हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ संक्षेप

'सङ्कट आउनसक्छ'

बर्सेनि १० प्रतिशतका दरले माग बढ्ने पेट्रोलियम पदार्थको आपूर्ति घट्दै गएको दैनिक पेट्रोल पम्पमा बढेको भीडले देखाउँछ। नेपाल आयल निगमका प्रबन्ध निर्देशक विश्वनाथ गोयल नै तेल आपूर्तिको अवस्था नाजुक बन्दै गएको स्वीकार्छन्।

तेल आपूर्तिको अवस्था फेरि किन नाजुक?
हामीलाई मासिक झ्ण्डै रु.३ अर्ब २५ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ चाहिन्छ, जुन हामी हरेक १५–१५ दिनमा आफूसँग रहेको रु.१ अर्ब ५० करोड भुक्तानी गर्दै पूरा गरिरहेका छौँ। तर हाम्रो बक्यौता करिब रु.११ अर्ब पुगेपछि गएको डिसेम्बरदेखि इण्डियन आयल निगमले हामीले पठाएको रकमबाट मासिक रु.२० करोड पुरानो बक्यौता कटाएर बाँकीको मात्र तेल दिन थालेको छ। परल मूल्य भन्दा कममा बेच्दा हरेक महिना रु.७ करोडको घाटा त छँदैछ। यी दुवै कारणले हामीसँग भएको पैसा घट्दो छ। यो अवस्था रहिरहने हो भने हामीसँग भएको रु.१ अर्ब ५० करोड ५ महिनामा सकिन्छ। यतिखेर हामीसँग पाँच दिनको लागि पुग्ने तेलको मात्र सञ्चिति छ। अर्को १५–२० दिनमा यो समस्यालाई सम्बोधन गरिएन भने फेरि तेलको सङ्कट हुनसक्छ। यद्यपि हामी त्यस्तो अवस्था नआओस् भन्नेमा सचेत छौँ।

के निगम साँच्चिकै टाटपल्टिन लागेको हो?
आर्थिक वर्ष २०५८/०५९ मा करिब रु.५ अर्ब सञ्चित रकम रहेको निगम यतिखेर प्रति महिना रु.७ करोडका दरले घाटा व्यहोरिरहेको छ। यस बीचमा निगमको सञ्चित रकमसँगै ब्याङ्कबाट लिएको करिब रु.४ अर्बको ऋण पनि सकिएको छ। त्यो बाहेक आईओसीको बक्यौता झ्ण्डै रु.११ अर्ब पुगेको छ। हाम्रो मूल्य अन्तर्राष्ट्रिय बजारसँग समायोजन हुन नसक्दा यो अवधिमा रु.९ करोड पूँजी भएको निगमको कुल घाटा रु.१९ अर्ब पुगेको छ।

अब इण्डियन आयलको बक्यौता कसरी तिर्नुहुन्छ त?
उनीहरूले पनि हामीलाई यही कुरा सोधिरहेका छन्। गएको सेप्टेम्बरमा इण्डियन आयलले प्रत्येक पटकको अर्डरमा पुरानो बक्यौताबाट रु.२५ करोड घट्दै जाने गरी पैसा पठाउन सकिने प्रस्ताव गरेको थियो। तर हामीले त्यो पनि पूरा गर्न सकेनौँ। त्यति गर्न पनि अहिले नै कम्तीमा प्रति लिटर रु.३ देखि ४ सम्म वृद्धि गर्नुपर्छ।

तेलमाथिको कर हटाइदिनु पनि समाधानको एउटा विकल्प हो भन्ने छ नि?
हामीकहाँ रु.६७ प्रतिलिटरको पेट्रोल सीमापारि रु.८१ पर्छ। डिजल पनि उता दुई–तीन रुपैयाँ महँगै छ। सस्तो भएकै कारण झ्ण्डै १५–२० प्रतिशत तेल अपचलन भएर विदेशिने गर्छ। यसलाई रोक्न सीमावर्ती भारतीय बजार भन्दा ५० पैसा भएपनि महँगो गर्नुको विकल्प छैन। फेरि विश्वका धेरै मुलुकको आम्दानीमा तेलको राजस्वको प्रमुख हिस्सा हुन्छ। भारतमा प्रति लिटर भारु ४८ पर्ने पेट्रोलमा भारु २८ का दरले राजस्व उठाइएको छ। त्यहाँको केन्द्रीय सरकारको पनि २० प्रतिशत राजस्व पेट्रोलियम पदार्थबाटै आउने गर्छ। जबकि हामीकहाँ ५ प्रतिशत मात्र छ। त्यसैले राजस्वको दरमा कम गरेर घाटा कम गराउने भन्ने कुरा पनि त्यति सान्दर्भिक देखिन्न।

