विशेष रिपोर्ट मानवतस्करी
दिल्लीमा बिचल्ली
नेपालीलाई खाडी र पूर्वी एसिया मात्रै होइन,
अमेरिका र युरोप छिर्न समेत 'भीसा र पासपोर्ट मिलाइदिने' शक्तिशाली
गिरोहहरू छन् नयाँदिल्लीमा, जसमा नेपालका कलाकारदेखि बहालवाला प्रहरीसम्म
छन्।
•
जेबी पुन मगर, नयाँदिल्लीमा
 |
| तस्बिरहरू जेबी पुन मगर |
| काठमाडौँको युनिभर्सल म्यानपावरले विभिन्न
देश लैजान्छु भनेर चार महिनादेखि दिल्लीमा अलपत्र पारेका युवाहरू।
|
१६ भदौ
२०६३ मा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत
उड्न लागेकी झ्ापाकी दिलकुमारी सुब्बा (नाम परिवर्तन)सहित तीन नेपाली
महिलालाई भारतीय महिला प्रहरीले समातेर एउटा कोठामा लगी दुई थप्पड
हिर्काए। उनीहरू नेपालीमै आफूलाई छाडिदिन आग्रह गर्दै रोईकराई गरिरहेका
थिएभने दिल्ली प्रहरीको 'स्पेशल क्राइम ब्रान्च' का ती महिला अधिकृतहरू
पटक पटक एउटै प्रश्न सोधिरहेका थिए, “भन, तिमीहरू कुन आतङ्कवादी सङ्गठनसँग
सम्बद्ध छौ?” अलि अलि हिन्दी बोल्ने काठमाडौँ, जोरपाटीकी रेनु तामाङ
(नाम परिवर्तन)ले दलालले कुवेत पठाउँछु भनेर ल्याएको हो भनेपछि उनीहरूलाई
तिहाड जेलमा लगेर थुनियो।
महिनौँदेखि त्यही जेलमा थुनिएका उनीहरूजस्तै १८ नेपाली
महिलाले आफूलाई 'नक्कली राहदानीमा विदेश जान खोजेको' आरोपमा पक्राउ
गरिएको बताएपछि मात्रै उनीहरू झ्ल्याँस्स भए। स्कूलको मुखसम्म नदेखेकी
दिलकुमारीले आफूले बोकेको राहदानीमा अर्कैको नाम होला भनेर सोचेकीसम्म
थिइनन्। त्यसैले नाम सोध्दा वास्तविक नाम बताइन् र पक्राउ परिन्। उनीसँगै
समातिएका अरू महिलाको कहानी पनि यस्तै थियो। विमानस्थल नजिकैको पालम
प्रहरी चौकीका एक प्रहरी अधिकृतले जानकारी दिएअनुसार दिलकुमारी सुब्बा
पेमा तामाङको पासपोर्टमा उड्दै थिइन्। त्यसमा तामाङको फोटो झ्िकेर
सुब्बाको फोटो टाँसिएको थियो।
यस्ता नक्कली कागजातका आधारमा विदेश जान खोज्ने नेपालीहरू
दिल्ली विमानस्थलबाट धमाधम समातिइरहेका छन्। भारतीय प्रहरीका अनुसार
यस्तो अभियोगमा तिहाड जेलमा करिब २० नेपाली महिला र एक सय जति पुरुष
थुनिएका छन्। भर्खरै चार महिला डेढदेखि दुईवर्षसम्मको सजाय काटेर छुटे।
तीन हप्ताअघि अदालतबाट धरौटीमा रिहा भएका सुब्बा र तामाङविरुद्ध तीसहजारी
जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका इन्चार्ज
नरेश कुमारका अनुसार यस वर्ष मात्र २२ जना नेपाली नक्कली कागजात बोकेर
विदेश उड्न खोज्दा पक्राउ परेका छन्। भर्खरै ६ पुसमा मात्र बर्दिया,
देउढाकला–९ का विनोदकुमार अधिकारी रु.५ लाख लिएर सोम र सन्त भन्ने
दलालले दिएको एक इटालियन नागरिकको राहदानीमा यात्रा गर्न खोज्दा समातिए।
थाइ एयरवेजबाट उड्न लागेको बेला पासपोर्टमा फोटो परिवर्तन (पीसी) गरेको
फेलापरेपछि उनी समातिएका हुन्।
नेपाली समुदायका मुद्दा हेर्ने गरेका दिल्ली हाइकोर्टका
फौजदारी अपराधविज्ञ प्रेम क्षेत्री भन्छन्, “यस्ता मुद्दामा समातिएकाहरूको
विपक्षमा बलियो कागजी प्रमाण हुने हुनाले उनीहरूलाई छुट्न गाह्रो पर्छ।
यसमा भारतीय दण्ड संहिताको दफा ४१९, ४२०, ४६८, ४७१, 'फरेन एक्ट' को
दफा १४ र 'पासपोर्ट एक्ट' को दफा १२ प्रभावित हुने हुँदा अधिकतम सात
