रमझम
निशाको उज्यालो
सानैदेखि भिडियो जक्की बन्ने र र्याम्प मोडलिङ गर्ने
रहर सँगालेकी काठमाडौँ, बालुवाटारकी निशा अधिकारी अहिले मोडलिङ, कार्यक्रम
प्रस्तोता र टेलिसिरियलको अभिनयमा एकसाथ सक्रिय छिन्। कान्तिपुर टेलिभिजनमा
काउण्ट डाउन कान्तिपुर र हिन्दी मिक्स कार्यक्रम सञ्चालन गर्ने निशा
कान्तिपुरकै घरबेटी बा सिरियलमा समेत उत्तिकै जमेकी छन्।
गायक सुदीप गिरीकोे सान्नानीको गालैमा..., आशिष बाङ्देलको
आउँदैछु...., गायिका आभा मुकारुङको कता हिँडेको... सहित आधा दर्जन
गीतका म्युजिक भिडियोमा उनको भावभङ्गिमा देख्न सकिन्छ। 'मिस इण्टरनेशनल
ब्युटी प्याजेण्ट २००५' को उपाधि जितेपछि अन्तर्राष्ट्रिय प्रतियोगिताका
निम्ति जापान समेत पुगेकी निशाले त्यसपछि करिअरको पहिलो खुड्किलोमै
सोचेभन्दा राम्रो प्रगति भएको अनुभव सँगालेकी छन्। हुनपनि, एक वर्षअघि
टेलिभिजनमा काम थालेपछि उनलाई पछाडि फर्किनु परेको छैन। शालीमार पेण्टस्,
सीताराम दूध आदिका विज्ञापनहरूमा समेत काम गरेकी निशा भन्छिन् “सोख
बिस्तारै व्यवसाय बन्दै गएको छ। कमाइमा सन्तोष छ।”
हालसालै दुई वटा पाकिस्तानी टेलिसिरियलमा मुख्य चरित्रको
अभिनय गर्ने अवसर पाएकी थिइन् उनले। राम्रो भूमिका पाए चलचित्रमा काम
गर्ने कुरामा पनि उनको नाइँनास्ती छैन।
काठमाडौँ भ्याली कलेजबाट 'ए लेवल' सकेकी निशाको अमेरिका
गएर पढ्ने अनि फर्केर यहीँ काम गर्ने योजना छ। “विदेश गए पनि बढीमा
५ वर्षमा फर्कन्छु” भन्ने उनले त्यसपछि के गर्ने भन्ने सोचाइ समेत
बनाइसकेकी छन्। भन्छिन्, “ग्ल्यामर क्षेत्रमा 'फिट' भइनँ भने ३० वर्ष
कटेपछि टीभीमा समाचार पढ्छु, भूषण दाहाल र इन्द्र लोहनीले जस्तो 'टक
शो' चलाउँछु।”
मीठो बोलीकी हँसिली निशाको अनुहारको कोठीलाई उनको सौन्दर्यको
'प्लसपोइन्ट' ठान्नेहरू धेरै छन्। उनी आफैँलाई भने मध्यम राम्री ठान्छिन्।
भन्छिन् “म नराम्री भए यसरी अन्तर्वार्तामा निम्त्याइन्नथेँ होला तर
धेरै राम्री पनि ठान्दिनँ आफूलाई।” टेलिसिरियल घरबेटी बा मा मनीषा
बनेकी उनलाई देख्नासाथ वा उनको प्रसङ्ग आउनासाथ घरबेटी बाबै भुतुक्कै
हुने गरेका छन्। वास्तविक जीवनमा नि? निशा भन्छिन् “प्रस्ताव त धेरैले
राख्छन् नि! प्रेम चाहिँ एक पटक गरेपछि जीवनभरका लागि हुनुपर्छ, त्यस्तो
प्रेम गरिएको छैन।”
मोडल: निशा अधिकारी
तस्बिरः अनुप प्रकाश
• अनुशील
रमझम
रिपोर्ट
डिजिटल सिनेमा सेल्युलोइडलाई चुनौती!