भनेपछि तत्काल समाधानको कुनै उपाय छैनत?
विगत पाँच वर्षमा यो समस्या समाधान गर्न सरकारीस्तरमा ६ वटा आयोग बने। सबैको राय भनेको217 पेट्रोलियम पदार्थको मूल्यलाई अन्तर्राष्ट्रिय बजारसँग समायोजन गर्नुपर्ने भन्ने नै थियो। तर अहिलेसम्म कसैको पनि सुझ्ाव कार्यान्वयन भएन। भाउ नबढाउँदासम्म वा सरकारी अनुदानका कारण नेआनिले व्यहोर्नु परेको घाटा सरकारले हामीलाई उपलब्ध नगराउँदासम्म समस्याको समाधान देखिन्न। चालु घाटा कायमै रहने हो र आईओसीले हरेक महिना २० करोड लिँदै जाने हो भने हामीसँग भएको करिब रु.१ अर्ब ५० करोडको तरलता चारै महिनामा सकिन्छ।

जुन अनुदान दिइराखिएको छ, के त्यो लक्षित समूहसम्म पुगेको छ?
विल्कुलै छैन। यो अनुदान त गरीब मानिसको नाममा धनी, गाडी हुनेले पाइरहेका छन्। अस्तिसम्म त हवाईजहाज चढ्नेहरूले पाइरहेका थिए। हाम्रो अनुमानमा २० प्रतिशत गरीबले मात्रै यो अनुदानको तेल पाइरहेका छन्। बाँकी धनीले नै फाइदा लिइरहेका छन्।


हिमालयनको मुनाफा ५० प्रतिशतले वृद्धि

हिमालयन ब्याङ्कले यही २८ पुसमा आफ्नो १४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। स्थापनाको १४ वर्ष पूरा गरेसँगै ब्याङ्कले आफ्नो सेवाको दायरालाई फराकिलो बनाएको छ। प्रमुख कार्यकारी निर्देशक अशोक राणाका अनुसार वैदेशिक व्यापार तथा विभिन्न उद्योगलगायतका क्षेत्रहरूमा होलसेल ब्याङ्कको रूपमा लगानी गर्दै आएको हिमालयन ब्याङ्कले अब आफूलाई साना तथा मझ्ौला उद्योग व्यवसायतर्फको लगानीमा समेत केन्द्रित गर्नेछ। ब्याङ्कले यसनिम्ति आवश्यक प्राविधिक सहयोगका लागि बाङ्लादेशको इण्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) सँग सहकार्य गर्ने भएको छ।

पाकिस्तानको हबिब ब्याङ्क लिमिटेडको संयुक्त लगानी रहेको हिमालयन ब्याङ्कले अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत वृद्धिका साथ रु.४५ करोड ७० लाख मुनाफा आर्जन गरेको छ। ब्याङ्कले आफ्नो मुनाफा मध्येबाट शेयरधनीहरूलाई ३० प्रतिशत लाभांश र ५ प्रतिशत बोनस शेयर दिने तथा रु.५ करोड 'क्यापिटल रिजर्भ फण्ड' मा राख्ने भएको छ। यससँगै रु.२८ अर्बको निक्षेप सङ्कलन तथा रु.१६ अर्ब ५० करोडको कर्जा प्रवाह गरेको हिमालयन ब्याङ्कको पूँजी रु.७७ करोडबाट ८३ करोड पुग्नेछ।


वर्षात्मा खडेरी हिउँदमा डढुवा

गएको वर्षात्मा खडेरीले बर्खेबाली बिगारेकोले चिन्तित मध्य तराईका किसानहरूलाई यसपालिको हिउँदेबालीले पनि निराश पारेको छ। पुसको दोस्रो सातादेखि शुरु भएको शीतलहरले आलु, गोलभेँडा, गहुँ, दलहनलगायतका तरकारी, नगदे र अन्नबालीलाई हानि पुर्‍याएको छ। धनुषाको कुल खेतीयोग्य ७५ हजार हेक्टर जग्गामध्ये ३० हजार हेक्टरमा लगाइएको गहुँ, करिब १८०० हेक्टरको आलु र ४५० हेक्टरको गोलभेँडा शीतलहरको चपेटामा परेको छ।

