हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट अपराध

कहाँ छन् यिनीहरू

अनाथ बालबालिकालाई संरक्षण दिने नाममा खोलिएको एउटा संस्थाबाट ८८ जना बालबालिका हराएपछि यस्ता थुप्रै संस्थाहरू शङ्काको घेरामा परेका छन्। र, प्रश्न उठेको छ' उनीहरूलाई कसले, कसरी बेपत्ता बनाइरहेको छ?

हिमाल टीम

पवित्र समाज सेवा संघ' नामक संस्थाबाट हराइरहेका बालबालिका।

अनाथ, असहाय र गरीब बालबालिकालाई संरक्षण दिने भनेर काठमाडौँ, बालाजुमा एउटा सामाजिक संस्था खुल्यो' पवित्र समाज सेवा संघ। करिब दुईवर्षअघि जोरपाटीमा सरेको यो संस्थाले अनाथ, असहाय र गरीब बालबालिका भेला गर्न थाल्यो। दुई महिनाभित्रै एक सय २३ बच्चा जम्मा भए। अध्यक्ष सीतादेवी गौतमले स्थानीय आइलेन्स इङ्गलिस स्कुल र रिम्स बोर्डिङ स्कुलमा क्रमशः ८८ र ३५ जना बालबालिका भर्ना पनि गराइन्। विभिन्न दाताहरूले संस्थालाई रकम उपलब्ध गराउने र त्यसबाट बच्चाको पढाइमा लाग्ने खर्च व्यहोर्ने भनेर गौतमले ती अनाथलाई स्कुल भर्ना गराएकी थिइन्।

तर यसरी भर्ना भएको एक महिना नबित्दै कतिपय विद्यार्थी स्कुल आउन छाडे। गौतमले हरेक साता नयाँ'नयाँ अनुहारलाई विद्यालय ल्याउन थालिन्। स्कुलका प्रिन्सिपलहरूले यसबारे सोधी'खोजी शुरु गरे। रिम्स बोर्डिङ स्कुलका सह'प्रधानाध्यापक बालमुकुन्द कार्की भन्छन्, “गएको जेठसम्ममा हाम्रो स्कुलमा ३५ जना भर्ना गरियो। तर असार नलाग्दै पुराना अनुहार फाट्टफुट्ट मात्र आउन थाले, नयाँ'नयाँ बच्चा भर्ना गर्ने क्रम बढ्यो। हामीले ती बच्चा खोई भनेर सोध्दा जवाफ दिइएन।”

रिम्सकै प्रधानाध्यापक अनिल पराजुलीका अनुसार बच्चाहरूबारे बुझ्न खोज्दा अध्यक्ष गौतम बोली फेरिरहन्थिन्। कहिले बाबुले, कहिले आमाले, कहिले दिदीले, कहिले फुपूले लिएर गए भन्ने जवाफ दिन्थिन्। पराजुली भन्छन्, “गहिरिएर बुझ्न खोज्दा तपाइँहरूको काम पढाउने हो, चुप लागेर बस्नुहोस्, किन चिन्ता? अरू बच्चा पठाइदिउँला जस्तो जवाफ आउन थाल्यो।” पराजुलीका भनाइमा, पवित्र समाज सेवा संघलाई प्रत्येक बच्चाको घर'ठेगाना, बाबुआमाको नाम भर्न फर्म दिइएको थियो तर संस्थाले त्यो फर्म भर्न सकेको थिएन।
नजिकैको आइलेन्स स्कुलका प्रिन्सिपल राजेश बिष्टले आफूकहाँ भर्ना गरिएका ८८ जनाको हाजिरीकापी देखाउँदै हिमाल लाई भने, “तीमध्ये २४ जना मात्र अहिले विद्यालय आउँछन्। बाँकीलाई कहाँ लगियो, थाहा छैन।” संस्थाबाट बच्चा हराएको यकिन भएपछि अनुसन्धान शुरु गरिएको बताउँदै उनी भन्छन्, “पुराना अनुहार हराउने र नयाँ बच्चा थपिने क्रम जारी छ। संस्थामा रहेका बच्चालाई फकाएर सोध्दा उनीहरूले …अङ्कल/ आन्टी आउनुहुन्थ्यो, लानुहुन्थ्यो। कतै केही नभन्नु, भन्यौ भने ‰ुण्ड्याएर मारिदिन्छौँ भन्नुहुन्थ्यो' भन्ने गरेका छन्।”

