पुस्तक
| समीक्षा
कथामा नयाँ तरङ्ग
तान्या, इन्द्रकमल र अन्धकार, २०६३
लेखकः अविनाश श्रेष्ठ
पृष्ठः १४६
मूल्यः रु.१४५
लेखक अविनाश श्रेष्ठ
यसअघि कवि, नाटककारका रूपमा बढी चिनिन्थे। तान्या, इन्द्रकमल र अन्धकार
पढेपछि निर्धक्क भन्न सकिन्छ – अविनाशले कथाकारका रूपमा पनि लोभलाग्दो
उचाइ बनाइसकेका छन्।
अविनाशले तीन दशकअघिदेखि नै कथा लेख्न थालेका हुन्। सङ्ग्रह ढिलो
निस्कियो– दुई दशकअघि लेखिएका कथाहरूलाई छान्दै, पर्गेल्दै। तर यसले
समकालीन कथालेखनमा तरङ्ग ल्याउने सामर्थ्य बोकेको छ। सङ्ग्रहका ११
कथामा भेटिने मानवीय चित्रण, स्वैरकल्पना, प्रणय–संलाप, मनोवैज्ञानिक
चिरफार र अस्तित्व–मन्थनले पाठकलाई मजैले लोभ्याउँछन्। अन्तिम कथा
'अस्तित्व' लाई उत्तरआधुनिकताको सुन्दर प्रयोग मान्न सकिन्छ। बहुचर्चित
पुस्तकका पात्रहरूसँगको वार्तालापसँगै कथाकारले त्यसमा मृतात्माहरूसँग
समेत साक्षात्कार गरेका छन्, एउटै कथा र परिवेशमा रणबहादुर शाहदेखि
शुक्रराज शास्त्रीसम्मलाई उभ्याउँदै। विधाभञ्जनको नमूना मान्न सकिने
केही कथामा कतै कविताको स्वाद भेट्न सकिन्छ त कतै निबन्धको। नारी पुरुषको
प्रणय–उन्मादमा आधारित केही कथा कथानकका हिसाबले सामान्य लागे पनि
प्रस्तुतिका दृष्टिले अव्वल छन्। अन्तिम कथाबाहेक अन्य सबैको आधारभूमि
भारत–असमको गुवाहाटीलाई बनाएका छन्, अविनाशले।
लामा कथाहरूमा पनि कथानकको अन्योल छैन। बरु तिनमा शब्दशिल्प र भाषिक
प्राञ्जलता भेट्न सकिन्छ। तान्या... को सामर्थ्य नै हो यसभित्रका हरेक
कथामा भेटिने कलात्मक प्रस्तुति। प्रत्येक कथाले संरचनागत नयाँपनको
अनुभूति गराउँछ। र, यस्ता प्रयोगहरूमार्फत् परम्परागत शैलीहरूलाई चुनौती
दिने अविनाशको प्रयास स्याब्बासीयोग्य छ। साहित्यमा नयाँपन खोज्नेहरूले
पढ्नैपर्ने पुस्तक बनेको छ तान्या, इन्द्रकमल र अन्धकार।
विद्रोही अनुभूति
पुल र पर्खालहरू, २०६३
कविः स्नेह साय्मि
पृष्ठः ६९, मूल्यः रु.७५
कवि स्नेह साय्मिको
दोस्रो कविता–सङ्ग्रह हो पुल र पर्खालहरू। यसमा पृथक्–पृथक् स्वादका
३६ कविता छन्। सबै सरल, सहज र गेयात्मक पनि छन्। मानवीय अनुभूति, विकृति/विसङ्गतिमाथि
कटाक्ष, विद्रोह र प्रकृति–चित्रण– सँगालोमा सङ्गृहीत कविताका मूलभूत
चरित्र हुन्। 'पुल र पर्खालहरू', 'मनलाई बाँधेर ल्याउन सक्तिनँ होला',
'आगोका लप्काहरू', 'साझ्ा घर', 'जावेद', 'रातो मत्स्येन्द्रनाथ ढल्यो',
'म सराङकोट', 'अमर', 'भारत' सँग्ाालोभित्रका राम्रा कविता हुन्। 'बुद्धवस्त्रका
रक्तपिपासु' जस्ता कविताले अलग विशेषता बोकेका छन्। 'संसार हेर्न चाहन्छु',