वर्षसम्मको सजाय हुनसक्छ। मुख्य दोषी दलालहरू पहिल्यै भाग्छन्, निर्दोष
र सोझ्ासाझ्ा नेपालीहरू फस्न पुग्छन्।”
जमानतमा छुट्न सक्नेहरू पनि प्रायः थुनामै छन्। जमानतका
लागि दिल्ली महानगरको स्थायी बासिन्दाले कम्तीमा भारु.२० हजार जम्मा
गर्नुपर्ने र भागेको खण्डमा जिम्मेवारी लिनुपर्ने हुनाले दिल्लीमा
जमेर बसेका नेपालीहरू समेत यस्तो झ्मेलामा फस्न चाहँदैनन्। नेपालीका
निम्ति काम गर्ने संस्थाहरूले पनि ध्यान दिएको देखिँदैन।
पासपोर्ट व्यापार
नेपालका दैनिक पत्रपत्रिकामा बग्रेल्ती प्रकाशित हुने
'राहदानी हराएको' विज्ञापनको गाँठी कुरा दिल्ली नगई बुझ्िँदैन। यहाँ
'हराएका' ती राहदानी दिल्लीमा भारु.५ हजारदेखि २५ हजारसम्ममा बिक्छन्।
जनकपुरीस्थित सुपर एसिया मेनपावरका दलाल गोपाल हाकाहाकी भन्छन्, “यस्ता
राहदानी नेपालका मेनपावर कम्पनीले थोकको भाउमा बेच्छन्। अनि तिनमा
असली बाहकको फोटो निकालेर विदेश जान चाहनेहरूको फोटो टाँसिन्छ।” उनी
भन्छन्, “हामी स्नातकसम्मको नेपाली शैक्षिक प्रमाणपत्र, राहदानी र
भीसा लगाएर रु.१२ लाखसम्ममा जर्मन पठाइदिन सक्छौँ।” करिब दुई वर्षअघि
नेकपा माओवादीका नेता सीपी गजुरेल (गौरव) पनि यस्तै राहदानी प्रयोग
गरी भारतको चेन्नईबाट युरोपतर्फ उड्न खोज्दा पक्राउ परेका थिए।
दिल्लीमा नेपालका जिल्ला प्रशासन कार्यालय र परराष्ट्र
मन्त्रालयका कर्मचारीको मिलेमतोमा बेचिएका खाली राहदानी पनि पाइन्छन्,
जसको मूल्य भारु.५० हजारसम्म हुन्छ। गएको वर्ष दिल्ली प्रहरीको आतङ्कवाद
विरोधी दस्ताले पहाडगञ्जबाट नेपाली राहदानीका साथ बङ्गलादेशी र पाकिस्तानी
समेत गरेर २४ जनालाई पक्रिएको थियो। एक प्रहरी अधिकृत 'नेपाली राहदानी
आतङ्कवादी सङ्गठनका कार्यकर्ताले समेत प्रयोग गर्न थालेको पाइएपछि
निगरानी बढाइएको' बताउँछन्। यसले नेपाली राहदानीप्रति नै शङ्का उत्पन्न
गराएको देखिन्छ।
दिल्लीमै बन्छन् कागजात
 |
| एसएलसीदेखि स्नातकोत्तरसम्मका यस्ता नक्कली शैक्षिक प्रमाणपत्र
र तिनमा लगाइने छाप दिल्लीमा उपलब्ध हुन्छन्। |
'जापान टोकियो मैले चिठी पठाकै थिएँ नि कता रोकियो'
जस्ता चर्चित गीत गाउने कर्णप्रिय स्वरका धनी विमलराज क्षेत्री पनि
मानव तस्करीमा संलग्न छन् भनेर कसले पत्याउला ? सिङ्गापुर, मलेसिया
र थाइल्याण्डमा बस्ने एलवी केसी नाम गरेको दलालसँग मिलेर यस्तो धन्दा
चलाएका क्षेत्रीले अमेरिका पठाई दिन्छु भन्दै प्रतिव्यक्ति रु.८ लाख
उठाएर ४६ युवालाई मलेसियामा बिचल्ली पारेको घटना दिल्लीमै थाहा भयो।
चलचित्र नायक राजेश हमालसँगै गई ठाउँठाउँमा खुट्टाले गाडी र कम्प्युटर
चलाएर अचम्म पार्ने दुई हात नभएका काभ्रेका सुदर्शन गौतम पनि यो समूहमा
छन्। चितवनबाट अलविन केसीको नाममा नागरिकता र राहदानी बनाएका गोर्खाका
अपाङ्ग द्रोण पौडेल उनीहरूका लागि नेपालबाट मानिस पठाउने गर्छन्। द्रोणलाई
आफूलाई जीवन लामा बताउने उनका जेठान जसबहादुर लामाले सघाउने गरेका
छन्। एक पीडित पक्षको भनाइअनुसार, यो समूहका लागि नक्कली कागजपत्र
बनाउने जिम्मा काठमाडौँ जिप्रकाका एक प्रहरी इन्स्पेक्टरले लिएका छन्।
स्याङ्जा, दहथुम–२ का भेषबहादुर केसी दिल्लीबाट मानिस