बिष्टका अनुसार, आइलेन्स स्कुलमा सविन घलान र उनका भाइलाई बाबुआमा नभएको र नातेदारले समाजमा ल्याई छोडेको भन्दै भर्ना गरिएको थियो। केही समयपछि भाइ चाहिँ स्कुल आउन छोडे। बिष्ट भन्छन्, “हामी उनको खोजी गर्दै संस्थामा गयौँ। त्यहाँको खाता पल्टाएर हेर्दा त्यो बालकलाई उसकैै आमाबाबुले लगेको कीर्ते कागज गराएको पायौँ। आमाबाबु नै छैनन् भनिएको बच्चालाई आमाबाबुले कसरी लगे त? यस्ता कुराले पनि शङ्का गर्न हामीलाई बाध्य बनायो।”

पवित्र समाजले विभिन्न शाखा खोलेर बच्चाहरू भेला गरेको देखिन्छ। समाजबाट ११ जना बच्चा लिएर बलम्बुमा खोलिएको शाखाका अध्यक्ष हुन् नारायण फुयाल। ११ बच्चामध्ये चारजनालाई धादिङ्गमा आमाबाबुकहाँ पुर्‍याइएको बताउने फुयाल बाँकी सातजना गएको दशैँमा आफू नभएको बेला दलालले लगेको तर कता लग्यो, आफूलाई थाहा नभएको बताउँछन्। बच्चाको जीवनमा यसरी खेलवाड गर्न हुन्छ त? कुनै असहजता बिना फुयाल भन्छन्, “पवित्र समाजमा आउने सबै बच्चालाई विभिन्न दलालले ल्याएका हुन्। आमाबाबुलाई आˆना बच्चा कहाँ छन् भन्ने थाहै हुँदैन। दलालले गाउँ'गाउँमा गएर गरीब परिवारका मानिसलाई एसएलसीसम्म सित्तैँमा पढाइदिने; खान, लाउन दिने भनेर ल्याएका हुन्छन्। कतिपय दलालले त अभिभावकबाट बाटो खर्च भनेर उल्टै पैसा लिएका हुन्छन्।”

अठासी बालबालिका अज्ञात

पवित्र सेवा समाज संघबाट सरकारले उद्दार गरेका बालबालिका ।

पवित्र सेवा समाजबाट अहिलेसम्म ८८ जना बालबालिका हराएको पुष्टि भएको छ। आइलेन्समा भर्ना भएका ८८ मध्ये अहिले २४ जना र रिम्समा भर्ना गरिएका ३५ मध्ये ११ जना मात्रै विद्यालय आउँछन्। ठूलो सङ्ख्यामा बालबालिका हराएको संस्थाकी अध्यक्ष सीतादेवी गौतम स्वयंले स्वीकार गरेकी छन्। तर, उनी त्यसको सम्पूर्ण दोष संस्थाका कोषाध्यक्ष धु्रव अधिकारीलाई लगाउँछिन््। गौतमका भनाइमा अधिकारी १२ भदौदेखि फरार छन्। उनी भन्छिन्, “खोई धुव्रे (कोषाध्यक्ष अधिकारी) ले कसरी बच्चा ल्याउँथ्यो कुन्नि! बच्चा ल्याइदिने पनि थिए। उसले पैसा पनि लिने गरेको रहेछ। मलाई हिसाबकिताब केही थाहा छैन।”

समाजमा मुख्यतया रोल्पा, रुकुम, दाङ, मकवानपुरबाट बच्चाहरू ल्याइन्थे। गौतमका भनाइमा, जीतबहादुर तामाङले धादिङबाट, जुनतारा पुनले दाङबाट, शान्ति थापा मगरले रोल्पाबाट बच्चा ल्याइदिने काम गर्थे। गौतम भन्छिन्, “सबैले धुव्रेसँग कुराकानी मिलाउँथे। मलाई त खाली यति बच्चा आएका छन्, यिनलाई केही समय राख्नु भनेर सही गर्न लगाउँथे। सबै हिसाबकिताब धुवे्रसँग छ। मैले एक पैसा लिएकी छैन। तपाइँहरू धुव्रेलाई समात्नुहोस्। त्यसपछि सबै कुरा खुल्छ।”

