चिठी
• महासंसदः
सही निकास
'महासंसदको तयारी' (आवरण, हिमाल, १६–३० कात्तिक) ले
समस्या समाधानका विविध पाटाहरूलाई सम्बोधन गरेको छ। यसअघि १–१५ साउनको
हिमाल मा प्रकाशित 'विकल्प महासंसदको' ले समस्याको चुरोलाई समाधानको
निष्कर्षमा पुग्न पथप्रदर्शकको भूमिका निर्वाह गरेको थियो। युद्धको
एक दशकलाई बिदा गर्दै हतियार–मोहबाट छुट्कारा लिई नेपालीको जीवनस्तर
बढाउने महान् कार्यमा प्रतिबद्धताका साथ अघि बढ्नु नै आजको आवश्यकता
हो। र, महासंसदबाटै यो यात्रा प्रारम्भ हुनेछ। वास्तवमै नेपाली जनता
शान्ति, समृद्धि र सुव्यवस्थाको अनुभूति गर्न ज्यादै आतुर छन् र यसमै
हामी नेपालीको भविष्य गाँसिएको छ। यसैले महासांसदको भूमिका ज्यादै
नै गहन र महवपूर्ण छ।
सुन्दर तिवारी
वालिङ–३, स्याङ्जा
• गाँजालाई
बुझ्ौं
'
जता हेर्यो त्यतै गाँजा' (देश/समाचार, १६–३० कात्तिक)
मा गाँजा खेतीलाई विकृतिका रूपमा औंल्याइएको रहेछ। तर, गाँजाखेती विपन्न
नेपालीको आम्दानीको स्रोत बनिरहेको तथ्यप्रति हिमाल सम्वाददाता उदासीन
देखिएका छन्। नेपालका ३५ भन्दा बढी पहाडी र हिमाली जिल्लाका कुनाकाप्चा,
गाउँवस्तीमा काम गर्ने सिलसिलामा मैले त्यहाँको समुदायको आम्दानीको
मुख्य स्रोत के छ भनी विश्लेषण गर्ने मौका पाएको थिएँ। धेरै ठाउँमा
उत्तर आएको थिए, गाँजा। गाँजा कहीँ खेती गरेको अवस्थामा भेटिन्थ्यो
भने कहीँ जङ्गली अवस्थामा। अन्न खेती गरेर वार्षिक रु.५०० आम्दानी
हुने ठाउँमा गाँजाबाट वार्षिक रु.६ हजारदेखि ७ हजारसम्म आम्दानी हुँदो
रहेछ। गाँजा र भाङको दाना अचारको मुख्य स्रोत हो भने यसलाई भुटेर गहुँसँग
मिसाएर खाजाका रूपमा समेत खाने गरिन्छ।
दुर्गम क्षेत्रमा कार्यरत कतिपय कर्मचारीले अचार खानकै
निम्ति भाङको दाना प्रति केजी रु.४० का दरले किनेर लैजाँदा रहेछन्।
यसको पातबाट नेपाल सरकारले अवैध मानेको चरेस बनाइँदो रहेछ। यसको मूल्य
गाउँघरमा नै प्रति तोला रु.८० रहेछ। भारतीय नाका आसपासका व्यापारीले
सिमाना आसपासका नेपाली व्यापारीलाई पहिले नै पैसा दिने र सिमाना पुर्याइदिने
व्यापारीले भारु.८० प्रति तोलाका दरले चरेसको बेचबिखन गर्दा रहेछन्।
साउन, भदौमा गाँजाबाट चरेस निकाल्न गाउँघरका बूढाबूढीदेखि
बालबच्चासम्म व्यस्त देखिन्छन्। पश्चिम पहाडका कतिपय गाउँमा वार्षिक
रु.५ हजारदेखि १० हजारसम्म नकमाउने घरै भेटिन्न।
गाँजाको उपयोगिता अरू पनि रहेछ। यसको डाँठबाट निकालिने
लोक्ता गाउँघरमा चाहिने डोरी, दाम्लो, नाम्लो बनाउन समेत प्रयोग हुँदोरहेछ।
यसको धागोबाट कपडा बनाएर काठमाडौँमा लगी प्रति कपडा रु.२५० देखि रु.५००
