हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देश | समाचार

अदालतको मुद्दाः माओवादी फैसला

माओवादी कुटपिटबाट घाइते मण्डल सगरमाथा अञ्चल अस्पतालमा।

सप्तरीमा हरेकजसो विवाद र मुद्दामा हात हाल्दै र फैसला गर्दै आएका माओवादीले हालै कञ्चनपुर–३ का बिजुली मण्डललाई आफ्नो निर्णय नमानेको कारण अपहरण गरेर चार दिनसम्म यातना दिएका छन्। भाइ हजारी मण्डलले दाजुले बराबर अंश नदिएको भनी उजुरी गरेपछि माओवादीले जग्गा दिन बिजुलीमाथि पटक–पटक दबाब दिएका थिए। तर उनले नमानेकाले अपहरण गरेर कुटपिट गरी विभिन्न कागजमा बिजुलीको औँठाको छाप लिएका छन्। माओवादीले यसअघि १८ असोजमा पनि उनलाई अपहरण गरेका थिए।

बिजुलीलाई १३ कात्तिक साँझ् ७ बजे 'जिल्ला सेक्रेटरी अमरले बोलाउनुभएको छ' भन्दै सातजना माओवादी कार्यकर्ताले घरैबाट लिएर गएका थिए। त्यसपछि चार दिनसम्म अज्ञात ठाउँमा राखेर बन्दुकको कुन्दा, बाँसका भाटाले हिर्काएको र दुई वटा सादा र एउटा केही लेखिएको कागजमा सहीछाप गराएको बिजुली मण्डलको भनाइ छ। पिटाइबाट घाइते बाबुलाई १८ कात्तिक राति ९ बजे घर नजिकै चन्द्र नहरको पुलमा ल्याएर छाडिदिएको उनका छोरा बच्चुले बताए।

अपहरणको लगत्तै जिल्ला सेक्रेटरी अमरले स्थानीय सञ्चारकर्मीलाई आफ्ना कार्यकर्ताले मण्डललाई अपहरण नगरेको बताएका थिए। घटना सार्वजनिक हुँदा पनि माओवादीले जिम्मेवारी लिएको छैन। तर, मण्डलले आफूलाई माओवादी कार्यकर्ता झ्बर यादव, महानन्द गोइत, जगदीश यादव, चलितर यादवलगायतले कुटपिट गरेर कागज गराएको बताएका छन्।

मण्डल दाजु–भाइबीच अंश मुद्दा अदालतमा चलिरहेको बेला भएको यो अपहरण र कुटपिटमा अधिकारवादीहरूले समेत चासो देखाएका छैनन्। उनको सहीछाप गराइएको कागज फिर्ता दिलाउने पहल पनि कतैबाट भएको छैन। यसले गर्दा मण्डल परिवार कतिबेला आफ्नो भएभरको धनसम्पत्ति जाने हो भन्ने त्रासमा बाँचिरहेको छ।

श्रवणकुमार देव, राजविराज


सुकुम्वासीलाई कसैले हेरेन

बुटवल, मैनाबगरको सुकुम्वासी बस्तीमा जग्गा–धनीहरूले आगो लगाइदिएपछि घरबारविहीन बनेका सुकम्वासीहरू मिडिया चोकमा खुल्ला आकासमुनि सामान्य पालको भरमा रात काटिरहेका छन्। उनीहरू बिरामी समेत पर्न थालेका छन्। २५ जनाभन्दा बढीलाई रुघाखोकी र निमोनिया भएको छ। पाँच जनालाई लुम्बिनी अञ्चल अस्पतालमा भर्ना गरिएको छ। रोगबाट बालबालिका र महिला बढी प्रभावित छन्।

