हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण विश्लेषण

काङ्ग्रेस र राष्ट्रको नेतृत्व

कुनैबेला जङ्गबहादुर र राजा ज्ञानेन्द्रले प्रयोग गरेजत्तिकै अधिकार पाएका गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नरहँदा ती अधिकार कुन रुपमा र कुन पद्धतिमार्फत् हस्तान्तरण गरिने हुन्, स्पष्ट छैन।

पुरुषोत्तम दाहाल

दश वर्षको माओवादी हिंसात्मक द्वन्द्वको उत्कर्ष र समापन वर्तमान कालखण्डको एक विलक्षण परिघटना हो। तर त्योभन्दा पनि ठूलो परिघटना हो– नेपाली काङ्ग्रेसभित्र सर्वाधिक राजावादी र वि.सं. २०३३ यता बी.पी. कोइरालाद्वारा प्रतिपादित राष्ट्रिय एकता तथा मेलमिलाप नीतिका सम्झ्ौताहीन समर्थक गिरिजाप्रसाद कोइरालाद्वारा यो प्रक्रियाको नेतृत्व गर्नु। ८५ वर्षको उमेरमा पुगेका, कृषकाय र ६ दशकदेखि सदा साम्यवाद तथा निरङ्कुशताविरुद्ध प्रजातान्त्रिक आन्दोलनका हस्ती गिरिजाप्रसाद कोइराला प्रजातान्त्रिक पद्धतिमाथि लाञ्छना लगाउँदैै १० वर्षसम्म गाउँ–गाउँका प्रजातन्त्रवादीलाई मार्ने, विस्थापित गर्ने र यातना दिने माओवादीको 'भरपर्दाे, विश्वासिलो र असली' नेता, भएका छन्।

यो समय राजसंस्थाको भविष्य, लोकतात्रिक गणतन्त्रको माग, सशस्त्र हिंसाको समाप्ति, स्थायी शान्तिको खोजी र राज्य पुनःसंरचनाको भार र भविष्य यिनै 'कृषकाय' गिरिजाप्रसादको थाप्लोमा छ। अर्कातिर, गएको वैशाखमा सम्पन्न सफल जनआन्दोलनले निर्धारण गरेको आधारभूत लक्ष्य समुन्नत लोकतन्त्रका निम्ति अन्तरिम विधान, अन्तरिम संसद र अन्तरिम सरकार हुँदै संविधानसभाको निर्वाचनको मार्गचित्र पनि कोइरालाकै एउटा काँधमा झ्ुण्डिएको छ भने विभाजित काङ्ग्रेसको 'एकीकरण' गर्नुपर्ने बोझ् पनि उनैको अर्काे काँधमा छ। त्यस्तै माओवादी हिंसाका सह–उत्पादनहरूका आडमा हुने नयाँ हिंसा र माओवादीबाट पूरा हुन नसकेका महवाकांक्षा तथा वर्तमान परिवर्तनले विकास गरेको जय–पराजयका खेलहरूबाट हुनसक्ने प्रतिहिंसाको ज्वरो शमन गर्ने जिम्मेवारी पनि कोइरालामै छ। यी चारै वटा स्थितिलाई उचित निष्कर्षमा नपुर्‍याउँदै कोइरालाले 'अब म सक्तिनँ' भने भने त्यो 'वाग्ाडोर' कसले थाम्न सक्छ? आजका दिनमा नेपालको भविष्यप्रति चिन्तितहरू माझ् यो प्रश्न टड्कारो हुनपुगेको छ।