'अवतरण', 'पशुपति', 'चाहना बुझ्िदिनोस्' लगायतका कविता प्रतीकात्मक
छन्।
केही कविताले विसङ्गत प्रवृत्तिहरूलाई जोडदार झ्ापड दिएका छन् भने
केहीले विगतका राजनीतिक आन्दोलनहरूको परिवेशमा विद्रोहको उद्घोष गरेका
छन्। भिन्न सामाजिक र राजनीतिक परिवेश, परिस्थितिमा लेखिएका कविताहरूमा
रचनाक्रम वा मिति उल्लेख नहुनु सङ्ग्रहको एउटा खट्किने पक्ष हो। तथापि,
सङ्ग्रहले राजनीतिक चेतना बोकेको छ। एक बसाइमा पढ्न सकिन्छ। विचार–प्रवाहको
यो सँगालो रसिलो र रोचक पनि लाग्छ।
गद्य कौशलकोनमूना
अनाम पहाडमा फनफनी, २०६३
निबन्धकारः युवराज नयाँघरे
पृष्ठः १७९
मूल्यः रु.१४८
घुमन्ते जीवनको रमाइलो
प्रस्तुति हो अनाम पहाडमा फनफनी। निबन्धकार युवराज नयाँघरेका यात्रा–संस्मरणहरूमा
विवरणभन्दा बढी अनुभूतिका चास्नीहरू भेट्न सकिन्छ। नयाँघरेको यात्रा–अनुभूतिलाई
गद्यकौशलको नमूना मान्न सकिन्छ, जहाँ अनुकरणात्मक शब्दावली र र्झ्रा
वाक्यांशको सानोतिनो भण्डार भेटिनेछ।
सङ्ग्रहका १७ निबन्धमा लेखकको सौन्दर्यमोहदेखि प्रकृति–चित्रण, सहयात्रीका
आनीवानी र गफगाफहरूसँगै यात्राका जात्रा, रुञ्चे मौसम, कोदे चिन्तन
माथिका घोत्ल्याइँहरू पनि छन्। उपमाका रोचक प्रयोगहरूले पाठकलाई बेग्लै
स्वाद दिन्छन्। भकिअमिले छाती, भुकुर्चादे गाला, करविरे घाँटी, उरुङ्खात
असिना, आपट्टे जङ्गल, लाछी बाटेजस्तो बाटो, चिसोले चोसो पसारेको दिन,
भोग र भोकको द्वन्द्वका प्रसङ्ग त कति हो कति! बरालसिङ अनुभूतिहरूमा
भेटिने 'सुन्दरता एक बित्तामा कि खितित्त खित्कामा?' जस्ता वाक्यांशमा
आफ्नो शब्द–सामर्थ्य देखाइरहेका निबन्धकार नयाँघरे छैटौं निबन्धसङ्ग्रह
अनाम... मा झ्नै जमेका छन्। 'कविता जस्तै लाग्ने भाषिक प्राञ्जलता'
लाई समीक्षकहरूले जति सराहना गरेका छन्, किताब पढेपछि उनमा त्योभन्दा
बढी विशेषताहरू भेटिनेछन्। यसका पात्र, चरित्रहरूमा पाठक स्वयम् समाहित
भइरहेको अनुभूति दिलाउन सक्नु निबन्धकार नयाँघरेको खुबी हो।
नारी उन्मुक्ति–गाथा
सुसम–चण्डिका, २०६३
उपन्यासकारः कपिल काफ्ले
पृष्ठः २३८+
मूल्यः रु.२००
 |
समाजभित्रका विभिन्न
प्रवृत्तिहरूको औपन्यासिक चिरफार हो, सुसम चण्डिका। भिन्न–भिन्न पृष्ठभूमि
र चेतनास्तरका नारी पात्र र तिनको सामाजिक आरोहलाई मूल कथावस्तु बनाएको
यो उपन्यासले प्रत्यक्ष–परोक्ष रूपमा महिला मुक्ति आन्दोलनको पक्षपोषण
गरेको छ। उपन्यासको केन्द्रीय विषय नै लैङ्गिक चेतना हो। गाउँशहरको
दूरी, अन्धविश्वास र चेतनाको द्वन्द्वजस्ता धेरै पाटाहरू उधिन्दै उपन्यासले
सुसम, टीका, चण्डिका लगायतका नारी पात्रमार्फत् सामाजिक सुधारको उद्घोष