 |
| खेलाडीमा सुमिना श्रेष्ठ, |
पछिल्लो समयमा नेपाली
फिल्म उद्योगमा डिजिटल चलचित्र (डि–सिनेमा) को सङ्ख्या बढ्दै गएको
छ। 'सेल्युलोइड फिल्म'को बजार सुनिश्चित हुन नसकिरहेको स्थितिमा कम
लगानीमा तयार हुने डिजिटल प्रविधिका चलचित्रले ठूला चलचित्रको बजारलाई
समेत अप्रत्यक्ष धक्का दिइरहेका छन्।
यो वर्ष मात्रै डिजिटल प्रविधिमा बनेका
पाण्डव, जाल, द्वन्द्व, कृष्णबाबु, आफन्तको माया, गुण्डाराज आदि फिल्महरू
राजधानीमा प्रदर्शन भइसकेका छन्। यसअघि सारथि, कस्तो परिबन्द, ममता,
गुडफ्रेन्ड, जाली संसार, ट्याक्सी ड्राइभर, कर्मको फल, क्याबिन गर्ल
जस्ता डि–सिनेमाहरूले प्रदर्शनताका राम्रै चर्चा बटुलेका थिए। रामराजा
दाहालले निर्देशन गरेको जङ्गली मान्छे अहिले राजधानीका केही हलमा चलिरहेको
छ। रु.५ लाखको लागतमा बनाइएको यो फिल्मबारे उनी भन्छन्, “झ्न्नै दोब्बर
कलेक्सन भइसकेको छ।” गत वर्ष डिजिटल प्रविधिमै ध्रुवतारा बनाएर हौसिएका
राजाराम भन्छन्, “मिहिनेत गर्ने हो भने डिजिटलमा पनि राम्रो काम गर्न
सकिन्छ।”
दशैँताका काठमाडौँका मुख्य हलहरूमा प्रदर्शन
गरिएको खेलाडी ले पनि राम्रै बिजनेश गरेको थियो। खेलकुदको विषयमा बनाइएको
यो फिल्ममा सुमिना श्रेष्ठ, प्रमोद दी, राजेन्द्र के.सी.लगायतका ब्ल्याकबेल्ट
खेलाडीहरूलाई मुख्य भूमिकामा अभिनय गराइएको थियो। खेलाडी का निर्देशक
योगेन्द्र श्रेष्ठ भन्छन्, “खेलाडी बाट राम्रो रेस्पोन्स मिल्यो। छिट्टै
अर्को फिल्म बनाउने तयारीमा छु।”
 |
| डि–सिनेमा ध्रुवे। |
अहिले ठूलो पर्दाका फिल्म १६ एम.एम.को
नेगेटिभमा खिचिन्छ र त्यसलाई 'ब्लो अप' गरी ३५ एम.एम.मा देखाइन्छ।
यसबाट फिल्मको गुणास्तर पनि खस्किन्छ। बरु डिजिटलमा काम गर्दा धेरै
सुविधा र सजिलो हुने अनुभव गरेका छन् निर्देशक नारायण पुरीले। उनले
अल्पविराम को निर्माण सकेर हङकङबाट प्रदर्शन आरम्भ समेत गरिसकेका छन्।
डि–सिनेमाको पक्षमा थप तर्क राख्दै उनी भन्छन्, “अहिले धेरै लगानी
गरेर सिनेमास्कोप फिल्म बनाउने जोखिम लिन सकिन्न। बरू डिजिटल फर्म्याटमा
फिल्म बनाउँदा गुणस्तर बढ्छ र लगानी पनि सुरक्षित हुन्छ।”
औसत रु.३० देखि ४५ लाखसम्ममा बन्ने ठूलो
पर्दाको चलचित्र निर्माण–क्रम घट्नु र 'डि–सिनेमा'को निर्माणले गति
लिनुलाई डेढ दशकअघिको 'भिडियो फिल्म'को अवस्थासँग दाँजेर हेर्ने गरिएको
छ। २०४७ सालदेखि 'सेल्युलोइड फिल्म'को बजार एकाएक बढेर वार्षिक करीब
५० वटा जति चलचित्र बन्न थालेपछि भिडियो फिल्मको बजार एकाएक घटेको
थियो। तर, पछिल्लो समयमा विश्व सिनेमामा देखिएको डिजिटल क्रान्तिमा
