रिपोर्ट मोटरसाइकल
गुड्दैछ सिङ्गो समाज
कामकाजीका लागि आवश्यकता, युवाका लागि सोख र
महिलाहरूका लागि स्वतन्त्रताको अनुभूति दिलाउने साधन बनेको मोटरसाइकलको
आकर्षण र उपयोगिता दिनहुँ बढिरहेको छ।
• डम्बरकृष्ण श्रेष्ठ
र विवेकराज मौर्य
 |
| राजधानीको थापाथली पुल, १२ माघ। |
शहरबजारमा मोटरसाइकलको
ताँती हेर्दा लाग्छ, सिङ्गो नेपाली समाज यसैमा गुडिरहेको छ। बिहानै
बच्चालाई स्कुल पुर्याउने होस् वा नौ बजे कार्यालय पुग्नुपर्ने चटारो,
बजारको खरिदारी होस् वा बिरामीलाई अस्पताल पुर्याउने हतारो' समाजका
हरेक क्रियाकलापमा भरपर्दो साधन भएको छ, मोटरसाइकल। बजाज मोटरसाइकलको
नेपालस्थित आधिकारिक बिक्रेता हन्सराज एण्ड हुलासचन्दका शेखर गोल्छा
भन्छन्, “मोटरसाइकलले नेपाली समाजलाई समयसँगै डोर्याइरहेको छ।”
कुनै आधिकारिक अध्ययन नभए पनि मोटरसाइकलको बढ्दो प्रयोगले आम नेपालीको
जीवनशैलीलाई छरितो बनाएको त छ नै, समयको बचतले थप आयआर्जनमा समेत सहयोग
पुर्याउने गरेको यसका प्रयोगकर्ताहरू बताउँछन्। काठमाडौँ, ठमेलका
सुमन कर्माचार्यसँग कार पनि छ, तर उनी मोटरसाइकलमै बढी हिँड्छन्। राजधानीका
व्यस्त सडकमा कार लिएर निस्कँदा प्रायः दुई'तीन घण्टा जाममा पर्नसक्ने
भएकाले पनि उनले …बाइक' रोजेका हुन्। पेशाले आर्किटेक्ट सुमन भन्छन्,
“मोटरबाइकले समय र खर्च दुवै बचाउने भएकाले म त महिनाको तीन'चार दिन
मात्र कारमा हिँड्छु।”
६ वर्षदेखि स्कुटर चढ्दै आएकी ललितपुर, भैँसेपाटीकी आरती गुरुङ कामकाजी
महिलाका लागि बाइक अपरिहार्य साधन भएको बताउँछिन्। नाङ्लो इण्टरनेशनलकी
इभेण्ट म्यानेजर आरतीलाई बजार र बिक्रीवितरण हेर्नुपर्ने भएकाले धेरै
हिँडिरहनुपर्छ। भन्छिन्, “जो पायो त्यहीसँग लिˆट लिने मेरो स्वभाव
छैन। सार्वजनिक यातायातमा हिँड्न मलाई कठिन लाग्छ। त्यसैले बाइक भएर
मलाई सजिलो भएको छ, यसमा म स्वतन्त्र महसूस गर्छु। माइक्रो र बसमा
महिलाहरूले भोग्नुपर्ने …सेक्सुअल ह्यारेसमेण्ट' बाट पनि यसले मुक्ति
दिन्छ।” आˆनो सफलताको जस बाइकलाई समेत दिने उनी यसले आत्मविश्वासका
साथ अघि बढ्न सहयोग पुर्याएको बताउँछिन्।
काठमाडाँैमा काम गर्दै, पढ्दै गरेका सप्तरीका रोशन गुप्ताका लागि
मोटरसाइकल रोजगारको माध्यम बनेको छ। बिहान क्याम्पस पढेर पुतलीसडकबाट
