हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण विश्लेषण

आसन्न नेतृत्व सङ्कट

अबको नेताले बहुलता तथा विविधतासहितको राष्ट्रिय एकतालाई नेतृत्व दिन सक्नुपर्नेछ। भारतका अगाडि नझ्ाुक्ने र नटुट्ने इच्छाशक्ति र अमेरिकाका सामु न भय न दम्भ प्रदर्शन गर्नसक्ने राजनेता नेपालले खोजिरहेको छ।

सीके लाल

आठ–नौ वर्षजति अगाडिको कुरा हो। निर्माण तथा भौतिक योजना मन्त्रालयका तत्कालीन सचिव वरुणप्रसाद श्रेष्ठले क्यानडाको मन्ट्रियल शहरका मेयरलाई सोधे, “तपाईँका समस्याहरू के के हुन्?” प्रश्न सुनेर मेयर एकछिन् अक्मकिए, अनि भने, “अहँ, केही पनि छैन।” अल्मलिने पालो अब भने सचिव श्रेष्ठको थियो, “यसले प्रश्न नबुझ्ेको पो हो कि? त्यत्रो महानगरको मेयरको कुनै समस्या नै नहोला त!” तर मेयरले निकै सोचेर मात्र बोलेको हुनुपर्दछ। स्थापित समाज (स्टेवल सोसाइटी) का समस्याहरू व्यवस्थापनस्तरमै टुङ्गिन्छन्।

तरल परिस्थितिमा भने स–साना समस्याहरू समेत प्रमुख नेतृत्वले नै सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसैले अस्थायी शिक्षकदेखि डिभी पीडितसम्मका समूहहरू सोझ्ै बालुवाटार घेर्न चाहन्छन्। एमालेका भातृसंस्थाहरू विश्वविद्यालयका पदाधिकारीहरू नियुक्त हुनुपर्दछ भन्ने माग शिक्षा मन्त्रीलाई दिँदैनन्, प्रधानमन्त्रीलाई दबाब दिन पुग्दछन्। परिवर्तनको सँघारमा रहेको राष्ट्रको त्यो एउटा अर्को बाध्यता होः प्रमुख नेतृत्व क्षेत्रीय, दलीय, लैङ्गिक, जातीय वा पारिवारिक पूर्वाग्रहबाट मुक्त, राष्ट्रियस्तरको हुनुपर्दछ। यस्तो जटिल तथा तरल परिस्थितिमा गिरिजाप्रसाद कोइराला राष्ट्रका नेता छन्।

कोइरालाका सीमितताहरू गनेर साध्य छैनन्। उनी अड्डी लिने स्वभावका छन्। कोइरालाहरूको वंशवादी बानीव्यहोरा महसुर छ। आफ्ना दलीय हितका कुरामा नेपाली काङ्ग्रेसका अध्यक्षले कहिल्यै सम्झ्ौता गर्न सक्दैनन्। कोइराला परिवारमा भित्रिया र बाहिरियाको विभेद व्यापक छ। प्रधानमन्त्री परराष्ट्र वा अर्थ नीतिको समझ् भएको व्यक्तिका रूपमा चिनिँदैनन्। तर आफ्ना यस्ता सबै सीमितताहरूका बाबजूद कोइराला अहिले विकल्परहित राष्ट्रिय नेतृत्वको रूपमा स्थापित हुनपुगेका छन्। राजावादी, माओवादी, मार्क्सवादी, अध्यात्मवादी, भौतिकवादी र अवसरवादीहरू समेतले अहिलेलाई उनलाई 'सबभन्दा कम अस्वीकार्य नेता' का रूपमा अङ्गीकार गरेका छन्। तर यस्तो बाध्यात्मक परिस्थिति चिरस्थायी रहन सक्दैन। कोइराला स्वस्थ, इच्छुक, सक्षम र उपलब्ध हुँदाहुँदै पनि उनको नेतृत्वको विकल्प खोज्नुपर्ने अवस्था उत्पन्न हुनसक्छ। राष्ट्रको नयाँ परिस्थितिले नयाँ नेतृत्व माग्न सक्छ। अन्तर्राष्ट्रिय परिवेशले नेतृत्व फेर्नुपर्ने अवस्था उत्पन्न हुनसक्छ। कुनै पनि व्यक्ति अप्रतिस्थाप्य (इरिप्लेसेवल) होइन भन्ने मान्यतालाई स्वीकार गर्ने हो भने कोइरालाको विकल्प सोच्नुपर्ने बेला भइसक्यो।