सम्ममा बेचिँदो रहेछ।
डाँठ लोक्ता निकालिसकेपछि दाउराका रूपमा समेत यसको प्रयोग
गरिन्छ। उत्पादन नहुने सुख्खा, रुखो ठाउँमा गाँजा छर्दा अर्को वर्ष
कोदो, आलु, गहुँ, जौ असाध्यै राम्रो हुने गाउँलेहरू बताउँछन्। प्राविधिकहरू
भने गाँजा र भाङको जराले वायुमण्डलमा रहेको नाइट्रोजन शोषण गर्ने भएकाले
अर्को साल अन्नबाली लगाउँदा दोब्बर फल्ने बताउँछन्। पहाडी र हिमाली
जिल्लामा किसानहरूको अतिरिक्त आम्दानीको स्रोत मौरीपालन पनि हो। फूल
नपाइने साउन, भदौ महिनामा मौरीले गाँजाको फूलबाट चारा लिने र मह उत्पादन
बढाउने बताउँछन् मौरीपालक कृषकहरू।
जरा, डाँठ, पात र फल (दाना) समेत प्रयोगमा ल्याइने आम्दानीको
महवपूर्ण स्रोत गाँजालाई किन अवैध मानिन्छ, मलाई त थाहा छैन भने कुनाकाप्चामा
बस्ने सोझ्ासीधा नेपालीलाई के थाहा! हो, कानुनले अवैध मानेको चरेस
नेपालीले नखाए हुन्थ्यो तर मैले यो उपलब्ध हुने विभिन्न ठाउँहरूमा
बुझदा त्यहाँका ५ प्रतिशतभन्दा बढीले यसको सेवन गरेको पाइनँ। बरु यही
चरेस बेचेर आएको पैसाले गाउँका ९५ प्रतिशत मान्छेले चुरोट खाने रहेछन्।
यसरी धेरै महवको, गरीबका निम्ति आम्दानीको दुहुनो गाईलाई सरकारले किन
अवैध मानेको होला? कानुन र न्याय हेर्नेले यससम्बन्धी स्पष्ट जानकारी
दिए म लगायत पहाडी र हिमाली जिल्लाका कुनाकाप्चामा बस्ने सीधासोझ्ा
नेपाली त्यसको असर, उपयोगिताबारे थाहा पाई आभारी हुने थियौँ।
विष्णुप्रसाद लुइँटेल,
सुर्खेत
• सजिलो
छ अर्ती
ऋतुराजले शिक्षण अस्पतालको बुढ्यौलीपन दर्र्शाएको (ऋतुविचार,
१६–३० कात्तिक) ज्यादै उचित लाग्यो। सँगसँगै 'समय चलायमान छ जसलाई
समातेर राख्न सकिन्न' भन्ने विद्वान्हरूको अबुझ् विचारको याद आयो।
मेरा एक जना ६६ वर्षीय अवकाशप्राप्त मित्रले भनेका थिए,
“कुनै समयमा मेरो मासिक आम्दानी रु.२० हजारभन्दा बढी थियो। खान, लाउनको
कुरै छोडौं, अफिसमा समेत हाइहाई थियो। घरको झ्न् कूरै नगरौं! हरेक
कुरा सोधी सोधी, सबै वरिपरि। अहिले रिटायर्ड भइयो, आम्दानी पनि छैन,
दिनभरि घरै। बुहारी छोरीका के कुरा, श्रीमतीले समेत समयमा खान बोलाउँंदिनँ।”
यो भनाइझ्ैँ २५ वर्ष अगाडिको अस्पतालको जवानी सम्झ्ेर हामी सबैले अस्पतालमा
सभ्य बनी सहयोगी भावना राखे अस्पताल सधैँ जवान राख्न सकिन्छ।
तर सार्वजनिक ठाउँका शौचालयमा भित्तामा वा बाहिर नै
शौच गर्ने, त्यति मात्र नभई ढ्याङ्ग लात्तीले हानेर कमोट फुटाउनेे217
ऐना, धारा चोर्ने जस्ता बाँदरे प्रवृत्तिको विग्विगी रहेको बेला कसले
कसलाई बुझ्ाउने यी सब कुरा? सुझ्ाव, अर्ती दिन सजिलो नै छ। हे ऋतुराज!
