टिप्पणी स्वास्थ्यसेवा
महङ्गो बनाउने काम
अस्पतालमा बिरामी मरेमा वा उपचारमा तलमाथि भएमा
तोडफोड गर्ने, स्वास्थ्यकर्मीहरूलाई पिट्ने र सकेसम्म ठूलो रकम क्षतिपूर्ति
माग गरेर मुद्दा हाल्ने कामले अन्ततः उपभोक्तालाई नै मारमा पार्नेछ।
• डा. सुशील कोइराला
केही
महिनायता स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी विरुद्ध शृङ्खलाबद्ध आक्रमण
तथा लाखौँ रुपैयाँको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरिएका घटनाले
चिकित्सकहरूलाई जोखिमपूर्ण उपचार गर्न हतोत्साही तुल्याएका छन्। नेपाल
मेडिकल काउन्सिलले कुनै लापरबाही नभएको राय दिएका विषयमा समेत चिकित्सकले
क्षतिपूर्ति दिनुपर्ने अदालतको निर्णयले पनि चिकित्सक समुदायलाई त्रसित
तुल्याएको छ। यस्तो मनस्थितिमा रहने चिकित्सकले कहिल्यै सही उपचार
गर्न सक्दैनन्। कतिपय निजी अस्पताल, मेडिकल कलेज र क्लिनिकले जटिल
उपचार गर्नै छाडेका छन्। इमर्जेन्सीमा ल्याइएका त्यस्ता बिरामीका आफन्तले
त्यहाँबाट …खै यहाँ यो उपचार हुँदैन, वीर अस्पताल वा टिचिङतिर लैजानुस्'
भन्ने सल्लाह पाउन थालिसकेका छन्।
अस्पतालमा बिरामी मरेमा वा तिनको उपचारमा तलमाथि भएमा
तोडफोड गर्ने, स्वास्थ्यकर्मीहरूलाई पिट्ने र सकेसम्म ठूलो रकम क्षतिपूर्ति
माग गरी मुद्दा हाल्ने कामको मार अन्ततः उपभोक्ता माथि नै पर्नेछ।
चिकित्सक र स्वास्थ्य संस्थाविरुद्ध अनावश्यक, तथ्यहीन र अव्यावहारिक
मुद्दामामिला बढ्दै गएमा कानून व्यवसायीहरूबीच पनि पश्चिमा मुलुकहरूमा
जस्तो निःशुल्क मुद्दा हालिदिने र मुद्दा जितेपछि क्षतिपूर्तिको रकम
बाँडेर लिने प्रवृत्ति भित्रिन सक्छ। यस्ता कानूनी मेला, आक्रमण, तोडफोड,
आदिबाट बच्न चिकित्सकले बिरामीसँग अनावश्यक परीक्षण र अन्य चिकित्सकहरूको
परामर्शको माग गर्न तथा आˆनो व्यवसायको बीमा गराउन थाल्दछन्। यी कुराले
अहिले पनि महङ्गै रहेको नेपालको उपचार शुल्क अ बढेर आम जनताको पहुँच
बाहिर हुन जान्छ। हाम्रो देशमा सबै नागरिकले स्वास्थ्य बीमा गराउन
नसक्ने हुनाले उपचार खर्च धान्न गाह्रो हुनसक्छ।
नेपालको स्वास्थ्य सेवालाई महङ्गो र धान्नै नसकिने
बनाउने केही प्रमुख कारकहरू र तिनको समाधान यस्ता छन्ः
महँगो चिकित्सा शिक्षाः
निजी खर्चमा ठूलो शुल्क तिरेर आधुनिक चिकित्सा शिक्षा
लिनेहरूबाट प्रदान गरिने स्वास्थ्य सेवा सस्तो हुने सम्भावना कम हुँदै
गएको छ। यो स्थिति अन्त्य गर्न स्वास्थ्य शिक्षामा सरकारले आˆनो उपस्थिति
बढाउनु पर्दछ।
प्रतिस्पर्धाको कमीः
चिकित्सकहरूलाई स्वास्थ्य सेवाका तीन वटै क्षेत्र' सरकारी अस्पताल,
मेडिकल कलेज र निजी अस्पतालमा खुट्टा राख्न दिने प्रथा बन्द नगरेसम्म
