हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

स्वास्थ्य चेतना

'अज्ञात' रोग होइन, अज्ञानता!

डा. प्रकाशराज रेग्मी

नेपालमा वर्षैपिच्छे कुनै न कुनै क्षेत्रमा 'अज्ञात' रोगबाट मानिसहरू प्रभावित भएको समाचार आउँछ। यस्तो रोग प्रायः शहरबजारभन्दा गाउँघरतिर बढी फैलिएको देखिन्छ। के ती साँच्चिकै अज्ञात रोग हुन् त? अज्ञात भनेर प्रचारप्रसार गरिदिँदा सर्वसाधारण जनता र बिरामीहरूमा कस्तो असर पर्नसक्छ? यसबारे गहिरिएर सोच्नुपर्ने देखिन्छ।

नेपालमा शुरुमा 'अज्ञात' भनेर प्रचारमा आउने धेरैजसो रोग परीक्षणपछि प्रायः मलेरिया, इन्सेफ्लाइटिस, टाइफाइड, हिस्टेरिया भएको पुष्टि हुनेगरेको छ। तर, पहिले प्रमाणित भइसकेका रोगहरूको जस्तै लक्षण लिएर देखापरेका नयाँ रोग पनि शुरुमा अज्ञात नै भनी प्रचारमा आउने गर्दछन्। यस्तो अवस्था सम्बन्धित स्वास्थ्य निकाय र विज्ञहरूले छिटो अनुसन्धान र निदान नगर्ने तथा सञ्चारकर्मीहरूले पनि पर्याप्त तथ्यविवरण नबुझ्ी समाचार सम्प्रेषण गर्ने गरेकाले भइरहेको छ। जनचेतनाको अभाव पनि त्यत्तिकै महवपूर्ण कारक हो।

अज्ञात रोग फैलिएको कुराले जनतामा त्रास उत्पन्न गर्ने, अनावश्यक मानसिक असर पार्ने र उपचार एवं नियन्त्रणका लागि के गर्ने भन्ने कुरा समेत 'अज्ञात' नै रहने गरेको छ। फलस्वरुप, रोग झ्न् छिटो फैलिन्छ र प्रभावित स्थलमा चिकित्सा टोली पुगेर रोग प्रमाणित गर्न नसकेसम्म मानवीय क्षति बढ्दै जान्छ। पर्याप्त स्वास्थ्य सुविधा र जनशक्ति नभएका दुर्गम एवं विकट ठाउँहरूमा त यस्तो रोगको प्रकोप झ्न् बढी हुन्छ।

हालसालै बाँकेका केही गाविसमा फैलिएको ज्वरोको महामारीबाट ४० भन्दा बढी मानिसको मृत्यु भयो। करीब १५ सय त्यस्तो ज्वरोको शिकार भए। रोग अझ्ै पूर्ण नियन्त्रणमा आएको छैन। शुरुमा अज्ञात भनेर प्रचारमा आएको यो रोग एक–डेढ हप्तापछि मस्तिष्कको औलो अर्थात् 'सेरेब्रल मलेरिया' प्रमाणित भयो। बाँकेमा फैलिएको यो ज्यानमारा ज्वरो शुरुदेखि नै औलो थियो, तर हाम्रै अज्ञानता, ढिलासुस्ती र कमजोरीका कारण यो अज्ञात हुन पुग्योे।

नेपालमा औलो उन्मूलन भएको दशकौँ भइसकेको छ। फाटफुट कतै बाहेक महामारीको रूपमा औलो नदेखिएको धेरै वर्ष भइसक्यो। औलो उन्मूलनका लागि विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा धेरै काम भएको छ। यस विषयका विज्ञहरू पनि प्रशस्त छन्। कति नेपाली चिकित्सकले विश्व स्वास्थ्य सङ्गठनलगायतका अन्तर्राष्ट्रिय संघसंस्थामा काम गरेर नाम कमाएका छन्। दशकौँदेखि औलो ज्वरोको निदान र उपचारका विधिहरू देशका ग्रामीण तहसम्म प्रयोगमा आइराखेका छन्। औलो नलागेका, तर लाग्ने खतरा भएकाहरूलाई समेत रोकथामका लागि औषधि खुवाउने गरिएको छ।

यत्रो प्रयास र यति लामो अनुभव भएको मुलुकमा औलोेबारे कोही अनभिज्ञ हुने कुरै भएन। तैपनि एक–डेढ हप्तामै त्यतिका मानिसहरूको ज्यान जाँदा पनि औलो ज्वरो 'अज्ञात' कै दर्जाभित्र रहिरह्यो। समयमै यो कुरा थाहा हुनसकेको भए धेरै मान्छेको मृत्यु हुने थिएन र रोग छिटै नियन्त्रणमा आउन सक्थ्यो। सेरेब्रल मलेरिया मस्तिष्कमा असर गरेर छिटो ज्यान लिनसक्ने कडा औलो भए पनि यो औषधि–उपचारबाट ठीक पार्न सकिने रोग हो। तर, अज्ञात भनेर प्रचार भइरहँदा औषधि–उपचार त परको कुरा, गाउँवासीले औलोबाट बच्ने सामान्य उपाय समेत अपनाएनन्।

