रमझम
हेर्ने गीतको बाढी
गीति–भिडियोको बाढी नै आए पनि गीतको भाव र दृश्यमा
कुनै तालमेल नभएका भिडियोहरूले राम्रा गीत, निर्देशक र निर्माताहरूको
समेत धज्जी उडाइरहेका छन्।
• डम्बरकृष्ण श्रेष्ठ
र प्रेरणा मरासिनी
 |
| मोडलः नम्रता श्रेष्ठ, तस्बिर सौजन्यः साइबर नेपाल |
कुने बेला
एउटै गीत गाएर गायक–गायिका श्रोतामाझ् चिनिन्थे तर आजभोलि राम्रो म्युजिक
भिडियो नबनाएसम्म गीतले बजार पाउन मुश्किल हुन्छ। नयाँ कलाकारले आफूलाई
चिनाउन र पुरानालाई दर्शक–श्रोतामाझ् छाइरहन म्युजिक भिडियो बनाउनै
पर्ने अवस्था छ। गायक नवीन के. भट्टराई भन्छन्, “श्रोताले भिडियो नहेरी
हामीलाई नपत्याउने भइसके।”
नेपाली सङ्गीत बजारमा दैनिक सरदर तीन वटा अल्बम थपिन्छन्।
थपिनेमा लोकदोहोरी, रिमिक्स र लोक पप बढी छन्। आफूलाई चिनाउने सजिलो
बाटो भएकोले पनि नयाँ पुराना सबै सङ्गीतकर्मीमा म्युजिक भिडियो बनाउने
होडबाजी नै चलेको छ। निर्माणमा संलग्नहरूका अनुसार हाल मासिक ३० देखि
९० वटासम्म म्युजिक भिडियो निर्माण हुने गरेका छन्। मासिक २० देखि
५० लाख रुपैयाँसम्मको कारोबार हुने यो क्षेत्रमा धेरैले रोजगार पनि
पाएका छन्।
परिणामस्वरुप म्युजिक भिडियो निर्देशन गर्नेहरू पनि
व्यस्त छन्। तीमध्ये एक हुन् आलोक नेम्वाङ। २०५४ सालमा नवीन भट्टराईको
लाखौं पटक... गीतबाट भिडियो बनाउन शुरु गरेका आलोकले करीब २०० गीत
भिज्युअलाइज गरिसकेका छन्। एक भिडियो बनाउन ८० देखि ८५ हजार रुपैयाँ
लिने आलोक कलाकारलाई राम्रो पारिश्रमिक दिने निर्देशकमध्ये पर्दछन्।
 |
| तस्वीर सौजञ्यः अनिल स्थापित |
| मङ्सिरको अन्तिम साता बन्दीपुरमा नवगायक राजन
पाण्डेको गीति भिडियो छायाङ्कन गर्दै निर्देशक आलोकको टोली। |
“सिने कलाकारलाई ३५ हजारसम्म दिएको छु तर त्यस्ता भिडियोको
निर्माण खर्च भने रु.१ लाखभन्दा बढी पर्न आउँछ” उनी सुनाउँछन्। आलोकले
क्यामेराम्यान विदुर पाण्डे तथा प्रकाश तुलाधरका साथ बीएपी (बाप) नामक
प्रोडक्सन कम्पनी खोलेका छन्।
डेढ सयभन्दा बढी गीतमा निर्देशन गरिसकेका भूषण दाहालले
दश वर्षअघि निमा रुम्बाको मिस क्याटवाक... गीतबाट व्यावसायिक भिडियो
बनाउन थालेका हुन्। दाहाल आफूले एउटा गीतको भिडियो बनाएको रु.७० हजारसम्म
लिने गरेको बताउँछन्। नेपथ्य समूहको सा.. कर्णाली... गीतमा रु.८ लाख
खर्च भएपनि त्यसबाट निर्देशकीय पारिश्रमिक नलिएको उनले बताए। गीतलाई
व्यावसायिक सफलता दिन म्युजिक भिडियोलाई अपरिहार्य ठान्ने दाहाल नेपालमा
कम लगानीमै भारतमा भन्दा राम्रो म्युजिक भिडियो बन्ने गरेको बताउँछन्।