एकपछि अर्को उपलब्धि र सफलता दिलाउन थालेपछि जेनतेन चलिरहेको फिल्म
उद्योगमा 'डि–सिनेमा'को प्रवेशलाई नयाँ सञ्जीवनी मानिएको छ।
सम्भवतः यस्तै कारणले हुनसक्छ, डिजिटल
सिनेमामा नयाँ पुस्ताका सिनेकर्मीसँगै ठूलो पर्दाका निर्देशकहरूले
समेत मोह देखाउन थालेका छन्। धेरै फिल्म बनाउने सिनेकर्मीका रूपमा
कहलिएका नारायण पुरी, दयाराम दाहालदेखि कलात्मक फिल्म बनाउने छिरिङरितार
शेर्पा समेत यो प्रविधिको उपयोग गर्नतिर लागेका छन्। दयाराम दाहाल
निर्देशित ध्रुवे र छिरिङरितार निर्देशित कर्मा को सार्वजनिक प्रदर्शन
हुन बाँकी छ।
 |
| जङ्गली मान्छे। |
सुशील क्षेत्री, दिलीप रायमाझ्ी, दिनेश
शर्मा, निरुता सिंह, नन्दिता के.सी, सिमान्त उदास, पुष्प श्रेष्ठ,
पूजा प्रधान, कृति भट्टराई, सुनील थापा, सानुबाबा सुब्बा, प्रेम सुब्बालगायतका
'सेल्युलोइड' कलाकारहरूले पनि अहिले डिजिटल सिनेमामा अभिनय गर्न थालेका
छन्। ठूलो पर्दाका फिल्म नपाइरहेका कतिपय निर्देशकहरू यसैमा भए पनि
करिअरलाई निरन्तरता दिने मुडमा भेटिन्छन्। निर्देशकहरूको अर्को समूह
डिजिटल टेक्नोलोजीले ल्याएको क्रान्तिलाई नेपाली फिल्मले पनि आत्मसात्
गर्नुपर्छ भन्दै यसैमा काम गरिरहेका छन्।
सामान्यतया रु.४ लाखदेखि १० लाखसम्मको बजेटमा तयार हुने यस्ता फिल्महरूले
'च्यारिटी शो' गरेर भएपनि लगानी उठाउन सक्छन्।
डेढ दशकअघि भिडियो फिल्मका नाममा बन्ने
यस्ता फिल्मले ठूलो हलमा हत्तपत्त प्रवेश नै पाउँदैनथे तर अहिले राम्रा
हलमा समेत 'डि–सिनेमा' प्रदर्शन हुन थालेकाले यसलाई परिवर्तित समयको
नयाँ सुविधाका रूपमा उपयोग गर्दै लैजानुपर्ने तर्कले बल पाएको छ।
असारको पहिलो साता नेपाल चलचित्र निर्माता
संघले डिजिटल सिनेमाको प्रयोग विषयमा एक कार्यशाला गोष्ठीको आयोजना
गरेर यसबारे थप बहस शुरु गरेको थियो। नवीन सुब्बा, छिरिङरितार शेर्पा,
भाष्कर ढुङ्गाना, उज्ज्वल घिमिरेले डिजिटल सिनेमाका बारेमा आ–आफ्ना
विचार प्रस्तुत गरेको सो गोष्ठीले अन्योलमा रहेको 'डि–सिनेमा' बारे
धेरै कुरा स्पष्ट पारेको थियो।
 |
| क्याबिन गर्ल। |
तर समस्या यहाँ पनि छ। सस्तोमा डिजिटल
फिल्म बनाउने ध्याउन्नमा कतिपयले सामान्य गुणस्तरलाई समेत ध्यान नदिएको
आरोप लाग्ने गरेको छ, त्यो पनि फिल्मकर्मीहरूबाटै। चलचित्र वितरक सुनील
मानन्धर भन्छन्, “सस्तो क्यामरा र कम खर्चमा बनाइएका कतिपय फिल्म हेरेपछि
कहिलेकाहीँ दर्शकहरू फिल्म हेर्दाहेर्दै टिकटको पैसा फिर्ता माग्न
आएका उदाहरणहरू पनि छन्। डिजिटल फिल्मले विस्तारै गति लिन थालेको बेला
यसको निर्माण पक्षले न्यूनतम गुणस्तरको ख्याल त गरिदिनुपर्छ नि!”
