हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देश | समाचार

प्रहरी परिवारको बिलौना

द्वन्द्वमा ज्यान गुमाएका कैयौँ प्रहरी परिवारले राज्यबाट क्षतिपूर्ति र सुविधा पाएका छैनन्। र, त्यसका लागि अहिले उनीहरू देशव्यापी आन्दोलित छन्। सरकारले मृत प्रहरी परिवारलाई रु.७ लाख ५० हजार क्षतिपूर्ति र निःशुल्क औषधोपचार, शिक्षा, छात्रवृत्तिलगायतका सुविधा दिने घोषणा गरेको थियो। तर, पहुँचवालाहरूले मात्रै पाएका भन्ने नपाउनेहरूको गुनासो छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार द्वन्द्वमा १३४९ प्रहरी, १२१ सशस्त्र प्रहरी र ६९५ सैनिक मारिएका थिए। तीमध्ये क्षतिपूर्ति र सुविधा केही नपाउने वा पूरा नपाउने प्रहरी परिवार देशभरि कति छन् भन्ने यकिन नभए पनि द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित मध्यपश्चिममा ४५६ परिवार भएका थाहा भएको छ।

काठमाडौँ, दक्षिणकालीमा दरबन्दी रहेका रुकुम, गोतामकोटका सशस्त्र प्रहरी हवल्दार हरिप्रसाद जैसी ५ साउन २०६२ मा बाँकेको खजुरामा मारिएका थिए। उनकी पत्नी डुलमायालाई …हरिप्रसाद विदामा गएकाले क्षतिपूर्ति दिन नमिल्ने' भन्दै गृहले खालीहात फर्कायो। अहिले माइत बसिरहेकी डुलमाया भन्छिन्, “माइतीले कति पाल्लान्? बच्चा कसरी हुर्काउने? देशको लागि पति मारिनुभो तर सरकारले सम्‰ेन।” २५ जेठ २०५७ मा जाजरकोटको पाँचकटिया प्रहरीचौकी आक्रमणमा मारिएका दैलेख, कालोभैरवका प्रहरी जवान गोपीचन्द्र खड्काकी पत्नी आशादेवी र रोल्पाको धाँसीमा एम्बुसमा मारिएका सूर्यबहादुर बुढाकी पत्नी रुपसाका समस्या पनि उस्तै छन्।
बाँके, बिनौना'६ का यमनारायण थापा १० फागुन २०५८ मा सल्यानको शितलपाटी इलाका प्रहरी कार्यालय आक्रमणमा मारिएका थिए। दौडधुप र भनसुनपछि उनकी पत्नी गोमाले क्षतिपूर्ति त पाइन्, तर अरू सुविधा पाइनन्। ८ मङ्सिर २०५८ को दाङ आक्रमणमा मारिएका प्रहरी जवान रवीन्द्र शाहीकी पत्नी लीला भन्छिन्, “बच्चाबच्ची सानै छन्। त्यसबेला त निःशुल्क पढाइदिन्छौँ भन्थे, अब त सोध्नै छाडे।”

पीडित परिवारले ३० बुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुाएपछि प्रमले २६ पुसमा माग कार्यान्वयन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएका थिए। तर त्यसपछि पनि केही नभएकोले उनीहरू ७ माघदेखि देशव्यापी आन्दोलनमा उत्रिएका छन्। उनीहरूको आन्दोलमा सहभागी हुँदै घाइते प्रहरीहरूले पनि पर्याप्त क्षतिपूर्ति र सुविधाका साथै निःशुल्क उपचार, छोराछोरीको शिक्षा र अन्य घोषित सुविधा माग गरेका छन्।