पठाउने धन्दा चलाइरहेका चर्चित दलाल हुन्। स्याङ्जाबाट ३० वैशाख २०६२
मा २५२७०४९ नम्बरको राहदानी लिएका उनी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय
हवाई अड्डाबाट विभिन्न समयमा विभिन्न नक्कली नामका राहदानी प्रयोग
गरेर विदेश उड्ने गरेको विवरण दिल्ली प्रहरीसँग छ। भारतीय प्रहरीको
'वान्टेड' सूचीमा परेका केसीको सञ्जालमा नेपालभित्र र बाहिर थुप्रै
दलालहरू काम गर्छन्। नेपालका गाउँदेखि मलेसिया, सिङ्गापुर र अरब मुलुकहरूसम्म
उनको बलियो नेटवर्क छ। उनलाई नेपालमा बसेर भाइ गोपाल केसी र स्याङ्जामा
टिभी पसल चलाउने पुष्पराज सुवेदीले सहयोग गरिरहेका छन्। विदेश पठाउने
नाममा नेपालीको रकम खाएर हिँडेका र हाल कुवेत नेशनल ब्याङ्कमा कार्यरत
चापागाईँ थरका एक दलाल उनको कुवेतको काम हेर्छन् भने वलमान पुन मुम्बईको।
आफूलाई डा. रामशरण महतको फुपूको छोरा बताउने कमला सेक्युरिटी
सर्भिस, किसनगञ्जमा कार्यरत गणेश थापा पनि नक्कली कागजपत्र तयार गर्नेमध्येकै
हुन्। पुसको दोस्रो साता यो संवाददाताले उनलाई ३४० वटा नेपाली राहदानी
बोकेर दिल्लीमा हिँडिरहेको अवस्थामा भेटेको थियो। उनको सम्पर्कमा नेपालका
सरकारी कर्मचारीहरू पनि छन्।
दाङ, फूलबारी–९ की शर्मिला डीसी पनि दिल्लीमा बसेर काठमाडौँमा
ट्राफिक प्रहरी हवल्दार रहेका आफ्ना श्रीमान् चूर्णबहादुर डीसीको सहयोगमा
यो काम गरिरहेकी थिइन्। भर्खरै मात्र पीडितहरूले उनलाई दिल्लीमै समातेर
माओवादीको प्रवासी सङ्गठन नेपाली जनअधिकार सुरक्षा समितिमा बुझ्ाएका
छन्। समितिले उनका श्रीमानलाई फोन गरी पीडितहरूको पैसा फिर्ता गर्न
भनेपछि काठमाडौँबाट डीसीले दाङका गिरीधारीलाल केसीको रु.१ लाख २० हजार
पठाइदिएका थिए।
काठमाडौँ, कमलपोखरीस्थित युनिभर्सल मेनपावरका ईश्वर
काफ्लेसँग मिलेर मानव ओसारपसार गर्नेमा महेन्द्र पुलिस क्लबका असई
सूर्य थापा क्षेत्री पनि संलग्न छन्। डीसी र क्षेत्रीको समूहले अरब
लैजाने भनी पहाडगञ्जको अंकुस होटलमा चार महिनादेखि १२ जना युवालाई
राखेका र १० पुसमा चार जनालाई मुम्बई पुर्याएका थिए। 'भोलि हुन्छ'
भन्दै होटलमा राखेर खर्च सकिएपछि चार जना पहिल्यै घर फर्किएका थिए।
६ जनालाई नेपालबाट उडाउँछौँ भनी दलालहरूले नै ११ पुसमा रेल चढाएर काठमाडौँ
पठाएका छन्। असई क्षेत्रीले झ्ापा, हँडिया बुधबारेका आफ्नै ज्वाइँ
दिलीप राईलाई समेत रु.९० हजार लिई बिचल्लीमा पारेका छन्।
यी केही उदाहरण मात्र हुन्। नक्कली कागजपत्र बनाएर मानिस
ओसारपसार गर्नेमा कलाकार, नेता, व्यापारी, कानून व्यवसायी, प्रहरी,
प्रशासन र कतिपय मन्त्रालयका कर्मचारीसम्म संलग्न देखिन्छन्। केही
समययता सिने र गायन क्षेत्रका व्यक्तिले जापान र अमेरिका जस्ता देश
छिर्न यस्तै दलालको सहयोग लिन थालेका छन्। विषालु र हाउडे चलचित्र
बनाएर रिक्सा पुलर बनाउँछु भन्दै १२ जनाभन्दा बढीलाई बेल्जियम लिएर
गएका नायक/निर्माता ईश्वर थापा कलाकारसहित उतै हराउनु यसैको एउटा उदाहरण
हो।
कमाइभन्दा जोखिम धेरै
अमेरिकी आक्रमणका कारण चैत २०५९ देखि नेपालीहरूलाई रोजगारीका
लागि इराक जान प्रतिबन्ध लगाइए पनि नेपाली र भारतीय मेनपावर कम्पनीहरूले