धान उत्पादनमा नोक्सानी व्यहोरेका किसानलाई राहत पुर्‍याउन सरकारले सहुलियत दरमा उपलब्ध गराएको आलु, गोलभेँडालगायत विभिन्न नगदेबालीको १३८ टन बीउले पनि उनीहरूलाई उकास्न नसक्ने भएको छ। “पानी र सिंचाईको अभावमा धानखेतीमा नोक्सानी भयो। नगदेबालीले केही राहत देला भन्ठानेको, शीतलहरले त्यो पनि हुन दिएन”, सर्लाही, फेन्हाराका किसान तपेश्वर महतो भन्छन्। शीतलहरबाट नगदेबाली उत्पादन पनि घट्ने कृषि विकास कार्यालय धनुषाका प्रमुख सुकेश्वर झ्ाको अनुमान छ।

शीतलहरका कारण नगदेबालीमा 'डढुवा' रोग लाग्न थालेपछि कृषि कार्यालय धनुषाले आकस्मिक वाली संरक्षण सेवा कोषबाट मद्दत मागेको छ। क्षेत्रीय कृषि कार्यालयको उक्त कोषमा डेढदेखि दुईलाख रुपैयाँसम्म रहन्छ। कार्यालय प्रमुख झ्ाले डढुवा रोग नियन्त्रणका लागि 'रैन्थेनियम–४५' र 'क्रिनोसिल गोल्ड' विषादि माग गरिएको बताए। शीतलहरका बेला उत्पन्न हुने एक प्रकारको ढुसीले गर्दा लाग्ने डढुवा रोगबाट शुरुमा पात पहेँलिँदै गएर अन्त्यमा बिरुवा नै सुक्छ।

अजित तिवारी, जनकपुर


सय डलरको 'सानो साथी'

मुलुकको सबैभन्दा ठूलो सूचनाप्रविधि मेला 'क्यान इन्फोटेक' सम्पन्न भएको छ। यसपालिको मेलाको मुख्य आकर्षण रह्यो 'मेरो सानो साथी', अर्थात् बालबालिकाको निम्ति विकास गरिएको १०० अमेरिकी डलर (करिब रु.७,५००) पर्ने ल्यापटप। विकासोन्मुख मुलुकका बालबालिकाहरूलाई आधुनिक शिक्षामा सहयोग पुर्‍याउन अमेरिकी गैरसरकारी संस्था 'वन ल्यापटप पर चाइल्ड' (ओएलपीसी) को अग्रसरतामा विकसित उक्त ल्यापटप सन् २००५ मा पहिलो पटक सार्वजनिक गरिएको थियो। १३ औँ 'क्यान इन्फोटेक' मा उक्त ल्यापटप सार्वजनिक गर्दै ओएलपीसी नेपालका सञ्चार संयोजक रवि कर्माचार्यले भने, “यसको उद्देश्य बालबालिकालाई कम्प्युटर सिकाउनु नभई कम्प्युटरमार्फत् अध्ययन प्रक्रिया सहज बनाउनु हो।”

शैक्षिक विकासका लागि सरकारको अग्रसरतामा खरिद तथा वितरण गर्नुपर्ने शर्त रहेको यो ल्यापटप ब्राजिल, अर्जेन्टिना, उरुग्वे, लिविया, रुवाण्डालगायत करिब २० मुलुकमा यही वर्षभित्र बृहत् रूपमा परीक्षण गरिने भएको छ। ओएलपीसी नेपालका सचिव अङ्कुर शर्माका अनुसार यहाँ पनि शिक्षा तथा खेलकुद मन्त्रालय र शैक्षिक संस्थाहरू यो अभियानलाई स्वीकार्न उत्सुक देखिएका छन्।

