हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | बजार

ब्राण्डको भरोसा

जीवनशैलीमा आएको क्रमिक परिवर्तन र गुणस्तरप्रतिको बढ्दो चासोका कारण विभिन्न ब्राण्डमा उत्पादित खाद्य पदार्थ र तिनका छरिता प्याकेटहरू उपभोक्ताका निम्ति भरपर्दा र उपयोगी सावित भएका छन्।

विवेकराज मौर्य

तस्बिरहरूः अनुपप्रकाश
जेपी तिम्सिना र उषा खड्गी किनमेलमा।

सञ्चारमाध्यममा देखाइने विज्ञापनको असर उपभोक्ताले खरीद गर्ने सरसामानमा प्रस्ट देखिन थालेको छ। पाँच–सात वर्षअघिसम्म प्रायः खुल्ला अवस्थामा किनमेल हुने चामल, दाल, मैदा, पीठो, तेलजस्ता खाद्य पदार्थहरू अहिले विभिन्न ब्राण्डमा उपभोक्ताको रुचि, हैसियत र आवश्यकताअनुसार उपलब्ध हुन थालेका छन्। अहिले ठूला व्यापारिक घरानाहरूका लागि 'ब्राण्डेड' खाद्यान्न ग्राहकसमक्ष पुर्‍याउने सुलभ माध्यम बन्न पुगेको छ, 'प्याकिङ'।

छनोटमा हुने झ्ण्झ्ट, खरीद गरिसकेपछि निफन्ने/केलाउने बाध्यता र स्वादका पारखीहरूले सधैँभरि एकै किसिमको खाद्यान्न नपाउने अवस्था टुङ्गियोस् भन्दै डिपार्टमेन्टल स्टोरहरूले आफ्ना ग्राहकलाई १ किलो, २ किलोको परिमाणमा 'प्याकिङ' सुविधा दिने क्रम शुरु गरेका थिए। तर, अहिले शहरिया जीवनशैलीमा आएको क्रमिक परिवर्तन र व्यस्तताका कारण 'प्याकेज्ड' खाद्यान्न सबै वर्गका ग्राहकको रुचि, रोजाइभित्र परिसकेका छन्। सँगसँगै ब्राण्डेड खाद्यान्नको व्यापार समेत बढ्न थालेको छ। खाद्यान्न व्यापारमा अग्रणी मानिने गोल्छा समूहका कार्यकारी निर्देशक सुरेन्द्र गोल्छा किनमेल–प्रवृत्तिमा आएको यो परिवर्तनबारे भन्छन्, “एकदशक यता शहरिया उपभोक्ताहरूमा गुणस्तरबारेको चासो क्रमिक रूपले बढ्दै गएको छ।”

फलतः शहरबजारमा पहिलेजस्तो खुल्ला खाद्यान्न किनेर ठूलो बोरा वा झ्ोलामा घर लैजाने चलन घटेको छ। ठूलो परिमाणमा खाद्यान्न खरीद गर्दा घरसम्म लाने झ्ञ्झ्ट र भण्डार गर्न फराकिलो ठाउँ चाहिने बाध्यताका कारण समेत उपभोक्ताहरू 'फेन्सी प्याक'मा उपलब्ध हुने 'फास्ट मूभिङ कन्ज्यूमर गुड्स' (एफएमसीजी) तर्फ आकर्षित हुन थालेका हुन्। ३०, २०, १५, ५, २ र १ केजीको प्याकिङमा उपलब्ध खाद्यान्न शहरबजारमा लोकप्रिय हुनुको एउटा प्रमुख कारण यो पनि हो।

