| •
ऋतुराज |
 |
ऋतुविचार
राष्ट्रगान
होइन राष्ट्रधुन
गीत
त कवि वैरागी काइँला पनि लेख्थे। उनले लेखेका गीतले कति जनलाई वैरागी
तुल्याए कुन्नि! तर अर्का कवि व्याकुल माहिलाको गीतले त यता धेरैलाई
आकुल–व्याकुल तुल्यायो। उनले लेखेको गीतलाई राष्ट्रगान बनाउन ठीक छ
भनेर कोही व्याकुल माहिलाको गीतका पक्षमा तर्क गर्ने। कोही बेठीक भनेर
बहस गर्ने। त्यस वादविवादले गर्दा त्यो गीत राष्ट्रगान नभई 'राष्ट्रबाण'
पो बन्न पुगेको देखिन्छ। त्यसको सिफारिसमै यत्रो रडाको मच्चिएको छ,
कथम् त्यही गीत नै राष्ट्रगान बनेको खण्डमा त त्यसको विरोध गर्नेहरूलाई
त त्यो बाण नै हुनेछ। फेरि त्यसको पक्षमा बहस–पैरवी गर्नेहरूलाई पनि
त्यस्तै बाण लाग्नेछ राष्ट्रगानका रूपमा त्यो गीत नछानिएमा।
वास्तवमा दस हरफमा अढाई करोडको भावनालाई अभिव्यक्ति
दिनु चानचुने कुरा होइन। महाकवि देवकोटालाई पनि सबै नेपालीको चित्त
बुझाउन हम्मे पर्ने थियो होला। आदिकविको प्रयासलाई पनि 'आधी' ले मात्र
मान्ने थिए होलान्। ठाउँपिच्छे मान्छे फरक छन्।
मान्छेपिच्छे बोली फरक छ। हिमाल भन्यो भोट छुट्छ। पहाड
भन्यो बेँसी छुट्छ। मधेश भन्यो तराई रुष्ट हुन्छ। डम्फु भन्यो ढोलक
छुट्छ। वीर भन्यो वीराङ्गना छुट्छ। वीराङ्गना पनि थप्यो, वीर र वीराङ्गनाबीचको
समूह छुट्ला। गुरुदेव कहलिएका रवीन्द्रनाथ ठाकुरद्वारा लिखित राष्ट्रगानले
पनि पूरै भारतवर्षलाई समेट्न नसकेको गुनासो पहिल्यैदेखि छ।
राष्ट्रगान त राष्ट्रलाई जुटाउने हुनुपर्यो, राष्ट्रलाई
फुटाउने होइन। तर यस्तो लाग्छ कुनै शब्द अब पर्याप्त साबित हुनेछैन
राष्ट्रलाई जुटाइराख्न। एउटै शब्दको अनेक अर्थ निकाल्न सकिन्छ, अनेक
व्याख्या गर्न सकिन्छ। यो समस्याको जड नै कविले कोरेको गीतका गेडाहरू
अर्थात् शब्दहरू हुन्। अब कसरी सबैको चित्त बुझाउने?
एउटा महान् 'आइडिया' आएको छ यस अकिञ्चनको दिमागमा। अब
राष्ट्रगान नै नराख्ने। त्यसको सट्टा 'राष्ट्र–धुन' राख्ने― सिरिफ
सङ्गीतको धुन।
नेपालले मिल्काएको राष्ट्रगान बखतवीर बुढापीर्थीले बनाएको
सङ्गीत धुनका कारण नभई चक्रपाणि चालिसेले लेखेका शब्दका कारण न हो!
कुनै शब्द नजोडिएका कारण पञ्चायती बेलाकै धुन सरकारी टेलिभिजनमा अद्यावधि
बजिरहेकै छ क्यारे। कसैलाई आपत्ति भएको छैन त्यसबाट।
त्यसैले अब केवल राष्ट्रधुन राख्ने। राष्ट्रधुन मात्र
कतै हुन्छ भन्नुहोला। तीनकुने झन्डा नेपालबाहेक कसैको छ? झन्डा, सगरमाथा,
बुद्ध, भृकुटी― नेपालको जे कुरा पनि विशिष्ट हुन्छ। अरूकहाँ नभएका
कुरा यहाँ छन्, भएका कुरा यहाँ हुँदैनन्। हामीले राष्ट्रगान नराखेर
राष्ट्रधुन मात्र राख्दा कसैको टाउको किन दुख्ने?
