हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | बजार

'ब्याङ्किङ कारोबारको भविष्य कार्डमै छ'

करीब अढाई वर्षदेखि विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई एउटै 'नेटवर्क'मा ल्याएर तिनका ग्राहकहरूलाई कार्ड सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)ले यही महिना (नोभेम्बर)देखि भारतमा समेत आफ्नो सेवा विस्तार गर्न लागेको छ। हिमाल ले एससीटीका प्रबन्ध निर्देशक रवीन्द्रबहादुर मल्लसँग गरेको कुराकानी।

नेपालमा के कस्ता ब्याङ्किङ कार्डहरू प्रचलनमा छन्?
केही ब्याङ्कले अन्तर्राष्ट्रियस्तरका 'भीसा' र 'मास्टरकार्ड' तथा नेपाल र भारतमा चल्ने 'भीसा इलेक्ट्रोन' क्रेडिट तथा डेबिट कार्ड जारी गरेका छन्। हाम्रो 'एससीटी कार्ड' चाहिँ स्थानीय ब्राण्डको डेबिट कार्ड हो। क्रेडिट कार्डतर्फको लगानी उठाउन गाह्रो भएपछि अहिले धेरै ब्याङ्कहरूले डेबिट कार्डलाई प्राथमिकता दिएका छन्।

कार्डहरूको बजार कत्रो छ?
हामी आउनुअघिसम्म यहाँ करीब २२ हजार भीसा र मास्टरकार्ड थिए। अहिले हाम्रो मात्रै झ्ण्डै डेढ लाख पुगिसकेको छ। हाम्रो नेटवर्कमा रहेका १७ ब्याङ्क र वित्तीय संस्थाहरूको सेवा काठमाडौँ, विराटनगर, पोखरा, भैरहवा, चितवन, जोमसोम, धरान, बनेपा, बुटवललगायतका स्थानमा रहेका ५७ एटिएम मेशिनमा उपलब्ध छ, १५ वटा थप्दैछौँ।

एससीटी नेटवर्कमा आएपछि ब्याङ्कहरूलाई के फाइदा हुन्छ?
ब्याङ्क आफैँले सञ्चालन गर्दा कम्तीमा रु.२ करोड लगानी गर्नुपर्छ, हाम्रो नेटवर्कमा आवद्ध हुँदा रु.१५ लाख जति मात्रै। प्रविधि र जनशक्तितर्फ उनीहरूले केही गर्नुपर्दैन, कार्ड बनाउनेदेखि ब्याङ्कहरूको लेखा प्रणालीलाई समन्वय गर्नेसम्म हामी नै गर्छौँ। ब्याङ्कले कार्ड वितरण मात्र गर्छ।

तपाईंहरूको सेवा महँगो होला नि?
छैन, हामी प्रति कारोबार रु.२५ लिन्छौँ। त्यो पनि हामी मात्रै लिँदैनौँ। सेटलमेन्ट गर्ने ब्याङ्क र एटिएममा पैसा हाल्ने ब्याङ्कले पनि त्यसैबाट लिन्छन्। हामी रु.२५ बाहेक थप केही लिँदैनौँ, तर तपाईंसँग कुनै एउटा ब्याङ्कको कार्ड छ र हाम्रो नेटवर्कबाट पैसा निकाल्नुहुन्छ भने आफ्नै ब्याङ्कलाई झ्ण्डै रु.१२५–१५० अतिरिक्त शुल्क तिर्नुपर्छ।

ब्याङ्किङ प्रणालीमा कार्डले के परिवर्तन ल्यायो?
हाम्रो नेटवर्कबाट मात्रै दैनिक रु.८० लाखको कारोबार हुन्छ। ब्याङ्किङ कारोबारको भविष्य कार्डमै छ। नगदबाट चलेको समाजमा प्लाष्टिकले पनि पैसाको काम गर्छ भन्ने विश्वास दिलाउन सकिएको छ। समयको मह140व र उपयोग बढेको छ। पैसा लिएर हिँडडुल गर्दा र घरमा राख्दा हुने असुरक्षा हटेको छ। ब्याङ्कमा लाइन बस्नुपर्ने, चेकमा सही मिलेन भनेर फर्किनुपर्ने बाध्यता हटेको छ।