विभिन्न किसिमका 'अज्ञात' रोग, स्वास्थ्य समस्या वा स्वास्थ्यसँग सम्बन्धित अवस्थाका उदाहरणहरू धेरै दिन सकिन्छ। केही समयअघि कास्कीको लेखनाथ नगरपालिका र वरपरका गाउँमा स्कूल पढ्ने विद्यार्थी, खासगरी किशोरीहरू, सामुहिक रूपमा बेहोस भए। शिक्षक र अभिभावकहरू आत्तिए। पत्रपत्रिका, रेडियो र टेलिभिजनमा अज्ञात रोगको कारणबाट विद्यालय तनावग्रस्त भन्ने समाचार आयो। चिकित्सक र विशेषज्ञहरूले यसलाई 'मास हिस्टेरिया' भनेर पहिचान गरे। मास हिस्टेरिया एक प्रकारको मानसिक रोग हो। यसबाट कसैको मृत्यु हुँदैन र कसैले डराउनुपर्दैन। कुनै समूहमा एकाएक मानिसहरू बेहोस हुने मास हिस्टेरियाको लक्षण सधैँ उस्तै रहने गरेपनि यो प्रायः अज्ञात रोगकै नामबाट प्रचारमा आउने गरेको छ।

सम्वाददाताहरूले पूर्ण तथ्यविवरणहरू सङ्कलन गरेर यो नै हो भन्न सकिने ठाउँमा पुष्टिसहितको पूर्ण समाचार प्रवाह गर्न सके भय फैलिने थिएन। अर्कोतिर सरकार, स्वास्थ्य निकाय, चिकित्सक–विशेषज्ञहरूले पनि तत्काल अध्ययन र परीक्षण गरेर रोगबारे छिटै सत्य–तथ्य प्रकाशमा ल्याउने गरेमा जनता आतङ्कित हुने थिएनन् र सावधानी एवं उपचार शुरु हुन सक्थ्यो।

रोगहरू मात्र होइन, स्वास्थ्यसँग गाँसिएका कतिपय अनौठा कुराले पनि मानिसहरूमा भ्रम फैलाउने गरेका छन्। बाँकेकै एक किशोरी टाउकोबाट सिसा निस्कने 'विचित्रको रोग' को शिकार भइन्। उनको टाउकोबाट निस्केको भनिएका सिसाका टुक्राहरूको फोटोसहित सञ्चारमाध्यमले समाचार प्रवाह गरे। नेपालगञ्जमा कार्यरत कतिपय चिकित्सक र स्वास्थ्यकर्मीहरूले समेत यसलाई 'अज्ञात र विचित्रको रोग' भने। टाउको दुख्ने, अनि सिसाका टुक्रा बाहिर निस्कने रोगबारे चिकित्साशास्त्रमा केही उल्लेख छैन। सजिलै अनुमान लगाउन सकिन्छ, यो पनि एक प्रकारको हिस्टेरिया अथवा मानसिक रोग नै हो। टाउकोबाट सिसा निस्कनै सक्दैन, अरूलाई झ्ुक्याएर निस्किएकै हो भन्न चाहिँ सकिन्छ।

कतिपय मानिसहरू अरूको ध्यान आफूतिर खिच्न पनि यस्ता अनौठो प्रकृतिका 'अज्ञात रोग' का घटनाहरू रच्छन्। कतिले महिनौँ नखाएको भनेर, जादु गरेर वा विभिन्न प्रकारका अस्वाभाविक लक्षण देखाएर 'देवीदेवता पसेको' भन्ने मनगढन्त कुरा फैलाइरहेका हुन्छन्। तर, यस्ता कुरालाई पनि वैज्ञानिकताको खोजी गरेर यथार्थ बाहिर ल्याइदिने भन्दा रहस्यमय रूपमै प्रस्तुत गर्ने गरिएको पाइन्छ।

रोगहरू आफैँमा अज्ञात हुँदैनन्, सम्बन्धित व्यक्तिहरूको अज्ञानताका कारण अज्ञात भइदिन्छन्। सधैँजसो फैलिने रोगका लक्षण, नियन्त्रणका उपाय र उपचारहरूको राम्रो प्रचारप्रसार गरी आमजनताको चेतना अभिवृद्धि गर्नेतर्फ सबैले ध्यान दिने हो भने 'अज्ञात रोग' को आतङ्क त्यत्तिकै हराएर जान्छ र त्यसबाट अनावश्यक क्षति व्यहोर्नुपर्दैन।