अहिले प्रधानमन्त्रीमा राष्ट्रप्रमुखको जिम्मेदारी पनि थपिँदै छ। यद्यपि कोइराला राष्ट्रप्रमुखको समेत कार्यभार सरकारप्रमुखलाई दिइँदा प्रधानमन्त्री स्वेच्छाचारी र निरङ्कुश हुने बताइरहेका छन्। यो कथन केही हदसम्म सही छ। तर परिस्थितिले यस समयमा वि.सं. १९०३ पछिको जङ्गबहादुरदेखि २०६१ का राजा ज्ञानेन्द्र समेतले प्रयोग गरे जस्ता अधिकारहरू गिरिजाप्रसाद कोइरालामा सुम्पिएको छ र ती अधिकार प्रधानमन्त्री परिवर्तन हुँदा कुन रूपमा अनि कुन पद्धतिमार्फत् हस्तान्तरण गरिने हुन्, स्पष्ट छैन। त्यसैकारण अहिले गिरिजाप्रसादपछि राष्ट्र र नेपाली काङ्ग्रेस हाँक्ने नेता को हुनसक्छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।

राष्ट्रका लागि नेताः २०४६ को सफल जनआन्दोलनपछिका केही अपवादलाई छाडेर ००७ सालको जनआन्दोलनले स्थापित गरेकै नेताहरूले सरकारको नेतृत्व गरे। १७ वर्षको यो अवधिमा कृष्णप्रसाद भट्टराई दुईपटक गरी दुई वर्ष, गिरिजाप्रसाद कोइराला ६ पटक गरी करीब साढे ६ वर्ष र मनमोहन अधिकारी नौ महिना शासनमा बसे। सूर्यबहादुर थापा ००७ सालकै समयका हुन् भने लोकेन्द्रबहादुर चन्द सातसालका उत्पादन नभए पनि पुरानै हुन्। हुँदाहुँदा १९ माघ २०६१ मा 'कु' गर्ने राजा ज्ञानेन्द्र र उनका सहयोगी तुलसी गिरी र कीर्तिनिधि विष्ट पनि ००७ साल आसपासकै हुन्। अर्थात् विगत ६० वर्षदेखि लगातार राष्ट्रिय नेतृत्वको मियो एउटै परम्पराको, शुष्क र उराठलाग्दो छ। ०३० सालपछि नेताका रूपमा स्थापित नयाँ पुस्ताका प्रतिनिधि शेरबहादुर देउवा ०४६ पछि एक मात्र अपवाद हुनपुगे। जसले तीन पटक प्रधानमन्त्री हुने अवसर पाए पनि राष्ट्रलाई कुनै नवीनता बोध गराउन सकेनन्।

विवेकविहीन, अकुशल नेतृत्व हामीले लामो समयसम्म व्यहोर्‍यौँ। सफलता र असफलता परिस्थितिले निर्धारण गर्ने विषय हुन्। जो मानिस, जनता एकातिर आफू अर्कातिर हुन्छ त्यो नेता हुनसक्तैन। जो भीडले जे भन्छ त्यही गर्दै कुद्छ, त्यो पनि नेता हुँदैन। जो जनतालाई जबर्जस्ती शक्तिका भरमा आफूसँगै तान्न खोज्छ, त्यो पनि नेता हुनसक्दैन। यथार्थमा जो व्यक्ति सदासर्वदा जनताको अघि हुन्छ, दृढताका साथ जनताको विश्वास जित्न सक्छ र जनतालाई आफ्नो बाटोमा डोर्‍याउन सक्छ त्यही मात्र नेता सावित हुन्छ। आजसम्म त्यस्तो नेतृत्व नेपालले पाएको छैन। बी.पी. मा नेतृत्वको त्यो गुण भए पनि उनी सफल भएनन्।