मेसिन डाउन हुने, पैसा नहुने समस्या पनि त छन्!
कार्ड सेवा दिने अधिकांश ब्याङ्क नयाँ भएकाले यो प्रणाली सहज हुन समय लाग्छ। हाम्रो कार्ड सेवामा १७ वटा ब्याङ्कका फरक–फरक प्रणालीबीच समन्वय हुने हुनाले अप्ठेरो पर्न सक्छ। तर हामीले कडा अनुगमन गर्ने गरेका छौँ र यो समस्या विस्तारै समाधान भएर जानेछ।

ठगिने संभावना कत्तिको छ नि?
छैन, कसैले कार्ड हरायो नै भने पनि विना पिन नम्बर कसैले प्रयोग गर्न सक्दैन।

नयाँ के गर्दै हुनुहुन्छ?
यही महिना भित्र भारतमा सेवा विस्तार गर्ने वाहेक चाँडै हामी एससीटी कार्डबाटै बत्ती, पानी, टेलिफोन, केवल आदिको बिल तिर्न तथा खातामा रकम स्थानान्तरण गर्न सकिने प्रणाली राख्दैछौँ।

फाइदा कत्तिको छ?
यो दीर्घकालीन प्रकृतिको व्यापार हो, जलविद्युत् जस्तै। यो सेवा जति धेरै चल्छ त्यति नै फाइदा हुन्छ। हामीले साढे दुई वर्षमा सिष्टम र मेशिनमा गरेर करीब रु.१० करोड लगानी गरेका छौँ। सामान्यतः पाँच वर्षपछि नाफा कमाउन सकिने अनुमान छ।

लक्ष्मी ब्याङ्क को सातौं शाखा
सातांै शाखामार्फत् लक्ष्मी ब्याङ्कले नारायणघाटमा आफ्नो ब्यांकिङ कारोबार विस्तार गरेको छ। यो शाखामार्फत् त्यस क्षेत्रका वासिन्दाहरूले पनि अत्याधुनिक सूचना प्रविधिसहितको ब्याङ्किङ सेवा प्राप्त गर्न सक्ने ब्याङ्कले जनाएको छ। निक्षेप सङ्कलन र साना तथा मझ्ौला लगानीसँगै यो शाखा रेमिट्यान्स भियाउने प्रमुख थलो बन्ने विश्वास ब्याङ्कको छ।

माछापुच्छ्रे को बोनस
माछापुच्छ्रे ब्याङ्कले आफ्ना शेयरधनीहरूलाई गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर दिने भएको छ। ब्याङ्कले आ.व.०६२/६३ मा अघिल्लो वर्षको तुलनामा ५८ प्रतिशत बढी अर्थात् रु.१३.४० करोड खुद नाफा कमाएको थियो। ११ वटा शाखाबाट ब्याङ्किङ सेवा प्रदान गर्दै आएको माछापुच्छ्रेले छिट्टै नै ललितपुरको ग्वार्कोमा नयाँ शाखा सञ्चालन गर्ने जनाएको छ।

बिओकेको 'बौद्धिक शृङ्खला'
ब्याङ्क अफ काठमाडाँैले विभिन्न पेशा, व्यवसायका व्यवस्थापकहरूका लागि 'नलेज सिरिज' (बौद्धिक शृङ्खला) शुरु गरेको छ। जे एण्ड टी एशोसियट्सको व्यवस्थापनमा शुरु भएको यो शृङ्खलाअन्तर्गत 'सक्सेसफुल इनोभेसन फर प्रोफिट ग्रोथ' विषयक गोष्ठी सम्पन्न भएको छ।

बजार र जनशक्ति विकास व्यवस्थापनमा संलग्नहरूका लागि उपयोगी मानिएको यस शृङ्खलामार्फत् व्यावसायिक संघ–संस्था एवं कम्पनीले नयाँ पद्धति अपनाउँदा आइपर्ने चुनौतीको सामना, सृजनशीलता तथा प्रतिस्पर्धी क्षमता विकास गर्न सकिने विश्वास ब्याङ्कको छ।