मोफसलको क्रेज
दुई वर्षयता पूर्वी क्षेत्रमा मात्र करीब डेढ दर्जन यस्ता चलचित्र
निर्माण भए। क्याबिन गर्ल, नाइँ मलाई केही चाहिँदैन, रिसिम, छिमेकी,
हमार भाटु, एउटा कथा, जन्मदिन, खाप्पुन्ना मुरङ्ना, प्रेमपथ, निनि,
टिनएजर्स, पाण्डव, भाग्यचक्र आदि यसका उदाहरण हुन्।
 |
निर्माण भइसकेका, निर्माणाधीन, निर्माणको
तयारीमा रहेका भिडियो चलचित्रहरूमध्ये अधिकांश व्यावसायिक भन्दा सांस्कृतिक
वा सन्देशमूलक छन्। क्याबिन रेष्टुरेन्टमा काम गर्ने केटीहरूको बाध्यता,
विवशतामा आधारित क्याबिन गर्ल, थारू संस्कृतिमा हमार भाटु, राई जातिको
संस्कृतिमा रिसिम, नेवार समुदायको शाक्य परम्परामा निनि चलचित्र निर्माण
भएका छन्। त्यस्तै खाप्पुन्ना मुरङ्ना लिम्बू जातिको ऐतिहासिक मुन्धुमको
सेरोफेरोमा बनेको छ भने मनोज शाक्यको छिमेकी छिमेकी बीचको जातीय कुरामा
आधारित छ। गायक प्रकाश पौडेल नायक रहेको चलचित्र नाइँ मलाई .... ले
हास्य प्रस्तुतिमार्फत् सामाजिक कथा प्रस्तुत गरेको छ। उता सौगात रिजालको
ड्रग्स एक चुनौती लागूऔषध सम्बन्धी विषयमा आधारित छ।
विनोद श्रेष्ठको निर्देशनमा बनेको नाइँ
मलाई केही चाहिँदैन कतारका नेपाली माझ् समेत प्रदर्शन भयो। राम्रो
कथा र गुणस्तरलाई ध्यान दिने हो भने यस्ता चलचित्रले समाजमा पनि सामाजिक–सांस्कृतिक
चेतना छर्ने श्रेष्ठ बताउँछन्। पटकथाकार कृष्ण आचार्य भन्छन्, “मलाई
पटकथाका लागि आएका अधिकांश कथाहरू सांस्कृतिक र सन्देशमूलक नै छन्।”
रु.४ लाखमा निर्माण भएको क्याबिन गर्र्ल
ले च्यारिटी शोबाट मात्र रु.८ लाख उठाइसकेको निर्देशक अरुण प्रधान
बताउँछन्। त्यस्तै रु.४ लाखमा बनाइएको थारू भाषाको चलचित्र हमार भाटु
ले २० लाख उठाएको निर्देशक केशव रायमाझ्ीले बताए। अहिले थारू भाषाका
चलचित्रहरू बेटी विदा, घरकी चिर्खा, हमर जिन्दगी, वंश पनि प्रदर्शन
भइरहेका छन्। लिम्बूहरूको किपट प्रथाको विषय बोकेको चेसुङ् छायाङ्कनको
तयारीमा छ।
कृष्ण शाह यात्री गोपाल दाहाल
रहेनन् डबलीका नायक
 |
| कुमार आले |
नेपाली रङ्गमञ्चमा
लामो समय बिताएका अग्रणी नाट्यकर्मी बेखानारायण महर्जन अब इतिहासका
पानामा मात्र भेटिनेछन्। वि.सं. १९८३ मा काठमाडौँमा जन्मेका, तत्कालीन
नाट्य–परम्पराका सुप्रसिद्ध कलाकार बेखानारायणको १३ कात्तिकमा निधन
भयो।
काठमाडौं, भक्तपुर र ललितपुरमा सुकुलमा देखाइने ज्यापू
नाटक लाई परिमार्जन गरी डबली परम्पराको थालनी गर्ने श्रेयसमेत पाएका