यसरी हेर्दा गिरिजाप्रसादपछि उपयुक्त अनुहार को हुनसक्छ? माधवकुमार नेपाल, रामचन्द्र पौडेल, पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवा, वामदेव गौतम, डा. बाबुराम भट्टराई, सुवास नेम्वाङ, विमलेन्द्र निधि कि प्रकाशमान सिंह? अथवा झ्लनाथ खनाल, सुशील कोेइराला, अमिक शेरचन, नारायणकाजी श्रेष्ठ (प्रकाश)– कहाँसम्म र कतिसम्म नाउँ लिने? महिलाहरूमध्ये सक्रिय र सम्मानित साहना प्रधान मात्र पुरानो पुस्तामा बाँकी छन्। त्यसपछि एकैपटक मीना पाण्डे, उमा अधिकारी, विद्या भण्डारी, शशि श्रेष्ठ, हिसिला यमी, सरिता गिरी, पम्फा भूषालहरूको पंक्ति आइपुग्दछ। उनीहरूले राष्ट्रिय मान्यता पाउन अझ्ै सङ्घर्षको आवश्यकता पर्दछ। शैलजा आचार्य र दुर्गा पोखरेलले आफ्नो कदलाई आफैँले होचो बनाए।

पछाडि फर्किदाः मातृकाप्रसाद कोइराला, बी.पी. कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ, महेन्द्रनारायण निधि, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, रामनारायण मिश्र तथा केही हदसम्म टङ्कप्रसाद आचार्य, डा. के.आई. सिंह, श्रीभद्र शर्मा, विश्वबन्धु थापा ००७ सालले पैदा गरेका नेता हुन्। तर त्यो पुस्ताका धेरैजसो दिवङ्गत भए, केहीले विश्राम लिए। कृष्णप्रसाद र गिरिजाप्रसाद आजसम्म निरन्तर छन्। तर ०४७ को संविधान निर्माण र लगत्तैको आम निर्वाचनसम्म प्रमुख भूमिकामा रहे पनि त्यसयता भट्टराई छायाँमा छन्।

००७ सालयता परिदृश्यमा आएका अनेक राष्ट्रिय नेताहरू कोही विलाए, कोही मारिए, कोही दिवङ्गत भए र कोही विचलनको बाटोमा लागे। जस्तो― सरोज कोइराला, दिवानसिं राई, योगेन्द्रमान शेरचनहरू शहीद भए। तुलसी गिरी, राजेश्वर देवकोटा, डा. केशरजङ्ग रायमाझ्ी, विश्वबन्धु थापाहरू ०१७ पछि र परशुनारायण चौधरीहरूले ०३७ पछि विचलनको बाटो समाए। श्रीभद्र शर्मा आफैँ बिलाए। यसैकारण अब ०१७ पछि, ०२७ र ०३६ पछि, अनि ०४६ र ०५२ पछिको आन्दोलनबाट उत्पन्न नेतृत्व भित्रैबाट सम्भावना खोज्नुपर्ने अवस्था छ।

नयाँ सम्भावनाः २०५९―०६३ को आन्दोलनले केही नयाँ अनुहारलाई परिदृश्यको सतहमा ल्याइदिएको छ। मानवअधिकार एवं नागरिक आन्दोलनका क्षेत्रबाट कृष्ण पहाडी, डा. देवेन्द्रराज पाण्डे र लक्ष्मण अर्यालहरू, काङ्ग्रेसको मूलधारबाट नरहरि आचार्यहरू नयाँ मान्यताका साथ देखिएका छन्। तर पहाडी र पाण्डेको शासन र दायित्वको जिम्मा नलिने अठोट छ। यससँगै विश्वनाथ उपाध्याय र नीलाम्बर आचार्यमा समेत मानिसहरूका आँखा पुगेका छन्। विगतमा चर्चित दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरले पछिल्लो चरणमा आफूलाई छायाँमा नै राखे भने तारानाथ रानाभाट र शैलजा आचार्य द्विविधाको भुमरीमा अल्झ्िए। यस अर्थमा राष्ट्रिय नेतृत्व स्पष्ट छैन। त्यसैले राजनीतिक दलभित्रैबाट नयाँ सम्भावना खोज्नु जरुरी छ। त्यस्तो नेतृत्व राजसंस्थाको पक्षधर र निरङ्कुश राजसंस्थाका सहयोगी भित्रबाट आए पनि मान्य हुनसक्दैन। परिवर्तन र अग्रगमनकै धारबाट नेतृत्व खोजिनुपर्छ। यहाँनेर बिर्सनै नहुने कुरा के छ भने मानिसले नेतृत्वमुनिको सहयोगी शक्ति अर्थात् तल्लो तहदेखि नै नेतृत्व नयाँ, स्वच्छ र लोकतान्त्रिक संस्कृतिका संवाहक हुनसक्ने हुनुपर्छ भन्ने ठानिरहेछन्। यस सत्यलाई आत्मसात् गर्नु अपरिहार्य छ।