परिवर्तनको परिस्थिति
पैतृक विरासत वा वपौतीको रूपमा राजनीतिक नेतृत्व हस्तान्तरण नहुने होइन। अमेरिकाका राष्ट्रपति जर्ज डब्लू बुशदेखि भारतका महाप्रधानमन्त्री (सुपर प्राइममिनिष्टर) सोनिया गान्धीसम्म पारिवारिक पृष्ठभूमिका कारणले नै आ–आफ्ना ठाउँमा पुगेका हुन्। तर साँच्चिकै 'नेता' ऐतिहासिक परिस्थितिले जन्माउँछ। युगान्तकारी परिवर्तनलाई प्रभावित गर्न सक्ने व्यक्ति मात्र सही अर्थमा नेता हो। कैयौँ पटक नेतृत्व गुण हुँदै नभएका व्यक्तिहरू समेत समयको मागले गर्दा नेता बन्न पुगेको दृष्टान्त आधुनिक नेपालमा पनि देख्न सकिन्छ।

प्रजापरिषद र नेपाली काङ्ग्रेसजस्ता पाका दलहरूले 'क्रान्ति' गरेको जति नै दाबी गरे पनि २००७ सालको राजनीतिक परिवर्तन जवाहरलाल नेहरूको सक्रियतामा सम्पन्न राणा र शाह परिवारबीचको समझ्दारी र सम्झ्ौतामा टुङ्गिएको थियो। नयाँदिल्लीको 'पुतली शासक' का रूपमा राजा त्रिभुवन प्रतिष्ठापित भएका थिए। शाह पुनःस्थापनपछि शायद राजा त्रिभुवन सन्तुष्ट भएर बस्न मञ्जुर गरिसकेका थिए। तर बीपी कोइरालाको वैकल्पिक प्रजातन्त्रीकरण प्रारुपका कारण उनमा बल्लतल्ल फेला पारेको राजपाट जोखिममा पर्ने भय उत्पन्न भयो र उनी छलकपट र जालझ्ेलमा लागेर मतिभ्रम नेताका रूपमा उपस्थित भए।

२०१७ सालको अधिक्रान्ति खासमा २००७ साल सम्झ्ौताको स्वाभाविक परिणति थियो र त्यसबीचको नेपाली काङ्ग्रेसको १८ महिने शासन एउटा राजनीतिक अपसरण– पलिटिकल अवेरन्स। राजाको प्रमुखता, सेनाको वर्चस्व, सांस्कृतिक नेपालीपनको प्रभुत्व तथा हिन्दू अधिराज्यको अवधारणा कायम रहेको समाजमा संवैधानिक राजतन्त्र टिक्न सक्ने कुरै थिएन। राजा महेन्द्रले सैनिक 'कु' गरे217 र, तानाशाह नेताका रूपमा स्थापित भए। कपट, क्रूरता र कूटनीतिको बलमा राजा महेन्द्रले नेपालको एउटा सिङ्गो पुस्तालाई नै मतिभ्रमको अवस्थामा राख्न सफल भए र बाचुञ्जेल उनलाई कुनै ठूलो चुनौती सामना गर्नु परेन।

स्रष्टा र चिन्तक बीपी कोइरालाको राजनेता स्वरुप तीसको दशकमा प्रकट भयो। उनको नेपाल आगमन, राष्ट्रिय मेलमिलापको नयाँ सिद्धान्त र नेपाली काङ्ग्रेसले सिर्जना गरेको वस्तुगत राजनीतिक आधारले गर्दा नै २०३६ सालको जनमत सङ्ग्रह सम्भव भएको हो। दुर्भाग्यवश पञ्च–वाम गठबन्धनद्वारा शान्तिपूर्ण परिवर्तनको त्यस अभूतपूर्व अवसरलाई ध्वंस गरियो। बीपी कोइराला बाचुञ्जेल नेता त रहे, तर उनको नीति पराजित भयो। त्यसपछि नेपाली काङ्ग्रेसभित्र त्रिमूर्ति नेतृत्व कायम रहे पनि नैतिक प्रमुखता गणेशमान सिंहको शुरु भयो।