गरेको छ।
उपन्यास सामाजिक भए पनि परिवेश राजनीतिक छ। २०४६ र २०६३ का जनआन्दोलनको
पृष्ठभूमिमा उपन्यासकारले मानवअधिकारको मह140वलाई सार्थक ढङ्गले उठाएका
छन्। सँगसँगै भेट्न सकिन्छ– स्त्रीपुरुष सम्बन्ध र पारस्परिक भरथेगका
अनेकौं दृष्टान्त। उपन्यासको धेरै अंश 'फ्ल्यासब्याक' मा वर्णित छ।
बीचबीचमा भेटिने नाटक तथा डायरीले प्रस्तुतिलाई नयाँपन दिएका छन्।
इन्फ्रारेड प्रविधिमार्फत् साहित्यिक कृतिका नारी पात्रहरूमाथिको समीक्षा
पनि उत्तिकै नौलो लाग्छ। केही प्रसङ्ग आवश्यकताभन्दा बढी बौद्धिक छन्।
तर माझ्िएको भाषाशैलीमा मन छुने विषयवस्तु प्रस्तुत गर्ने उपन्यासकारको
खुबी प्रशंसनीय छ। 'सहवास मूल कडी हो दाम्पत्यको', 'जे होस् काठमाडौं
पुग्नासाथ वंशविकासतिर लागिनेछ। अब योभन्दा बढी रगत र पसिनाको बलि
चढाउनु हुन्न' जस्ता रोचक मनोवादहरूले लेखकको शैलीलाई परिष्कार मात्र
दिएका छैनन्, उपन्यासको कथानकलाई समेत उठाएका छन्। पठनीय छ पुस्तक।
र, यसले पत्रकार कपिल काफ्लेको साहित्य यात्रालाई अर्को उचाइ दिएको
छ।
मार्क्सवादी दर्शन र अर्थशास्त्र
मार्क्सवादी दर्शनशास्त्रका आधारभूत सिद्धान्तहरू, २०६३
लेखकः हस्तबहादुर के.सी.
पृष्ठः २३२+२८
मूल्यः रु.१५०
कम्युनिष्ट राजनीतिले
जरा गाडेको नेपाल मार्क्सवादी साहित्यका लागि एकदमै उर्वर भूमि मानिन्छ।
पहिले–पहिले त्यस्ता किताबहरू तत्कालीन सोभियत संघ र चीनजस्ता साम्यवादी
मुलुकबाट आउँथे, हिजोआज ती मुलुकको राजनीति र प्राथमिकता बदलिएपछि
यहीँ प्रकाशित हुन थालेका छन्।
हस्तबहादुर के.सी.को मार्क्सवादी दर्शनशास्त्रका आधारभूत सिद्धान्तहरू
मा दर्शनशास्त्रको परिभाषा, उत्पत्ति र विकास, मार्क्सवादको परिचयका
साथै मार्क्सवादी दर्शन– द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादका
विभिन्न पक्षको व्याख्या गरिएको छ। किताबले जीवन र जगतका हरेक वस्तुमा
हुने द्वन्द्व, अन्तरविरोध र परिवर्तन अनि तिनको प्रभावबाट हुने समाजको
ऐतिहासिक विकासक्रमलाई सरल ढङ्गले व्याख्या गरेको छ। किताबको अन्त्यमा
मार्क्सवादी दृष्टिकोणबाट नेपालको वर्तमान अवस्था र आमूल परिवर्तनको
दिशाबारे पनि लेखिएको छ।
यस्तो परिवर्तनको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले मात्र गर्न सक्छ
भन्दै लेखकले वर्तमान अवस्थामा यसको नेतृत्व आफैँ सम्बद्ध रहेको नेकपा
(एमाले) ले गरिरहेको दाबी गरेका छन्। किताबमा वर्ग सङ्घर्षको उच्चतम
रूप सशस्त्र सङ्घर्षको उपयोग खुला र वैधानिक सङ्घर्षका सबै बाटाहरू
बन्द भएको अवस्थामा मात्र गर्नुपर्ने उल्लेख गर्दै उनले माओवादीले