कार्यक्रम आयोजनाबाट सञ्चित करीब २.५ लाख रुपैयाँमा शतप्रतिशत थप गरेर ब्याङ्कले काभ्रेको बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रलाई हस्तान्तरण गरेको छ। प्रमुख कार्यकारी राधेश पन्तका अनुसार कार्यक्रमबाट उठेको रकम सामाजिक क्षेत्रमा खर्च गरिने छ।

चिया क्षेत्र पुनः आन्दोलित
गत साउन–भदौको आन्दोलनताका भएको सम्झ्ौता व्यवस्थापन पक्षले कार्यान्वयन नगरेको बताउँदै चिया मजदुरहरू २५ कात्तिकदेखि पुनः आन्दोलित भएका छन्। मजदुरहरूले ११ भदौमा सरकार, उत्पादक र श्रमिकहरूबीचको त्रिपक्षीय सम्झ्ौता कार्यान्वयन गर्नुपर्ने, १० असोजदेखि बन्द कन्याम बगान खोल्नुपर्ने र नेपाल चिया विकास निगम निजीकरण गर्दा भएको सम्झ्ौता सार्वजनिक गर्नुपर्ने लगायतका मागहरू राखेका छन्। मजदुर नेता दीपक तामाङ भन्छन्, “व्यवस्थापनले पछिल्लो सम्झ्ौता कार्यान्वयन नगरेपछि आन्दोलनको विकल्प रहेन।”

११ भदौको सम्झ्ौतामा चिया मजदुरको दैनिक ज्याला रु.९५ कायम गर्ने, दशैँ खर्च र बोनसबापत २६ दिनको पारिश्रमिक दिने, महिला कर्मचारीहरूलाई ५२ दिनको प्रसूति विदा दिने, अन्यायपूर्वक निकालिएका कामदार पुनःवहाली गर्ने लगायतका सहमति भएको थियो। रु.९५ को न्यूनतम पारिश्रमिक रहने भन्ने कुरा २७ भदौको राजपत्रमा प्रकाशित भइसकेको छ। निगम व्यवस्थापनले भने सो सम्झ्ौतामा आफ्नो सहमति नरहेको बताएको छ। सञ्चालक सुभाषचन्द्र संघाईले मजदुरहरूका मागहरू जायज भएपनि निगम निजीकरणताका सरकारसँग भएका सहमतिहरू कार्यान्वयन नभएपछि समस्या आएको बताएका छन्।

सरकारले संघाई समूहलाई निगम जिम्मा दिँदा हस्तान्तरण गर्ने भनिएको ३२५० विघा जग्गामध्ये १२५० विघा उपलब्ध गराउन बाँकी नै छ। जसले गर्दा बगान विस्तार हुन नसकी अहिलेसम्म आफूलाई रु.१६ करोड भन्दा बढी घाटा भएको दाबी व्यवस्थापन पक्षको छ। व्यवस्थापनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पछिल्लो त्रिपक्षीय सम्झ्ौता व्यहोर्नुपर्ने हो भने बगान नै सदाका लागि बन्द गर्नुपर्ने हुन्छ।”

डेढसय वर्षको इतिहास बोकेको नेपालको चिया क्षेत्र यतिबेला अन्योलग्रस्त भएको छ। ११ भदौअघिको मजदुर आन्दोलनले मुलुकका सम्पूर्ण चिया बगानहरू तीन सातासम्म ठप्प रहे भने गत वर्ष माओवादी धम्कीका कारण पूरै एक महिना यो क्षेत्र बन्द भएको थियो।

गोपाल काफ्ले, झ्ापा

स्यारेड को च्यालेन्ज
पेट्रोलबाट चल्ने गाडीहरूमध्ये सबैभन्दा इन्धन किफायती कार भएको दाबी गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीले जापानी कम्पनी डाइहात्सुको स्यारेड बजारमा ल्याएको छ। यो कार शहरी क्षेत्रमा प्रति लिटर १५ किलोमिटर गुड्ने दाबी कम्पनीको छ। टेष्ट कन्डिसनमा प्रतिलिटर २२ किमिसम्म गुडेको बताइएको यो कारमा 'डीभीभीटी' इन्जिन जडान गरिएको छ। गाडीको रफ्तार अनुरुप इञ्जिनमा इन्धन प्रभाव नियन्त्रण हुने भएकाले इन्धन किफायती मानिनेे स्यारेडकोे बजार मूल्य रु.१५.४० लाख तोकिएको छ।