१ कात्तिक २०६३ मा जग्गाधनीहरूले मैनाबगरका झ्ण्डै एक हजार छाप्रामा आगजनी गरेपछि विस्थापित २५० परिवार सुकुम्वासीले मन्त्री, सरकारी कार्यालय र राजनीतिक दलहरूलाई गुहारे, इलाका प्रशासन कार्यालयमा तालाबन्दी र नगरपालिका घेराउ गरे, तर अहिलेसम्म पनि उनीहरूका मागबारे सुनुवाई भएको छैन। विस्थापित सुकम्वासीका अगुवा सोम तामाङ्ग भन्छन्, “हामी सुकम्वासी होइनौँ भन्ने प्रमाणित भए हामी कारबाही खेप्न तयार छौँ, तर हाम्रो बस्ने बासको व्यवस्था हुनुपर्‍यो।” विस्थापितहरूले अर्थमन्त्री डा. रामशरण महत, सञ्चार राज्यमन्त्री दिलेन्द्रप्रसाद बडूलगायत माओवादी र अन्य राजनीतिक दलको स्थानीय नेतृत्वलाई बस्ने बासको माग गर्दै ज्ञापनपत्र बुझ्ाएका थिए। मन्त्रीहरूले आश्वासन दिएपनि समस्या ज्यूँका त्यूँ छ। सुकुम्वासी बस्तीमा आगो लगाउँदा जग्गाधनीले स्थानीय प्रशासन र राजनीतिक दलहरूलाई समेत सूचना दिएका थिए। तर उनीहरूलाई रोक्ने पहल कसैले गरेन।
नेकपा माओवादी, गण्डक क्षेत्रीय व्यूरोका टोपबहादुर रायमाझ्ीले आफ्नो पार्टी सरकारमा गएपछि सुकुम्वासीहरूको समस्या समाधान गरिदिने आश्वासन दिएका छन्। तर यस्ता कुरामा सुकुम्वासीहरूलाई विश्वास छैन। माया शर्मा भन्छिन्, “नेताहरूले कतिपटक आश्वासन दिए। सरकारमा गएपछि व्यवस्था गर्छौँ भनेर जनआन्दोलन र नगरनिर्वाचन बहिष्कारमा लगे। तर आज कसैले हेरेन, हामीसँग बस्ने बाससम्म छैन।”

मुकेश पोखरेल, भैरहवा


माओवादीको खुला पत्रकारिता

तालिमका सहभागीहरू।

बदलिँदो राजनीतिक परिस्थितिमा माओवादी निकट पत्रकारहरू पनि खुला पत्रकारितामा लागेका छन्। पहिले लुकिछिपी हेर्नुपर्ने जनादेश काठमाडौँबाटै निस्किन्छ। बुटवलबाट जनआह्वान, सुर्खेतबाट सुर्खेत पोष्ट, हेटौँडाबाट पहल, नेपालगञ्जबाट नयाँ सन्देश, जनकपुरबाट पूर्वक्षितिज, राजविराजबाट जनक्रान्ति र विराटनगरबाट जनविद्रोह लगायत एक दर्जन भन्दा बढी पत्रिका निस्किन थालेका छन्।

युद्धकालमा ठाउँठाउँमा चलाउने गरिएका एफएममध्ये काठमाडौँ उपत्यकामा बन्द भए पनि अन्यत्रका केही चलिरहेका छन्।

खुला पत्रकारितामा आएपनि माओवादीको प्रेस नीति चाहिँ स्पष्ट छैन। नेताहरूले आफ्ना सञ्चारमाध्यमसित कुरा गर्दा मिसन पत्रकारिताकै र अन्य स्वदेशी–विदेशी सञ्चार–माध्यमसँग कुरा गर्दा पूर्ण प्रेस स्वतन्त्रताका कुरा गर्ने गरेका छन्। उनीहरूमा देशको पूरै सञ्चार क्षेत्रकै नेतृत्व गर्नेसम्मको महवाकाङ्क्षा जागेको छ। पार्टीका केन्द्रीय सदस्य देव गुरुङले २५ कात्तिकमा नेपालगञ्जको एक कार्यक्रममा अन्तरिम सरकारमा सञ्चार मन्त्रालय पाउनुपर्ने बताएका थिए। तालिमका सहभागीहरू।