त्यस्तो परिस्थिति नआइकनै गरेको सशस्त्र सङ्घर्षलाई 'दुस्साहसवादी
सोच' भनेका र उनीहरूले अनिवार्य रूपमा वार्ताको टेबुलमा आउनुपर्ने
कुरा लेखेका छन्।
मार्क्सवादी अर्थशास्त्र– पृष्ठभूमि, उद्भव र विकास, २०६२
लेखकः डा. विजयकुमार पौडेल
पृष्ठः ३७०+२०,
मूल्यः रु.२२५
मार्क्सवादी अर्थशास्त्र– पृष्ठभूमि, उद्भव र विकास डा. विजयकुमार
पौडेलले मार्क्सवादी अर्थशास्त्रमा रुचि राख्ने तर सम्बन्धित विषयका
ठूला–ठूला ग्रन्थ पढ्न नभ्याउने आम पाठक, विश्वविद्यालयका विद्यार्थी
र वाम–प्रजातान्त्रिक आन्दोलनका कार्यकर्ताहरूका लागि अध्ययन सामग्री
उपलब्ध गराउने तथा वर्तमान समयमा मार्क्सवादी आर्थिक प्रस्थापनाहरूको
सान्दर्भिकता खोज्ने उद्देश्यले लेखेका हुन्।
६ अध्यायमा विभक्त किताबमा मार्क्सवादी अर्थशास्त्रको पृष्ठभूमिमा
रहेका प्रमुख दार्शनिक–आर्थिक चिन्तन, मार्क्सवादी आर्थिक दर्शन, मार्क्सपछि
विकसित प्रमुख समाजवादी आर्थिक चिन्तन, पूँजीवादी अर्थशास्त्र, नेपालमा
मार्क्सवादी आर्थिक चिन्तनको प्रवेश र नेपालका प्रमुख कम्युनिष्ट एवं
प्रजातान्त्रिक समाजवादी पार्टीहरूले नेपाली समाजको रुपान्तरणका बारेमा
अगाडि सारेका दृष्टिकोण तथा त्यस प्रक्रियामा उठेका विवादहरूबारे चर्चा
गरिएको छ। लेखकले आफू नेकपा (एमाले) को कार्यकर्ता भए पनि विषयवस्तुको
विश्लेषणमा कुनै दलीय आग्रह नराखेको बताएका छन्।
अग्रगामी कविता
समयको आत्महत्या, २०६३
कवि/प्रकाशकः प्रेम बानियाँ
पृष्ठः १०४
मूल्यः रु.१००
कवि प्रेम बानियाँको
दोस्रो कृति हो समयको आत्महत्या। फरक–फरक विषय र परिवेशमाथि लेखिएका
गद्य कविताहरूको यो सँगालोमा कविले जीवनका भोगाइहरूलाई अलग ढङ्गले
विश्लेषण गरेका छन्। अनुभूतिहरूलाई बिम्बका रूपमा उपयोग गर्न सिपालु
लाग्छन् कवि बानियाँ। र, कविताहरूमा पीडा–कुण्ठा, वियोग–वेदना, विकृति–विसङ्गतिमाथि
चोटिलो प्रहार भेट्न सकिन्छ।
एक जमात मान्छेहरू
जन्ती हिँडिरहेछन् देशको
देश अन्मिएको आँगनमा
अलिकति ठेस खसिसकेको छ
अलिकति विदेश खसिसकेको छ जस्ता चोटिला अभिव्यक्तिमार्फत् कवि बानियाँले
बिम्ब/उपमाहरूको बिस्कुन फिँजाएका छन्। उनको शैलीसमेत परिष्कृत लाग्छ।
तर केही कवितामा अनुभूतिको अराजकता अनुभव गर्न सकिन्छ र कतिपय प्रसङ्ग
आवश्यकताभन्दा बढी क्लिष्ट लाग्छन्। शीर्षक छनौट, तीखो प्रस्तुति र
पेचिला व्यङ्ग्यहरूमा भने अग्रगामी लाग्छन् कवि बानियाँ। अत्यासलाग्दा
अनुभूतिहरूभन्दा सिर्जनात्मक, यथार्थवादी कुरा बढी पठनीय हुने तथ्यलाई
अलि ख्याल गर्ने हो भने बानियाँका हस्ताक्षर अझ् बढी सुरुचिपूर्ण हुनेछन्।
|