२०४६ सालको प्रजातान्त्रिक आन्दोलन अत्यन्त कठिन परिस्थितिमा सञ्चालन भएको थियो। भारतीय आर्थिक नाकाबन्दी चलिरहेका बेला नेपालभित्र प्रजातान्त्रिक सङ्घर्ष चलाउनु चानचुने चुनौती थिएन। गणेशमान सिंहको सगरमाथा व्यक्तित्वले त्यस ऐतिहासिक आन्दोलनलाई संयम र संयोजनका साथ लक्ष्यमा पुर्‍याउन सहयोग पुर्‍यायो। २०४६–०४८ कालखण्डका नेता आफ्ना सबै सीमितताहरूका बाबजूद लौहपुरुष गणेशमान सिंह हुन्।

विश्व साम्यवादी आन्दोलनमा देखापरेका विचलनलाई सही रूपले विश्लेषण गरेर बहुदलीय जनवादको आवरणमा प्रजातान्त्रिक समाजवादको अवधारणा अङ्गीकार गर्ने मदन भण्डारी चालीसको दशक सकिन लाग्दा आशलाग्दो नेताको रूपमा उदाएका थिए। दुर्भाग्यवश उनको अस्त पनि नाटकीय ढङ्गबाट भयो र त्यसपछि उनको विचारधारालाई निरन्तरता दिनसक्ने व्यक्तित्व एमाले भित्र कोही देखिएन।

२०४६ सालको युगान्तकारी परिवर्तनलाई आत्मसात् गर्न नसकेर राजा महेन्द्रकै सांस्कृतिक वर्चस्ववाद पछ्याइरहेका राजनीतिकर्मीहरूलाई नेकपा (माओवादी) नेतृत्वले ठूलो वैचारिक चुनौती दिएको हो। त्यसबेलाका मूलधारका दलहरूले बहुलवाद स्वीकार गर्न सकेको भए द्रोही र आवारा तत्वहरूलाई समायोजन गरेर सञ्चालन गरिएको माओवादी राजनीतिक उद्यम टिक्न सक्ने कुनै सम्भावना थिएन। दरबार र भारत सरकारले आ–आफ्नै सामरिक स्वार्थले गर्दा माओवादीहरूलाई सघाएको हुन सक्दछ, तर पचासको दशकमा संघीय राज्य, जातीय पहिचान तथा समतामूलक अर्थव्यवस्था समयको माग थियो। भनाइ नै छ, समय आइसकेको विचारधारा जतिको शक्तिशाली अवयव संसारमा अरू कुनै छैन। पचासको दशकका निर्विवाद नेता आफ्ना सबै कमी–कमजोरीहरूका बाबजूद पुष्पकमल दाहाल हुन्।

दोस्रो पटक श्रीपेच पहिरने राजा ज्ञानेन्द्र अदम्य मह140वाकांक्षा र पारिवारिक पुनर्जागरण (राणा रेनेसाँ) को फन्दामा फँसेर स्थापित हुन नपाउँदै अधोगतितिर उन्मुख भए। सत्चित शमशेर, प्रभु शमशेर, प्रज्ज्वल शमशेर, प्रदीप शमशेर, हिमालय शमशेर अनि त्यस्तै कतिपय क्षेत्री–ठकुरीहरूको मिथ्या दम्भले गर्दा २०१७ सालका 'भूतहरू' साठी सालपछि पनि सल्वलाउन शुरु गरेकाले सामान्यतः अत्यन्तै सहनशील नेपाली जनता सडकमा उत्रिएका हुन्। तर छोटो अवधिका लागि भए पनि राजा ज्ञानेन्द्र नेता भने भए।

