| •
ऋतुराज |
 |
ऋतुविचार
साइनो
के लाउने?
पहिले त
राजाको कतै …सवारी' हुँदा आगा'पिछा बत्ती मिलिक मिलिक गर्ने गाडीहरूका
ताँती लाग्थे। सेना, प्रहरीका प्रमुखहरू सवारीसाथ रहन्थे। हातमा सेता
पन्जा लगाएका ट्राफिक प्रहरीहरू ठाउँठाउँमा तैनाथ हुन्थे। पार्किङ
गरेर राखिएका सवारीसाधनहरू हटाइन्थे। क्रेन लगाई घिसारेर वा ट्रकमा
खाँदेर बग्गीखाना पुर्याइन्थे। सवारी चल्नु तीन घण्टाअघिदेखि नै सवारी
रुटमा पर्ने सडकहरूमा दुनियाँलाई आˆना सवारीसाधन गुडाउन मनाही गरिन्थ्यो
र सडकलाई पूर्णतः निरापद पारिन्थ्यो। त्यसरी खाली पारिएको सडकमा सवारीका
काला मर्सिडिज बेन्ज कारहरू सरर रˆतारमा हुइँकिन्थे।
अहिले कुरा बेग्लै भएको छ। राजा वसन्त'श्रवण गर्न कुन
बेला नारायणहिटी दरबार छाडेर वसन्तपुर दरबार पुगे, कुन बेला फेरि फर्केर
नारायणहिटी दरबार पसे दुनियाँलाई पत्तै भएन। कुनै विशेष सवारी व्यवस्थाविना
नै राजाले दुई दरबारबीचको यात्रा पूरा गरे। त्यसो गर्दा राजधानीको
ट्राफिकमा कुनै खलल परेन। ट्राफिक जामको सामना जनताले गर्नुपरेन।
ब्रिटेनबाहेक युरोपका अन्य देशमा रहेका राजतन्त्रबारे
कुरा गर्दा मानिसहरू त्यहाँका राजारानीका सादगीपूर्ण जीवनको चर्चा
गर्ने गर्थे। भन्थे— फलाना देशका राजा अरू नागरिकसरह सिनेमा हेर्न
जान्छन् 'रे। ढिस्काना देशकी रानी किनमेल गर्न साइकल चढेर एक्लै डिपार्टमेन्ट
स्टोर जान्छिन् 'रे। नेपालमा पनि राजा अब विना होहल्ला हिँड्न थाले।
भन्ज्याङमा राजा भेटिए, चौतारीमा रानी भेटिए' भन्ने
कवि क्षेत्रप्रताप अधिकारीले लेखेको गीतमा अब त राजालाई सडक, पार्क,
रेस्टुराँ, सपिङ'मल, फुड'कोर्ट, सिनेमा हल, ब्याङ्क इत्यादि सार्वजनिक
ठाउँमा भेट्न सकिने सम्भावना बढेर गयो। भाटभटेनी डिपार्टमेन्ट स्टोरमा
जाँदा राजासँग ट्याक्क जम्काभेट भइराखेको अरे क्या!
साँच्चि नै राजासित अकस्मात् भेट भए के भन्ने होला?
दर्शन सरकार' वा सरकारको जय होस्' त भन्न मिलेन। राजाको सरकार रहेन
अब। महाराजाधिराज, श्री ५, मौसुफ भन्न त अन्तरिम संविधानले नै दिँदैन।
नमस्कार सर' भन्ने वा २००७ सालपछि गणेशमान सिंहले साबिकका श्री ३ मोहनशमशेरलाई
प्रयोग गरेको सम्बोधन गर्ने? प्रजातन्त्र आइसक्यो भनेर गणेशमान सिंहले
मोहनदाइ भनेका थिए 'रे। कि कवयित्री इन्दिरा प्रसाईंले चलाएको सम्बोधन
प्रयोग गर्ने? उनले …माल्दाइलाई चिठी' शीर्षक दिएर कविताको एउटा सिङ्गो
किताब नै लेखेकी थिइन् राजा ज्ञानेन्द्रको स्तुतिमा। वास्तवमा के साइनो
लाउने?
