हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट तन्नेरी

नताकौं मुख कसैको

बाबुआमालाई 'पकेट खर्च' को हैरानी दिन नचाहने युवाहरू पढाइसँगै सानोतिनो काममा अल्झिँदै आत्मनिर्भरताको अभ्यास गरिरहेका छन्।

प्रेरणा मरासिनी

किरण पाण्डे
बायाँबाट क्रमशः शशांक श्रेष्ठ, स्वरुप रञ्जित, रामचन्द्र गिरी, उमेश मानन्धर र मिरु वैद्य।

गुल्मीबाट काठमाडौँ पढ्न आएका रामचन्द्र गिरी अहिले बुबाआमासँग पैसा माग्दैनन्, कोठाभाडा, पढाइ र खाना खर्च आफैँ व्यहोर्छन्। बिहान कलेज, दिउँसो अफिस अहिले उनको रुटिन बनेको छ। वैशाख २०६३ मा कक्षा १२ को परीक्षा दिएपछिको खाली समय सदुपयोग गर्न उनले राजधानीको बी एण्ड बी असोसियट्स नामक संस्थामा 'अन द जब' ट्रेनिङ श्ाुरु गरेका छन्। आफ्नो कामबारे उनी भन्छन्, “अफिसमा तालिम लिने अनि फिल्डमा गएर अडिटिङ गर्ने।” रु.१५०० को मासिक भत्ताबाट शुरु भएको उनको कमाइ अहिले करिब दोब्बर भएको छ। सरस्वती बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रामचन्द्र गर्वसाथ सुनाउँछन्, “आवतजावतको खर्च जोगाउन यसैबाट एउटा साइकल पनि किनेको छु।”

मोफसलबाट पढ्नका निम्ति राजधानी आउने रामचन्द्र जस्ता कैयन् विद्यार्थीको बाध्यता हो पढाइसँगै काम। तर राजधानीवासी सम्पन्न परिवारका छोराछोरीमा समेत पढ्दापढ्दै आफ्नो खुट्टामा उभिने रहर देखिन थालेको छ। यस्तै एक उदाहरण हुन् बाङ्गेमुढा निवासी मिरु वैद्य। एसएलसीपछि कलेज टेक्नासाथ साना केटाकेटीलाई ट्युसन पढाएर 'पकेट मनी' को जोहो गरेकी मिरुले आइकम सिध्याएपछि ठमेल डट कममा जुनियर वेब डिजाइनरको काम शुरु गरिन्। “सोखका रूपमा फोटोसप चलाउँदा राम्रै हात बसेकाले मैले त्यहाँ काम गर्ने मौका पाएकी हुँ”, उनी सुनाउँछिन्।

मिरुका अनुसार, काम थालेको केही समयमै उनको पदोन्नति भयो। त्यहीँ काम गर्दागर्दै उनले पिपल्स क्याम्पसबाट बीबीएस गरिन्। कलेज भ्याएर अफिस जाँदा केही ढिला भएपनि उनलाई छूट थियो। कारण उनको मेहनतबारे अफिस जानकार थियो। वेब डिजाइनिङबाटै उनले पढाइ खर्च जुटाइन्। आफ्नो कमाइबाट जीवन बीमासमेत गरिसकेकी छन्। हाल राजधानीकै सिमि्रक सलुसन्स् मा कार्यरत २४ वर्षीया मिरु भन्छिन्,“भोलिका लागि पनि त जम्मा गर्नुपर्‍यो।”

तर रामचन्द्र तथा मिरुको जस्तो मौका सबैले नपाउन सक्छन्। अधिकांश संस्थाहरूले अनुभवीलाई मात्र जागिर दिने भएकाले काम गर्ने जोश, जाँगर भएकाहरू पनि हात बाँधेर बस्न बाध्य छन्। यस्तो समस्यामा के गर्ने त? “इन्टर्नसीप गर्ने”, भन्छन् गुडविल फाइनान्स कम्पनीका सिस्टम एडमिनिस्ट्रेटर उमेश मानन्धर। शङ्करदेव क्याम्पसमा एमबीएस अध्ययनरत उमेशले बीआईएम गर्दा नै गुडविल फाइनान्समा एउटा निवेदन तथा आफ्नो व्यक्तिगत विवरण छोडेका थिए, जसको मूल्याङ्कनबाट उनले इन्टर्न (प्रशिक्षार्थी) का रूपमा काम गर्ने मौका पाए। “आठहप्ते इन्टर्नसीपमा मैले बनाएको एउटा सफ्टवेयर कम्पनीले सफलतापूर्वक प्रयोग गर्‍यो”, उनी खुशीसाथ सुनाउँछन्। इन्टर्नसीपलगत्तै उनले रु.१० हजार माथिको जागिर पाएका थिए।

अहिले पकेट खर्च, पढाइ र अन्य सबै निजी खर्चका निम्ति उमेश आत्मनिर्भर छन्। किस्ताबन्दीमा एउटा मोटरसाइकल समेत किनेका छन्। इन्टर्नसीप गर्न कसरी जाने त? उनी भन्छन्, “आफ्नो रुचि, दक्षताअनुसार आफूलाई सुहाउने खालको संस्थामा एउटा निवेदन र कलेजको सिफारिसपत्रका साथ जाने र आफ्नो इच्छाबारे जानकारी गराउने।” सबै संस्थाले इन्टर्नहरूलाई पारिश्रमिक नदिने हुनाले केही समयलाई पैसाको जोहो आफैँ गर्नुपर्ने उनको सुझ्ाव छ।

