टिप्पणी
विपत्ति व्यवस्थापनको तयारी
आपदविपदका बेला कहाँ खोज्ने काठमाडौंका वासिन्दाले
अब खाली ठाउँ?
• सीके लाल
 |
| किरण पाण्डे |
| खुल्ला राख्न छुट्ट्याइएका ठाउँहरू यस्ता भवनले ओगटेका छन्
। |
नब्बे सालको
महाभूकम्पको सम्झ्नामा २ माघलाई नेपाल सरकारले 'भूकम्प सुरक्षा दिवस'
को रूपमा मनाउने निर्णय गरेको आठ वर्ष पुग्दैछ। यसबीच भूकम्पका जोखिमहरूबारे
सचेतता उल्लेख्य रूपमा बढेको छ। राम्रा विद्यालयहरूमा भूकम्प सम्बन्धी
कवायद गराइन्छ। एफएम रेडियो स्टेशनहरूले भूकम्पसँग सम्बद्ध जानकारी
नियमित रूपले प्रसारण गर्ने गर्दछन्। नयाँ भवनहरू सकेसम्म भुइँचालो
प्रतिरोधक बनाउने प्रचलन बढ्दै गइरहेको छ। तर कथंकदाचित भुइँचालो गइहाल्यो
भने त्यसबाट उत्पन्न विपत्ति व्यवस्थापनको सार्वजनिक तयारी अहिले पनि
नब्बे सालभन्दा खासै प्रभावकारी हुने देखिँदैन। झ्न् नब्बे सालका धानखेतमा
घर बनिसकेका छन् र अस्थायी रूपले पाल टाँगेर प्रकोप प्रभावित जनसङ्ख्यालाई
राहत पुर्याउन सकिने खुला ठाउँ काठमाडौँका बाक्ला वस्तीहरू छेउछाउ
अब कतै बाँकी छैन।
२०३० को दशकमा काठमाडौँ चक्रपथ खुल्दा त्यसलाई सेतो–हात्ती
संज्ञा दिइएको थियो। ठूलाबडाका छोरी–बुहारीले मोटर सिक्ने बाटो बनेको
थियो चक्रपथ। शीतयुद्धको भूराजनीतिसँग नेपालका सडकहरूलाई जोडेर हेर्ने
सामरिक विश्लेषकहरू भन्ने गर्थेः अब चिनियाँहरू केही घण्टा भित्रै
अरनिको राजमार्गबाट आएर काठमाडौँ घेर्न सक्छन्। तर त्यतिबेला चक्रपथको
औचित्य आर्थिक विश्लेषण वा सामरिक महवभन्दा पनि विपत्ति व्यवस्थापनको
दृष्टिकोणबाट हेरिएको थियो। काठमाडौँको वस्ती बाक्लिएर चक्रपथ बाहिर
यति छिट्टै पोखिएला भन्ने कुरा अनुमान गर्न त्यसबेला गाह्रो थियो।
तर शहरी आवादीलाई तीब्र सार्वजनिक सवारी सेवा चाहिनेछ र त्यसका लागि
चक्रपथले पूर्वाधारको काम गर्नेछ भन्ने तर्क तिनताक पनि नतेर्स्याइएको
होइन।
चक्रपथको अवधारणासँगै यसको दुवैतिर हरित पेटी (ग्रीन
बेल्ट) राख्ने निर्णय भयो। तीब्र सवारी साधनले ल्याउने वायु प्रदूषण
र कम्पन कम गर्न रूखहरू उपयोगी हुनेछन् भन्ने अनुमानमा छिटो बढ्ने
अग्लो रूखहरू अभियानकै रूपमा रोपिए। त्यतिबेला रैथाने रूखका फाइदाहरूबारे
सोच्ने फुर्सद कसैलाई भएन। हरित पेटी सँगसँगै चक्रपथ छेउछाउ खुल्ला
ठाउँ राख्नुपर्छ भन्ने आशय राजदरबारबाट व्यक्त भयो। सुनिए अनुसार तत्कालीन
अधिराजकुमार ज्ञानेन्द्र त्यस विचारका प्रणेता थिए। त्यसबेला दरबारको
कुरा हुँदा 'भनिएको–सुनिएको' भन्दा भरपर्दो अरू कुनै सूचना सूत्र थिएन।
हुन त दरबारका बारेमा किटानीका साथ केही भन्न सकिने अवस्था अहिले पनि
छैन र शायद राजतन्त्र समाप्त नभएसम्म त्यसो सम्भव पनि हुने छैन।
अग्रसरता जसले लिएको भएतापनि यातायात कार्यालय रहेको
एकान्तकुनाको जग्गा, खेलकुद परिसरले प्रयोग गरिरहेको सातदोबाटोको जमिन,
हाल सञ्चारग्राम रहेको सिनामङ्गलको जग्गा, महाराजगञ्जमा शंख पार्क