बेखानारायणलाई नेपालमा डबली नाटकका अग्रणी कलाकारका रूपमा समेत हेरिन्छ।
उनी उपत्यकाका तीनै शहरका लोकप्रिय अभिनेता थिए। त्यसबेला डबलीसँग
जोडेर उनका बारेमा भनिन्थ्यो, “डबली नबनी बेखा देखिँदैन, बेखा नउठी
डबली उठ्दैन।” बेखानारायणका धेरै वटा नाटक हेरेका वरिष्ठ समालोचक डा.
मोहनहिमांशु थापा उनलाई आफ्नो समयका 'सुपरस्टार' नै मान्छन्। भन्छन्,
“नाटकमा बेजोड जीवन्तता प्रदान गर्न सक्षम भएबापत नै तीनै शहरमा बेखानारायण
'बेखाचा'का रूपमा लोकप्रिय थिए। नाटकलाई जनस्तरमा पुर्याउने नायक
हुन् उनी।”
नाट्यकर्मी बेखानारायणले वि.सं. १९९७ मा भोटेबहालमा
सर्वप्रथम डबली बनाएर नाटक 'राजकुमार विश्वन्तर' मा अभिनय र निर्देशन
गरेका हुन्। उनले ३२ नाटकमा अभिनय, निर्देशन, गायन, लेखन, सङ्गीत सिर्जना
गरेका थिए। तत्कालीन रङ्गमञ्चीय अवस्थाबारे बेखानारायण भन्थे, “राणाकालमा
नाटक गर्न गाह्रो थियो, नाटक देखाउनुअघि हनुमानढोका र डिल्लीबजार कार्यालयमा
पुर्याउनुपर्थ्यो।” शासकहरूले मन नपरेका कुराहरू नबोल्नु भनेर काटिदिने,
प्रहरीले चेतावनी दिने भएपनि नाटक गर्न थालेपछि रोक लगाइएका कुरा समेत
बोलिदिने गरेको उनी सुनाउँथे। एकपटक पाटनको च्यासलमा नाटक गर्दा उनलाई
पक्रेर गोश्वारामा थुनिएको थियो।
त्यतिबेला नाटकहरू गर्ने कुनै संघसंस्था नभएकाले नाटकको
खर्चवर्च गर्ने र सिकाउने मूलीको काम भने सधैँ बेखाकै काँधमा पर्दथ्यो।
तत्कालीन रङ्गमञ्चमा पुरुष नै महिला बन्नुपर्ने बाध्यता थियो। बेखाचाले
कान्छी र मयजू नामका नारीलाई नाटक 'गरीब' (वि.सं.२००८) मार्फत् खुल्ला
डबलीमा पहिलो पटक उतारेर डबली नाट्य परम्परामा नारी कलाकार प्रवेश
गराउने कार्य गरेका थिए।
२०१४ सालसम्म निरन्तर नाट्यकर्मको विकासमा लाग्दा उनले
यंगालको घरबार समेत गुमाएका थिए। पछि विरक्तिएर विराटनगर पुगेका उनले
त्यहाँ पनि 'रिक्सा', 'दोबाटो' लगायतका नाटकमा अभिनय तथा निर्देशन
गरे। २०२७ सालमा उनी काठमाडौँ फर्किए। एक छोरा र एक छोरीका पिता बेखानारायणकी
छोरी रामकेशरी पनि नृत्य र अभिनयमा राम्रो दख्खल राख्छिन्। डबली नाट्यपरम्परामा
विशेष योगदान पुर्याएकाले बेखानारायण महर्जनले 'सर्वनाम सम्मान' समेत
पाएका थिए।
रमझम विविध
जापानीको
नेपाली नृत्य
जापानी र
नेपाली कलाकारहरूले २४–२५ कात्तिकमा पोखरामा नेपाली दर्शकलाई दुवै
देशका साङ्गीतिक प्रस्तुतिमार्फत् मनोरञ्जन दिलाए। जापानी शहर कोमागानेका