पवित्र समाजले अनाथ बालबालिकालाई संरक्षण दिने नाममा खोलिएका अरू संस्थालाई समेत आफूकहाँ भएका बालबालिका दिने गरेको प्रमाण भेटिएको छ। पुस २०६२ मा समाजले …मलाई नबिर्सिऊ' बालगृहलाई पाँच बालिका दिएको कागजबाट देखिन्छ। …मलाई नबिर्सिऊ' की अध्यक्ष शोभा सिंहले १४ पुस २०६२ मा दुई र २८ पुसमा तीन जना बालिका बु‰ेर लिएको सो कागजातले देखाउँछ। अरू संस्थालाई दिने भए आफैँले किन अनाथालय खोलेको त? यो प्रश्नको जवाफमा गौतमले भनिन्, “छोरीहरू पाल्ने संस्था खोलेका छौँ। राम्रो स्याहारसुसार गर्छौँ भनेर अनुरोध गरेपछि मात्र हामीले दिएका हौँ।”

तर, पवित्र समाजले नम्रतासहितका पाँच बालिका …मलाई नबिर्सिऊ' लाई दिँदा प्रति बालिका १५ हजार रुपैयाँ लिएको एक स्थानीयले नाम नबताउने शर्तमा भने। गौतमले पनि पैसा लिएको कुरा अस्वीकार गरिनन् बरु थोरै मात्र लिएको बताइन्। उनले भनिन्, “पाँच वटा बच्चा लगेबापत मलाई १२ हजार रुपैयाँ मात्र दिएका छन्।” पवित्र समाजले बालबालिका भेला गर्ने, अरू कसैलाई बिक्री गर्ने र आश्रममा राखुञ्जेल पनि विभिन्न ठाउँमा माग्न पठाएर पैसा सङ्कलन गरेको देखिन्छ।

कानुनतः कुनै एक बाल संरक्षण केन्द्रले अर्कोलाई पैसा लिएर बालबालिका दिन मिल्दैन। जिल्ला प्रशासन कार्यालय, जिल्ला बाल कल्याण समिति काठमाडौँका सचिव ज्ञानु लामाका अनुसार त्यसरी बालबालिका सार्नु गैरकानुनी काम हो। धेरै पहिलेदेखि …मलाई नबिर्सिऊ' नामक संस्थाको खोजी भइरहेको तर पत्ता लगाउन नसकिएकोे उनले बताए।

कहाँ लगिन्छ बालबालिका?

सीतादेवी गौतम र ध्रुव अधिकारी।

जिल्ला बाल कल्याण समितिका अनुसार अनाथ बालबालिकालाई संरक्षण दिने उद्देश्य देखाएर देशभर करिब एकहजार ४८ केन्द्र खोलिएका छन्। काठमाडौँमा त्यस्ता केन्द्रको सङ्ख्या तीन सय ६६ छ भने प्रत्यक्ष अप्रत्यक्ष करिब ६ सय १५ संस्थाले बालबालिका संरक्षणसम्बन्धी काम गरिरहेका छन्। लामाका भनाइमा, …मलाई नबिर्सिऊ' बालगृहलगायत ५० संस्थालाई कालोसूचीमा राखिएको छ।”
कतिपय जानकारहरूका भनाइमा नेपाल र भारतका विशेषतः शहरी इलाकामा घरेलु नोकर, विभिन्न कारखानामा कामदारको माग हुने हुनाले दलालसँग मिलेर यस्ता बालगृह सञ्चालकहरूले बालबालिका आपूर्ति गर्ने गर्छन्। त्यसबाहेक मगन्ते बनाउन वा मानव अङ्गको प्रत्यारोपणका लागि पनि यस्ता बालबालिकाको प्रयोग गरिएको हुनसक्छ। यसतर्फ सरकारी निकायको ध्यान गएको पाइन्न।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक दीपकराज सापकोटा समस्याले विकराल रुप लिन लागेको अनुभव सुनाउँछन्। “घरेलु कामदार तथा मगन्ते बनाउन, सर्कसमा काम गराउन र मिर्गाैलालगायतका अङ्ग प्रत्यारोपणका निम्ति समेत बालबालिकाको तस्करी हुने गरेको छ,” सापकोटा भन्छन्, “यसले विकराल समस्या ल्याउने प्रस्ट भइसक्यो। त्यसैले अभिभावक सचेत हुनुपर्छ र देशले पनि एउटा अभियान नै चलाउन ढिलाइ गर्नुहुन्न।”