सन् २००६ को अन्त्यदेेखि संसारका विभिन्न मुलुकमा यस्ता एक हजार ल्यापटप परीक्षणका निम्ति प्रयोगमा ल्याइएको भएपनि पूर्ण रूपले विकास गरिएको संस्करण भने यो वर्षको मध्यसम्ममा आउने अपेक्षा गरिएको छ। नेपालको परिपे्रक्ष्यमा यसको वितरण र उपयोगिताका सम्बन्धमा पर्याप्त गृहकार्य, सरकारको प्रतिबद्धता र उपयुक्त सफ्टवेयरको विकास भए मात्र यसको सम्भावना छ। ल
विवेक


वाई वाई मा वेष्टइण्डिज भ्रमण

युवाहरूमाझ् क्रिकेटको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर वाई वाई तयारी चाउचाउले 'वाई वाई हट शट' नामक उपहार योजना शुरु गरेको छ। कम्पनीका अनुसार यो योजनाले वाईवाईको प्याकेटमा राखिएको कुपन विजेताहरूलाई हवाई टिकट, बस्ने–खाने खर्च सहित सन् २००७ मा वेष्टइण्डिजमा आयोजना हुन गइरहेको विश्वकप क्रिकेट हेर्न जाने अवसर दिनेछ।

बजारमा प्रीति चाउचाउ

रमपम र टुपीएम तयारी चाउचाउको उत्पादक एशियन थाई फुड्स प्रालिले चिकेन स्वादमा प्रीति तयारी चाउचाउ बजारमा ल्याएको छ। ७० ग्राम प्याकको उपभोक्ता मूल्य रु.१२.५० रहेको यो चाउचाउ हाललाई बजार प्रवर्द्धन गर्न दुई प्याकेट किन्दा एक प्याकेट सित्तैँमा दिइने गरेको छ।

ग्लोबल ब्याङ्कको कारोबार शुरु

नेपाल राष्ट्र ब्याङ्कबाट 'क' वर्गको वाणिज्य ब्याङ्कको रूपमा वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरेको ग्लोबल ब्याङ्क लिमिटेडले मुलुकको १९ औँ वाणिज्य ब्याङ्कको रूपमा वीरगञ्जबाट कारोबार शुरु गरेको छ। अधिकृत पूँजी रु.२ अर्ब र चुक्ता पूँजी रु.१ अर्ब रहेको ग्लोबल ब्याङ्कले आफ्ना ग्राहकलाई स्तरीय ब्याङ्किङ सेवा–सुविधा दिने विश्वप्रसिद्ध ब्याङ्किङ सफ्टवेयर 'फिनाकल' प्रयोगमा ल्याएको बताएको छ। जुनसुकै शाखाबाट निक्षेप र कर्जा लगायतका कारोबार गर्ने सकिने यो ब्याङ्कमा लकर सेवा, इन्टरनेट ब्याङ्किङ, एटीएम सेवा जस्ता सेवा–सुविधा उपलब्ध हुने जनाइएको छ।

विश्वकर्मा को लखपति धमाका

'अब बन्ने होइन त लखपति...' भन्ने नाराका साथ नेपाल गुणस्तरचिन्हप्राप्त विश्वकर्मा सिमेन्ट्सले लखपति धमाका उपहार योजना प्रस्तुत गरेको छ। सो योजना अनुसार प्रत्येक २० बोरा विश्वकर्मा सिमेन्टको खरिदमा पाइने स्क्र्याच कुपनबाट उपभोक्ताले कम्तीमा रु.५० देखि बढीमा रु.१ लाख उपहार जित्न सक्नेछन्।

टोयोटाको एभेन्जा बजारमा

जापानी कार निर्माता कम्पनी टोयोटाको नेपालका लागि अधिकृत बिक्रेता युनाइटेट ट्रेडर्स सिण्डिकेट प्रालिले टोयोटाको नयाँ मोडल एभेन्जा बजारमा ल्याएको छ। सात जनासम्म यात्रु अट्ने १३०० सीसी इञ्जिन क्षमताको एभेन्जा मा अत्याधुनिक भीभीटी–आई पेट्रोल इञ्जिन रहेको कम्पनीले जनाएको छ। नेपालका सडकमा प्रति लिटर पेट्रोल १५ किमिसम्म गुड्ने बताइएको यो कारको उपभोक्ता मूल्य रु.२४ लाख ५० हजार तोकिएको छ। 'ह्याचब्याक' मोडलमा उपलब्ध एभेन्जा कारलाई सुरक्षा, सुविधा र आराम चाहने ग्राहकहरूले मनपराउने कम्पनीको विश्वास छ।