पसलेहरूका लागि पनि वरदान सावित भएको छ 'प्याकेज्ड' सामानको किनबेच। तौलने, पोको पार्ने झ्ञ्झ्टबाट उनीहरूलाई राहत मिलेको छ। ब्राण्डेड खाद्यान्नको प्याकेटमा उत्पादन मिति र कतिपयमा त मूल्य समेत छापिने हुनाले उपभोक्तासँग मोलमोलाइ र गुणस्तरबारे बहस गर्नुपर्ने झ्ण्झ्टबाट उनीहरू मुक्त छन्। ललितपुर, जावलाखेलस्थित सेलवेज डिपार्टमेन्टल स्टोरका प्रबन्धक वनुदत्त पौडेल भन्छन्, “उपभोक्ताले प्याकेटमा लेखिएअनुरुपको गुणस्तर पाएनन् भने हामीमार्फत् उत्पादकसम्मै आफ्नो गुनासो राख्न पाउँछन्।” खुल्ला रूपमा किनिने खाद्यान्नमा चाहिँ यसरी 'कम्प्लेन' गर्न नमिल्ने, गरेकै खण्डमा पनि त्यो गुनासो उत्पादकसम्म नपुग्ने बताउँदै उनी थप्छन्, “ब्राण्डेड उत्पादनले उपभोक्ताहरूलाई गुणस्तरको प्रत्याभूति पनि दिएको छ।”

विगतमा चामललाई मोटा, मसिनो र स्पेशल भनेर मात्र चिन्ने समाजमा ठूलै परिवर्तन आएको अनुभव रकेट ब्राण्डका उत्पादक टीआर दुगड समूहका अध्यक्ष तोलाराम दुगडको छ। उपभोक्ताले आफ्नो रुचि र हैसियतअनुसार चामल, दाल, मैदा, पीठो, तेल, घ्यू आदिका थुप्रै ब्राण्ड र विकल्पबाट छनोट गर्न पाउँछन्। यस्तै विकल्पका रूपमा उपलव्ध छन् करीब १५ ब्राण्डमा वासमती, मनसुली, परमल, जिरा मसिनो, पोखरेली जातमा चामलहरू। यसबाहेक, भारतबाट आउने 'लङ ग्रेन' चामलसमेत शहरबजारमा रुचाइन थालेको छ। भारतका हरियाणा र पञ्जावबाट आयात हुने भारतीय ब्राण्डका चामलहरू उच्च वर्गका उपभोक्ताहरूबीच लोकप्रिय छन्। व्यापारीहरूको अनुमानमा देशभरि स्वदेशी चामलको ७५ प्रतिशत बजार रहेको छ, बाँकी हिस्सा भारतीय चामलले ओगटेको छ। बिक्री वितरणको केन्द्रीकृत तथ्याङ्क नभएका कारण एफएमसीजी सामग्री र ब्राण्डको बजार कति ठूलो छ, अनुमान गर्न गाह्रो छ।

मैदा, पीठोको हकमा सालाखाला ८० प्रतिशत स्वदेशी गहुँबाट उत्पादन/आपूर्ति हुन्छ भने २० प्रतिशत गहुँ भारतबाट आयात गरिन्छ। कृषि मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लिखित तथ्याङ्क आधा मात्र सही हुने बताउँदै त्रिशूल ट्रेड लिंक्सका निर्देशक अजय सरावगी भन्छन्, “सरकारी तथ्याङ्क सही हुने हो भने यहाँका मैदा, पीठो उद्योगहरूले क्षमताको ३० प्रतिशत मात्रै चल्नुपर्ने थिएन।” तथ्याङ्क सुलभ र विश्वसनीय हुँदा व्यापारीहरूलाई लगानी गर्न दरिलो आधार मिल्ने र सरकार आफैँलाई पनि आयात/निर्यातको निरीक्षण गर्न सजिलो हुने उनको विश्वास छ। हरेक वर्ष एफसीजीको बजार बढ्दै गरेको तथ्यलाई भने सबैले स्वीकारेका छन्। तर यसको गति र मात्रा ठम्याउन कसैले सकिरहेका छैनन्।