रामेश्वर बोहरा, नेपालगन्जमा


बन्द हुन मात्र बाँकी

नेपालमा आधुनिक आवासीय शिक्षाको जग हाल्ने फर्पिङको त्रिभुवन आदर्श मावि बन्द हुन मात्र बाँकी छ। २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि नयाँ'नयाँ निजी आवासीय विद्यालय खुले, तर कुनैबेला नेपालका हुनेखाने मान्छेका सन्तान पढ्ने त्रिभुवन आदर्श मावि भने ओरालो लागेर अहिले फर्पिङ बजारमा भाडाको घरमा चलाइएका विद्यालयहरूभन्दा पछाडि छ।

९० रोपनी जग्गामा फैलिएको र अ‰ै पनि रु.१० करोड भन्दा बढीको सम्पत्ति भएको यस विद्यालयका आˆनै तीन वटा शैक्षिक भवन, छात्राबास, शिक्षक आवासगृह छन्। तैपनि किन यस्तो दुर्गति? सबैको एउटै उत्तर छ— …दरबारको अनावश्यक हस्तक्षेप।' सधैँ दरबारको रजाइँ चल्दै आएको विद्यालय व्यवस्थापन समितिको नेतृत्व तीन दशकदेखि दरबारकै अवकाशप्राप्त कर्मचारी ८० वर्षीय आनन्दमान सिंहले गर्दै आएका छन्। २००७ सालअघिसम्म राजा त्रिभुवनको ग्रीष्मकालीन दरबार रहेको विद्यालयको ६७ रोपनी जग्गामा राजपरिवारले आँखा लगाएकोले विद्यालयलाई यो अवस्थामा पुर्‍याइएको भन्ने धेरैको धारणा छ। राजा ज्ञानेन्द्रको राज्यारोहणपछि राज्यको धेरै जग्गाजमिन निजी सम्पत्तिमा परिणत गरेको राजपरिवारले त्रिभुवन आदर्श माविको ६७ रोपनी जग्गा पनि राजाकै नाममा दर्ता गराइसकेको छ।

विद्यालयलाई व्यवस्थित गर्ने प्रयास नभएको होइन। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) का अध्यक्ष उमेश श्रेष्ठ भन्छन्, “लिटिल एञ्जेल्स, जेम्स, ईपीएस, भीएस निकेतनले रु.१ करोड जति लगानी गरेर नेपालको एक नमूना विद्यालयको रूपमा विकास गर्न प्रस्ताव गरेका थिए, तर व्यवस्थापनले दिएन।” २०५२'५८ मा विद्यालय व्यवस्थापनको जिम्मेवारी पाएको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले सार्वजनिक गुठीमा दर्ता गर्ने गरेको प्रस्ताव पनि व्यवस्थापन समितिले नमानेको इन्स्टिच्युटका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशी बताउँछन्। शिक्षा मन्त्रालयका प्रवक्ता लवप्रसाद त्रिपाठीका अनुसार हाल विद्यालय सार्वजनिक गुठी अन्तर्गत नै दर्ता भए पनि सरकारले यसलाई अन्य सार्वजनिक विद्यालयलाई भन्दा बढी केही गरेको छैन।

विद्यालयमा अहिले पाँच सय विद्यार्थी पढ्छन्््। नेपाल कुष्ठरोग निवारण संघले कुष्ठरोगका बिरामीका छोराछोरीका लागि सञ्चालित बालगृह …नेपाल कार्ल गेरोल्ड बालनिकेतन' र जर्मन पर्यटकहरूको एउटा समूहको सहयोगमा सञ्चालित …हात्तीवन सामाजिक सेवा केन्द्र' को केही छात्रवृत्ति नपाए विद्यालयको अस्तित्व नै सङ्कटमा पर्ने शिक्षकहरू बताउँछन्। फर्पिङ कुलेखानी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ भन्छन्, “व्यवस्थापनमा आमूल सुधार नगरी विद्यालयको उद्धार हुँदैन।”