गरी पुर्याउन त तपाईंलाई पनि हम्मे हम्मे नै हुन्छ हैन र?
चूडामणि बसेल
धापासी हाइट, काठमाडौंं
• बधाई!
'मारे छलाङ महिलाले' (रिपोर्ट, लोकसेवा परीक्षा, १–१५
कात्तिक) मा समेटिएका तीन छोरी अफिसर विष्णु, विन्दा र रमालाई मुस्ताङवासीका
तर्फबाट बधाई ज्ञापन गर्दछु। उनीहरूले महिलाहरू पछि छैनन्, निरीह छैनन्,
कसैको दयाभीखमा भर परेका छैनन् भन्ने सन्देश दिएका छन्। महिलाहरू सबै
पक्षमा कमजोर हुन्छन् भन्ने आग्रहप्रेरित मान्यतालाई उनीहरूको सफलताले
खारेज गरिदिएको छ।
हृदयप्रसाद श्रेष्ठ
जोमसोम, मुस्ताङ
• दुबईजस्तै
कुवेत
''दुबईमा महिला बेच्ने नेपालमा पक्राउ' (देश/समाचार,
१६–३१ असोज) ले मलाई आफ्नै वरिपरिको परिवेश (कुवेतका नेपाली) बारे
लेख्न प्रेरित गर्यो। मेरो ठम्याइअनुसार युएईको दुबईमा भन्दा बढी
नेपाली चेलीहरू कुवेतमा बेचिएका छन्। झ्ण्डै एक वर्षको कुवेत बसाइको
अनुभवका आधारमा म के भन्न सक्छु भने ९० प्रतिशत नेपाली चेलीहरू कुवेतीहरूको
अन्याय, अत्याचार, शारीरिक एवं मानसिक शोषण खप्न नसकी भागेर कुवेतीको
घरबाट निस्कँदा बङ्गाली ट्याक्सी ड्राइभरमार्फत् कोठीमा पुगेका छन्।
तर, दुबईको जस्तो यहाँ नेपाली राजदूतावास छैन। पीडित चेलीहरूको गुनासो,
दुःखेसो बुझ्िदिने यहाँ कोही छैन। उद्धार गरिदिन्छु भन्नेहरूले उद्धारको
बहानामा शारीरिक शोषण मात्र गरिरहेका छन्।
नेपाली केटाहरू नै यस्तो काममा संलग्न छन्। कुवेती घरमा
काम गरिरहेका नेपाली चेलीहरूको फोन नम्बर पत्ता लगाई मेरो तलब २००
केडी (कुवेती दिनार) छ, त्यहाँबाट निस्क, म अविवाहित हुँ, तिमीसँग
विवाह गर्छु भनी झ्ुक्याएर कुवेती घरबाट निकाली दुई, चार महिना मोज
गर्ने अनि कुटपिट गरी छोडिदिने नेपाली दाजुभाइ पनि यहाँ भेटिन्छन्।
विचरा! त्यसपछि ती चेलीहरूसँग न साथमा पासपोर्ट हुन्छ न सिभिल आइडी।
बाध्य भएर उनीहरूले वेश्यावृत्तिमा लाग्नुपर्छ।
सुन्दैछु, भर्खरै एक युवती कोठीबाट भागेर कुवेती प्रहरीको
सहयोगमा नेपाल फर्केकी छन्। यो सत्य हो भने कुवेतमा केटी बेच्ने दलालहरूको
उनले भण्डाफोर गर्नुपर्छ।
बालकृष्ण घिमिरे, टुकुचा ७, काभ्रे
हालः कुवेत
|