भन्छन्, “नयाँ प्रविधिबाट युवाहरूले धेरै राम्रो काम गरिरहेका छन्।”
दाहालका सा..कर्णाली..., ठूला ठूला महल..., कुन माया सदर भो... राम्रा
म्युजिक भिडियोमा पर्छन्।
 |
| भूषण दाहाल |
२०४१ सालमा नेपाल टेलिभिजनको स्थापनासँगै शुरु भएको
म्युजिक भिडियो निर्माणमा त्यो समयमै रोशनप्रताप राणा, सहजमान श्रेष्ठ,
शम्भुजीत बाँस्कोटाले गीतका भिजुअलहरू टेलिभिजनमार्फत् घर–घरमा पुर्याएका
थिए। त्यो बेला गायक–गायिका आफैँले भिडियोमा मोडलिङ गर्थे।
तर अहिले कथानकसहित छोटो चलचित्रकै रूपमा म्युजिक भिडियोको
विकास हुँदैगएको छ, सँगसँगै यसको निर्माण पनि खर्चिलो हुँदैछ। म्युजिक
भिडियोलाई नयाँ रूपमा दर्शकमाझ् पुर्याउने पहिलो श्रेय चाहिँ इमेज
च्यानललाई जान्छ। इमेजले शुरुमा रु.१०/१५ हजारमा बनाउने म्युजिक भिडियोमा
अहिले डेढ, दुई लाख रुपैयाँसम्म खर्च हुने गरेको छ। अहिले ५० भन्दा
बढी निर्देशक र समूह यो व्यवसायमा सक्रिय छन्।
 |
| आलोक नेम्वाङ |
सिमोस सुनुवारले पनि करीब ३० गीतलाई भिडियोमा उतारिसकेका
छन्। भिडियोमा कम्प्युटर ग्राफिक्स प्रयोग गरेर २०६० सालमा आस्था ब्याण्डको
गीतका लागि प्रयोगमूलक भिडियो बनाएका सिमोस भन्छन्, “मलाई अलि 'फास्ट
म्युजिक' मन पर्छ त्यसमा म ग्राफिक्स प्रयोग गर्न सक्छु।” ग्राफिक्सको
प्रयोगसहित एउटा भिडियो बनाएबापत रु.१ लाख लिने सिमोस म्युजिक भिडियो
फिल्डका महँगा निर्देशक मानिन्छन्। छायाङ्कन, सम्पादन, तथा निर्देशनको
काम आफैँ गर्दा पनि किन यति महँगो त? उनी भन्छन्, “ग्राफिक्सको खर्च
महँगो हुन्छ अनि मोडललाई पनि राम्र्रै पैसा दिनु पर्यो।”
छ वर्षअघि दिपेशकिशोर भट्टराईको जुनेली रात... को भिडियो
बनाएर यस क्षेत्रमा लागेका सुरज श्रेष्ठलाई पनि अहिले भ्याई नभ्याई
छ। कारण उनी गीतको टिभी विज्ञापनसमेत बनाउँछन्। इमेज च्यानल र आफ्नै
ह्वाइटप्लस प्रोडक्सनबाट सुरजले हालसम्म पाँचदर्जन म्युजिक भिडियो
बनाइसकेका छन्। सविन राईको गुराँसको फेदमुनि..., अविनाश घिसिङको सुनको
बाला.., प्रकाश पौडेलको घाँस काँट्नु खुर्केर..., रोज मोक्तानको कलकत्ते
काइयो..., महेश बुढाथोकीको कम्मर बारुले... आदि सुरज निर्देशित चलेका
म्युजिक भिडियो हुन्। उनी एउटा भिडियो निर्माणको रु.८५ हजारसम्म लिन्छन्।
 |
| सुरज श्रेष्ठ |
सुरज भन्छन्, “म महिनामा दुई वटा म्युजिक भिडियोमा काम
गर्छु। यो हिसाबले अहिले नै मसँग आउँदो डेढ वर्षलाई पुग्ने काम छ।”
भूषण, आलोक, सिमोस, सुरज जस्ता स्थापित निर्देशक सँगसँगै
अहिले धेरै युवा निर्देशकहरू यस क्षेत्रमा आएका छन्। एक हुन् आशिफ