भारतका विभिन्न विमानस्थलबाट अवैध रूपले नेपाली कामदारलाई त्यहाँ पठाइरहेका
छन्। तिनको सङ्ख्या केही हजार पुगिसकेको बताइए पनि त्यसको आधिकारिक
तथ्याङ्क उपलब्ध छैन। फर्किएकाहरूको भनाइमा सुरक्षा गार्ड, निर्माण
र घरेलु कामदारका रूपमा लगिएका केही हजार महिला–पुरुष त्यहाँ जोखिमपूर्ण
अवस्थामा काम गरिरहेका छन्। दुई वर्षअघि सुरक्षा गार्डका निम्ति लगिएका
पूर्व गोर्खा सैनिक पोखराका काउबहादुर गुरुङ, धरानका शिवप्रसाद लावती
र नारायणगढका रामबहादुर गुरुङ इराकको वासरामा विद्रोहीको एम्बुसमा
मारिएका थिए। उनीहरूलाई बेलायती र अमेरिकी सैनिकसरह ड्यूटीमा खटाइएको
थियो। त्यहाँ धेरै नेपालीले ज्यान गुमाए पनि थोरै घटना मात्र सार्वजनिक
भएका छन्।
दुई वर्षअघि इराक जान हिँडेका करिब १० हजार पुरुष र
पाँच हजार महिला मुम्बईमा अलपत्र परेका थिए। त्यतिबेलै अन्सार अल सुन्ना
नामक उग्रवादी सङ्गठनले इराकमा १२ नेपाली कामदारको हत्या गरेको थियो।
त्यतिबेला इराक पुगेका एक कामदार मुम्बईमा अलपत्र परेकामध्ये धेरै
जना त्यस्तो दुःखद् समाचार सुनेर पनि घर फर्कन नचाहेको, बरु थप पैसा
समेत तिरेर इराक गएको बताउँछन्। एक भुक्तभोगीका भनाइमा इराकमा नेपालीहरूको
चाप यति बढिसकेको छ कि नोकरीका लागि हानथाप शुरु भइसक्यो।
सिमि्रक मेनपावरलाई रु.२ लाख ३० हजार तिरेर काठमाडौँ–कलकत्ता–कुवेत
हुँदै इराक पुगेका रुपन्देही, मङ्गलापुरका ४३ वर्षीय जङ्गबहादुर थापालाई
२३ दिन राखेर फर्काइयो। भारतीय सेनाका अवकाशप्राप्त हवल्दार थापा र
उनीसँगै गएका १५ जनालाई इराकमा 'अमेरिकन स्टेट डिपार्टमेन्ट' ले एकहप्ते
तालिम दिएर हतियारसहित सडकमा सवारीसाधन जाँच गर्ने काममा खटाएको थियो।
त्यसबापत मासिक १३०० अमेरिकी डलर दिने भनिएको थियो, तर २३ दिनपछि 'काम
छैन' भनी ९०० डलर थमाएर अरू ३५ जना पूर्व गोर्खा सैनिकसँगै घर फर्काइयो।
यसैगरी इराक पुगेर चार महिनादेखि काम नपाई बसेका मङ्गलापुरकै भीमबहादुर
रानाले आजभोलि नै फर्कन्छु भनेर घरमा फोन गरेका छन्।
इराक छिर्न नसकेर कुवेतबाटै फिर्ता हुनेहरू पनि छन्।
बुटवल–१० का ४१ वर्षीय मनबहादुर रानालाई इराक छिराउन नसकेर मासिक रु.१२
हजारमा कुवेतमै काम गर्न लगाइएपछि दलालसँग उनको झ्गडा नै पर्यो। रानासहित
१७ जनासँग काठमाडौँ, सुन्धारास्थित सुपरस्टार मेनपावरका प्रोप्राइटर
प्रेम गुरुङले पहिले अफगानिस्तान लैजाने भनेर रु.२ लाख ५० हजार लिएका
थिए। तर पछि त्यहाँ लैजान नसकिने भो भनेर इराक लैजाने आश्वासन दिए।
दुई महिनासम्म काम नपाएपछि दिल्ली फर्किएका राना भाडाका लागि नेपालीसँग
पैसा मागेर घर आइपुगेका छन्। इराकमा नेपालीहरूलाई काम र दाममा पनि
भेदभाव हुने गरेको छ। इराकबाट फर्किएका भारतीय सेनाका पूर्व हवल्दार
दिलबहादुर पुन भन्छन्, “३० जनाको ड्यूटीमा २० जनालाई खटाइन्छ। चेकिङ
आउँदा ड्यूटी सकिएर सुतेकालाई उठाएर सङ्ख्या पुर्याइन्छ।” इराकमा
पूर्व फिजी सैनिकलाई मासिक ३५००, ब्रिटिश र श्रीलङ्कन सैनिकलाई १५००
डलर दिइन्छ भने पूर्व भारतीय तथा नेपाली सैनिकले १३०० डलर मात्रै पाउँछन्।
दिल्लीमा अफगानिस्तान जान खोज्नेको भीड पनि उत्तिकै