स्तरीय र सस्तो सेवा प्राप्त हुन सक्दैन। हालसम्मका कुनै सरकारले यस्तो
आँट गर्ने साहस देखाएका छैनन्।
गलत आधुनिकीकरणः
नेपालको स्वास्थ्य क्षेत्र नाफाको लागि आधुनिक हुने होडमा छ। उदाहरणको
लागि बिरामीको चापको हिसाबै नगरी भित्रिएका असङ्ख्य …सिटी स्क्यान'
मेशिनलाई लिन सकिन्छ। स्वास्थ्य क्षेत्रलाई सेवाको लागि आधुनिकीकरण
गर्ने नीति नभएसम्म अहिले भइरहेको गलत आधुनिकीकरणको खर्चको मार उपभोक्ताले
नै भोग्नुपर्छ।
व्यावसायिक करः
…जसरी भए पनि कमाऊ र कर तिर' भन्ने सरकारी नीतिले गर्दा निजी स्वास्थ्य
सेवा व्यवसायमा परिणत भएको छ। स्वास्थ्य सेवामा कर कम लिनु र व्यावसायिक
दायित्व बढी दिनु पर्दछ। यसनिम्ति प्रत्येक मेडिकल कलेजलाई केही गाविस
जिम्मा दिएर त्यहाँ विभिन्न स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गर्न
लगाउन सकिन्छ। यसबाट बिरामी नपाएर चिन्तित निजी मेडिकल कलेजहरूलाई
पनि ठूलो राहत पुग्छ भने स्थानीय वासिन्दाले पनि सहुलियतपूर्ण स्वास्थ्य
सेवा प्राप्त गर्नेछन्।
प्रोत्साहनको कमीः
चिकित्सकहरूलाई सरकारी सेवामा रहेर देशका विभिन्न भागमा काम गर्दा
दिइनु पर्ने बीमा, पारिश्रमिक र भत्ता लगायतको उचित प्रोत्साहन नभएकोले
उनीहरू बढी आम्दानीका लागि निजी क्षेत्रको नाफामूलक सेवामा लालायित
भइरहेका छन्।
वृत्ति विकासः
सरकारी लगानीबाट हुने चिकित्सकहरूको वृत्ति विकास वा उच्च अध्ययनको
फाइदा निजी क्षेत्रले पनि पाउने र निजी क्षेत्रले समेत आˆना चिकित्सकहरूलाई
आˆनै खर्चमा उच्च शिक्षा अध्ययन गराउने परिपाटी छैन। यसले गर्दा आˆनो
वृत्ति विकासको लागि अध्ययन खर्च जुटाउन चिकित्सकहरू छिटो धन आर्जनको
होडबाजीमा लाग्छन्।
चिकित्सकीय विज्ञापनः
स्वास्थ्य सेवाको विज्ञापन गर्न पाइँदैन। यो आफैँमा
चिकित्सकीय आचारसंहिता विपरीत पनि छ। तैपनि विज्ञापन भइरहेको छ र यसको
खर्चको मार पनि उपभोक्ता माथि नै थपिएको छ।
व्यावसायिक सुरक्षा
बीमाः चिकित्सक र स्वास्थ्य संस्थामाथि भइरहेका आक्रमण,
तोडफोड, क्षतिपूर्ति र मुद्दामामिलाबाट बच्न स्वास्थ्य व्यवसायी वा
संस्थाले गर्ने बीमाको शुल्क पनि बिरामीको उपचार शुल्कमै जोडिन्छ।
यस्तो बीमाले केही स्वास्थ्य व्यवसायी र चिकित्सकहरूलाई राहत दिए पनि
बहुसङ्ख्यक उपभोक्तालाई मार पार्दछ।
यी बुँदाहरूमध्ये धेरै सरकारका गलत नीति, फितलो प्रशासन
र कमजोर अनुगमनका नतिजा हुन् भने केही चिकित्सक र उपभोक्ताहरू बीच
अविश्वासको कारण सृजना भएका छन्। चिकित्सकीय मर्यादा र उपभोक्ता हितलाई
केन्द्रबिन्दु बनाएर अघि बढ्ने हो भने हामी कोही पनि हार्दैनौँ।
|