शाह। नवौं हिट्स एफएम म्युजिक अवार्डस्मा उनको आँखाभरि नाच्छौ... बोलको
गीति भिडियोले अवार्ड पाएको थियो। मिङ्मा शेर्पाको नमूना आशिफको अर्को
चर्चित भिडियो हो। “म्युजिक भिडियोले कथावस्तु बोक्नैपर्छ भन्ने मलाई
लाग्दैन”, उनी भन्छन्। एउटा भिडियो बनाएबापत रु.६५ हजारसम्म लिने आशिफले
तीन वर्षमा करीब २५ वटा गीति भिडियो निर्माण गरेका छन्। आफूले सबैभन्दा
बढी पारिश्रमिक (रु.१५ हजार) पूर्व मिस नेपाल पायल शाक्यलाई केटी तिमी
कति राम्री... को मोडलिङका लागि दिएको उनी बताउँछन्। आशिफ र उनका भाइ
असिम शाहले 'जी २१' कम्पनीको नामबाट पनि यस्ता भिडियो बनाइरहेका छन्।
 |
| सिमोस सुनुवार |
तीन वर्षअघिसम्म राजेन्द्र शलभको दृश्य समूह पनि म्युजिक
भिडियो निर्माणमा निक्कै अगाडि थियो। दृश्य बाट अढाई सय गीतको म्युजिक
भिडियो बनाएका शलभ भन्छन्, “त्यो बेला हामीले प्रायः भिडियो १५ हजारको
खर्चमै बनाएका हौँ।” अहिले उनी कवितालाई त्यसरी नै दृश्यमा उतार्न
सक्रिय छन्। माइण्ड आइज नामक समूहले सरुन श्रेष्ठको आउदै जाँदै...
गीत बनाएर चर्चा पाएको थियो। कृष्ण फिल्मस्, फोटो भिजन, स्टार क्रियसन
लगायतका समूहले लोकदोहोरी गीतका म्युजिक भिडियोहरूको ठूलै परिमाण उतारिसकेका
छन्, बजारमा।
म्युजिक भिडियोको बढ्दो निर्माणले धेरै मोडलहरूलाई नाम
र दाम दिलाएको छ। टेलिभिजनमा अनुहार देखाउन चाहने कतिपय मोडल आफैँले
पनि म्युजिक भिडियोमा खर्च गर्ने गरेका छन्। मेरो माया..., पानी खाने
निहुँले..., पत्थर त्यो फूल... आदि गीतमा देखिएकी नायिका झ्रना बज्राचार्य
म्युजिक भिडियोकी महङ्गी मोडल हुन्। नायिका सञ्चिता लुइँटेलले समेत
८ वटा भिडियोमा अभिनय गरिसकेकी छन्। पुरानो हुँदैन माया..., तिमी जस्तो
छैन कोही...सञ्चिताका चर्चित भिडियो हुन्।
 |
| आशिफ शाह |
आलोकका भिडियोमा बढी देखिने झ्रना र सञ्चिताले एउटा
भिडियोमा अभिनय गरेबापत रु.२५ देखि ३५ हजारसम्म लिने गरेका छन्। मिस
टीन २००५ प्रियंका कार्कीले समेत सात वटा भिडियोमा आफूलाई प्रस्तुत
गरिसकेकी छन्। माया लाउन त... मा पहिलो पटक देखिएकी प्रियंका अहिले
प्रति भिडियो रु.१० हजारसम्म लिन्छिन्।
राजेश हमाल, भुवन केसी, दिपर्शण राणा, मेलिना मानन्धर,
सज्जा मैनाली, पुजना प्रधान कलाकारलाई समेत आजभोलि म्युजिक भिडियोमा
देख्न पाइन्छ। म्युजिक भिडियोबाटै पहिचान बनाएका मोडलहरूमा नम्रता
श्रेष्ठ, बबिता शर्मा, सोना श्रेष्ठ, उषा रजक अग्रपंक्तिमा पर्छन्।
धेरैजसो गायक/गायिका आफैँले म्युजिक भिडियोमा मोडलिङ गर्ने गरेका छन्।
'भिजे' को दबदबा!