छ। काबुलको एक शपिङ कम्प्लेक्समा काम गर्ने बाग्लुङका चेतनारायण पुन
र बुटवलका थमनसिंह रानालाई गत साल एउटा उग्रवादी सङ्गठनले अपहरण गरेर
पुनको हत्या गर्यो भने रानालाई चारदिनपछि छाडिदियो। अफगानिस्तानमा
६ महिना काम गरेर फर्किएका भैरहवाका मोहन गुरुङ त्यहाँ हरपल ज्यान
जोखिममा राखेर काम गर्नुपर्ने बताउँछन्। धेरै नेपालीहरू विद्रोहीका
गोली र एम्बुसबाट मारिएका छन्। तर सुरक्षागार्डमा जानेहरूको मृत्यु
भएमा राम्रो बीमा रकम पाइने र कन्ट्रयाक्टरले घरैमा पेन्सन सरहको रकम
समेत पठाइदिने हुनाले उनीहरू रु.८ लाखसम्म तिरेर अफगानिस्तान जान्छन्।
एक दलालको भनाइमा, अफगानिस्तानमा काम गर्ने नेपालीको सङ्ख्या पाँच
हजार नाघिसकेको छ। त्यसरी गएर गत साल मारिएका तनहुँका गुनबहादुर गोदार
थापाको परिवारले भर्खरै बीमाबापत रु.१ करोड पाएका छन्। उनलाई त्यहाँ
काममा लगाउने 'डायनकर्प इन्टरनेशनल' ले परिवारलाई मासिक रु.६० हजार
पनि पठाइदिने भएको छ। दलालबाट ठगिएका एक पीडित भन्छन्, “देशमा बसेर
त्यसै मर्नुभन्दा त्यहाँ गएर मरे परिवारको भविष्य बन्छ भनेर जान खोजेको।”
नेपालीको यो मनोविज्ञान बुझ्ेर दलालहरू फाइदा उठाउन
कस्सिएका छन्। भारतीय पेन्सन क्याम्प, बुटवलमा कार्यरत चन्द्रबहादुर
रानाले अफगानिस्तान जान भैरहवाका कृष्ण पुनलाई रु.३ लाख बुझ्ाएका थिए।
उनी दिल्ली पुग्दा त्यहाँ ६ जना दलालले देशका विभिन्न ठाउँबाट ५० जना
जति जम्मा गरेको देखे। यी सबैलाई ल्याउने दलालका नाइके थिए झ्ापाका
विजय केसी। राना भन्छन्, “हवाई टिकट देखाउँदै उसले विमानस्थल आउन भन्यो,
भोलि बिहान त्यहाँ पुग्दा ऊ थिएन। पछि थाहा भयो ऊ त पैसा कुम्ल्याएर
भागेछ।” केसी त्यतिबेला लगभग रु.३ करोड लिएर बेपत्ता भएका थिए।
'पस्न सजिलो, निस्कन गाह्रो'
 |
| दिल्ली वरिपरि रहेका मासु उद्योगहरूमा काम
गर्ने दसहजार नेपाली कामदारहरूमध्ये २५ प्रतिशतभन्दा बढी विदेश
जान हिँडेका तर दलालबाट ठगिएकाहरू छन्। |
१० वर्षअघि दुबईमा सिन्धुपाल्चोककी १७ वर्षीया मिर्जुङ
शेर्पाको हत्या भएको थियो। कारण थियो, घरेलु कामदार रहेकी शेर्पाको
पेटमा घरमालिकको गर्भ रहनु। यौन शोषणमा परेकी शेर्पालाई कुटेर मारिएको
थियो। त्यो घटनापछि तत्कालीन सरकारले २०५४ सालमा खाडी मुलुकमा नेपाली
महिला कामदार पठाउन रोक लगायो। तर अहिले पनि नेपाली महिलाहरू अरब पठाउने
क्रम जारी छ। काठमाडौँकी फूलमाया र सपना तामाङले रु.७२ हजार लिएर झ्ापा,
जुरोपानीकी २५ वर्षीया उमा अधिकारी (नाम परिवर्तन) लाई खाना बनाउने,
बच्चा हेर्ने काममा मासिक रु.१० हजार पाइन्छ भनेर दिल्ली हुँदै साउदी
अरब पठाएका थिए। तर त्यहाँ पुगेपछि घर मालिकका चार छोराले जबर्जस्ती
यौन कार्य गर्न लगाउने, नमान्दा पिट्ने, चुरोटले पोल्ने गरेपछि मानसिक
सन्तुलन गुमाएकी उमालाई विमानस्थलमा लगेर बेवारिसे रूपमा छाडियो। त्यसपछि
दिल्ली फर्काइएकी अधिकारीको लामो समयसम्म पुनःस्थापना केन्द्रमा बसेर
पनि अझ्ै मानसिक अवस्था ठीक भइसकेको छैन। उनीजस्तै दिल्ली हुँदै साउदी
अरब पुगेकी काभ्रे महादेवस्थानकी २८ वर्षीया सुनु लामा (नाम परिवर्तन)
लाई जानेबित्तिकै बुर्का लगाउन भनियो। ६ महिनासम्म शारीरिक र मानसिक