रामहरि पौडेल, फर्पिङ


माओवादी कुटाइ

बुटवलका रिक्सा मजदुर भुट्टु खान ‰ण्डै महिना दिनदेखि माओवादी कार्यकर्ताको कुटाइको पीडा सहँदै लुम्बिनी अञ्चल अस्पतालको शैय्यामा छट्पटाइरहेका छन् (तस्बिर)। रिक्सा भाडाको विवादलाई लिएर १८ पुसमा माओवादी कार्यकर्ताले अपहरण गरी क्याम्पस रोडस्थित माओवादीको सम्पर्क कार्यालयमा लगेको र चार'पाँच जनाले लात्ती र डण्डाले हानेर रातभरि पिटेको उनको भनाइ छ। माओवादीले भने उक्त घटनाबारे आफूहरूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्। पार्टीका बुटवल नगर इञ्चार्ज अनुप भन्छन्, “यसबारे हामीलाई थाहा भएन। हाम्रै पार्टीबाट भएको भए छानबिन गर्नेछौँ।”

माओवादीले घटनाबारे सार्वजनिक गरे मारिदिने धम्की दिएकाले १२ दिनसम्म आˆनो पीडा लुकाएर बसेको बताउने खानलाई असक्त हुँदै गएपछि आफन्तको सहयोगमा २ माघमा उपचारका लागि लुम्बिनी अस्पताल लगिएको थियो। उनका दुवै खुट्टा नचक्ने भएका छन्। सिद्धार्थनगर'१, नेउडिहवाका भुट्टु खानले पैसा नभएर डाक्टरले भनेजति औषधि किन्न र एक्सरे गराउन सकेका छैनन्।

मुकेश पोखरेल, भैरहवा


प्रहरी नै चोरीको गाडीमा

इलाका प्रहरी कार्यालय, बुटवलले लु १ च १७२५ को निजी नम्बर राखेर लामो समयदेखि चलाइरहेको नीलो पिकअप भ्यान चोरीको गाडी भएको रहस्य खुलेको छ। यातायात व्यवस्था कार्यालय, बुटवलका अनुसार प्रहरीले ‰ुण्ड्याएको नम्बर गुल्मी, जोहा'७ का कमलप्रसाद श्रेष्ठको चेसिस नं. ५५०१५९९०० को सेतो गाडीको हो।

यातायात व्यवस्था कार्यालयका प्रमुख मनोहरप्रसाद खनाल अर्काको नम्बर राखेर गाडी चलाउनु गैरकानुनी ठहरिने र ट्राफिक प्रहरीको सिफारिस भएमा आˆनो कार्यालयले कारबाही गर्न सक्ने बताउँछन्। क्षेत्रीय ट्राफिक प्रहरी इकाई कार्यालय, बुटवलका डीएसपी केदारसिंह राठौर पहिले गैरकानूनी भनेर उजुरी परेपछि मात्र छानबिन गर्न सकिने जवाफ दिन्छन्। स्मरणरहोस्, ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय एउटै कम्पाउण्ड भित्र छन्।

इप्रका, बुटवलका डीएसपी शुकदेव न्यौपाने यसरी निजी नम्बर प्लेट राखेर गाडी चलाउनु गैरकानूनी भएको स्वीकार गर्दै भन्छन्,“यो गाडी म आउनुभन्दा पहिलेदेखि चलेको हो। कसरी नम्बर राखिएको रहेछ बुझ्छु।” उनले यो सम्वाददातालाई माओवादीले दिएका नम्बर राखेर गैरकानुनी रूपमा चलाइएका गाडीका बारेमा पनि सोधखोज गर्नभनेका थिए।

स्रोतहरूका अनुसार, प्रहरीले चोरीको गाडी नियन्त्रणमा लिई त्यो नम्बर राखेर चलाएको हो। आˆनो नम्बरको गाडी प्रहरीले चलाएको सुनेर स्किएका बाग्लुङमा व्यापार गरी बस्ने गाडी धनी कमल श्रेष्ठ भन्छन्, “मेरो गाडी मसितै छ, अरू के भनुँ?”