टेलिभिजनमा कार्यरत
भिडियो जक्की (भिजे) लाई म्युजिक भिडियो बनाउन दिँदा प्रसारण हुने
पक्का भएकाले कतिपय कलाकारले निर्माणको जिम्मा उनैलाई दिने गरेको पाइन्छ।
मोडल पनि टेलिभिजनकै भिजे छन् भने त प्रसारण गर्न अझ्ै सजिलो! यस्तो
परिपाटीका कारण कतिपय टेलिभिजनमा अर्को टिभीमा काम गर्नेले बनाएको
भिडियो प्रसारण नहुन पनि सक्छ। गीत टिभीमा प्रसारण गर्न कार्यक्रम
प्रस्तोता र निर्माताहरूलाई कलाकारले रिझ्ाउनुपर्ने अर्को बाध्यता
त छँदैछ।
नेपालका टेलिभिजनहरूमा कार्यक्रम प्रस्तोता (भिजे), सम्पादक, क्यामरामेनहरूको
उल्लेख्य हिस्सा म्युजिक भिडियो निर्माणमा संलग्न छन्। भूषण दाहाल,
सुरजसिंह ठकुरी, सङ्गीता श्रेष्ठ, प्रभा अमात्य, सिद्धार्थ लामिछाने,
जयदेवलगायतका गीति–भिडियो निर्देशक कान्तिपुर टेलिभिजनमा काम गर्छन्।
सहेन्द्र श्रेष्ठ, सुरज श्रेष्ठ, पूजा गुरुङ, आशिफ शाह, निमेश राजवाहक
आदि इमेज मेट्रोमा कार्यरत छन्। त्यस्तै सिमोस सुनुवार, अनिल तण्डुकार,
प्रविन श्रेष्ठ आदि च्यानल नेपालमा छन्। नेपाल वानका असिम शाह र नेपाल
टेलिभिजनका प्रशन्न श्रेष्ठ पनि म्युजिक भिडियो बनाउँछन्। एनटिभी मेट्रोमा
संलग्न सोनाम पाल्तेन, रोजिन शाक्य, प्रशन्न पौडेल पनि छन् यो पेशामा।
यस्ता निर्देशकहरूबीच एउटाले बनाएको भिडियो अर्कोले आफ्नो टिभीमा देखाइदिने
आन्तरिक सहमति पनि हुने गरेको पाइन्छ। आलोक नेम्वाङ आफू टिभीमा काम
नगर्ने भएपनि यसले आफ्नो काममा प्रभाव नपारेको बताउँछन्। तर, उनले
बनाएका दुई सय म्युजिक भिडियोमध्ये कमै मात्र टिभीमा देख्न पाइन्छ।
म्युजिक भिडियो बजारको यो एउटा तीतो यथार्थ हो।
अल्बम उत्पादक कम्पनीले आफ्ना गीतमध्ये थोरैको मात्र म्युजिक भिडियो
बनाउने भएकाले धेरैजसो कलाकारले आफैँ लगानी गर्ने गरेका छन्। एक निर्देशक
भन्छन्, “टिभीमा अनुहार देखाउनकै लागि लगानी गर्ने हुँदा पनि कतिपय
नाममात्रका म्युजिक भिडियो बनेका छन्।” टेलिभिजनमा कस्तो म्युजिक भिडियो
प्रदर्शन गर्ने भन्ने कुनै मापदण्ड नभएकाले गीतको भाव र प्रस्तुतिमा
कुनै तालमेल नभएका भिडियोहरूसमेत सहजै घर–घरमा पुग्ने गरेका छन्।
सङ्गीतकी आभा
कता हिँडेको? कसलाई खोजेको?