बानेश्वर काममा जानुपर्दा जहिल्यै ढिलो पुगिने भएकाले गुप्ताले मोटरसाइकल
किनेका हुन्। मार्केटिङको …पार्टटाइम' काम गर्ने गुप्तालाई मोटरसाइकल
भएकै कारण नयाँ ग्राहक जुटाउन पनि सजिलो भएको छ। त्यसमाथि, कतिपय कम्पनीले
काम गर्न इच्छुक व्यक्तिहरूसँग अनिवार्य रूपमा मोटरसाइकल हुनुपर्ने
शर्त राख्ने गरेकाले पनि बाइकबिना जीवन धान्नै गाह्रो हुने अवस्था
आएको उनी बताउँछन्।
मदन पुरस्कार पुस्तकालयका वित्त व्यवस्थापक लोचन जोशीले सार्वजनिक
यातायातको लथालिङ्ग अवस्थाबाट आजित भएर मोटरसाइकल किने। त्यसपछि जुनसुकै
बेला जहाँ जान पनि, साथीहरूसँग घुम्न र परिवारलाई घुमाउन पनि सजिलो
भएको उनी बताउँछन्। भन्छन्, “सडक जाम र अबेर रातमा सार्वजनिक यातायातका
साधन नपाइने पिरोलिनु परेको छैन।”
घरमा मोटरसाइकल भएपछि परिवारप्रतिको दायित्व पनि बढ्ने यसका प्रयोगकर्ताहरूको
अनुभव छ। श्रीमतीलाई उनको कार्यालय छाड्नेदेखि घरको किनमेलसम्ममा सहजता
आउने अनुभव प्रायः सबैको छ। जोशी भन्छन्, “चाडपर्व र विभिन्न अवसरमा
आमा'बुबालाई आफन्तको घरमा मोटरसाइकलमा पुर्याइदिँदा उहाँहरूमा देखिने
खुसी नै अर्कै हुन्छ।”
युवा वर्गमा भने सोखको साधनका रूपमा लोकप्रिय छ, मोटरसाइकल। पहिले
विद्यालयको पढाइ सकेपछि या एसएलसीमा राम्रो नतिजा ल्याउँदा छोराछोरीलाई
साइकल, घडी किनिदिने बाबुआमाको आश्वासन र छोराछोरीको माग अहिले मोटरसाइकल
बन्न पुगेको छ। तन्नेरीहरूको गफको विषय बन्ने गरेका छन् बाइकका ब्राण्ड
र मोडलहरू। उनीहरूमा …स्टाइलिस' र नयाँ डिजाइनका मोटरसाइकलको माग बढी
देखिन्छ। बजाजका मोटरसाइकलहरूमध्ये युवाहरूबीच पल्सर लोकप्रिय रहेको
बताउँदै यसका बिक्रेता शेखर गोल्छा भन्छन्, “गर्लफ्रेण्ड घुमाउन पल्सर
नै चाहिने भन्नेसम्मको प्रतिक्रिया पाइन्छ।”
 |
| तस्बिरहरूः किरण पाण्डे |
बिक्रेताहरूको भनाइमा निम्न, मध्यम र उच्च सबै वर्गले प्रयोग गर्ने
मोटरसाइकल कामकाजी वर्गका लागि सामाजिक प्रतिष्ठाको साधन समेत बन्ने
गरेको छ। सार्वजनिक यातायातमा हिँड्नेहरूले गन्तव्यमा पुग्न माइक्रो,
टेम्पो वा बसबाट ओर्लेपछि फेरि हिँड्नै पर्ने बाध्यता हुन्छ, तर मोटरसाइकल
हुनेले यो व्यहोर्नुपर्दैन। मध्यमवर्गीय समाजमा मोटरसाइकलको लोकप्रियता
र बिक्री बढ्नुका पछाडि सबै सडकहरूमा सार्वजनिक यातायातको राम्रो सुविधा