बनेको ठाउँ तथा स्वयम्भू–छाउनी नजिक सेनाले कब्जा गरेको भूमि चक्रपथ
छेउछाउ खाली ठाउँ बाँकी राख्ने उद्देश्यका साथ सडक विभागमार्फत् अधिग्रहण
गरिएको थियो। हाल तिलगङ्गा आँखा अस्पतालले प्रयोग गरिरहेको जमिन पनि
महाशिवरात्रिमा तीर्थालुहरूको बसपार्कको रूपमा प्रयोग गर्ने तर अरूबेला
भने 'खाली ठाउँ' (ओपेन स्पेस) रहने भनेर लिइएको हो। ठूला मान्छेहरू
ऊबेला पनि ठूलै कुरा गर्थेः प्लाजा बनाउने, पिकनिक स्थल बनाउने, पार्क
राख्ने आदि इत्यादि। तर इञ्जिनियरहरूको सोच अत्यन्त व्यावहारिक थियोः
काठमाडौँमा कुनै विपत्ति आइलाग्यो भने झ्ण्डै ५० हजार जति पाल टाँग्ने
ठाउँ यी ५–६ चौरले पुर्याउन सक्ने छन्। प्रत्येक चौरको छेउ पानी र
शौचका लागि सानै भए पनि खोला थियो।
आवश्यक आकस्मिक दाउराको आपूर्ति चक्रपथको हरित पेटीबाट
नै हुन सक्नेछ भन्ने अनुमान गरिएको थियो। हेलिप्याडका लागि ठाउँ बनाउन
गाह्रो नहुने कुना बारे स्थल निरीक्षण गर्दा कुरा हुन्थे। सबै कुरा
नेपाललाई स्वीट्जरल्याण्ड बनाउने सपना जस्तै भताभुङ्ग भए।
हुन त काठमाडौँ देउताहरूको उपत्यका हो। यहाँ मन्दिर छन्, चैत्य र गुम्बा
छन्, मस्जिद छन्, गुरुद्वारा छन्, चर्च छन् र छन् अन्य अनेकन प्रार्थना
गृहहरू। आशा गरौँ नब्बे सालको जस्तो भुइँचालो फेरि कहिल्यै नआउला।
तर कल्पना गरौँ त्योभन्दा केही सानै भूकम्पले काठमाडौँ हल्लाउँछ। चोभारमा
पहिरो गएर उपत्यकाको निकास थुनिन्छ। नब्बे सालमा जस्तै पानी परेर खोलाहरूको
सतह बढेको छ। बागमती, विष्णुमती र धोवीखोलाको वहाव क्षेत्र कब्जा गरेर
बनाइएका घरहरू भुइँचालोेले चर्किएका छन्। ती भित्र पानी पस्छ। बलियो
घरले त भनौँ दोहोरो प्रहार पनि थाम्ला। तर कहाँ जाने छन् कमजोर घरका
वासिन्दाहरू अस्थायी आश्रयका लागि? चक्रपथ त पल्टिएका मोटरहरूले नै
भरिभराउ भइसकेको हुनेछ। कुनै बेला एसियाको सबभन्दा ठूलो कवायद–चौर
(परेड ग्राउण्ड) मानिने टुँडिखेल अब भकुण्डो खेल्ने चौर बनिसकेको छ।
खाली ठाउँ मासिँदै जानुमा कुनै एउटा व्यक्ति वा संस्थालाई
दोष दिएर उम्किने ठाउँ छैन। कुनै बेला नून छरेर उस्सर चौर सार्वजनिक
पार्ने समाजमा बढ्दो व्यापारिकताले गर्दा खाली ठाउँ देख्नै न हुने
भइसकेको छ। राजपरिवारले टेकु पुलको ट्राफिकलाई प्रभावित गर्ने गरी
भाडा–परिसर निर्माण गराएको छ। त्रिपुरेश्वरमा त्रिभुवन विश्वविद्यालयको
जग्गामा व्यापारिक भवन ठडिएको छ। आपदविपदका बेला कहाँ खोज्ने काठमाडौँका
वासिन्दाले अब खाली ठाउँ? काठमाडौँको जस्तै स्थिति नेपालका अधिकांश
शहरी क्षेत्रहरूमा उत्पन्न हुँदै गइरहेको छ।
विपत्ति व्यवस्थापनका विभिन्न आयामहरू छन्। आकस्मिक
उद्धार, अल्पकालीन खाना र पानीको व्यवस्था, उपचारको उपाय, सान्त्वनाका
लागि परामर्श र सम्पर्क सेवा, पुनःनिर्माण र पुनःस्थापन जस्ता मुद्दाहरू
सल्टाउन वर्षौँ लाग्न सक्दछ। टेक्ने खाली र सुरक्षित ठाउँ भने तुरुन्तै
चाहिन्छ। विपत्ति सचेतता कार्यक्रमहरूमा खुला ठाउँको महवबारे प्रचारप्रसार
गर्न जरुरी छ।
|