नाममा पोखरामा बनेको पार्कमा लायन्स क्लब अफ पोखरा अन्नपूर्णले 'पोखरा
वोन ओदोरी कन्सर्ट एण्ड फुड फेष्टिबल' नामक सो कार्यक्रमको आयोजना
गरेको थियो। करीब ५० जनाको समूहमा आएका जापानी कलाकारहरू कार्यक्रममा
आफ्ना प्रस्तुतिहरूसँगै नेपाली तामाङ सेलो र भोजपुरी गीतमा पनि नाचे।
उनीहरू नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्षको सन्दर्भ
पारेर पोखरा आएका थिए। कार्यक्रमको संयोजन गरेका पोखराका पर्यटन व्यवसायी
सोनाम साङ्पोले यस्ता कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने
बताए।
त्रिभुवन, पोखरा
सकियो रङ्ग
महोत्सव
 |
| अनुशील |
विश्व प्रसिद्ध
नाटककार हेनरिक इब्सनको सम्झ्नामा राजधानीको गुरुकुलमा
पाँच देशका रङ्गकर्मीको सहभागितामा १५–२६ कात्तिकमा इब्सन नाटक महोत्सव
२०६३ सम्पन्न भयो। जसमा नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश र नर्वेका
रङ्गकर्मीहरू सहभागी थिए। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन
गर्नुभएको महोत्सवमा दक्षिण एशियामा इब्सनका नाटकले पारेको प्रभावको
समीक्षासँगै उनका चर्चित नाटकहरूको मञ्चन गरिएको थियो। आयोजक रङ्गसंस्था
आरोहणका निर्देशक तथा रङ्गकर्मी सुनील पोखरेलले सय जति विदेशी रङ्गकर्मीको
अभिनय, रङ्गकर्म सम्बन्धी पुस्तक प्रकाशन तथा चित्रकला प्रदर्शनी,
साङ्गीतिक कार्यक्रम तथा सेमिनारका साथ महोत्सव सफल भएको बताए। महोत्सवमा
नेपालबाट महान शिल्पी, पुतलीको घर, खुशीको मृत्यु217 भारतको जन–शत्रु,
देशद्रोही, प्रेतछायाँ र इब्सनलाई इब्सनसँग खाना खान निम्तो नर्वेको
जङ्गली हाँसको कथा, पाकिस्तानको दुश्मन र बङ्गलादेशको पुनरुत्थान प्रदर्शित
भएका थिए।
पालो पूर्वाञ्चल आइडलको
 |
उत्कृष्ट
गायन प्रतिभाको खोजीका लागि पूर्वाञ्चलमै पहिलो पटक
सञ्चालन भइरहेको पूर्वाञ्चल सरगम आइडल–०६३ को अन्तिम चरणका लागि दश
प्रतिस्पर्धीहरू छानिएका छन्। धरानस्थित सरगम सङ्गीत विद्यालयको आयोजनामा
फागुन, २०६२ को तेस्रो सातादेखि शुरु गरिएको प्रतियोगितामा पूर्वाञ्चलका
सबै जिल्लाबाट करीब ५०० जनाले पहिलो चरणमा सहभागिता जनाएका थिए। २३
मङ्सिरमा अन्तिम नतिजा घोषणा गर्नुअघि उत्कृष्ट दशका स्वरमा साङ्गीतिक
अल्बम बजारमा ल्याउने तयारी भइरहेको आयोजक ओम प्रकाश राई बताउँछन्।
अन्तिम चरण प्रवेश पाउनेहरूमा छन्– देवेन्द्र चेम्जोङ्ग, सम्झ्ना राई,
सन्तोष लिम्बू, जगन राई, सन्जय तुमु्रख, सन्तोष तिरुवा, प्रेम क्षितिज
