हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट जेष्ठ नागरिक कानून

छोराबुहारी होशियार!

अब बाबुआमालाई हेरचाह नगर्ने, घरबाट निकालेर वा वृद्धाश्रममा राखेर उनीहरूकै सम्पत्तिमा रजाइँ गर्ने छोराबुहारी वा नातेदारलाई जेल सजायसम्म हुनसक्छ।

हिमाल टिम

किरण पाण्डे

तपाइँ कतै वृद्धवृद्धालाई पाल्न झ्न्झ्ट मानेर हेलाँ गरिरहनुभएको त छैन? कि निकालेर वा वृद्धाश्रममा पठाएर उनीहरूको सम्पत्ति प्रयोग गरिरहनुभएको छ? यस्तो गर्ने छोराबुहारी, नातिनातिना वा नातेदारलाई कारबाही गर्ने कानून बनेको छ।

प्रतिनिधसभाले भर्खरै 'ज्येष्ठ नागरिक सम्बन्धी ऐन–२०६३' पारित गरेको छ। ८ मङ्सिरमा सभामुख सुवास नेम्वाङले प्रमाणीकरण गरेपछि लागु भएको सो ऐनले ज्येष्ठ नागरिकको इच्छा विपरीत उसलाई परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य बनाउन नसकिने तथा आफ्नो अंश लिई अलग बस्न चाहेको अवस्थामा बाहेक परिवारका सदस्यले आफ्नै साथमा राखी पालनपोषण गर्नुपर्ने व्यवस्था गरेको छ। यसका साथै कानूनले सरकारले तोकेको सार्वजनिक सवारी साधनमा वृद्धवृद्धाका लागि सीट आरक्षित गर्नुपर्ने, ६० वर्ष नाघेका वृद्धवृद्धालाई सार्वजनिक सवारी साधनको भाडा र अस्पताल वा स्वास्थ्य केन्द्रको उपचार सेवामा लाग्ने खर्चमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था पनि गरेको छ।

कानूनले परिवार वा नातेदारले वृद्धवृद्धाको सम्पत्ति जबर्जस्ती हडप्ने प्रवृत्तिलाई पनि अन्त्य गर्न खोजेको छ। कानूनमा भनिएको छ, “प्रचलित कानून बमोजिम अंशबण्डा गरिरहनुनपर्ने, आफ्नो अंश भागको चलअचल र सोबाट बढे बढाएको सम्पत्ति ज्येष्ठ नागरिकले आफूखुसी गर्न पाउनेछ।” कानून सुधार आयोगका उपाध्यक्ष हरि न्यौपाने भन्छन्, “सम्पत्ति हडप्न नपाएपछि छोरा, बुहारी र परिवारका अन्य नातेदारले वृद्धवृद्धालाई एक्ल्याउने सम्भावना कम हुन्छ। यसले पनि वृद्धवृद्धाका लागि केही हदसम्म संरक्षण दिन्छ भनेर यो व्यवस्था राखिएको हो।” समाज कल्याण मन्त्रालयका प्रवक्ता सुशील घिमिरे थप्छन्, “छोराबुहारीले वृद्धवृद्धामाथि गर्ने दुर्व्यवहार रोक्न र अन्यायमा परेकालाई कानूनी उपचारका लागि बाटो खोलिदिन कानून बनाइएको हो।”

यस्तो कानून पहिल्यै बनेको भए अहिलेसम्म धेरै छोराबुहारी, नातिनातिना वा नातेदार कारबाहीमा परिसक्थे। २३० जना वृद्धवृद्धाले आश्रय लिएका मुलुकको सबैभन्दा पुरानो पशुपति समाज कल्याण केन्द्र (वृद्धाश्रम) को अनुभवले पनि यही देखाउँछ। केन्द्रका प्रमुख वासुदेव देउजाका अनुसार यहाँ आउनेहरूमा परिवारबाट लखेटिएका, अलपत्र पारिएका, सन्तान नभएका र सम्पत्ति नातेदारले हडपेपछि यता न उता भएका वृद्धवृद्धा धेरै छन्। वृद्धाश्रममा आश्रय पाउन असहाय, बेसहारा र सम्पत्तिहीन हुनुपर्ने हुनाले केहीले झ्ूटो विवरण दिएका पनि हुनसक्छ।