यातना दिइयो। विनोद नामको दलाललाई रु.३० हजार तिरेर त्यहाँ पुगेेकी
सुनु ६ महिनापछि दिल्ली फर्किँदा पनि बुर्कामै थिइन्।
चार वर्षयता भारत हुँदै अरब पुगेका नेपाली महिला कामदारहरूले
त्यहाँ भोगेका यस्ता घटनाले उनीहरूकोे अवस्था बुझन मद्दत पुर्याउँछ।
१३ वर्षदेखि नेपाली महिला र बालबालिकाका सम्बन्धमा काम गरिरहेको दिल्लीस्थित
'प्रवासी नेपाली मित्र मञ्च' को अध्ययन अनुसार दिल्ली र मुम्बईबाट
मात्र दैनिक २० जना नेपाली महिला विभिन्न देशमा गइरहेका छन्। प्रायः
अशिक्षित यस्ता महिलाहरूलाई आकर्षक तलबको प्रलोभन दिएर लगिन्छ। पीडितहरूको
भनाइमा दलालहरूले दिल्ली, मुम्बई जस्ता शहरका होटलका सस्ता कोठामा
२०–२५ जनालाई महिनाँै राख्छन्र कतिलाई प्रलोभन र दबाबमा पारेर यौन
शोषण गर्छन्। दिल्लीको सोनिया बिहारमा तीन महिनादेखि राखिएका १० महिलाले
दुई महिनाअघि मात्रै यस्तो कुकर्मको रहस्य खोलेका थिए।
नेपालबाट मात्रै होइन, बङ्गलादेश र पाकिस्तानबाट समेत
हजारौँको सङ्ख्यामा महिला कामदार निर्यात गरिन्छ। एक महिला कामदार
बराबर बढीमा रु.१ लाखसम्म कमिशन पाइने हुँदा सयौँ दलालले अरब मुलुकबाट
महिला कामदार मगाउने, उनीहरूका सयौँ सहयोगीले सम्बन्धित देशका कुनाकुनामा
छरिएर कामदार पठाउने गर्दछन्। महिलाहरूलाई इराक, अफगानिस्तान र लेबनान
जस्ता द्वन्द्वग्रस्त देशमा समेत लगिन्छ। दुई वर्ष हङकङ र दुई वर्ष
कुवेतमा काम गरेर फर्किएकी पोखरा–१०, रामघाटकी २७ वर्षीया बबिता गुरुङले
दलालीबाट आकर्षक कमाई देखेर आफैँ यो धन्दा शुरु गरेकी छन्। उनका भनाइमा,
अरबमा एक महिला पठाउँदा मगाउने व्यक्तिले ५०० डलर कमिसन र त्यहाँसम्म
पुर्याउन लाग्ने सबै खर्च दिन्छ। नेपालका गाउँघरदेखि दिल्ली र मुम्बईसम्म
पुर्याउने दलालले समेत एक महिला बराबर रु.२० हजारदेखि रु.३० हजारसम्म
पाउने हुँदा नेपालमा दलाली पेशा निकै फस्टाएको छ।
बीमा, स्वास्थ्य सेवा, खानपान, आवास र कामको समयजस्ता
कुरामा राम्रो सुविधा दिनुनपर्ने हुँदा मालिकहरूले नै गैरकानूनी रूपमा
पठाइने कामदार मगाउँछन्। त्यसैले त्यस्ता कामदारमाथि प्रहरीको डर देखाई
मनोमानी शोषण समेत गरिन्छ। साउदीमा एक ठाउँबाट अर्को ठाउँमा जाँदा
समेत मालिकको अनुमतिपत्र लिनुपर्छ। “दूतावासले पनि केही गर्न सक्दैन”,
चार वर्ष साउदीस्थित नेपाली दूतावासमा काम गरेका दिल्लीको दूतावासका
अधिकृत हरि अर्याल भन्छन्, “साउदीमा पस्न सजिलो छ निस्कन गाह्रो।”
उजाड भयो घरबार
कोरियामा अनधिकृत रूपमा सात वर्ष काम गरेर फर्किएका पोखरा, लामाचौरका
४६ वर्षीय चन्द्र गुरुङ दलाल रामदल गुरुङमार्फत् अलविन केसीको सम्पर्कमा
आएका थिए। यसअघि जापान छिर्ने असफल प्रयास गरेका गुरुङलाई दलालले जापान
पुग्नासाथ राहदानी च्यातेर भागेस् भनेकाले राहदानी च्यात्दा प्रहरीले
समात्यो। त्यतिबेला दलाललाई उनले रु.५ लाख दिएका थिए। कोरियाबाट कमाएको
पैसा जापान जाने सपनामा डुबेपछि उनलाई ऋणले च्याप्दै लग्यो। त्यही
ऋण तिर्न उनी क्यानडा छिर्ने सोचाइमा पुगे र फेरि ऋण खोजेर केसीलाई
थप रु.५ लाख बुझ्ाए।
तर, उनले सिङ्गापुरबाटै फर्कनुपर्यो। सिङ्गापुर बस्दा