राजाका जुँघा
राजा ज्ञानेन्द्रले जुँघा बढाएछन्।
 |
| तस्बिरः कान्तिपुर दैनिक |
अधिराजकुमार हुँदा पनि उनले जुँघा राखेका थिएनन्। श्रीपेच
पहिरिएर महाराजाधिराज हुँदा पनि उनको जुँघा थिएन। यद्यपि राजा वीरेन्द्रको
घोप्टे जुँगा नामी थियो। उनको जुँघाको धेरैले नक्कल उतार्ने गर्थे।
तर फेरि राजा महेन्द्रले पनि जुँघा राख्दैन थिए। जुँघा
नराख्नेमा राजा त्रिभुवन पनि हुन्। उनका जति तस्बिर देखिन्छन् तिनमा
अनुहार सफाचट पाइन्छ। राजा भएर जुँघा नराख्ने फेसन शाह राजाहरूमा त्रिभुवनले
थालेका थिए कि क्या! नत्र उनी अगाडिका सबै राजाहरूले जुँघा पालेका
देखिन्छन्— पृथ्वीवीरविक्रमदेखि पृथ्वीनारायणसम्मै।
पृथ्वीनारायण शाहले दाहिने हातको चोर औँला ठड्याएको
तस्बिर कसैले कल्पनाको गगनबाट तयार पारेको आकृति हो। कल्पना गर्ने
जो भए पनि उसले जुँघासहितको पृथ्वीनारायणको कल्पना गर्यो। जुँघाविनाको
राजा के राजा? प्रारम्भिक मूर्तिकारहरूले बुद्धको प्रतिमा त मठारिएको
जुँघा राखेर बनाएका थिए!
पृथ्वीनारायणपछि सिंहप्रतापको पनि जुँघा देखिन्छ। रणबहादुरको
त नाङ्गो छातीबाहेक समन लायक अरिमठ्ठे जुँघा नै हो। इतिहासमा वलीअहद'
भनेर चिनिने त्रैलोक्यविक्रमको त तस्बिरमा जुँघा मात्र होइन झ्यापझ्याप्ती
दाह्रीसमेत रहेको देखिन्छ। सनकी पिता'पुत्र राजेन्द्र र सुरेन्द्र
अनि त्यसपछि पृथ्वीवीरविक्रमका ओठमाथि जुँघाले स्थान पाएकै थियो।
चाल, ढाल, नाक'नक्स, तौरतरिका धेरै हिसाबले राजा ज्ञानेन्द्रको
समानता राजा महेन्द्रसित बढी छ भन्छन् जानिफकारहरू। पिता गीत लेख्ने,
सङ्गीतको महफिल जमाउन रुचाउने राजा ज्ञानेन्द्रमा पिताको राजनीतिक
महवाकाङ्क्षा पनि देखियो। तर महेन्द्रले नगरेका एउटा काम अहिले आएर
राजा ज्ञानेन्द्रले गरे। उनले जुँघा बढाए।
उखान छ— जुँघा चले, कुरा । अब जुँघा भएपछि त ती चल्ने
नै भए। राजा ज्ञानेन्द्रका जुँघा चले भने के कुरा बुझ्ने?
फिलिम ब्रिटिस, दर्शक ब्रुटिस
रटायो भने त सुगाले पनि मान्छेको केही बोली टिप्न सक्छ। तर उसले मानवसुलम
अरू गुण टिप्न सक्तैन।
सुुगाकै रटाइ भएको छ अचेल अङ्ग्रेजी भाषाको पढाइ। अङ्गे्रजी बोल्नमा
सबै माहिर। अङ्ग्रेजीको ज्ञान देखाउनमा सबै उत्सुक र तत्पर। कहाँ सुनिन्छ
र अचेल कसैका मुखबाट …अइया, आत्था, हरे' जस्ता शब्दहरू? तिनका ठाउँमा
त …आउच, शीट, ओह नो' जस्ता अङ्ग्रेजी लवजहरू पो सुन्न पाइन्छ आजकल।
बोली जरुर टिपेका छन् सुगाले, तर त्यस बोलीले सिकाउने
सभ्यता'संस्कृति भने शून्य छ। त्यसको कुराको ठूलो उदाहरण पाइयो राजधानीमा
हालै सम्पन्न भएको ब्रिटिस फिल्महरूको महोत्सवमा।
जुन दिन यो अज्ञानी फिल्म हेर्न गएको थियो त्यस दिन
दर्शकहरूको घुइँचो थियो, जो अपेक्षित नै थियो। दर्शकहरूमा युवक र युवतीहरूको
सङ्ख्या बढी थियो, त्यो पनि अपेक्षित नै थियो। अनपेक्षित कुरा एउटै
थियो युवा दर्शकहरूको असभ्य व्यवहार। फिल्म सुरु के भयो पप कर्न चपाउने
सुकिला'मुकिला तरुनी'तन्नेरीहरूलेे अँध्यारोमा उत्पात मचाउन थाले।
आलिङ्गन, चुम्बन या प्रेम प्रदर्शनको प्रत्येक दृश्यमा पूरै दर्शकदीर्घामा
कोहोलो मच्चिन्थ्यो, सिटी बज्थ्यो र घटिया टिप्पणीको लहर चल्थ्यो।
त्यसमा पूरापूर योगदान आधुनिक देखिने …आउच पुस्ता' को थियो।
फिल्म ब्रिटिस अनि हेर्ने दर्शकहरूचाहिँ …ब्रुटिस' देखिए।
बुझ्न नसकिने कुरा, त्यो …आउच पुस्ता' के हेर्न पाइने अपेक्षा लिएर
हलमा आएको थियो र त्यसरी जङ्गली तालले हल्ला मचाएर कुन्नि के देखाउन
खोजिरहेको थियो?
|