नेपाली काङ्ग्रेसभित्रको प्रश्नः बी.पी. कोइरालाले चर्चित भारतीय लेखक भोला चटर्जीसँगको संवादमा भनेका थिए, “समस्या के छ भने मेरो राजनीतिक क्रियाकलापले तीन पुस्ता नाघेको छ– मेरो पुस्ता, मेरो छोराको पुस्ता र मेरो नातिको पुस्ता। नेपालको परिवर्तनशील राजनीतिमा अत्यन्त स्थिर तत्वहरूमध्ये म पनि एक हुँ। मानिसहरू मलाई आँगनमा रहेको पुरानो ठूलो रूखलाई हेर्ने जस्तो दृष्टिले हेर्दछन्। त्यसैले उनीहरू मलाई अपरिहार्य ठान्दछन्।” अनेक असफलता, अपसंस्कृति र अहङ्कारका बाबजूद २०६०–०६३ सम्मको आन्दोलनका एक मात्र र निर्विकल्प नेता गिरिजाप्रसाद कोइराला― बी.पी.ले भने जस्तै आँगनमा रहेको त्यही पुरानो ठूलो रूख झ्ैँ भएका छन्। जसलाई नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू मात्र होइन, नयाँ चरणमा प्रवेश गरेको नेकपा माओवादी समेत अपरिहार्य ठानिरहेछ।

नेपाली काङ्ग्रेसको विगत नेतृत्वः नेपाली काङ्ग्रेसमा ००९ सालमा मातृकाप्रसाद कोइरालालाई हटाएपछि बी.पी. एकछत्र नेता रहे। तर त्यसमुनि सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायको एक बलियो नेतृत्व वृत्त थियो। ०१५ सालमा महेन्द्रनारायण निधि, रामनारायण मिश्र, श्रीभद्र शर्मा, तुलसी गिरी, विश्वबन्धु थापा, परशुनारायण चौधरीहरू अर्को पंक्तिमा आए। ०१७ सालको काण्डपछि गिरी र थापा छुटे। ०२५ सालबाट सुवर्ण शम्शेर र सूर्यप्रसाद निष्त्रि्कय भए। आन्दोलनका चरणमा सरोज, दिवान सिं, योगेन्द्रमानहरू नेतृत्वको उपल्लो पंक्तिमा पुगे पनि शहीद भए।

०१५ मा विकास गरिएको नेतृत्वको एक पंक्तिबाट भएको धोखा, ०१७ पछिको एक सशक्त पुस्ताको शहादत, अनि ०३२ मा श्रीभद्रको राजनीतिक हस्तान्तरण र ०३७ को परशुनारायण चौधरीको आत्मसमर्पणले काङ्ग्रेसमा अत्यन्त ठूलो रिक्तता पैदा भयो। बी.पी. कोइरालापछि यसैकारण 'त्रिमूर्ति' को अवधारणा पैदा भयो― गणेशमान सिंह, कृष्णप्रसाद र गिरिजाप्रसाद। यसैको सिको गर्दै ०१७ र ०२७ बाट स्थापित नयाँ पुस्ताका शैलजा आचार्य, शेरबहादुर देउवा र रामचन्द्र पौडेलको 'त्रिमूर्ति' को अवधारणा अघि सारियो। पुरानो त्रिमूर्तिमध्ये दुई मूर्तिलाई किनारा लगाएर अहिले गिरिजाप्रसाद काङ्ग्रेसको मात्र होइन, राष्ट्रको एकछत्र नेता बन्न पुगेका छन्। नयाँ पुस्ताका त्रिमूर्तिमध्ये शैलजा आफ्नै कर्मले जनताबाट किनारा लागिन् भने शेरबहादुर देउवाले अर्को पार्टी बनाए। काङ्ग्रेसभित्र अब रामचन्द्र पौडेल मात्र त्यस पुस्ताको केन्द्रमा छन्।