गएको कात्तिकमा कास्कीमा माओवादीले 'गण्डक क्षेत्रस्तरीय पत्रकारिता प्रशिक्षण' आयोजना गरे, जसमा जनादेश का कार्यकारी सम्पादक मनऋषि धितालले मिसन पत्रकारिताको आवश्यकता नसकिएको बताए। उनको भनाइ थियो– “टाइ लगाउने र पैसा कमाउनेहरूको हैन, गाई पाल्नेहरूको प्रोफाइल लेख्नुपर्छ भन्ने हाम्रो मान्यता हो।” जनादेश कै प्रधान सम्पादक कोमल बराल भन्छन्, “हामी आफ्ना प्रकाशनहरूलाई आत्मनिर्भर बनाउन भने चाहन्छौँ।”

त्रिभुवन पौडेल, पोखरा


प्रहरी भर्नामा नेताका सिफारिस

प्रहरी जवानहरूको भर्नामा योग्यता र क्षमता भन्दा राजनीतिक नेता र उच्च ओहोदामा रहेका व्यक्तिहरूको व्यापक सिफारिस लाग्ने गरेको रहस्य खुलेको छ। प्रहरी तालिम केन्द्र, रानी विराटनगरले १२२ औँ टोलीको लागि खोलेको प्रहरी जवानको भर्नाका लागि तालिम केन्द्रका प्रहरी उपरीक्षक सुदिप आचार्यले व्यवस्थित रूपमा तयार पारेको १३६ आवेदक र उनीहरूलाई सिफारिस गर्ने नेता, उच्च ओहोदाका व्यक्ति र विभिन्न संघसंस्थाहरूको नामको सूची नै हिमाल कार्यालय आइपुगेको छ।

प्रहरी उपरीक्षक आचार्यको सूचीमा नेपाली काङ्ग्रेसका महेश आचार्य, शशाङ्क कोइराला, अशोक कोइराला, गोपाल पहाडी, पद्मनारायण चौधरी, हरि सापकोटा, अमृत अर्याल, बाबुराम ओझ्ा, रामबहादुर बस्नेत र दिलीप सापकोटा, एमालेका विनोद ढकाल र गुरु बराल तथा प्रजातान्त्रिक काङ्ग्रेसका राजु मास्के र मदन सङ्ग्रौला आदिका नाम देखिन्छन्। कृष्ण यादव भन्ने एक सिफारिसकर्ताको नामसँगै 'खुमबहादुर खड्काको हनुमान' लेखिएको छ। प्रहरी र अन्य कर्मचारीतर्फ पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरा, अतिरिक्त प्रहरी महानिरीक्षक कृष्ण बस्नेत, अमरसिंह शाह, वरिष्ठ प्रहरी उपरीक्षक कल्याण कुमार तिम्सिना र पार्वती थापाका सिफारिस पनि छन्।

सूचीमा कसैलाई एकभन्दा बढीको सिफारिस छ, एकैजनाले धेरैलाई सिफारिस गरेका पनि छन्। तालिम केन्द्रका प्रहरी निरीक्षक विद्यानन्द माझ्ी सबैभन्दा बढीलाई सिफारिस गर्नेमा पर्दछन्। कतिको उम्मेदवारसँग सिफारिस गर्नेको भाइ, सालो, जेठान, बहिनी इत्यादि नाता पनि खुलाइएको छ। कुनै–कुनैका सिफारिसकर्ताको लहरमा कोड जस्ता लाग्ने अङ्ग्रेजीमा 'भी १' लगायत केही नबुझ्िने सङ्केतहरू पनि छन्। केहीका नाउँमा गृह मन्त्रालय मात्रै लेखिएको छ। मोरङ सहायक प्रजिअ र कोइराला निवासका प्रहरी नायव निरीक्षक मोहनले पनि एक–एक वटा सिफारिस ठेलेका छन्। सिफारिस गर्नेहरूमा केही प्रहरी हवल्दार, जवान, ड्राइभर र परिचर पनि छन्। उम्मेदवारको सूचीमा भिडन्तमा मारिएका एक प्रहरीकी श्रीमती र अर्का एक घाइते प्रहरीका भाइको नाम पनि छ।