२१ पुसमा पशुपति वृद्धाश्रममा भेटिएका बनेपाका ८३ वर्षीय विष्णुगोपाल रञ्जितकार छोराबुहारीको रुखो वचन सहन नसकेर आएको बताउँछन्। रञ्जितकारका भनाइमा, उनका भाइ र बुहारीहरूले सबै सम्पत्ति खाइदिए, अदालतबाट पनि न्याय भएन, त्यसैले उनी यहाँ आएर जीवन बिताइरहेका छन्। उनी भन्छन्, “मलाई घुर्की लगाए। खान सक्ने, काम गर्न नसक्ने भनेर गाली गरे। बुहारीको रुखो बोली र व्यवहार सहन सकिनँ, अनि दिक्क लागेर घर छोडेँ।” काठमाडौँ, लगनटोलबाट पशुपति वृद्धाश्रम पुगेकी ७७ वर्षीया बेखामाया शाक्यको आफ्नै दुःखेसो थियो, “सम्पत्ति जति ज्वाइँले खाइदिए, नाति/नातिना थुप्रै छन्। तर कसैले हेरेनन्।” कुरा गर्दागर्दै उनी रुन थालिन्।

वृद्धवृद्धाप्रति चरम उपेक्षा छ भनेर सरकारी–गैरसरकारी सबै क्षेत्रले स्वीकार गरेका छन्। शान्ति आश्रम भन्ने गैरसरकारी संस्थाको पहलमा समाज कल्याण मन्त्रालयले प्रकाशित गरेको 'नेपालमा ज्येष्ठ नागरिकहरूको स्थिति' शीर्षकको पुस्तकमा भनिएको छ, “वृद्धहरू आफ्नै परिवार र राष्ट्रबाट एक्लो र उपेक्षित बन्न थालेका छन्। वृद्धहरूले भोग्नुपरेका समस्यामा कमजोर स्वास्थ्य स्थिति, विभिन्न रोगको शिकार, एक्लोपन, आर्थिक कमजोरी, उचित हेरचाहको अभाव, बाहिरी सम्पर्कको कमी, उपेक्षित वातावरण, उदासीनता हुन्। नेपालको परम्परागत मूल्य र मान्यतामा आएको ह्रासले गर्दा आफ्ना परिवारबाट वृद्ध आमाबाबुले उचित मानसम्मान, आदर र मान्यता पाउन सकेका छैनन्।”

व्यस्त जीवनशैली, सोचाइमा परिवर्तन र स्वार्थी प्रवृत्तिले गर्दा ज्येष्ठ नागरिकहरू झ्न् झ्न् असहाय बन्दै गएको विज्ञहरूको भनाइ छ। समाजशास्त्री डा. गणेशमान गुरुङ्ग भन्छन्, “श्रीमती, छोराछोरी र आफू मात्र मीठो खाने, राम्रो लगाउने अनि रमाइलो ठाउँमा घुम्न जाने, बूढा बाबुआमाप्रति चासो दिन छाड्ने क्रम भने बढ्दो छ। त्यसैले असहाय वृद्धहरूको सङ्ख्या बढेको हो। मानिसको स्वार्थीपन, व्यक्तिवादी सोचाइ, सधैँभरि व्यस्त हुनुपर्ने बाध्यता, बूढा बाबुआमालाई बोझ्का रूपमा लिने प्रवृत्ति समस्याका कारण हुन्। पश्चिमी संस्कृतिको असर पनि हो यो।”

छोराबुहारीले मतलब नगर्ने, भेदभावपूर्ण व्यवहार गर्ने, होच्याउने गरेपछि दिक्क लागेर कतिपय वृद्धहरू घरबाट भागेेर हिँड्ने, कतिपयले आत्महत्यासम्म गर्ने गरेको गुरुङ्गको विश्लेषण छ। उनी भन्छन्, “जब आफ्ना सन्तानबाट वृद्धवृद्धाले मायाममता र उचित स्याहारसुसार पाउन छोड्छन्, वाक्क भएर घर छोडेर हिँड्छन्।” वृद्धवृद्धा संरक्षण क्षेत्रमा लागेका अनुभवीहरूको भनाइ पनि त्यस्तै छ। पशुपतिस्थित समाज कल्याण केन्द्रमा २०३२ सालदेखि वृद्धहरूको संरक्षणमा क्रियाशील तथा हाल शान्ति आश्रममा ५० वृद्धवृद्धाको सेवा गरिरहेकी सावित्री थापा भन्छिन्, “परिवारले बेवास्ता गरेपछि आफूलाई एक्लो र असहाय महसूस गर्ने वृद्धवृद्धा नै आश्रममा आउने गर्छन्। छोराबुहारीबाट आजित भएर र आफ्ना सन्तानको मुख हेर्न मन नलागेर आश्रममा आउनेको सङ्ख्या ठूलो छ। बूढा बाआमालाई हेर्नुपर्छ, स्याहार गर्नुपर्छ, त्यो मेरो धर्म हो भन्ने संस्कारमा ह्रास आएकाले यो समस्या बढेको हो।”