गोपाल राई र शेख इद्रिशको निधन, भूविक्रम नेम्वाङको राजनीतिक पलायन, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, प्रकाशमान सिंहको पृथक् पार्टी गमनका कारण नेपाली काङ्ग्रेसको नेतृत्वमा विभिन्न क्षेत्रको सन्तुलन पनि गुम्ने अवस्था छ। शैलजाको पलायन, मङ्गलादेवी सिंहको निधन, लीला कोइरालाको निष्त्रि्कयताका कारण काङ्ग्रेसमा महिला क्षेत्र पनि कमजोर छ। दलित नेतृत्व मानबहादुर विश्वकर्मामार्फत् स्थापित गर्ने प्रयत्न भइरहेछ। महिलामा अब कोइरालापुत्री सुजाता, मीना पाण्डे, पुष्पा भूसाल, सुप्रभा घिमिरेबाट नै स्थापित गर्नुपर्ने अवस्था छ। यति हुँदाहुँदै कोइराला परिवारभित्रको परम्परागत 'सञ्जाल' र अन्तरसंघर्षले को कता पुग्ने हुन् भन्न सकिँदैन।

परिवारभित्रको अन्तरसङ्घर्षः बी.पी. कोइरालापछि उहाँको एकछत्र उत्तराधिकार गिरिजाप्रसाद कोइरालामा सर्न पुग्यो। तर गिरिजाप्रसादको उत्तराधिकार त्यस्तो निर्विवाद र एकछत्र हुनसक्दैन। वितेका १५ वर्षसम्म गिरिजाप्रसादका उत्तराधिकारी मानिएका भाइ सुशील र भाञ्जी शैलजा हुन्। तर सुशील 'सानो कोटरी' बाट बाहिर निस्कन सकेनन् भने शैलजा पार्टीभन्दा पनि टाढा फड्को मार्न पुगिन्। अब कोइरालाको उत्तराधिकारको दाबी गर्ने छोरी सुजाता, भतिजहरू डाक्टरद्वय शेखर र शशाङ्क हुनपुगेका छन्। शेखर नोना–पुत्र हुन् भने शशाङ्क बी.पी.पुत्र। आफूलाई कोइराला वंशकै उत्तराधिकारी ठान्ने प्रकाश कोइराला ०४६ देखि नै राजतन्त्रका घोर समर्थक भए पनि काङ्ग्रेसले उनलाई दूधले धुने प्रयत्न गर्‍यो। तर उनको स्वभाव परिवर्तन भएन र ०६१ मा राजा ज्ञानेन्द्रका वैशाखी बन्न पुगे। अब परिवारभित्र नै तीन 'स' (सुजाता, शेखर र शशाङ्क) को नयाँ अन्तरविरोधी कुण्डली निर्माण भएको छ। परिवारभित्रको यो अन्तरविरोधबाट रामचन्द्र पौडेलको नाउलाई उतार्न चक्र, महेश, डा. रामशरण, आमोदहरू सक्रिय भए पनि त्यो नाउ पार होला भन्न सक्ने अवस्था छैन। यसरी पारिवारिक सङ्घर्ष र नेतृत्वमा उत्पन्न रिक्तता पुर्न कार्यकर्ताले काङ्ग्रेस एकीकरणको माग गरिरहेछन्।