यानेन्द्र जिसी, बुटवल


निःसन्तानलाई बेवारिसे शिशु

दश वर्षअघि बिहे गरेर पनि बच्चा नभएका धनकुटा, हात्तीखर्क'३ को तर्क र तोमा रानामगर देब्रेवासमा बेवारिसे अवस्थामा भेटिएको शिशु पाएर दङ्ग परेका छन्।

जिल्ला अस्पताल, धनकुटामा प्रहरी नायव उपरीक्षक हरिहर श्रेष्ठले …धनकुटाको छोरा' भन्दै बच्चा तोमालाई हस्तान्तरण गरेका थिए। बेवारिसे बच्चा भेटिएदेखि नै जिल्ला प्रहरी कार्यालयमा छोरा बनाउँछु भनी निवेदन दिने परिवारको भीड लागेको थियो। तर स्थानीय प्रशासन र नागरिक समाजले शुरुदेखि नै बच्चाको उपचार खर्च व्यहोर्दै आएकी तोमालाई बच्चा दिने निर्णय गरेका थिए।

सिद्धराज राई, धनकुटा


कतारमा अलपत्र नेपाली

कतारको एउटा क्लिनिङ कम्पनी बन्द भएपछि अलपत्र तीन सय नेपाली कामदार दोहास्थित नेपाली दूतावासको शरणमा पुगेका छन्। १५ औँ एसियाली खेलकुदसँग सम्बन्धित कामका लागि …निःशुल्क भीसा' मा मगाइएका यी ३५० नेपाली कामदारलाई यहाँका एजेन्टहरूले रु.९० हजारदेखि रु.१ लाख १० हजारसम्म लिई दुई वर्षका लागि ल्याएका र सेक्युरिटी, लाउन्ड्री, क्लिनिङलगायतका काममा लगाएका थिए। उनीहरूलाई राजधानी, नमस्ते नेपाल, मेरिडियन, रेपिड इन्टरन्याशनल, फेसिलिटी म्यानपावर, इसिएस म्यानवापर, वर्ल्ड लिंक म्यानपावर, बोदी म्यानपावर, ब्लु डाइमण्ड म्यानपावर, एशियन ओभरसिज, निटलगायतका एकदर्जन म्यानपावर एजेन्सी र विभिन्न एजेन्टहरूले ल्याएका हुन्। तीमध्ये ५० महिला कामदारलाई भने कम्पनीले नै काम मिलाइदिएको छ।

दूतावासले पनि बाँकी कामदारलाई अरू कम्पनीमा काम लगाइदिने प्रयास थालेको छ। कार्यवाहक राजदूत राजेन्द्र पाण्डेका अनुुसार, एक क्याटरिङ कम्पनी उनीहरूलाई लिन तयार भएको पनि छ। तर, ४०० रियाल मात्र तलब हुने र १०० रियालभन्दा बढी अतिरिक्त भत्ता नपाइने लगायतका प्रावधानहरू चित्त नबुेर अधिकांश कामदारले असहमति जनाएका तथा दूतावाससमक्ष नेपाल नै फर्काइदिन अनुरोध गरेका छन्।

राजदूत पाण्डेले कम्पनी बन्द भएपछि कामदारहरूलाई उसैले हवाई टिकट उपलब्ध गराई नेपाल पठाउनुपर्नेमा जोड दिँदै नगराएमा मुुद्दा लड्ने र नेपालमा सम्बन्धित म्यानपावरसँग पैसा असुल्ने व्यवस्था मिलाउन सम्बद्ध अधिकारीहरूलाई आग्रह गर्ने प्रतिबद्वता व्यक्त गरेका छन्। दूतावासले उनीहरूको गुनासो श्रम विभागमा पठाएको पनि राजदूतले बताए।

कतारमा भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, फिलिपिन्सबाट आएका कामदारहरूको दाँजोमा नेपालबाट आएका कामदारहरू विभिन्न कारणले ठगिएका र बेलाबखत यसरी अलपत्र पर्ने गरेका छन्।