एक चिठ्ठा दुई उपहार
चौधरी समूहले आफ्नो उत्पादन वाईवाई क्विक को बिक्री प्रवर्द्धनमा नयाँ उपहार योजना 'स्क्र्याच एण्ड स्माइल' प्रस्तुत गरेको छ। तीन स्वादमा उपलब्ध वाइवाई क्विकको स्क्र्याच एण्ड स्माइलका हरेक विजयीलाई दुई वटा पुरस्कार दिइने यस योजनामा सिनेमा, डिनर, बन्जी जम्प, राफ्िटङ र माउण्टेन फ्लाइटका दुई–दुई वटा कुपन जित्न सकिने जनाइएको छ।

डाबरका दुई नयाँ उत्पादन
सौन्दर्य प्रशाधनको उत्पादक डाबर नेपालले नयाँ नुहाउने साबुन र स्याम्पु बजारमा ल्याएको छ। केशर तथा चन्दनसहितको वाटिका स्याफ्रन ग्लो विथ स्याण्डल साबुनको प्रयोगले छालाको चम्किलोपन जोगाउने तथा चाउरी पर्न नदिने कम्पनीको दाबी छ। चन्दनको सुगन्धसहितको १०० ग्रामको प्याकमा उपलब्ध यो साबुनको उपभोक्ता मूल्य रु.१७ रहेको छ। यस्तै बदाम र नरिवलको दूधको मिश्रणबाट बनेको वाटिका रुट स्ट्रेन्थनिङ् स्याम्पु विथ डिप कण्डिसनिङ ले कपाललाई नरम बनाउनुका साथै र्झ्नबाट रोक्ने कम्पनीको दाबी छ। १०० र २०० मिलिको बोतलमा उपलब्ध स्याम्पुको उपभोक्ता मूल्य क्रमशः रु.६० र रु.११५ तोकिएको छ।

अब रु.१० मा मामा चिकेन
रमपम र टुपीएम चाउचाउका उत्पादक एशियन थाई फुड्सले २० ग्रामको मामा चिकेन क्र्याकर रु. १० मा प्रस्तुत गर्ने भएको छ। आफ्नो नयाँ बिक्री अभियान अनुरुप सो कम्पनीले मूल्य घटाएर आफ्नो उत्पादन बजारमा ल्याएको बताएको छ। यसअघि सो उत्पादन रु.१२ मा बिक्री हुँदै आएको थियो।

निरन्तर बिजुली
अकस्मात् बिजुली जाँदा कम्प्युटरमा डाटा सुरक्षित नहुनु, हेर्दै गरेको टेलिभिजन कार्यक्रम हेर्न नपाउनु, घर तथा कार्यालयमा बत्ती पंखा नचल्नु जस्ता झ्ण्झ्ट खेपिरहेका नेपाली उपभोक्तालाई लक्षित गर्दै काठमाडौँस्थित शुक्ला ट्रेड इण्टरनेशनलले एड्भान्स पावर डिभाइस अन्तर्गतका विभिन्न इर्न्भटर तथा यूपीयस बजारमा ल्याएको छ। बिजुली गए पनि ब्याट्री ब्याकअप क्षमता अनुसार १५ मिनेटदेखि ६ घण्टासम्म निरन्तर बिजुली प्रदान गर्ने यी उपकरणहरू विभिन्न मोडलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

मायोजको मुठ्ठीमा हात्ती
हिमालय स्न्याक्स प्रा.लि.ले आफ्नो उत्पादन मायोज चाउचाउको बजार प्रवर्द्धन गर्ने क्रममा 'मायोज मुठ्ठीमा हात्ती' नामक उपहार योजना शुरु गरेको छ। योजना अन्तर्गत मायोजको प्याकेटभित्र राखिएका सुनको हात्ती अङ्कित तीन वटा कुपन सङ्कलन गरेर प्रत्येक शनिबार कान्तिपुर टेलिभिजनको प्रत्यक्ष प्रसारणमा खोलिने 'लक्की ड्र'को विजेतालाई तीन तोलाको सुनको हात्ती प्रदान गरिनेछ।