प्रारम्भिक परीक्षामा प्रायः सिफारिस हुने नै पास भएका छन्। यसको परिणामस्वरुप तीन सयभन्दा बढी योग्य उम्मेदवार प्रथम चरणमै बाहिरिएका छन्। लमजुङ घटनामा मृत्यु भएका प्रहरी यज्ञ थापाकी श्रीमती मेनका कटुवालले सूचीमा परेर पनि 'पहुँच नपुगेको' कारण आफू अनुत्तीर्ण भएको गुनासो गरेकी छन्।

महेन्द्र बिष्ट


जनकपुरमा पनि एफएम

एकैपटक चार वटा एफएम रेडियोको प्रसारण तयारी चलिरहेको जनकपुरमा गएको छठदेखि रेडियो जनकपुरले परीक्षण प्रसारण शुरु गरेको छभने आउने रामजानकी विवाह पञ्चमीदेखि रेडियो मिथिला पनि परीक्षणमा जाँदैछ।

लोकतन्त्र स्थापनापछि जनकपुर अञ्चलमा सामुदायिक र व्यावसायिक गरी दुई सयदेखि एक हजार वाट क्षमताका सात वटा एफएम रेडियोले प्रसारण अनुमति पाएका छन्। सबैभन्दा बढी क्षमताको रेडियो मिथिला पूर्वमा सुनसरी, पश्चिममा पर्सा र भारत–बिहारको पटनासम्म सुन्न सकिने सो स्टेशनका प्राविधिक प्रमुख गोपाल झ्ाले बताए। प्रसारणको अन्तिम तयारीमा रहेको जनकपुर एफएमका स्टेशन म्यानेजर राजेशकुमार कर्ण आफ्नो रेडियोले मैथिली भाषा, संस्कृतिका साथै मधेशको समस्याका बारेमा आवाज उठाउने बताउँछन्। “पत्रपत्रिका प्रकाशनमा मोफसलमा नयाँ आयाम बनाएको जनकपुरमा रेडियो क्रान्ति हुने भएको छ”, वयोबृद्ध सञ्चारकर्मी माधव आचार्य भन्छन्, “अब जनकपुरका पत्रकारहरूले राजधानीको मुख ताक्नुपर्दैन।” जनकपुरमा खुल्न लागेका एफएम रेडियोले स्थानीय प्रतिभालाई बढी अवसर दिएका छन्।

प्रसारणको तयारी गरिरहेका अन्य एफएम रेडियोमा प्रेरणा समूहको जानकी एफएम, महोत्तरीको रेडियो अपन मिथिला र सिन्धुलीको रेडियो सिन्धुलीगढी पनि छन्।

अजित तिवारी, जनकपुर


अनिताको अनौठो चोरीयात्रा

बालबालिकालाई चकलेट दिएर नाक–कानका गहना लुटेको आरोपमा १४ वर्षकै उमेरमा एक महिना जेल परेकी सुनसरी, महेन्द्रनगर–९ की २१ वर्षीया अनिता बस्नेत (राउत) गएको २२ कात्तिकमा फेरि पक्राउ परिन्। सात वर्षअघि सुधि्रने शर्तमा छाडिएकी अनिताको चोरीको स्तर झ्न् बढेको थियो। साढेदुई वर्षकी छोरी समेत छोडेर यसमा लागेकी उनको तस्बिर विराटनगर र वरपरका सबै प्रहरी सूचनापाटीमा टाँसिएको थियो।