रवि भट्ट, कतार


भत्तापछि पेन्सनको लडाइँ

५० वर्षअघि लाहुरे बनेका र लाहुर गएको १० वर्ष नपुग्दै बिना पेन्सन घर फर्कनु परेका ६५ वर्षीय अमरसिंह आलेलाई आˆनो जागिर खोसिँदाको पीडाले सधैँ पोल्ने गर्दथ्यो। तर, त्यसको ३८ वर्षपछि उनले बेलायती सरकारबाट आवासीय भीसा र वृद्ध भत्ता पाएका छन्। आलेले गेसोद्वारा सञ्चालित आन्दोलनको परिणामस्वरुप आवासीय भीसा प्राप्त गरेका हुन्।

आलेको जागिर त्यस्तो बेला खोसिएको थियो, जतिबेला उनी ब्रिटिस गोरखा सैनिकको हैसियतले उसैको पक्षमा मलाया (हालको मलेसिया) को तर्फबाट इण्डोनेसियाविरुद्ध लडेका थिए। उनी सन् १९६२ देखि १९६६ सम्म युद्ध लडका थिए। भन्छन्, “युद्ध सकिएपछि ढुक्क भयो भनेको त मलायामा कार्यरत १६ हजार गोरखा सैनिकमध्ये घर फर्काइएका आठ हजारमा म पनि परेछु।” सन् १९५९ मा १८ वर्षमा भर्ती भएका तनहुँका आले युद्ध सकिनासाथ बिना पेन्सन घर फर्काइए।

आले अहिले बेलायतमा मासिक ४१६ पाउण्ड पाइरहेका छन्भने ६६ वर्ष लागेपछि ६३५ पाउण्ड पाउने छन्। भीसा र भत्ता पाए पनि उनको पेन्सनसम्बन्धी मुद्दाको भने टुङ्गो लागेको छैन। गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायती उच्च अदालतमा उनको मुद्दा लडिरहेको छ। उनी भन्छन्, “अहिले म मेरो पेन्सनका लागि लडिरहेको छु। र, मजस्तै भेदभावको शिकार भएकालाई लड्न पनि प्रेरणा दिँदैछु।”

रामेश्वर बोहोरा


नोना रहिनन्

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी भाउजू तथा प्रभावशाली महिला नेतृ नोना कोइरालाको १४ माघमा ७८ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ। २००७ सालको क्रान्तिदेखि नै राजनीतिमा सक्रिय नेतृ कोइरालालाई छाती दुःखेका कारण ६ माघमा गङ्गालाल हृदयरोग अस्पतालमा भर्ना गरिएको थियो। मधुमेह, उच्च रक्तचाप, कमलपित्त लगायत थुप्रै रोगले ग्रस्त पारेपछि उनलाई केही दिन …भेन्टिलेटर' मा समेत राखिएको थियो।
समाजसुधारक कृष्णप्रसाद कोइरालाका साहिँला छोरा केशवसँग सानैमा विवाह बन्धनमा बाँधिएकी नोना पारिवारिक राजनीतिक माहोलसँगै आजीवन नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिइन्। प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनका क्रममा २०१७'२०४६सम्ममा सात वर्ष जेल र २०२४'२०३७ सम्म भारत प्रवासका दुःखदायी दिनहरु बिताएकी नोना २०४६ पछि नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य समेत रहँदै आएकी थिइन्। २०५५ सालमा काङ्ग्रेसको महिला विभाग प्रमुख बनेकी नोना आगामी १० फागुनमा काठमाडौँमा हुन लागेकोे नेपाल महिला संघको अधिवेशनको समेत संयोजक थिइन्।

नोनाले ओखलढुङ्गा काण्डमा मारिएका शहिद परिवारका छोराछोरीलाई आश्रय दिने तथा तिनको पठनपाठनमा समेत सहयोग पुर्‍याएको जानकारहरु बताउँछन्। स्वर्गीय नोनाका निरञ्जन र शेखर दुई छोरा छन्। शेखर काङ्ग्रेस केन्द्रीय सदस्य हुन्।