हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

उपभोक्ताका साथी

मीन बज्राचायर्

सर्वसाधारणको हितविरुद्ध कुनै काम भएको आधार प्रमाण पाउनुहुन्न, अदालत पुगिहाल्छन् अधिवक्ता ज्योति बानियाँ। उपभोक्ता हित
संरक्षण मञ्चका महासचिव बानियाँ उपभोक्ताको हितमा थुप्रै नजिर कायम गराउन सफल भएका छन्।

उनले के के गरे? नेपाल बन्दको आह्वान गर्ने उद्योग बाणिज्य संघको निर्णय विरुद्ध मुद्दा हालेर अन्तरिम आदेश दिलाए। मिटर जथाभावी गरेर ट्याक्सी चलाउन खोज्ने प्रवृत्ति विरुद्ध उपभोक्ताको पक्षमा निर्णय गराए। झ्िंगा भन्काएर रिक्सा, गाडीमा मासु ओसार्ने र टेबुलमा असरल्ल पसारेर बेच्ने कामलाई अवैध गराए।

उनका क्लाइन्ट पनि त्यस्तै छन्। 'माइशप ड्राइक्लिनर्स' मा धुन दिएको कोट एकै डल्लो पारिदिएको समस्या लिएर आएका एक उपभोक्तालाई रु.७ हजार क्षतिपूर्ति दिलाए उनले। तिलगङ्गा आँखा अस्पतालमा उपचार गराउँदा आँखाको ज्योति गुमाएका एक किशोरलाई लिएर अदालत जाने तरखर के गर्दैथिए, अस्पतालले रु.१५ लाख क्षतिपूर्ति दिने र आफ्नो उपचार विधिमा सुधार गर्ने वाचा गर्‍यो। “गल्ती भइहाल्यो क्षतिपूर्ति दिन्छौँ भनेर मात्र हुँदैन, गल्ति नदोहोर्‍याउने वाचा पनि गर्नुपर्छ”, उनी भन्छन्।

भर्खरै औषधोपचारमा भएका ठगीका केही मुद्दा अदालतमा दर्ता गराएका ज्योतिको डायरीमा 'सिण्डिकेट' को नाममा यातायात व्यवसायीहरूबाट भइरहेको ठगी पनि प्राथमिकता सूचीमा छ। सिण्डिकेट प्रणालीको अन्त्य गर्ने कानून बनाउने अभियानमा उनी लागेका छन्। उनी भन्छन्, “अब चाँडै नै संसदबाट प्रतिस्पर्धा ऐन पारित हुनेछ र यस्तो काममा संलग्न हुनेहरू कानूनी रूपमै दण्डित हुनेछन्।”
संयुक्त राष्ट्रसंघको उपभोक्ता अनुबन्ध

(प्रोटोकल) मा नेपालले हस्ताक्षर गरिसकेको छ। अधिवक्ता बानियाँ यसैलाई समातेर आम उपभोक्ताको हितमा सक्रिय छन्। उपभोक्ता हितको पहरेदारी गर्ने अभियान जस्तै छ उनको काम कारबाही। जनतासँग प्रत्यक्ष सरोकार हुने एउटा न एउटा निकायमा उनी दैनिक पुगिरहेका हुन्छन्। उपभोक्ताका पक्का साथी बानियाँ भन्छन्, “उपभोक्ता हितविरुद्ध भएका कामहरूमा कानूनी उपचार खोज्न मैले यो अभियान सञ्चालन गरेको हुँ।”