भन न भन ए विरानो परदेशी...
विगत ९ वर्षदेखि गायन क्षेत्रमा रहेकी आभा मुकारुङलाई यसै वर्ष निस्किएको
पहिलो एकल अल्बम आभा को यो गीतले धेरै श्रोतामाझ् परिचित बनायो। असोज
२०६३ मा रामकृष्ण बान्तवाको शब्द र उनको एकल स्वरमा निस्किएको आभा
को यो गीत हिट्स एफएम म्युजिक अवार्ड २०६३ को उत्कृष्ट महिला गायनको
नोमिनेशनमा समेत परेको छ।
भोजपुरमा जन्मेकी र त्यतै हुर्केकी आभा इटहरी हुँदै २०५४ सालमा काठमाडाँै
आएकी हुन्। २०५४ सालमा रेडियो नेपालमा यो साल फेरि बारीभरि... गीत
रेकर्ड गराएर गायन क्षेत्रमा लागेकी उनका राष्ट्रियगीत, भजन, आधुनिक,
लोक–दोहोरी, चलचित्र र भाषभाषीका गरी करिब डेढसय गीत रेकर्ड भइसकेका
छन्। पूर्वेली–पश्चिमेली लोक–दोहोरीदेखि देउडा, थारू, भोजपुरी भाषाका
गीत समेत गाएकी आभा भन्छिन्, “अरू जातिको भाषामा गीत गाउँदा शुरुमा
शब्द उच्चारण गर्न भने केही कठिनाई भयो।” पुराना कर्णप्रिय गीतहरू
आफ्नो स्वरमा पुनः रेकर्ड गर्ने चाहना भएपनि 'डाङ् डाङ्–डुङ् डुङ्'
लगाएर रिमिक्स भने आफूले नगर्ने उनी बताउँछिन्।
साहित्य, सङ्गीत र गायनमा अगाडि रहेका मुकारुङ परिवारबाट गायन क्षेत्रमा
आएकी आभा नै पहिलो महिला हुन्। सङ्गीतमा निरन्तर लागिरहने अठोट बोकेकी
आभा भन्छिन्, “नमरुञ्जेलसम्म गाइरहने इच्छा छ।” गायनबाट राम्रै आर्जन
भइरहेको बताउने आभा गीत गाउनकै लागि हङकङ, कोरिया, कतार पुगिसकेकी
छन्। मीठो स्वरकी धनी आभाको रुचि गीतलेखन र सङ्गीत सिर्जनामा पनि छ।
आफ्नो अल्बमको माया लाउन पनि गाह्रो, लाएपछि झ्नै साह्रो... बोलको
गीतको सङ्गीत पनि उनकै हो। गीतमा भने जस्तै आभाको जीवनमा पनि साह्रो–गाह्रो
भएको छ कि? भन्छिन्, “सबैको जीवनमा यो त लागू हुन्छ नै। मेरो भने अहिलेसम्म
त्यस्तो माया बसेकै छैन।”
• अनुशील
रमझम
वाता
'मेरो धार सुगम संगीत
नै हो' –राजेशपायल राई
के गरायो गरायो, नौ जाले मायालु.. पछिल्लो समयमा निकै चर्चा
पाएको यस गीतका गायक राजेशपायल राईले १५ वर्षको गायन यात्रामा कर्णप्रिय
धेरै गीतमा स्वर दिएका छन्। राजेशको आठौँ एकल अल्बम कामना मा रहेको
पालम लयको गीत शिरै फूल शिरबन्दी... अल्बम आउनुअगावै आमश्रोताको प्रिय
बनिसकेको छ। आधुनिक–लोक–चलचित्र गरी करीब एक हजार गीत गाएका राजेश
कामना को तयारीमा आफूले पाँच वर्ष लगाएको बताउँछन्।
 |
| डम्बरकृष्ण श्रेष |
निगाह र कामना अल्बमको बीचमा निकै
अन्तर भयो नि?