ज्यान आफाल्ने कारण
दुई पत्रकार मित्र आपसी वार्तामा मग्न भएको बेला यस अज्ञानीले प्रवेश
गर्यो त्यस स्थलमा र एक जना पत्रकारले गरेको प्रश्न उसका कानमा पर्यो।
“आखिर त्यो कारण के हो जसले गर्दा हाम्रा युवाहरू आफ्ना ज्यान आफाल्न
तयार हुन्छन्?” सन्दर्भ नबुझी अज्ञानीका मुखबाट जवाफ निस्किहाल्यो,
“त्यो कारण हो मोटरसाइकल। हाम्रा युवाहरूले जानाजान ज्यान आफाल्ने
कारण त्यही हो।”
नभन्दै ती मित्रले गरेको प्रश्नको सन्दर्भ अर्कै रहेछ।
उनको प्रश्नको अभिप्राय त हाम्रा ग्रामीण इलाकाका युवाहरूलाई बन्दुक
समात्न लगाउने र उनीहरूलाई प्राण दिन तत्पर बनाउने कारण के हो भन्ने
रहेछ। त्यस्तो गुरु–गम्भीर दार्शनिक प्रश्नको हल्काफुल्का जवाफ दिन
पुगेछ यो अज्ञानी। आफूले देखेको र बुझेको जे हो त्यही सोझो कुरा बताइयो।
अनि आफूले देखेको त्यही हो― प्रत्येक महिना, प्रत्येक हप्ता, प्रत्येक
दिन युवाहरूले ज्यान फालिरहेछन्, त्यही जाबो मोटरसाइकलका कारण।
माओवादीले हतियार उठाएदेखि मुलुकमा कति मानिस मारिए,
कतिले ज्यान गुमाए भन्ने कुराको त केही न केही लेखाजोखा छ। तर जुन
दिनदेखि नेपालका सडकमा दुईपाङ्ग्रे भटभटे चल्न थाल्यो त्यस बेलादेखि
अहिलेसम्म कति जना त्यसकै कारणले मरे होलान् त्यसको कुनै लेखाजोखा
नै छैन।
आफैँले हाँकेको दुईपाङ्ग्रेको दुर्घटनामा परेर हात–गोडा,
आँखा गुमाउने, करङ र कुम खुस्काउने, खप्पर फोराउने कति छन् कति भनिसाध्ये
छैन। जोरपाटीको अस्पतालमा पनि भेट्न सकिन्छ हर खुस्किएर हल न चल भइबसेकाहरू।
त्यस्तो करुण कथा बोक्ने घरपरिवार असङ्ख्य छन्।
साँच्चि, मोटरसाइकलको ह्यान्डलमा हात परेपछि दायाँबायाँ
केही विचार नगरी ज्यानलाई हत्केलामा राखेर उडाउँछन् तन्नेरीहरू। जसरी
भए पनि अरुलाई उछिन्नै पर्ने, ठाउँ न ठहर मोटरसाइकललाई घुसार्नै पर्ने,
सबैलाई जोन अब्राहम बन्नै पर्ने। चम्बलमा दस्यु सरी नकाबले मुख छोपेका
छन्, मोटरसाइकल उडाएका छन्, फूर्ति देखाएर बाङ्गोटिङ्गो चलाएका छन्।
गजब छ― डर न भर! आखिर त्यस्तो बित्दो कुरो के हुँदो हो त्यसरी हतारिनुलाई?
काठमाडाँैको गौशाला चोकमा ट्राफिक प्रहरीले ठूलो होर्डिङ
बोर्डमा सवारी दुर्घटनाको मासिक तथ्याङ्क दिने गरेको छ। त्यसमा दुर्घटनामा
परी मर्नेहरूको सङ्ख्या पनि तोक्ने गरेको पाइन्छ। त्यसमा पनि अझ मोटरसाइकल
दुर्घटनामा परी ज्यान गुमाउनेहरूको सङ्ख्या खुलाइदिने गरेको भए राम्रो
हुनेथियो। अनि केवल उपत्यकाको होइन, जिल्ला जिल्लाको र देशभरिकै त्यस्तो
तथ्याङ्कलाई देखाउन र अखबार, रेडियो तथा टिभीबाट समेत त्यस तथ्याङ्कलाई
प्रचार गर्न पाए झन् राम्रो हुन्थ्यो। त्यसो गरेमा ज्यानलाई हत्केलामा
राखेर बलिदानी भावमा मोटरसाइकल उडाउनेहरूको चेत खुल्नेथियो कि?
आफ्नो 'आई क्यु' बढाउनुहोस्
प्रश्नः सबभन्दा धेरै समय लागेको भवन मरम्मत आयोजना कुन हो?
उत्तरः हाल संस्कृत पाठशाला भनिने पहिलेको तीनधारे पाकशाला भवनको मरम्मत
आयोजना। यसले यस सालको बर्खा खायो, दशैँ खायो आउँदो चैते दशैँ पनि
खानेछ र शायद अर्को सालको बर्खा पनि!
प्रश्नः ट्र्याक्टर चल्ने मुस्ताङको कच्ची सडकभन्दा
रद्दी सडक काठमाडौँको मुटुमा कहाँ छ?
उत्तरः लाजिम्पाट रानीबारी भएर सामाखुसी टाउनप्लानिङ पुग्ने सडक। पानी
परेका बेला खोलै बग्ने त्यस सडकले मुस्ताङको भूमि मात्र होइन, चन्द्रमाको
सतहलाई पनि माथ गर्छ।
|