हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

अन्ततः शान्ति गीत

२००७ सालको जनक्रान्तिमा विराटनगर जुटमिलमा स्थापित प्रजातन्त्र नेपाल रेडियोमा यही बोलको क्रान्तिगीत गाएकी रानुदेवी अधिकारीले ५६ वर्षपछि शान्तिगीत गाएकी छन्,

शब्द/तस्बिरः मनोज श्रेष्ठ

आज देशको क्रान्तियुद्धमा हाम्रो एक पुकारा होस्
लड्दा लड्दै मरे मरौंला यो एउटा नै नारा होस्

जागे नेपाली उठे नेपाली शान्ति लिएर
हत्या र हिंसा पन्साउँदै हातेमालो गरेर...।

यो गीत रानुदेवी (७४) माथि बनाइएको डकुमेन्ट्री '५६ वर्षपछि...' मा समेत समेटिएको छ। “त्यतिखेर देशले क्रान्ति खोजेको थियो, क्रान्तिगीत गाएर आन्दोलनमा सहयोग गरेँ। अहिले देशले शान्ति खोजेको छ। त्यसैले मेरो प्राथमिकतामा परेको हो यो शान्ति गीत”, पत्रकार शङ्कर खरेलको रचना गाएपछि उनले यसै भनिन्।

सात सालमा, जनक्रान्तिसँगै तारिणीप्रसाद कोइरालाले थालेको साङ्गीतिक अभियानमा सघाउन १६ वर्षको उमेरमै क्रान्तिगीत गाएकी थिइन् रानुदेवीले। रेडियो नेपालकी प्रथम गायिकाका रूपमा समेत उनको चिनारी बन्यो। त्यतिखेरैरेकर्ड गरिएका उनका ६ वटा गीत निकै लोकप्रिय बने। विराटनगरस्थित बालिका विद्यालयमा शिक्षण पेशामा ३० वर्ष बिताएकी रानुदेवीले बीचमा कुनै गीत गाइनन्। अहिले आफ्नो गीतले शान्तिको पक्षमा जनमत बनाउने अपेक्षाका साथ पुनः रियाजमा सक्रिय छिन् रानुदेवी। १५ पुसमा डकुमेन्ट्रीको सार्वजनिकीकरणमा दर्शक बन्न पुगेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यो गीतलाई ढाडस दिँदै बोलेपछि रानुदेवी दङ्ग छिन्।

नेपाल महिला संघ, मोरङकी अध्यक्षसमेत रहेकी रानुदेवी आफ्नो राजनीतिक करिअरमा समेत गीतियोद्धाका रूपमा चिनिन रुचाउँछिन्।

 

कमैयाका नेता

शब्द/तस्बिरः प्रकाश शाह

'स्कुले पढाइ नसकेको, कमैयाको छोराको अलग्गै सामाजिक चिनारी सम्भव होला र?' २०५४ सालमा कमैयाहरूलाई सङ्गठित गरी आन्दोलनको तयारी गर्दा कैलाली, हसुलियाका पशुपति चौधरीलाई यस्तै लाग्थ्यो। उनै पशुपति अहिले कमैया आन्दोलनका एक प्रखर नेता भएका छन्। सो आन्दोलनमा अरू सङ्गठन र नेताहरू समेत आए र हराए। तर, पशुपति एक–एक खुड्किलो उक्लिँदै गए। त्यही हिँडाइले उनलाई मुक्त कमैया समाजको सर्वमान्य व्यक्तित्व बनाएको छ अहिलेे।

मुक्त कमैयाहरूको गाँसबासको टुङ्गो नलागेपछि ०५७ सालमा जागरण समिति बनाउने अग्रसरता लिएका पशुपतिको नेतृत्व–क्षमता राजधानीमा हालै आयोजित दबाब कार्यक्रम र सरकारसँगकोे सम्झ्ौतामा समेत देखियो। उनी बोल्न थालेपछि उनका तर्कको प्रतिवाद गर्न गाह्रो हुन्थ्यो। कमैया समाजलाई सङ्गठित गर्ने क्रममा उनमा आत्मविश्वास, तर्कशक्ति र नेतृत्व क्षमता सँगसँगै उदाएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्। आफ्नो आन्दोलनबारे उनी भन्छन्, “हामीले कमैया पुनःस्थापनाका निम्ति पटक–पटक आन्दोलन गर्‍यौँ। तर सधैँ 'तर, कमा, पनि' जस्ता शब्दहरूमा अल्झ्ाइने गरेपछि हाम्रो धैर्य टुट्यो।” पशुपतिको नेतृत्वमा भएको दबाबमूलक आन्दोलनपछि मुक्त कमैयाले प्रति परिवार पाँच कठ्ठा जग्गा, १० हजार रुपैयाँ र ३५ क्युविक फुट काठ पाउने भएका छन् र पुनःस्थापनाका लागि गठित मुख्य निर्देशन समितिमा अब कमैयाहरूको प्रतिनिधित्व हुने भएको छ। यसको कार्यान्वयन पर्खिरहेका छन् पशुपति (३१)। उनको बोल्ने कला र अडान देख्नेहरू भन्छन्– कमैया समाजले साँच्चिकै नेता भेटेछ।