रु.१ लाख अतिरिक्त खर्च भयो। त्यहाँबाट फर्किएर अन्तिम पटक माल्टा
छिर्न दिल्लीस्थित दूतावासमा प्रक्रिया मिलाउँदा थप रु.२ लाख ३० हजार
जति सकियो। श्रीमतीलाई घरबाट थप पैसा पठाइदिन भनेकै दिन १७ भदौमा गुरुङले
दिल्ली, पहाडगञ्जस्थित क्यामा होटलको चार तला माथिबाट हाम्फालेर आत्महत्या
गरे। त्यसरात एक बजे उनले बोलेका अन्तिम शब्द सम्झ्िँदै उनीसँगै सुतेका
पोखराका बुद्धि कुँवर भन्छन्, “कहीँ जान सकिएन, घरबार उजाड भयो भनेको
याद छ। त्यसको एक घण्टापछि छतबाट फाल हालेछन्।”
विदेश जाने मोहमा पैसा गुमाएपछि मानसिक सन्तुलन गुमाउनेहरू
पनि छन्। पाल्पाका कम्प्युटर इन्स्टिच्युटहरूमा अङ्ग्रेजी भाषा पढाउने
गरेका चितवन टाँडीका २६ वर्षीय ज्ञानेन्द्र खड्का लण्डन र रोमानिया
लैजाने भन्दै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङ र बुटवलका
३२ जनाबाट रु.१० लाख उठाएर फरार भएपछि उनलाई पैसा उठाउन सघाउने पाल्पाका
घरबेटी शङ्कर घिमिरे मानसिक रोगले थला परेका छन्। पीडितहरूले उनलाई
र्याखर्याख्ती पारेपछि यस्तो अवस्थामा पुगेका घिमिरेलाई एक महिना
वीर अस्पतालमा उपचार गरेपछि पनि नयाँ मान्छे देख्नै हुँदैन। उनकी दिदी
सीता घिमिरे भन्छिन्, “कोही नयाँ मान्छे देख्यो कि पैसा माग्न आएको
ठानेर बेहोस हुन्छ।”
क्यानडा पठाइदिन्छु भनेर रु.८ लाख लिई आफूलाई सिङ्गापुर
लैजाने गायक विमल क्षेत्री भागेपछि म्याग्दीका रोशन पुन नक्कली कागजात
प्रयोग गरेको अभियोगमा पक्राउ परे। ऋण काढेर लगेको पैसा डुब्नुका साथै
प्रहरीको यातना समेत खप्नु परेकाले उनी विक्षिप्त भएका छन्। एक चिनियाले
उद्धार गरेर बाहिर निकाले पनि मानसिक सन्तुलन ठीक भइसकेको छैन। पुनलाई
भेटेका बुद्धि कुँवर अहिले उनी 'जापान टोकियो, मैले आठ लाख तिरेकै
थिएँ नि, सिङ्गापुरमा किन ठोकियो' भन्दै त्यहाँका गल्लीगल्लीमा भौँतारिइरहेका
बताउँछन्।
विदेश जाने चक्करमा ऋण–धन गरेको पैसा डुबेर धेरैजना
कङ्गाल भएका छन्। रुपन्देही, सिक्टहनका नवीन लामाले गत वर्ष जर्मन
जान भनी आफ्नो डेढ विघा जमिन बेचेर नपुग ऋण खोजी दलाललाई रु.५ लाख
बुझ्ाए। तर मुम्बईबाट उडेका उनी र सँगै गएका १० जनालाई थाइल्याण्ड
र सिङ्गापुर पुर्याएर फर्काइयोर मुम्बई आएर फेरि थप पाँच–पाँच लाख
रुपैयाँ मागियो। जग्गा जमिन बेचेर कङ्गाल भइसकेका नवीनले 'काम बनिसक्यो'
भन्दै गाउँका जीवन रानासँग ऋण मागे। रानाले आफ्नो डेढ विघा जमिन ब्याङ्कमा
धितो राखेर रु.५ लाख दिए। तर नवीनको काम भएन। अहिले उनी लुक्दै हिँडिरहेका
छन् भने राना जग्गा निकाल्न नसकेर रुँदैछन्।
यस्तो बिचल्लीमा परेका थुप्रै नेपालीहरू दिल्लीका होटल,
रेष्टुराँमा भाडा माझ्िरहेका भेटिन्छन्। कति त उल्टै दलाल भएका छन्।
दलालले भोलि नै काम हुन्छ भनेर अत्याएपछि श्रीमानको दुबईको ड्राइभिङ
भीसा समेत रद्द गराएर क्यानडा जान हिँडेकी काभ्रेकी एक महिलाको दिल्लीमा
बिचल्ली भएको छ। अलविन केसीले लगेका ८० जनाको समूहमा उनीजस्ता १५–२०
महिला थिए। घर फर्कनको लाजले उनीसँग गएका दुई महिला कुबेत गएका छन्
भने उनी र स्नातक पढेकी काठमाडौँकी २० वर्षीया साँघे शेर्पा दिल्लीमै
बसेकी छन्।
'घर न घाटका भयौँ!'