कानून मस्यौदा समितिमा समेत रहेकी सावित्री थापा छोरा, बुहारी दुबै डाक्टर र छोरी इन्जिनियर भएको काठमाडौँको एउटा परिवारमा बाबुलाई छतमा एउटा सानो कोठामा एक्लै राखिएको र छोरीहरूले माइतबाटै आएर बाबुको स्याहार गर्नु परेको देखेको बताउँछिन्। आफूले डेढ वर्षअघि गरेको अध्ययनले देशभर करीब १२५ वृद्धाश्रममा झ्ण्डै सातसय वृद्धवृद्धा बसेको उनले बताइन्। वृद्धाश्रम बाहिर सडक गल्लीमा पनि भेटिन्छन् जेष्ठ नागरिकहरू। काठमाडौँ, भक्तपुर र ललितपुरका सडकपेटी, मठमन्दिर र पाटीपौवामा माग्न बसेका वा यत्तिकै भौँतारिरहेका वृद्धवृद्धाको सङ्ख्या पनि करीब पाँच सयको हाराहारी रहेको समाज कल्याण केन्द्रका प्रमुख देउजाको अनुमान छ।

केन्द्रीय तथ्याङ्क विभागका उपनिर्देशक बद्री निरालाका अनुसार, २०६३ असार मसान्तसम्ममा मुलुकमा ६० वर्ष नाघेका वृद्धवृद्धाको सङ्ख्या १५ लाख ८१ हजार छ, जसमध्ये पुरुष र महिला लगभग बराबर, क्रमशः ७ लाख ९७ हजार र ७ लाख ८४ हजार, छन्।
नयाँ कानूनअनुसार, ज्येष्ठ नागरिकको पालनपोषण र हेरचाह गर्नुपर्ने कर्तव्य बोकेको परिवारको सदस्य, नातेदार वा हकवालाले एक्ल्याएमा, घरबाट निकालिदिएमा वा हेलाँ गरेमा वृद्धवृद्धाले सम्बन्धित वडा, गाविस वा नगरपालिका कार्यालयमा उजुरी दिन सक्नेछन्। त्यस्तो उजुरीमाथि सुनुवाई गर्ने क्रममा सम्बन्धित कार्यालय प्रमुखले शुरुमा दुवै पक्षबीच मेलमिलाप गर्न लिखित आदेश दिन सक्नेछन्। र, त्यस्तो आदेशको पालना नगर्ने व्यक्तिलाई कार्यालयले जन्म, मृत्यु, विवाह, बसाइँसराइ जस्ता व्यक्तिगत घटना दर्ता, नागरिकता, नाताप्रमाणित, नक्सापास, खानेपानी, बिजुलीको लाइन जडान गर्दा दिनुपर्ने सिफारिस बन्द गर्न सक्नेछ। साथै पीडित वृद्धवृद्धाले दिएका उजुरीका आधारमा थुप्रै छोराबुहारीले कानूनी कारबाहीको सामना गर्नुपर्नेछ। वृद्धवृद्धाका सम्पत्ति हडप्नेले बिगोबमोजिम जरिवाना र एकदेखि पाँच वर्षसम्म कैद वा दुवै सजाय पाउन सक्छन्।

वृद्धवृद्धाका पीडाबारे नीतिनिर्माण तहमा बस्नेलाई त्यति चासो छैन। राष्ट्रिय योजना आयोगका प्रवक्ता श्यामसुन्दर शर्मा पनि ज्येष्ठ नागरिकको हकमा चासो भए पनि पर्याप्त काम हुन नसकेको स्वीकार गर्छन्। १० औं पञ्चवर्षीय योजनामा वृद्धभत्तालाई व्यावहारिक बनाउने, वृद्धहरूका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने र वृद्धाश्रमहरूलाई व्यवस्थित गर्ने भनिए पनि त्यो पूर्ण रूपमा लागु हुन नसकेको उनको कथन छ।

दसौं योजनामा हरेक अञ्चल अस्पतालमा वृद्धवृद्धालाई हेर्ने वेग्लै वार्ड बनाउने, वृद्धहरूको उपचार मात्र हेर्ने विशेषज्ञ (चिकित्सक) तयार पार्ने, गरीब र असहाय वृद्धवृद्धालाई निःशुल्क उपचार गर्ने भनिए पनि ती नीतिमै सीमित भए। अब हेर्नुछ― नयाँ कानूनको पनि त्यही अवस्था हुन्छ कि वृद्धवृद्धाका हितमा क्रियाशील हुन्छ।