शहनाई ब्राण्डको चामल र पीठो उत्पादक गोयन्का ग्रुपका निर्देशक अजय गोयन्का भन्छन्, “स्वदेशी खाद्यान्नको बजार प्रवर्द्धन गर्ने हो भने किसानहरूको क्षमता–वृद्धि गर्नु जरुरी छ।” भारतमा सरकारले किसानहरूलाई सिंचाई, मल र उन्नत जातको बीउमा विशेष अनुदान दिने गरेको प्रसङ्ग कोट्याउँदै उनी थप्छन्, “नेपाली किसानहरूको लगानी नै महँगो भएपछि उत्पादन महँगो त हुने नै भयो।” जसका कारण, शहरबजारमा ब्राण्डेड खाद्यान्नले बजार पाएपनि यसका प्राथमिक उत्पादक (किसान) हरूले अपेक्षित लाभ पाउन सकेका छैनन्।

बरु भारत तथा तेस्रो मुलुकबाट भित्रिने सस्तो खाद्यान्नसँगको प्रतिस्पर्धाका कारण लागतभन्दा सस्तो मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न बाध्य छन्।

ब्राण्ड र खुल्ला रूपमा बिक्री हुने चामलको अनुपात ५०–५० प्रतिशत हुने गरेपनि स–साना प्याकेटमा बिक्री हुने चामलको बजार १० देखि १५ प्रतिशत मात्र भएको व्यापारीहरूको अनुमान छ। उनीहरू यसलाई बढाउने प्रयासमा छन्। शुरुमा 'प्रिमियम' चामल मात्र बिक्रीवितरण गर्दै आएका उद्योगहरूले हाल मध्यमवर्गीय परिवारलाई समेत लक्ष्य गर्दै विभिन्न प्रकारका मन्सुली चामलको उत्पादन बढाउँदै लगेका छन्। यही क्रममा मख्खन, शहनाई, रकेट, आरती, सूर्य, हुलास ब्राण्डका चामलहरूले उपभोक्तासमक्ष आफ्नो पकड जमाइसकेका छन्।

मैदा र पीठोतर्फ ज्ञान, शहनाई, रकेट आदिको वर्चस्व देखिएको छ। प्रशोधनका आधारमा बजारमा चक्की र मिल गरी दुईथरीका पीठो प्याकेटमा पाइन्छन्। गहुँलाई पिसेर सुजी र मैदा बनाएपछि बाँकी रहने सेतो र नरम 'मिल पीठो' उपभोक्तामाझ् निकै प्रिय बनेको छ आजभोलि। यद्यपि, चक्की पीठोमा रेसा र प्रोटिन हुने भएकोले बढी स्वस्थकर मानिन्छ। गोयन्का ग्रुपका अजय गोयन्का भन्छन्, “घरायसी प्रयोजनमा बाहेक देशमा स्थापित दर्जनौँ चाउचाउ तथा बिस्कुट कारखानाले उल्लेख्य मात्रामा मैदाको खपत गर्न थालेका छन्।”

तेलको संभावना
खानेतेल गाउँगाउँमा समेत पाउचमा पुग्न थालेको छ। करीब ९० प्रतिशत बजार प्याकेट तेलकै रहेको व्यापारीहरूको आकलन छ। २०० मिलिलिटरको पाउचदेखि ५ लिटरसम्मको जर्किनमा पाइने तेल ओसारप्रसार गर्न सहज भएकै कारणले सूर्यमुखी (सनफ्लावर), भटमास, तोरी र 'पाम' का छरिता प्याकेटको प्रचलन बढेकोे उनीहरू बताउँछन्। शहरबजारमा सनफ्लावर बढी चलेको भएपनि बिक्रीका हिसाबले भटमासको तेलको बजार ठूलो छ। नेपालको संस्कृति र परम्परासँग गाँसिएको तोरीको तेलको माग सदावहार रहेको अनुभव शिवशक्ति समूहका निर्देशक सन्दीप अग्रवालको छ। तर, आन्तरिक रूपमा तोरीको उत्पादन कम हुन थालेपछि यहाँको तोरीतेलको बजार आयातीत तोरीमा निर्भर हुन थालेको छ। युक्रेन, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, मलेसिया र भारतबाट तोरी आयात नगर्ने हो भने यहाँको उत्पादन संकटमा पर्ने व्यापारीहरू बताउँछन्।