 |
| दिल्लीस्थित एक मःमः पसलमा नेपाली कामदार। |
२७ जेठमा
सिङ्गापुरबाट भीसा बनाउन भनेर रु.२० हजार दियौँ। ५० जना जतिले १० कक्षा
पास गरेको शैक्षिक प्रमाणपत्र बनाउन थप रु.७ हजार बुझ्ाए। त्यसमा मेरी
श्रीमती पनि थिइन्। हामीलाई एक साताभित्र भीसा आइपुग्छ भनियो। आफूलाई
अपाङ्ग संघको अध्यक्ष बताउने महाराजगञ्ज चक्रपथमा डेरा गरी बसेको अलविनले
दिल्लीबाट क्यानडा उडाउने बताएको थियो। तर एक सातापछि राहदानीले मात्र
भएन मान्छे नै देखिनुपर्यो भनेर ८ असारमा मलेसिया हुँदै शानेवानिको
जहाजबाट सिङ्गापुर लग्यो। त्यहाँ खान–बस्नका लागि दिनको ५० सिङ्गापुर
डलर आफैँ खर्च गर्नुपर्थ्यो।
सिङ्गापुरका लागि १४ दिने 'ट्राभेलिङ भीसा' सकिन लागेपछि
हामीलाई मलेसिया गएर 'स्टिकर भीसा' लगाएपछि अध्यागमनले शङ्का गर्दैन
भनी फेरि मलेसिया लगेर अर्को भीसा लगाई सिङ्गापुर फर्काइयो। हामीमध्ये
केहीलाई तत्कालीन मन्त्री रेनु यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा
वितरित अपाङ्ग संघको कदरपत्रका आधारमा 'अपाङ्ग' बनाएर र केहीलाई कलाकार
बनाएर क्यानडा पठाउने 'योजना' थियो। तर नसकेपछि सिङ्गापुरमा दुई सय
व्यक्ति जम्मा गर्ने, विभिन्न देशमा कार्यक्रम देखाउने भनेर एउटा विमान
भाडामा लिई त्यहाँबाट क्यानडा जाने र त्यहाँ पुगेपछि विमान बिग्रियो
भनेर सबैलाई होटलमा राख्ने र त्यसपछि भागे भनेर विमान फर्काइदिने कुरा
सुनाए। यसका लागि त्यहाँको एक विमान कम्पनी पनि तयार भएको बताइएको
थियो। उनीहरूले त्यति मान्छे जम्मा गर्न सकेनन्। भीसा बढाउँदै सिङ्गापुर
बस्न पनि डर थियो। त्यसपछि दलाल पनि भागे, हामी पनि फर्क्यौँ।
दलाल दिल्लीमा छ भन्ने सुनेर यहाँ आयौँ र उसलाई समात्यौँ।
उसले काम बनाइदिन्छु भन्दै विभिन्न दूतावासमा दौडाउन थाल्यो। माल्टा,
क्यूवा र सेनेगलका दूतावासमा चक्कर लगाउँदा फेरि रु.२ लाख जति चुना
लगाइदियो। त्यतिबेलै हतास भएर चन्द्र गुरुङले आत्महत्या गरे। सब भागाभाग
भए। त्यही मौका छोपेर एलवी, अलविन र क्षेत्रीहरू पनि टाप कसे। बुद्धि
कुँवरको सेनेगलका लागि 'टुरिस्ट भीसा' लागेको थियो। तर दिल्लीमा मान्छे
बेचेर कमाउन बसेको नेपाली भाइ, हिमालय ट्राभल्सका कवि क्षेत्रीले एयरपोर्ट
सेटिङ र टिकटको भन्दै भारु १ लाख ३३ हजार झवाम पारेपछि उनी पनि घर
फर्किए। ऋण–धन गरी ल्याएको पैसा सकिएपछि हामी दिल्लीमा लुकेर बसिरहेका
छौँ। घर जाऔँ साहुहरू आउँछन्। ३३ प्रतिशत ब्याजका दरले ऋण काढेर दलाललाई
दिएका थियौँ। घरमा परिवार–केटाकेटीको के हाल होला! हामी घर न घाटका
भयौँ।
(ठगिएपछि दिल्लीमा मःम पसल चलाएर बस्न थालेका नेपालको
एउटा अर्धसरकारी कम्पनीका अधिकृत र उनकी श्रीमतीसँग गरिएको कुराकानी।)
यो नेपालको मात्र समस्या होइन
डेपुटी पुलिस कमिस्नर,
नरेशकुमार
इन्चार्ज इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, दिल्ली
•
मानवतस्करी नेपालको मात्र नभएर विश्वकै टाउकोदुखाइ हो। यस्तो संवेदनशील
अन्तर्राष्ट्रिय अपराध रोक्न सबै देशका प्रहरी प्रशासनको सजगता र सक्रियता
चाहिन्छ। किनकि यो काम गर्ने अपराधीको सञ्जाल विश्वभर नै मजबूत छ।
• पछिल्लो समय धेरै नेपालीहरू फर्जी
कागजातका आधारमा विदेश जान भारतीय भूमिलाई प्रयोग गरिरहेका छन्। नेपाल
हुँदै आएका चिनियाँ युवतीहरू समेत नक्कली कागजात बोकेर युरोप उड्न
लाग्दा पक्राउ परेका छन्।
• दिल्ली प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा
नेपालका सात जना दलाल परेका छन्।
दिल्लीमा अभिषेककुमार र पाल्पामा देव
पचभैयाको सहयोगमा।
|