पछिल्लो पटक १६ कात्तिकमा उनले विराटनगर–४ का मीरा र शम्भु केसीसँग दिदीभिनाजुको साइनो गाँसेर उनीहरूको घरबाट रु.४० हजार नगद तथा ६ तोला सुन चोरेकी थिइन्। शम्भुले नै १८ कात्तिकमा उनलाई फेला पारेर माओवादीको सहयोगमा पक्रिन लगाएका र माओवादीले चार दिनपछि प्रहरीलाई बुझ्ाएका थिए। विराटनगरबाट काठमाडौँ जान लागेको बेला समातिएकी अनिता भन्छिन्, “कसैले नचिनुन् भनेर अँध्यारो भएपछि उड्ने अन्तिम फ्लाइटमा जान लागेकी थिएँ।”

यसअघि १३ असारमा उनले विराटनगरकै पुरन डङ्गोलसँग भिनाजुको साइनो लगाउँदै पाँच तोला सुनका गहना चोरेकी थिइन्। एक वर्षअघि रुक्मिणी बस्नेतको घरमा भाडामा बसेको युवकलाई औषधि किन्न पठाएर चोरी गरेकी थिइन्। यसैगरी दमक, इटहरी, धरान र काठमाडौँका २० घरबाट ६० तोला सुन चोरेर रु.८ लाखभन्दा बढीमा बेचेकी अनितासँग आफूले चोरेको नगदको लेखाजोखा थिएन। उनले चोरीमा लागेपछि कपडा कहिल्यै धोएर नलाएको, जहाँ मैलो हुन्छ त्यहीँ नयाँ किनेर फेर्ने गरेको बताएकी छन्। प्रहरी नायव निरीक्षक जमुना बस्नेतका अनुसार, हिरासतमा उनी प्रहरीले दिएको खाना नखाई बाहिरबाट मीठा–मीठा खानेकुरा मगाउँछिन्। आमाको मृत्युपछि बाबु प्रहरीको जागिर छोडेर बरालिएकाले यस्तो काममा लागेकी उनमा अहिले पनि पछुतो देखिँदैनथ्यो। भन्छिन्, “कसैको घरको ताल्चा फुटाएर चोरेको हैन, आफ्नै बुद्धि लगाएर चोरेकी हुँ। यसै फसेँ, उसै फसेँ, यहाँबाट निस्केपछि झ्न् चोर्छु।”

उनी पक्राउ परेपछि प्रहरीमा जाहेरी दिनेहरूको घुइँचो लागेको छ। चोरेको सम्पत्ति मोजमस्तीमा उडाएको बताउने अनिताको साथमा रु.३३ सय मात्रै फेला परेको छ। अनितालाई चोरी मुद्दामा कारबाही भइरहेको जिप्रका मोरङका प्रहरी नायव उपरीक्षक रवीन्द्र शर्माले बताए। “चोरीको सुन हो भन्ने जान्दाजान्दै खरीद गरेको प्रमाणित भए सुन किन्नेलाई पनि कारबाही हुन्छ”, उनी भन्छन्।
माओवादीको मोरङ जनसम्पर्क कार्यालयले उनले बेचेको सुन किन्नेमध्ये विराटनगरका महालक्ष्मी, न्यु महालक्ष्मी, मनिष र विशाल ज्वेलरी पनि रहेका पत्ता लगाएको छ। डङ्गोलको घरमा चोरेको रु.९० हजार बराबरको सुन ६० हजारमा विशाल ज्वेलरीमा बेचेको अनिताले नै बताएकी छन्। सुनचाँदी व्यवसायी संघ, मोरङका अध्यक्ष गणेश भगत चोरले लगाएको आरोप सबै सत्य नहुने बताउँछन्। विराटनगरका सुन व्यापारी अहिले कारबाही हुने डरले आतङ्कित छन्।

कमल आरएल, विराटनगर