नेपालमा पाइने तेल तीन किसिमले बजारमा पुग्ने गरेका छन्– विदेशबाट झ्िकाइएको कच्चा पदार्थलाई मुलुकभित्रै प्रशोधन गरेर, पूर्व प्रशोधित तेल आयात गरी प्याकिङ गरेर तथा सम्पूर्ण रूपले विदेशी ब्राण्ड भि156याएर। मेजान, सनवीम, ओकाई जस्ता आयातीत ब्राण्डहरूले आफ्नो अन्तर्राष्ट्रिय छविलाई उपयोग गर्दै नेपालभरि नै आफ्नो सञ्जाल स्थापित गरेका छन् भने स्वदेशमै प्रशोधित फ्यामिली, सुपरम्यान, धारा ब्राण्डहरूको बजार पनि सुदृढ हुँदै गएको व्यापारीहरूको अनुभव छ। सन्दीप अग्रवाल थप्छन्, “गुणस्तरका दृष्टिले दुवै प्रकारका तेल उस्ताउस्तै छन् तर पनि नेपालमै प्रशोधित तेल ३० प्रतिशतसम्म सस्तो हुन्छ।” तथापि, स्थापित छविका कारण अन्तर्राष्ट्रिय ब्राण्डलाई बजारमा प्रवर्द्धन गर्न सजिलो हुने बताउँदै अजय सरावगी भन्छन्, “यस्ता ब्राण्ड महँगा भएपनि मूल्य र गुणस्तर स्थिर हुने भएकाले ग्राहकहरूको विश्वास बढी छ।”

धारा तोरीको तेल उत्पादनका क्रममा।

र, समस्याका कुरा
एकै प्रकारको तेलमा हुने मूल्य भिन्नताले ग्राहकहरूमा अन्योल सिर्जना गरेको छ। 'शुद्ध तोरीको तेल' नै लेखिए पनि ब्राण्ड अनुसार प्रति लिटर रु.६० देखि ९० सम्म पर्ने तेलहरू बजारमा उपलब्ध छन्। व्यापारीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण यस्तो भएको बताइन्छ। सामान्यतया एकै प्रकारको सरसामानको मूल्यमा यति धेरै फरक किन त? जानकारहरू उत्पादनको शुद्धतामा सम्झ्ौता र अन्य सस्तो तेलको मिसावटलाई यसका कारणका रूपमा औंल्याउँछन्। खाद्यान्नको अनुगमन गर्ने जिम्मेवारी बोकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उप–महानिर्देशक जीवनप्रभा लामा भन्छिन्, “हामीकहाँ यो विषयमा गुनासाहरू आउने गरेका छन्। तेलको सन्दर्भमा नेपालमा राष्ट्रिय मापदण्ड नभएको हुनाले हामी विश्वव्यापार संघ (डब्ल्यूटीओ) ले सिफारिस गरेको कोडेक्स मापदण्ड अनुरुप परीक्षण गर्छौँ।” त्यस्तो परीक्षणमा 'प्यारामिटर' हरूको रेञ्ज ठूलो हुने भएकाले मिसावट पत्ता लगाउन गाह्रो हुने गरेको उनी स्वीकार्छिन्।

स्रोत र साधनको कमी देखाउँदै सम्बन्धित निकाय पन्छिन खोजेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चसम्बद्ध अधिवक्ता ज्योति बानियाँ भन्छन्, “भएको जनशक्ति उद्योगपतिहरूबाट प्रभावित छन्। उनीहरूले नै उद्योगको सहजकर्ताको भूमिका खेल्छन्।” आपूर्ति, मूल्य र गुणस्तर नियन्त्रणप्रति राज्यको यथेष्ट इच्छाशक्ति नभएको उनको ठहर छ। व्यापारीहरूको मिलेमतोमा कार्टेलिङ हुने र उपभोक्ता चेतनाको अभावमा यस प्रकारको समस्या आउने गरेको छ।