नहुनु, काममा हिँडिरहनुपर्ने जमातलाई अपरिहार्य वस्तु हुनु र समाजमा
प्रतिष्ठाको प्रतीकका रूपमा हेर्न थालिनु मानिएको छ।
पछिल्लो समयमा ब्याङ्क र वित्तीय संस्थाहरूद्वारा प्रस्तुत उपभोक्ता
ऋणका विभिन्न कार्यक्रमले सामान्य आर्थिक हैसियत हुनेहरूमा पनि मोटरसाइकलको
पहुँच बढाएको छ। एकैचोटी एक'डेढ लाख रुपैयाँ निकाल्न नसक्नेले सुलभ
फाइनान्स योजनाका मासिक किस्तामा सजिलै लिन सक्ने भएकाले मोटरसाइकल
निम्न वर्गको पहुँचमा समेत पुगेको हो। यस्तै सुविधाका कारण साइकल चढेर
हिँड्नेहरूका लागि मोटरसाइकल अब ठूलो कुरा रहेन। भाटभटेनीस्थित आइसीएफसी
फाइनान्सका सुनिल पन्त रु.१ लाखको मोटरसाइकलका निम्ति शुरुमा ३० हजार
छुट्याए पुग्नेे बताउँछन्। भन्छन्, “३० प्रतिशत रकम जम्मा गरेर बाइक
लिनेले यसकै माध्यमबाट आर्जन'क्षमता बढाउन सक्छन्।”
सडकको तुलनामा सवारी साधन धेरै भइसकेको अवस्थामा मोटरसाइकल बढी प्रयोग
हुँदा ट्राफिक व्यवस्थापनमा समेत सजिलो हुने उपत्यका ट्राफिक प्रहरी
कार्यालयका प्रहरी नायव उपरीक्षक जगतमान श्रेष्ठ बताउँछन्। हाम्रा
सडकमा तिनको प्रकृति अनुसार ठूला सवारी भन्दा मोटरबाइक नै बढी भएको
राम्रो हो भन्ने ठम्याइ उनको छ। उनी भन्छन्, “हाम्रा लागि एक मान्छे
एउटा गाडी लिएर सडकमा निस्कनुभन्दा मोटरबाइकमा हिँड्नु राम्रो हो किनकि
पाँच वटा बाइक अट्ने ठाउँ एउटा गाडीले ओगट्छ।”
मोटरसाइकल र यसका स्पेयरपार्टस्को व्यापारले मुलुकको राजस्वमा पनि
ठूलो टेवा दिएको छ। सन् २००६ मा मात्रै देशभर करिब २८ हजार मोटरसाइकल
बिक्री भएका र तिनबाट रु.२ अर्ब राजस्व उठेको थियो। गोल्छा भन्छन्,
“हालको बिक्रीका आधारमा सन् २००७ मा ३८ हजार मोटरसाइकल बिक्री हुनुपर्ने
हो।”
नेपालको बजारमा उपलब्ध मोटरसाइकललाई तीन श्रेणीमा बाँड्न सकिन्छ'
इकोनोमिक (१०० सीसी), एक्जिक्युटिभ (१२५ सीसी) र प्रिमियम (१५० सीसी
वा माथि)। भारतमा बिक्री हुने मोटरसाइकलमध्ये करिब ७० प्रतिशत इकोनोमिक
श्रेणीका हुन्छन् भने नेपालमा यही अनुपातमा एक्जिक्युटिभ र प्रिमियम
श्रेणीका मोटरसाइकल बिक्री हुने गर्छन्। पारखीहरूले आˆनो आवश्यकताअनुसार
मूल्य, इन्धन खपत, मोडल, इञ्जिनको शक्ति, स्पेयर पार्टस्को उपलब्धता
आदिबारे विचार गरेर मात्र मोटरसाइकल खरीद गर्ने निर्णय लिन्छन्।
बेफाइदा पनि छन्
मोटरसाइकलले जीवनमा जति सहजता थपेको छ, यसको दुरुपयोगले त्यति नै
