हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण

प्रधानमन्त्रीको स्वास्थ्य र दिनचर्या

किरण पाण्डे

देशको आठ दल भित्र र बाहिरका दल तथा विदेशी कूटनीतिक वृत्तदेखि दरबारसम्म हुने खुला/बन्द भलाकुसारीमा साझ्ा चासोको विषय हुनेगर्छ, 'कस्तो छ, पीएमको स्वास्थ्य?' आफ्नै स्वार्थले होस् वा सम्मान र मायाले, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यस्थितिप्रति चिन्ता र चासो राजा ज्ञानेन्द्रदेखि सर्वसाधारणसम्मलाई छ।

मुलुकको सर्वाधिक महवपूर्ण कालखण्डमा 'शिखर पुरुष' बन्न सफल प्रम कोइरालाको स्वास्थ्यप्रतिको आम चिन्ता र चासोबारे सिङ्गो सरकारी संयन्त्र भने मौन छ। प्रमको स्वास्थ्यस्थिति अड्कलबाजीमै सीमित छ। बिरामीको बारेमा गोप्यता 'मेण्टेन' गर्नुपर्ने पेशागत बाध्यताले हुनसक्छ, 'कस्तो छ प्रमको स्वास्थ्य?' भन्ने हिमाल खबरपत्रिका को प्रश्नमा शुरुमा 'किन चासो?' भन्ने प्रतिप्रश्न गरेका उनका निजी चिकित्सक डा. मधु घिमिरेले 'कम्प्रोमाइज्ड' भन्नेसम्म चाहिँ बताए। प्रमलाई लागेको रोग र त्यसको उपचारविधिबारे प्रश्न गर्दा निक्कै झ्ोक्किएका डा. घिमिरेले 'प्रम भएयता चुरोट खान नदिएको' चाहिँ लुकाएनन्।

स्रोतका अनुसार बुढ्यौलीका कारण सामान्यतः निद्रा नपर्ने प्रम कोइरालाको फोक्सोमा समस्या छ। दाहिने फोक्सो निक्कै कमजोर भएकोले उनलाई श्वासप्रश्वासको समस्याले सताउँछ। निदाएको बेला बाहेक करिब दुई–दुई घण्टामा जस्तो अक्सिजन लिनुपर्छ। २०६३ असारमा शहीद गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना भएका बेला उनको फोक्सोमा जमेको पानी निकालिएको थियो। त्यसपछि ब्याङ्ककमा पिसाबसँग सम्बन्धित 'प्रोस्टेट' को उपचार गरियो। 'क्रोनिक निमोनिया' भएका कारण कोइरालालाई चिसोले तुरुन्तै समात्छ। चिकित्सकहरूले उनलाई नियमित रूपमा 'इथाम्बोटल–८००' र 'आर्सिनेक्स' नामका औषधि चलाएका छन्। क्षयरोगका लागि चलाइने 'इथाम्बोटल–८००' करिब दुई महिना चलाएर हालै रोकिएको छ। पछिल्लो समय मांसपेशी चुस्त बनाउन शक्तिबर्द्धक औषधि 'स्टेरोयड' दिइएको उच्चसूत्रको दाबी छ, जसले गर्दा उनको अनुहारमा मोटोपन र कान्ति देखिएको छ।

कोइरालाको शरीरले एकछिनको धपेडी पनि सहँदैन। ८४ वर्षको वृद्ध शरीरले देखाउने स्वाभाविक प्रतिक्रिया हो यो। आरामका लागि विराटनगर पुगेका कोइराला कार्यकर्तासँगको भलाकुसारीबाट थकित भएपछि सहयोगीहरूले १६ पुसमा भेटघाटमै रोक लगाएका थिए। 'अस्वस्थताले गर्दा प्रधानमन्त्री हुनबाट रोक्नु नै पर्ने अवस्था नभएको' जनाए पनि डा. घिमिरे 'प्रधानमन्त्रीको जिम्मेवारीको बोझ्ले व्यक्तिको रूपमा कोइरालाको शरीरमाथि अन्याय गरेको' स्वीकार गर्छन्।

अस्वस्थ र वृद्ध शरीर अनि जीवनको उत्तरार्द्धमा आइलागेको गम्भीर जिम्मेवारी पूरा गर्नुपर्दा कोइरालाको दिनचर्यामा परिवर्तन आएको छ। विगतमा बिहान चार बजे उठिसक्ने उनी हिजोआज ५–६ बजे ओच्छ्यान छाड्छन्। नुहाउन शावर होइन, बाल्टिन र मग चाहिन्छ। स्वस्थ छँदा बिहान ६.१५–६.३० सम्ममा पोशाकमा सजिएर भेटघाट शुरु गर्ने र त्यसअघि नै दिनभरिको कामको जानकारी लिइसक्ने कोइरालाको नियम अहिले टुटेको छ। दुई वटा हाडे बदाम, जाडोमा हर्लिक्स, गर्मीमा मठ्ठा र स्वस्थ भएको बेला एउटा अण्डाको नास्तापछि बिहानको भेटघाट आठ बजे मात्र शुरु हुन्छ।

सामान्यतयाः विदेशी कूटनीतिज्ञ, विभिन्न प्रतिनिधिमण्डल र मुख्य सचिवलगायतसँग तत्कालिक आवश्यकताका आधारमा हुने बिहान १०–१०.३० बजेको भेटघाट नियमित छैन। ११.३० बजे बिहानको खानामा दुई गाँस भात, दाल, साग, एकटुक्रा मासु र डेजर्टको रूपमा एप्पल पाई छ। दूधदही मन नपराउने प्रम सकभर मासु चाहिँ भइदिए हुन्थ्यो भन्ने चाहन्छन्। खाना खाइसकेपछि करिब २.३० बजेसम्म आराम चाहिन्छ। त्यसपछि उठेर एकग्लास नरिवल पानी पिउँछन्। २.३० देखि साँझ् ५–५.३० सम्म भेटघाट चल्छ। बिहान नभ्याएको भए मुख्यसचिवको ब्रिफिङ पनि यही बेला हुन्छ। त्यसपछिको समय सामान्यतया आफन्तजन र निकटतम व्यक्तिहरूका लागि हुन्छ।
जाडोमा बेलुकी ७–७.१५ बजेसम्म र गर्मीमा आठ बजे खाने रातिको खानामा उही दुई गाँस भात, कुरिलोको सुप र छ भने एकटुक्रा मासु हुन्छ। सहयोगीहरू खानेकुरामा कोइरालाको पटक्कै रुचि नभएको र निक्कै कर गर्नुपर्ने बताउँछन्। चियाको तलतल भने छुटेको छैन। भेटघाटका क्रममा अधिकांशले उनलाई हातमा आधा ग्लास चियाका साथ देख्छन्।

प्रमका आफन्त कोही बालुवाटार निवासमा बस्दैनन्। छोरी सुजाता र भतिज शेखर हरेक दिन जसो पुगे पनि रातमा निजी सहयोगीहरू मात्रै साथमा हुन्छन्। विशेष गरी निजी सहायकहरू रामदेव यादव, सुर्जु उराँवसँगै निजी सचिव बालकृष्ण दाहाल र निजी सुरक्षाकर्मी महेन्द्र मरासिनीले प्रम कोइरालाको हेरविचार गर्छन्। प्रम कोइरालामा बिहान कुनै तनाव नदेखिए पनि बेलुकी दिन ढल्दै जाँदा र्झ्कोपन बढ्ने गर्दछ।