नेतृत्व र काङ्ग्रेस एकीकरणः पहिलो पटक नेपालको नीति निर्माण प्रक्रियामा वामपन्थीहरूको पूर्ण बहुमत हुँदैछ र ००७ सालको परिवर्तनकारी शक्ति प्रतिपक्षको स्थानमा पुग्दैछ। यसो हुनुमा प्रजातन्त्रविरुद्ध त्रिभुवन, महेन्द्र र ज्ञानेन्द्र जस्ता राजाहरूले गरेका षड्यन्त्रका खेल एकातिर र प्रजातन्त्रवादी नेतृत्वको अप्रजातान्त्रिक चरित्र अर्कातिर प्रमुख जिम्मेदार मानिन्छन्। काङ्ग्रेसको पछिल्लो फूटले त साम्यवादी शक्तिलाई राम्रै राजमार्ग निर्माण गरिदिएको छ। अहिलेका काङ्ग्रेस कार्यकर्ताहरू आफ्नो र बहुदलीय पद्धतिको सुरक्षाप्रति ढुक्क छैनन्। यसैकारण काङ्ग्रेसबीच एकीकरण हुनुपर्ने माग उठिरहेछ। तर कोइरालामा एकीकरणपछि आफ्नो पारिवारिक विरासत गुम्ने भय छ भने देउवामा प्रतिस्पर्द्धा र परिष्कारको तीब्र दबाब पर्ने सन्देह छ। तर काङ्ग्रेस कार्यकर्ताहरू भ्रष्टाचार, अपसंस्कृति र अहङ्कारको तिक्त विगतलाई पूर्ण विसर्जन गर्दै एकीकरणको खोजीमा छन्, जसबाट कोइरालापछि नेतृत्वमा आउने रिक्तता पनि पुर्न संभव होस्।

यसरी गिरिजाप्रसादपछि काङ्ग्रेसका र राष्ट्रकै नयाँ नेता को हुने भन्ने गम्भीर प्रश्न उठेको छ। स्वस्थ प्रतिस्पर्धा र आधारभूत नागरिक स्वतन्त्रताप्रति प्रतिबद्ध हुँदै एक वर्षयता सात दलसँग गरिएका सहमति र शान्ति सम्झ्ौतालाई रणनीतिको अङ्ग नबनाई जनतामा पुगे भने माओवादीबाट राष्ट्रले नयाँ नेता पाउन सक्छ। एमाले र काङ्ग्रेसले आन्तरिक सुधार र एकता कायम गरे भने अथवा दुवै मिलेर मोर्चा बनाए भने लामो समयसम्म नेतृत्व दिन सक्ने व्यक्तित्वहरू त्यहाँ छन्। काङ्ग्रेस एकीकरण भयो भने संभावनाको सुदूर किरण देख्न सकिन्छ। अहिले वर्तमान अवस्थामा पूरा गर्नुपर्ने मुद्दाको उचित सम्बोधन हुनु जति अनिवार्य छ त्यति नै कोइरालाको उचित विकल्प तत्काल देखापर्नु आवश्यक छ। अन्यथा राष्ट्र एक सङ्क्रमणबाट अर्को सङ्क्रमण हुँदै निरङ्कुशता, अराजकता र विखण्डनको लामो शृङ्खलामा होमिन सक्छ र विगतमा जनताले लिएको आशा र विश्वासको विनाश हुनसक्छ। प्रजातन्त्रमा तेस्रो धारका लेखक स्याम्युअल पी. हङ्टिङटनका शब्दमा, “यस्तो अवस्थामा अधिनायकवादी असफलताका सम्झ्नाहरू धमिलिँदै जान्छन् र प्रजातान्त्रिक असफलतासँगको क्रोध बढ्ने संभावना हुन्छ।”