समस्या समस्या पनि सिर्जना गरेको छ। ट्राफिक प्रहरीको अभिलेखमा सबैभन्दा
बढी ट्राफिक नियम उल्लङ्घन गर्ने र बढी दुर्घटना हुने सवारीमा मोटरसाइकल
नै पर्दछन्। ट्राफिकका प्रनाउनि श्रेष्ठ सुरक्षित रूपमा चलाएमा मोटरसाइकल
राम्रो भएपनि चालक अनुशासनमा नबसे यो खतरनाक हुने बताउँछन्। उनी भन्छन्
“रातो बत्ती, नो इण्ट्री जस्ता ट्राफिक सिंग्नल तोड्ने, सडकका पेटीमा
चढाउने, जथाभावी, अनियन्त्रित कुदाउने काममा मोटरसाइकल चालकहरू अगाडि
छन्।”
जथाभावी …ओभरटेक' गर्ने र बाटो काट्ने मोटरसाइकलसँग कारलगायतका ठूला
सवारी साधन चलाउनेहरू निकै रिसाउँछन्। शेखर गोल्छा रिस मोटरसाइकलप्रति
नभई मोटरसाइकल चलाउने व्यक्तिको आचरणप्रति हुनुपर्ने बताउँछन्। भन्छन्,
“बाटोमा सवारी साधन चलाउँदा अपनाउनुपर्ने मर्यादा र संयमका बारेमा
सबै सवारी चालकहरूलाई सचेत गराउन जरुरी छ।” बाइकर्स नेपालका अध्यक्ष
पासाङ शेर्पा युवाहरूले खुल्ला सडकमा कुदाउन सकिने गतिमा शहरका भीडभाडमै
मोटरसाइकल कुदाउने गरेको बताउँछन्। उनी भन्छन्, “अरू सवारीको तुलनामा
धेरै लाभदायक मोटरसाइकलको सदुपयोग गर्नेतर्फ युवाहरूले ध्यान दिनुपर्छ।”
मोटरसाइकल बढ्ने प्रवृित्तलाई हेर्ने हो भने वातावरणीय दृष्टिकोणले
यसको नकारात्मक प्रभाव बढी हुने बताउँछन् विनरक इण्टरनेशनल नेपालमा
कार्यरत वातावरणविज्ञ अनिलकुमार राउत। राउतका अनुसार बस तथा टेम्पोजस्ता
सार्वजनिक सवारी साधनमा यात्रा गर्दा भन्दा मोटरसाइकल चलाउँदा प्रतिव्यक्ति
प्रदूषण, इन्धन र ऊर्जा खपत बढी हुन्छ। उनी भन्छन्, “तर हामीकहाँ सजिलो
सार्वजनिक यातायात सुविधा नभएका कारण पनि मानिसहरू निजी यातायात खरिदतर्फ
बढी आकर्षित हुने गरेका छन्।”
यस्ता नकारात्मक प्रभाव हुँदाहुँदै पनि मोटरसाइकल नेपाली समाजको
अभिन्न अङ्ग बन्दै गएको तथ्याङ्कले देखाउँछ। यातायात व्यवस्था कार्यालयको
तथ्याङ्कमा आर्थिक वर्ष २०६२/०६३ मा ठूला'साना गरी देशभरि दर्ता भएका
५ लाख २८ हजार ५७० सवारी साधनमध्ये आधाभन्दा बढी (३ लाख ४७ हजार ४५२)
मोटरसाइकल छन्। यसको ठूलो हिस्सा भने राजधानीले ओगटेको छ। गत आर्थिक
वर्षसम्ममा बाग्मती अञ्चलमा मात्र २ लाख १० हजार ५०१ मोटरसाइकल दर्ता
भएका थिए। चालु आ.व.को पुससम्ममा यो सङ्ख्या बढेर २ लाख ४० हजार पुगेको
छ।
|