२०६३ सालको जनविद्रोहले नेपालीहरूका बीच सम्वाद र समन्वय तथा राजाविरुद्ध सङ्घर्षको नेतृत्व खोजेको थियो। अत्यन्तै प्रभावशाली अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न सक्ने व्यक्तित्व चाहिएको थियो। भारत र चीनलाई विश्वासमा लिनसक्ने खुबी भएको राजनीतिकर्मीको आवश्यकता थियो। त्यस्ता सबै विशेषताहरू भएको सक्रिय राजनीतिकर्मी नेपालमा कोइराला बाहेक अरू कोही थिएन, त्यसैले उनी आफ्ना सबै दोषहरूका बाबजूद राष्ट्रिय नेता भए, र अहिले सहजकर्ता सरकारको प्रमुखको रूपमा विराजमान छन्।

नविद्रोहका उपलब्धिहरूलाई संस्थागत गर्न बन्ने अन्तरिम सरकारको नेतृत्व समेत उनैले गर्ने कुरामा माओवादीहरूले सहमति जनाइसकेका छन्। तर त्यसपछिको भूराजनीतिक परिस्थिति र नेपालको धरातलीय यथार्थले वैकल्पिक नेतृत्व माग गर्न सक्छ।
नेपालको आन्तरिक परिस्थितिमा अबको नेताले बहुलता तथा विविधता सहितको राष्ट्रिय एकतालाई नेतृत्व दिन सक्नुपर्नेछ। माओवादी आन्दोलनले हुर्काएको बन्दुके संस्कृतिलाई सफल अवतरणको वातावरण बनाउनसक्ने व्यक्तित्व हुनुपर्नेछ। परम्परागत शक्ति, जस्तै सेना, प्रशासन, प्रबुद्धवर्ग, पुरेत–पुजारी, व्यापारी र भाइभारदारहरूलाई आश्वस्त पार्दै आसन्न सामाजिक परिवर्तनका लागि तयार पार्नुपर्नेछ।

भारतका अगाडि नझ्ुक्ने र नटुट्ने इच्छाशक्ति र अमेरिकाका सामु न भय न दम्भ प्रदर्शन गर्नसक्ने राजनेता नेपालले खोजिरहेको छ। अबको नेताले जान्ने–सुन्नेहरूको कुरा सुन्ने तर गर्ने भोग्नेहरूको कुरा मान्ने व्यावहारिकता देखाउनुपर्नेछ। प्रश्न उठ्छः छ त कोही यतिविघ्न चुनौतीहरूको जालो सफा गर्नसक्ने माइकालाल, लाली वा लल्लु (पुलिङ्ग, स्त्रीलिङ्ग र उभयलिङ्गको अर्थमा) यस देशमा? आशावादी हुन सकिने आधार २०४६ सालको परिवर्तनले बनाइदिएको छ।

भविष्यका नेता
अहिले चलिरहेका पर्दापछाडिका खेलहरू सफल हुने हो भने बासी अनुहारहरूको बाहुल्य रहेको ताजा अन्तरिम व्यवस्थापिकाले नयाँ नेतृत्व उदाउन सक्ने वातावरण बन्न दिने छैन। काङ्ग्रेस एकीकरणपछि सुशील कोइराला अध्यक्ष तथा शेरबहादुर देउवा प्रधानमन्त्री परम्परागत शक्तिहरूको चाहना हो। एमाले–माओवादी एकता र झ्लनाथ खनालको अध्यक्षतामा कृष्णबहादुर महराको नेतृत्वका आकांक्षा राख्नेहरू पनि कम छैनन्। सैनिक अग्रसरतामा दक्षिणपन्थीहरूको व्यापक गठजोड बनाउने र देउवालाई पुनःस्थापित गर्ने प्रयासमा क्षमताभन्दा धेरै बढी मह140वाकांक्षा भएका उनका दलका केही नेता, कार्यकर्ताहरू नयाँदिल्लीदेखि वाशिङ्टनसम्म भित्रभित्रै सक्रिय छन्। तर यस्ता षड्यन्त्रहरूबाट जन्मिएको नेताले राष्ट्रलाई अर्को भुमरीमा धकेल्नुबाहेक अरू केही गर्नसक्ने छैनन्।

