बीच झ्रेको पाठेघरलाई अड्याएर राख्ने
रिङ हालेपछि दुल्हा–दुल्हैको शारीरिक सम्बन्धमा अप्ठेरो पर्छ भन्ने
गाईँगुर्इँ सुनेर अधबैँसे र वृद्धाहरूलाई शिविरमै छाडी तरूनीहरू घर
फर्केछन्!
“रिङ पेस्सरी पाठेघर झ्रेका, तर उपचार तुरुन्त गर्न
नमिल्नेहरूलाई लगाइने एउटा अस्थायी साधन हो, जसलाई तीन–तीन महिनामा
फेर्नुपर्छ”, भन्छन् डा. गुणराज लोहनी, “यो समस्याबाट पूरै मुक्त हुने
उपाय चाहिँ अपरेशन गरेर पाठेघर फाल्नु नै हो। जसलाई अपरेशन गर्न हुँदैन
वा अपरेशन गर्ने चाँजोपाँजो मिलेको छैन, तिनलाई मात्र रिङ लगाइन्छ।”
६ महिनाअघि सल्लेरीमा रिङ हालेर फेरि जचाउन सुभांग आइपुगेकी सुभद्रा
तिम्सिना, ५५ वर्षसम्म आफूले खेपेको दुःख संझ्ेर भन्छिन्, “अस्तिनै
लगाउनु पर्ने रै'छ, अहिले त सञ्चो भएको छ नि!”
महिलाहरूले आफ्नो जीउको समस्याबारे अरूसँग खुलेर कुरा
गर्ने वातावरण बनाउन सके रोग चाँडै पहिचान हुन्थ्यो र दशकौँसम्म पीडा
सहेर बस्नुपर्दैनथ्यो। यसनिम्ति पाठेघर झ्रेर त्यसको स्थायी वा अस्थायी
उपचार गराएका महिला, उनीहरूका श्रीमान् र सासूहरूलाई गाउँमा 'पाठेघर
परिचालक' का रूपमा सक्रिय गराउन सकिन्छ। पहिले पीडाले बिस्तारै हिँड्नुपर्ने
र पछि ठम्ठमी लम्किन सक्ने भएका महिला अरूका लागि उदाहरण नै बन्न सक्छन्।
यही सोचबाट डा. लोहनीले भारतको भ्रमण समेत गरेकी र अलि धक फुकाएर बोल्न
सक्ने ४३ वर्षीया सुमित्रा ढकाललाई उनले लगाएको जस्तै रिङ पेस्सरीको
नमुना दिएर प्रचार–प्रसारमा परिचालन गरेका छन्।
आफ्नो जिउ र व्यथाबारे ज्ञान, चेतना तथा खुलस्त बोल्नसक्ने
क्षमता नभएसम्म अरू महिलाहरूले पनि सुमित्रा ढकालले जस्तै माइतीलाई
मात्र भन्छु भनेर कुर्न, अनि सुभद्रा तिम्सिनाले जस्तै कर्मको फल ठान्दै
५५ वर्ष बिताउन के बेर र?
|