पाँच वर्षपछि एकल अल्वम कामना निक्लँदैछ। यस बीचमा म अल्बमको तयारीसँगै
चलचित्र गायन तथा विदेशका कार्यक्रमहरूमा व्यस्त रहेँ। बहराइन, कतार,
मलेसिया, हङकङ, स्कटल्याण्ड, लण्डन गएँ। नेपालमै ८ वटा चलचित्रमा आफैँ
सङ्गीत गरेँ, केही चलचित्रमा अभिनय पनि गरँे, गुण्डाराज चलचित्रमा
नायक नै बनेको छु। अल्बम ननिकाले पनि बिना काम बसेको छैन।
अभिनय, सङ्गीत–गायन फरक कुरा भएनन्
र?
काम फरक भएपनि दुवै कलाकारितासम्वद्ध कुरा हुन्। तर, मेरो मूल क्षेत्र
सङ्गीत नै हो।
यस क्षेत्रमा टिक्न कत्तिको प्रतिस्पर्धा
गर्नु परिरहेको छ?
श्रोतामाझ् अलग्गै 'क्रेज' भएकाले मैले कसैसँग प्रतिस्पर्धा गर्नै
पर्दैन। कसैले मलाई आफ्नो प्रतिस्पर्धी मान्लान्, तर मलाई त्यस्तो
लाग्दैन।
सङ्गीत क्षेत्र कत्तिको फापेको छ?
मेरो लागि सङ्गीत नै सबथोक हो। यसबाटै मैले नाम, काम र दाम पाइरहेको
छु। देश–विदेशका श्रोताको माया पाएको छु। मैले पछाडि फर्केर हेर्नु
परेको छैन।
रिमिक्स र पप छाडेर मौलिक जातीय धुनलाई
आधुनिक गीतमा ल्याउनुको कारण?
केही चलचित्रमा र्याप–पप गाए पनि मेरो धार सुगम सङ्गीत नै हो। अहिले
लिम्बू जातिको पालमलाई आधुनिक रुप दिँदा सबैले रुचाए। कामना का आठ
वटै गीत फरक शैली र परिवेशका छन्। मेलोडी र शब्दलाई बढी ध्यान दिएको
छु। सबैको म्युजिक भिडियो पनि बनाउँदैछु। दुई वटा गीत हङकङ र लण्डनमै
छायाङ्कन गरिसकेको छु।
गाउने शैलीमा पनि पहिलेभन्दा अन्तर
आए जस्तो देखिन्छ नि!
हो, नौ जाले मायालु... बोलको लवज फरक छ। आफ्नो गायनमा नयाँपन र मिठास
ल्याउन मेहनत गर्नुपर्छ भन्ने मलाई लाग्छ। नयाँ गीतहरूमा पनि यस्तै
नयाँपन दिने कोशिश गरेको छु।
ाम, दाम सबै भइसके पनि घरजम चाहिँ
किन ढिलो नि?