राई, पेमा शेर्पा, रोशन राई र रविन शिवा।
आनन्द कोइराला, धरान
विस्तारै–विस्तारै कालीप्रसाद
 |
| अनुशील |
वरिष्ठ
गीतकार कालीप्रसाद रिजालको गीतिअल्बम विस्तारै विस्तारै
को हालै राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी
र वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले एकसाथ विमोचन गरेे। नारायण गोपालको
सङ्गीतको वनै खायो डढेलोले... बाहेक सबै गीत नयाँ भएको सो अल्बममा
ठुमरी भाका पनि समेटिएको छ। म्युजिक नेपालले बजारमा ल्याएको ९ वटा
गीतको यस अल्बममा रामकृष्ण ढकाल, थुप्तेन भुटिया, ईश्वर अमात्य, सङ्गीता
राना, यम बराल, कुन्ती मोक्तान, राजेश पायल राई, रीमा गुरुङ, गुरुदेव
कामत र शैलेस सिंहले स्वर दिएका छन्।
मातृभाषा मोह
मनु नेम्वाङ
(२७) लाई आफ्नो मातृभाषामा गाउँदा जतिको सन्तुष्टि
अन्य गीत गाउँदा आउँछ भन्ने लाग्दैन। आधुनिक नेपाली गीत गाउने इच्छा
पनि उनीसित छ। भन्छिन्, “मातृभाषामा गीत गाउँदा चाहिँ आनन्द र सन्तुष्टि
दुवै पाउँछु म।”
केही समययता नेपालमा मातृभाषामा गीत रेकर्ड
गर्ने क्रम बढेको छ। यसै क्रममा लिम्बू भाषामा नारी स्वर दिनेहरूमा
मनुको नाम अग्रपङ्तिमा आउँछ। नेपाली लोकगीतको लैजाऊ रेलै मा अल्बम
निकाल्दा भन्दा लिम्बू भाषामा दुई वटा क्यासेट “सेमेक्वा” र “पालाम
सुङ” निकाल्दाखेरि उनले व्यावसायिकभन्दा बढी सांस्कृतिक सन्तुष्टि
पाइन्। पूर्वी नेपालको पाँचथर, सुर्केनागीकी मनु गाउँघर तथा मेला हाटबजारतिर
घन्कने च्याब्रुङ, धाननाच, ख्याली, हाक्पारे गीतहरूले आफूलाई गायनतर्फ
आकर्षित गरेको बताउँछिन्। भन्छिन्, “प्रत्यक्ष सुनिएका ती गीतहरूलाई
रेकर्डमा सुन्न पाउँदा कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो।”
२०५४ सालमा साङ्गीतिक आकाङ्क्षाका साथ
राजधानी छिरेकी उनले २०५७ मा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण
गरिन्। सोही सालमा भएको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा उनको समूहले
पहिलो स्थान प्राप्त गर्यो। हालसम्म उनले लिम्बू भाषाका एक सय ३०
वटा गीत गाइसकेकी छन्। आफ्नो मौलिक कला र संस्कृति बचाउनका लागि धेरै
भन्दा धेरै लिम्बू भाषाको गीत गाउने उनको रहर छ।
लिम्बू भाषाकै गीत गाएर उनी कोरिया र हङकङसम्म पुगेकी छन्। भन्छिन्,
“विदेशमा बस्ने नेपाली मातृभाषा भनेपछि हुरुक्कै हुँदा रहेछन्।” उनले
मातृभाषामा छरेको सुगन्धमा पनि नेपाली माटो नै मग्मगाइरहेको छ।
कुमार सुब्बा
|