नेतृत्व गुण सम्पन्न व्यक्तिहरू भने सबै प्रमुख दलहरूभित्र पर्याप्त रहेकाले युवा कार्यकर्ताहरूले दबाब सिर्जना गर्ने आवश्यकता भने महसूस हुनथालेको छ। कोइरालाले नेपाली काङ्ग्रेसबाट नेतृत्व क्षमता विकसित हुन दिनुपर्छ। माधव नेपालले आफ्नो नीति ('प्रतिगमन आधा सच्चियो') को असफलता स्वीकार गरेर नयाँ सोच र अवधारणालाई प्रस्फुटन हुन दिनुपर्छ। महिलामध्येबाट चित्रलेखा यादव, दलित समुदायबाट रामप्रीत पासवान, जनजातिबाट सुवास नेम्वाङ, दक्षिणपन्थीहरूमध्येबाट प्रकाशचन्द्र लोहनी, वामपन्थीहरूमा मातृका यादव वा हिसिला यमी, व्यवहारवादलाई अँगाल्न सक्ने विमलेन्द्र निधि र रामबहादुर थापा (बादल)– नयाँ नेपालतर्फ डोर्‍याउने सोच, समझ्दारी र क्षमता भएका राजनीतिकर्मीहरूको जमात दिनानुदिन विस्तारित भइरहेको छ। तर यसमध्ये वा अरू नै कस्तो नेतृत्व स्थापित हुन्छ? त्यो भने भारतीय राजनीतिको प्रवाहले प्रभावित गर्ने पक्कापक्की छ।

नयाँदिल्लीमा भारतीय जनता पार्टी पुनः हावी हुने हो भने नेपालमा पनि दक्षिणपन्थी गठजोड विकसित हुन बेर लाग्ने छैन। भारतीय जनता पार्टीको काठमाडौँ आएको 'रेकि टोली' शायद त्यस्तै निर्क्योलका साथ नयाँदिल्ली फर्किएको छ। करण सिंहको आसन्न भ्रमण काङ्ग्रेस एकीकरणलाई सघाउनेसम्म हुनसक्दछ। उत्तरप्रदेशको सन्निकट विधानसभा चुनावमा वामपन्थीहरूले उत्साहजनक उपस्थिति देखाउने हो भने एमाले–माओवादी ऐक्यबद्धताले ऊर्जा पाउन सक्दछ। नयाँदिल्लीमा काठमाडौँ सत्ता–राजनीतिको कोठेपद सुल्झ्ाउन एकसेएक दिग्गज दिमागहरू लागिरहेको हुनुपर्दछ― नेपाल र बङ्गलादेशको गुजुल्टो नसुल्ट्याई भारतको क्षेत्रीय शक्ति बन्ने दावीले अमेरिकी मान्यता पाउन सक्दैन। शायद कोइरालाले त्यो कुरा राम्ररी बुझ्ेका छन्। त्यसैले उनी आफ्नो राजनीतिक उत्तराधिकारीको चयनमा हतारो देखाइरहेका छैनन्। तर उनको प्राथमिकता परिवारभित्रैबाट पर्ने पर्याप्त सङ्केत देखिन थालेको छ। शैलजा आचार्यको सीमान्तीकरण, कृष्णप्रसाद सिटौलाको चामत्कारिक प्रगति र रामचन्द्र पौडेलको योजनाबद्ध अवमूल्यनले सुस्तरी एमाले, माओवादी र सेना तीनैथरीलाई स्वीकार्य हुने शशाङ्क वा शेखर कोइरालाको औपचारिक नेतृत्व स्थापनाका लागि नेपाली काङ्ग्रेसलाई तयार पार्न थालिएको सङ्केत बुझन गाह्रो छैन। तर त्यस्तो व्यवस्था अन्तरिम मात्र हुनसक्नेछ। मुलुकको सही नेतृत्व त अहिले पनि नाति पुस्ताबाट मात्र आउन सक्छ। त्यसका लागि भौतिक र मानसिक तयारी भने पुगेको छैन। नेतृत्व शून्यताको सङ्कट अहिले त्यसैकारण देखिएको हो। संविधानसभाको निर्वाचन प्रक्रियाले गति लिएपछि मात्र अनिश्चितताको कुहिरो विस्तारै फाट्दै जानेछ।