३० वर्ष पुगिसकेँ। लगन नआएरै बिहे नभएको जस्तो छ। कतिले मन पराए आफूलाई
मन परेन। आफूलाई मन परेको नपाएरै ढिलो भएको हो। तर, अब चाँडै घरजम
होला।
डम्बरकृष्ण श्रेष्ठ
मंगोलियन हर्ट, भोल्युम ४
पप गीत सँगालो
शब्द/सङ्गीत/स्वरः राजु लामा
ब्याण्ड सदस्यः राजु लामा, देव गुरुङ, राजकुमार थापा, धीरज गुरुङ,
बबी लामा।
प्रस्तुतिः म्युजिक नेपाल
गोरखाली समानताका लागि गेसो आन्दोलन
शब्दः श्रवण मुकारुङ
सङ्गीतः वसन्त मुकारुङ
स्वरः राजेशपायल, लासमित, लोरेटो सिंह, रोशन, जगदिश, आभा, भीषण, दीपक
लिम्बू र पुनर्जन राई।
प्रस्तुतिः गेसो
अल्पविराम
गायकः प्रसाद श्रेष्ठका गीतहरू
सङ्गीतः गोपाल योञ्जन, प्रसाद श्रेष्ठ, शिरीष थापा, यादव पाण्डे, दीपक
प्रधान।
प्रस्तुतिः एएनएस म्युजिक
रमझम
विविध
दाइजो विरुद्ध चलचित्र
मैथिली चलचित्रको
बजार खुम्चिँदै गएको बेला जनकपुरमा दहेज एक प्रथाको छायाङ्कन शुरु
भएको छ। लगानीकर्ताको अभावमा मैथिली भाषाको चलचित्र बन्न छाडेको बेला
दाइजो प्रथाको विकृतिमाथि बन्न लागेको यो चलचित्रले उद्योगलाई केही
राहत दिने निर्माताहरूको विश्वास छ। चलचित्रमा रमेश खड्काको निर्देशन/लेखन,
महेन्द्र मिश्रको कथा, अजय लामाको नृत्य, रत्न कार्कीको छायाङ्कन रहेको
छ। यसमा एवन उप्रेती, विपना लामा, चक्रबहादुर गदाल, सङ्गीता राउत,
गगन शर्माले अभिनय गरेका छन्।
अजित, जनकपुर
पालो वाद्ययन्त्रको
सिन्धुली,
धनुषा र उदयपुरका वाद्य–सामग्री बनाउने कालिगढहरूलाई अहिले भ्याई–नभ्याई
छ। उनीहरू यतिबेला हारमोनियम, मादल, ढोलक, तवलालगायतका वाद्ययन्त्र
बनाउन व्यस्त छन्। यो व्यवसाय शान्ति स्थापनासँगै फस्टाएको छ। गाउँघरमा
नाटक, नाच, वालन, भजन–कीर्तनहरू धेरै हुन थालेकाले वाद्य–सामग्रीहरूको
माग बढेको हो।
चवालीस वर्षदेखि मादल बनाएरै परिवारको गर्जो टार्दै
आएका सिन्धुली, दुधौली–८ का गणेशबहादुर मगराती मादलको माग बढेको बताउँछन्।
भन्छन्, “मासिक रु.४–५ हजार आम्दानी भइरहेको छ।” यसरी नै जीविकोपार्जन
गर्दै आएका उदयपुर, हर्देनीका हर्कबहादुर र नरबहादुर रोकाया ब्यापार
बढे पनि मागअनुसार मादल बनाउन नसकेको बताउँछन्। रु.१०० को खर्चमा बन्ने
एउटा मादल रु.५०० सम्ममा बिक्री हुन्छ। यतिबेला उनीहरू १–१५ माघमा
लाग्ने त्रिवेणी मेलामा बेच्नका लागि मादल बनाउन व्यस्त छन्। व्यापारी
सूर्यबहादुर ढुङ्गेलका अनुसार सो मेलामा दिनको एक हजार वटासम्म मादल
बिक्री हुनेगरेका छन्।
जनकपुरका रामअयोध्याप्रसाद साह आफ्नो पसलमा कहलिएका
सङ्गीतकारहरू पनि हारमोनियम किन्न आइरहेको बताउँछन्। सप्तरी मलेठ–४
का घुरनप्रसाद साहको राजविराजस्थित वाद्ययन्त्र बिक्री तथा मर्मत केन्द्रमा
असारयता खरिदकर्ताको सङ्ख्या बढेको छ।
जनकपुरको सरस्वती फ्लुट र जनक फ्लुटमा हारमोनियम, ढोलक र तवलाको बिक्रीमा
उल्लेख्य वृद्धि देखिएको छ। सरस्वती फ्लुटका अशोककुमार साह भन्छन्,
“शान्तिस्थापना सँगै वाद्ययन्त्रहरूको बिक्री चौब्बर बढेको छ।”
सन्तोष बराइली, उदयपुर
|