टिप्पणी
अवरोधहरूको परिणाम
•
मनीष प्रसाईँ
अपाङ्गता सम्बन्धमा विकास
हुँदै आएका विश्वव्यापी अवधारणाहरूलाई तीन भागमा बाँडेर हेर्न सकिन्छ।
पहिलोः परम्परागत, दोस्रोः चिकित्सकीय र तेस्रोः सामाजिक। परम्परागत
अवधारणामा अपाङ्गतालाई धार्मिक र सांस्कृतिक विश्वासका आधारमा व्याख्या
गरिन्छ, जसअनुसार मानिसमा अपाङ्गता आउनु भनेको पूर्वजन्मको पापको परिणाम,
पितृको श्राप, आमाबाबुले गरेको कुकर्मको फल, अशुभ सङ्केत इत्यादि ठानिन्छ।
यस्ता अवधारणाहरू, विभिन्न धर्मग्रन्थ, सांस्कृतिक मान्यता र विश्वासहरूमा,
विकसित देशहरूमा 'कुनैबेला थिए' भने अविकसित देश वा विकासोन्मुख देशहरूको
हकमा 'अझ्ै छन्'। इतिहासको कुनै कालखण्डमा हामी केही यस्ता शासक वा
धर्मगुरुहरू समेत पाउँछौँ जसले यी अवधारणाहरूलाई अभ्यासमा समेत ल्याउने
गर्थे। जस्तै, पन्ध्रौँ शताब्दीका जर्मन धर्मगुरु मार्टिन लुथरको विश्वास
अपाङ्ग बच्चा जन्मनेवित्तिकै मारिदिनुपर्छ भन्ने थियो भने नाजिवादले
मानिआएको 'सर्भाइवल अफ फिटेस्ट'को सिद्धान्तले संसार बलिया वाङ्गाको
मात्र हो, कमजोर र अपाङ्गहरू भनेका स्रोत र साधन खर्च गर्ने मात्र
हुन् भन्ने कुरामा विश्वास गर्थ्यो।
विज्ञान र सामाजिक क्रान्तिले समाजमा ल्याएको परिवर्तनसँगै
विकसित देशहरूमा सन् १९६० को दशकमा अपाङ्गतालाई बुझने र व्याख्या गर्ने
शैली पहिलेको क्रूर मानसिकताभन्दा केही माथि उठ्यो जसलाई चिकित्सकीय
अवधारणा भनिन्छ। यो अवधारणाले पनि शारीरिक क्षतिमा मात्र केन्द्रित
भएर अपाङ्गतालाई व्याख्या गर्यो। जसअनुसार शारीरिक क्षति एउटा असामान्य
अवस्था हो जसलाई चिकित्सकीय पद्धतिबाटै निदान गरिनुपर्दछ। यो अवधारणा,
यदि मानिस शारीरिक क्षतिको कारण पुरानै अवस्थामा फर्कन नसक्ने भयो
अर्थात् उपचारपश्चात् पनि तथाकथित सामान्य अवस्थामा आउन नसक्ने भयो
भने चाहिँ के गर्ने भन्ने कुरामा अस्पष्ट रह्यो। अर्थात् यसले अपाङ्गतालाई
प्रभाव पार्ने सामाजिक र वातावरणीय पक्षमा ध्यान पुर्याउनु भन्दा
पनि यसलाई नितान्त एउटा व्यक्तिगत समस्याको रूपमा हेर्ने प्रयास गर्यो।
माथिका दुई अवधारणामा क्रमशः देखिएका अमानवीय पक्ष र
अपर्याप्ततालाई चुनौती दिँदै सन् १९७० को दशकबाट पाश्चात्य समाजमा
अपाङ्गतालाई बुझने नयाँ शैली र अवधारणाको विकास भयो जसले अपाङ्गताको
सामाजिक पाटोलाई उजागर गरेर संसारको अपाङ्गता आन्दोलनलाई एउटा नयाँ
रुप दियो। यो अवधारणाले स्पष्ट रूपमा भन्यो– मानिसमा कुनै कारणले भएको
शारीरिक वा मानसिक क्षतिले उसलाई जति अपाङ्ग बनाएको हुन्छ त्योभन्दा
कैयौँ गुणा बढी सामाजिक उपेक्षा, वातावरणीय तत्वहरू र उपकारमुखी सोचले
बनाएको हुन्छ। सामाजिक अवधारणाले शारीरिक अङ्गको क्षतिलाई त्यति मह140व
दिँदैन जति वातावरणीय तत्वहरू र मानवअधिकारको विषयलाई दिन्छ। किनभने
शारीरिक अङ्गमा क्षति हुनु, कहिल्यै ठीक नहुने रोग लाग्नु, मानिस बूढो