“तर हामीकहाँ आउने इन्टर्नस्लाई हामी राम्र्रै पारिश्रमिक दिन्छौँ, कसैको श्रम सित्तैँमा प्रयोग गर्नुहुन्न भन्ने हाम्रो मान्यता छ”, भन्छन् गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधर। ६–७ वर्षयता मात्र आफ्नो संस्थाले करीब ३० जना इन्टर्न लिएको र प्रायः सबैले त्यहीँ जागिर पाएको उनी बताउँछन्। अनुभवीभन्दा बढी नयाँ र उत्साहीलाई प्राथमिकता दिने जानकारी गराउँदै उनी भन्छन्, “बीबीए र बीआईएम जस्ता व्यवस्थापन तथा व्यापारसम्बन्धी विषयका विद्यार्थी इन्टर्नसीप गर्न चाहन्छन् भने हामी स्वागत गर्दछौँ।” यस्ता इन्टर्नलाई संस्थाका अरू जागिरेसरह वातावरण र कामको अवसर दिइने तुलाधरको दाबी छ।

बैंक अफ काठमाण्डूमा कार्यरत अनिता उपाध्यायले पनि उमेशले जस्तै इन्टर्नशीप गरेर जागिर पाएकी हुन्। बीबीएसको परीक्षापछि घरमा खाली बस्न उनलाई मन थिएन, त्यसैले पत्रपत्रिकाबाट पाएको जानकारीका आधारमा ब्याङ्किङ कोर्स लिन शुरु गरिन््। कोर्स पूरा नगर्दै उनले बैंक अफ काठमाण्डूमा पहिले 'अन द जव ट्रेनिङ' र पछि पार्टटाइम कामको अवसर पाइन्। “पहिले दिनको रु.१०० मात्रै हुन्थ्यो, अभिभावकले त्यति पैसाका लागि यत्रो दौडधुप किन भन्नुहुन्थ्योे”, हाल एमबीएस अध्ययनरत अनिता भन्छिन्, “अहिले दिनको रु.२५० हुन्छ। पार्टटाइम काम गर्ने म जस्तो विद्यार्थीलाई यो राम्रो पारिश्रमिक हो।”

अनिता बिहान ६ बजे कलेज पुग्छिन् भने ८ः३० मा अफिस। दिउँसो दुई बजेसम्म काम गरेपछि उनी अकाउन्ट्स विषयको ट्युशन लिन पुग्छिन्। काम र पढाइ सँगसँगै लान कुनै समस्या नभएको सुनाउँदै उनी भन्छिन्, “कलेजको र ट्युशन फी आफैँ तिर्न पाउँदा एक किसिमको आनन्द लाग्छ।” यसका अलावा उनले निजी कम्प्युटर किनेकी र ब्याङ्कमा वचत खाता पनि खोलेकी छन्।

बूढानीलकण्ठबाट गत वर्ष 'ए' लेभल सकेर खाली बसेका स्वरुप रञ्जित र शशाङ्क श्रेष्ठलाई पनि विद्यार्थीमा सीमित हुन मन लागेन। युवा पत्रिका वेभ मा इन्टर्नसीप गर्न पुगेका शशाङ्कले राम्रो अङ्ग्रेजी लेखनका कारण जागिर नै पाइसकेका छन् भने त्यहीँ इन्टर्नसीप गरिरहेका फोटोग्राफीमा दख्खल राख्ने स्वरुप पनि यस्तै अवसरको पर्खाइमा छन्। अहिले सो पत्रिकामा फोटो स्तम्भकार बनेका स्वरुप भन्छन्, “मैले आफूले जानेको कुराको उपयोग गरेँ, सँगै थुप्रै कुरा सिक्ने अवसर पाएँ।”

के के पाइन्छ?
यी तन्नेरी जागिरेसँग एकसाथ धेरै कुरा पाएको अनुभव छ। रामचन्द्र भन्छन्, “मैले भोलिका लागि एउटा आधार बनाएको छु, अहिलेको अनुभवका कारण पढाइ सकिएपछि पनि खाली बस्नुपर्दैन।” मिरुको विचारमा, उनले आफ्नो पहिचान बनाउन पाएकी छन्। उनी भन्छिन्, “मेरो सर्कलमा साथीहरूले मलाई वेब डिजाइनर भनेर चिन्छन्। यो चिनारीमा मलाई गर्व छ।” उमेशसँग आत्मविश्वास र व्यक्तिगत सम्पर्क निकै बढेको अनुभव छ। उनी भन्छन्, “मैले गर्ने काममा जस्तोसुकै समस्या आएपनि सुल्झ्ाउन सक्ने आत्मविश्वास बढेको छ।” डेढ महिनाअघि मात्रै विवाहबन्धनमा बाँधिएकी अनिता भोलि विदेशै जानुपर्‍यो भने पनि कुनै दिन खाली बस्नु नपर्ने विश्वास र दक्षता बढेको बताउँछिन्।

राम्रो लेखन क्षमता भएकालाई मिडियामा, व्यवस्थापन र कम्प्युटर विज्ञान पढेकालाई ब्याङ्क तथा कम्प्युटरसम्बन्धी संस्थामा काम पाउन सजिलो छ। यसबाहेक, अङ्ग्रेजी राम्रो लेख्न जान्नेले राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा सजिलै अवसर पाउँछन्। अनिता भन्छिन्, “घरमा बसेर जागिर पाइँदैन, पत्रपत्रिका हेर्ने तथा चिनेको ठाउँमा सम्पर्क गर्ने बानी बसाल्नुपर्छ, शुरुमै पैसालाई महव दिनुहुँदैन, काम गर्ने अवसर हात पारेपछि बाटो खुल्दै जान्छ बिस्तारै बिस्तारै ...।”