आफ्नै ब्राण्डको खाद्यान्न प्याकिङ्ग गर्नुपूर्व केलाउँदै एक महिला ।

राज्य–संयन्त्रले नै मूल्यवृद्धिका निम्ति बाध्यात्मक स्थिति बनाइदिएको व्यापारीहरूको गुनासो छ। नाम उल्लेख नगर्ने शर्तमा एक व्यापारीले भने, “नेपालगञ्जबाट विराटनगरसम्म कच्चा पदार्थ ढुवानी गर्दा, जिल्ला विकास र माओवादीले उठाउने कर मात्रै प्रति ट्रक रु. ८ हजारसम्म तिरेका छौँ। ट्रक व्यवसायीहरूले पनि ढुवानीबापत मनपरी भाडा लिन्छन्। अनि मूल्यको मार उपभोक्तालाई नै पर्दछ।”
अर्कोतिर, २०५८ सालदेखि सरकारले मैदा र तेलमा भ्याट लगाउन थालेपछि उद्योगमा प्रत्यक्ष असर परेको व्याप।ारीहरूको अनुभव छ।

त्यसअघि वार्षिक ५० हजार टन मैदा निर्यात हुने गर्थ्यो। केएल दुगड समूहका कुमुद दुगड भन्छन्, “भारतमा सहुलियतका कारण सस्तोमा खाद्यान्न उत्पादन हुन्छ र त्यसमा कुनै कर लगाइँदैन तर हामीकहाँ मैदा र तेलमा १३ प्रतिशत भ्याट कायम गरेपछि यो प्रतिस्पर्धी हुन सक्दैन।” नेपाल साफ्टा र विश्व व्यापार संघमा प्रवेश गरेको परिस्थितिमा यस्तो कर राख्न नमिल्ने व्यवसायीहरूको तर्क छ।

गहुँको कमीले कतिपय मैदा पीठो उत्पादकहरूको उत्पादन क्षमतामा ह्रास आएको छ, केही मिल बन्द समेत भएका छन्। सीमावर्ती भारतीय बजारहरूमा मैदा मिल खुल्न थालेपछि नेपाली मिलहरूमा समेत त्यसको असर परेको छ। “अहिलेको स्थितिमा भारतबाट तीन दिन खाद्यान्न आएन भने यहाँका शहरमा खाद्यान्नको हाहाकार हुनसक्छ। यो चिन्ताको विषय हो”, गोयन्का भन्छन्।

उचित तथ्याङ्कको कमी, सरकारी उदासीनता र सरकार, व्यवसायी तथा उपभोक्ताबीच अपेक्षित समन्वयको अभावका बाबजुद यो व्यवसायको भविष्य उज्ज्वल रहेको संलग्न व्यापारीहरूको विश्वास छ। एसटीसी ब्राण्डको चामल र दालबाट यो व्यवसायमा प्रवेश गरेको साल्ट ट्रेडिङ कर्पोरेशनका महानिर्देशक परमेश्वर महासेठ भन्छन्, “भारतीय कम्पनी आइटीसी लिमिटेडको सोच जस्तै नेपालमा पनि किसानहरूलाई साझ्ेदार बनाउँदै पचहत्तरै जिल्लामा वितरण सञ्जाल फैलाउनेतर्फ प्रयास भइरहेको छ।” भविष्यप्रति यसरी नै आश्वस्त देखिने फर्च्यून, पोष्ट म्यान र सुपरम्यान ब्राण्डका मैदापीठो तथा घ्यू तेलका उत्पादक तथा ओकाई तेलको निर्यातकर्ता शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदा पनि आफ्नो कम्पनीले चाँडै ब्राण्डेड चामल बजारमा ल्याउन लागेको बताउँछन्। व्यवसायीहरूको यस्तै उत्साहले देखाउँछ– खाद्यान्न व्यवसायका समस्याहरूलाई संभावनाहरूले जितेका छन्।