भएर कमजोर हुनु, वंशानुगत समस्याले अङ्गहरूमा विकृति आउनु, पूर्ण/सबल
अङ्गहरू लिएर जन्मन नसक्नु इत्यादि कुराहरू समाजमा दुर्घटना, द्वन्द्व,
असावधानी, गरीबी, मानवीय त्रुटि, लापरवाही, अज्ञानता, वंशानुगत विकृति,
रोग, महामारी, दैवी प्रकोप इत्यादिले निम्त्याउने कुरा हुन्। यसैले
विभिन्न कारणले हुने शारीरिक वा मानसिक क्षति कुनै अर्को देशबाट समाजमा
थोपरिने शरणार्थी समस्या जस्तो होइन, बरु यो समाजमा भइरहने कुरा हो।
सामाजिक अवधारणाले कुनै कारणले मानिसमा हुन आउने शारीरिक
क्षति वा मानसिक समस्याको आधारमा उसलाई उपेक्षा, विभेद तथा समान अधिकार
र अवसरको उपभोगबाट वञ्चित गरिनुहुँदैन भन्ने मान्यता राख्छ, जसलाई
मानवअधिकारको विश्वव्यापी घोषणापत्र, बालअधिकार सम्बन्धी महासन्धि,
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता,
अपाङ्गता भएका व्यक्तिहरूका लागि अवसर समानीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय
प्रामाणिक नियमहरू र आगामी डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारणसभाले
पारित गर्न लागेको अपाङ्गता सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले समेत
अङ्गीकार गरेको छ।
सामाजिक अवधारणाले अपाङ्गता भएका नागरिकहरूको समावेशीकरण
र सशक्तिकरणको बाटोमा जम्मा तीन वटा अवरोधहरूको पहिचान गरेको छ।
पहिलो भौतिक वातावरणीय अवरोधहरू, जसमा राज्यले वा निजी
क्षेत्रले विकासको नाममा र जनताको सेवा―सुविधाको लागि भनेर निर्माण
गरेका ती सम्पूर्ण भौतिक संरचनाहरू पर्छन् जुन संरचनाहरू कुनैपनि अपाङ्गता
भएका व्यक्तिहरूको लागि मैत्रीपूर्ण छैनन्। सबैको लागि भनेर तयार गरिएका
ती संरचनाहरूमा उनीहरूको पहुँच नपुग्नाले नै ती व्यक्तिहरू वास्तवमा
अपाङ्ग भएका हुन्। संरचना मैत्रीपूर्ण नहुनाले उनीहरूले कैयौँ अवसर
र अधिकारको उपभोगबाट विमुख मात्र हुनुपरेको छैन, कदम कदममा अपमान समेत
सहनुपरेको छ।
दोस्रो, संस्थागत अवरोध, जसमा राज्यका त्यस्ता कानून, संविधान, नीतिनियम,
व्यवस्था, संस्थागत अभ्यासहरू, काम गर्ने परिपाटी र राज्य भित्रका
विभिन्न प्रणालीहरू पर्छन् जसले अपाङ्गता भएका व्यक्तिहरूको अन्य नागरिक
सरहको आवश्यकता र अधिकारलाई सुनिश्चित वा सुरक्षित गरेका छैनन्।
तेस्रो दृष्टिकोणले जन्माएको अवरोधमा समाज, राज्य, व्यक्ति,
परिवार इत्यादिले अपाङ्गता भएका व्यक्तिहरूप्रति राख्ने सम्पूर्ण परम्परागत,
रुढिवादी, उपकारमुखी र नकारात्मक सोचहरू पर्छन्, जसले उनीहरूलाई सामान्य
मानिस वा व्यक्तिको दर्जाबाट अलग्याएर हेर्ने र विश्लेषण गर्ने प्रयास
गर्छ। अर्थात् अपाङ्गता भनेको समग्रमा यी तीन अवरोधहरूले जन्माएको
परिणाम हो जसलाई नहटाएसम्म समाजको विकास अधुरो नै रहन्छ।
(प्रसाईँ राष्ट्रिय अपाङ्ग महासंघका कार्यक्रम
अधिकृत हुन्।)
|