हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

तन्नेरी

युवा स्वतन्त्रता नेपाली अगाडि

वातावरण र समस्या उस्तै उस्तै भए पनि काठमाडौँका किशोरकिशोरी नयाँदिल्ली र ढाकाका समवयीहरू भन्दा बढी स्वतन्त्र भएको उनीहरूकै खोजबिनले देखाएको छ।

प्रेरणा मरासिनी

युथ एक्सप्रेसन प्रोजेक्टमा सहभागी नेपाली किशोरकिशोरी।

“बाबुआमाले छोराछोरी र उनीहरूका समस्यालाई राम्ररी बुझ्िदिँदा रहेनछन्। हाम्रो जस्तै उनीहरूकहाँ पनि बाबुआमासँग खुलेर कुरा गर्ने वातावरण बनिसकेको रहेनछ। समस्या र सपना पनि उस्तै उस्तै रहेछन्,” काठमाडौँ, नयाँदिल्ली तथा ढाकामा एकै पटक सञ्चालित 'युथ एक्सप्रेसन प्रोजेक्ट' मा भाग लिएका नेपाली किशोर सञ्जय त्रिपाठी (१७) आफ्नो अनुभव सुनाउँदै भन्छन्, “तैपनि, उनीहरूले भन्दा हामीले बढी स्वतन्त्रता उपभोग गर्न पाइरहेका रहेछौँ।” त्रिपाठीसहित राजधानीका ६ किशोर, ६ किशोरीले शहरी युवाका समस्याबारे अनुसन्धान गरी तयार पारेको वृत्तचित्रले समेत काठमाडौँका युवा नयाँदिल्ली र ढाकाका समकक्षीहरूभन्दा बढी स्वतन्त्र रहेको देखाएको छ। तीन देशका राजधानीवासी युवालेे भोगिरहेका घरायसी समस्या तथा उनीहरूलाई सर्वाधिक असर पार्ने विषयहरूको पहिचान गर्ने उद्देश्यले बीपी स्मृति स्वास्थ्य प्रतिष्ठानद्वारा सञ्चालित यो कार्यक्रमका सहभागीहरू यतिखेर अभिभावकहरूलाई किशोर छोराछोरीका समस्या बुझ्ाउने काममा जुटेका छन्।

प्रतिष्ठानले काठमाडौँका २१ विद्यालयमा कार्यक्रमबारे जानकारी गराएको थियो। “तर धेरैले साढे तीन महिनाका लागि विद्यार्थी उपलब्ध गराउन मानेनन्,” परियोजनाका कार्यक्रम अधिकृत राजन गौतम भन्छन्, “पछि अन्तर्वार्ताबाट तिलिङटार र शिवपुरी माविका १२ विद्यार्थी छनोट भए।” गौतमका अनुसार, तिनले पुस २०६२ देखि वैशाख २०६३ सम्म पत्रकारिता, फोटोग्राफी र भिडियो सम्बन्धी तालिम लिए। सोही अवधिमा विभिन्न विषयवस्तुमा अभिभावक तथा अन्य किशोर–किशोरीहरूसँग अन्तर्वार्ता लिए र त्यसकै आधारमा १५–१५ मिनेटको डकुमेन्ट्री तयार पारे। त्यसनिम्ति स्त्रि्कप्ट–लेखन, दृश्य सम्पादन पनि उनीहरूले आफैँ गरे। गैरसरकारी संस्था रे अफ होप को संयोजनमा दिल्ली र ढाकाका किशोरकिशोरीले पनि त्यसै गरे। सबैको मेहनत जोडेर ९० मिनेटको संयुक्त डकुमेन्ट्री बनाइयो। नेपालीमा 'हाम्रो विचार' नाम दिइएको यो डकुमेन्ट्रीले शहरी युवाहरूलाई उनीहरूका बाबुआमाका सामु आफ्ना विचार राख्ने वातावरण तयार गर्न खोजेको छ।

'हाम्रो विचार' का यी अभियन्ताहरूले पत्ता लगाएअनुसार, उस्तै सामाजिक संरचनाका कारण तीनै देशका युवाहरूको समस्या प्रायः उस्तै देखिन्छन्। छोराछोरीका समस्या धेरैजसो बाबुआमाले बुझ्िदिँदैनन्। र, यस्ता समस्या र सपना बाबुआमासँग खुलेर राख्न नसक्नाले अभिभावक र सन्तानबीचको दूरी बढ्दै गएको छ। छोराछोरीले आफ्ना सबै कुरा आमाबाबुलाई नभन्दा वा भन्न नसक्दा तिनलाई बुझन गाह्रो हुन्छ भन्छन् अभिभावकहरू। तर, छोराछोरीहरू चाहिँ बाबुआमाले आफूहरूलाई बुझनै नचाहेको धारणा राख्दा रहेछन्। धेरै कुरामा समानता रहे पनि नेपालका किशोरकिशोरीका समस्या भारत र बङ्गलादेशका समवयीका समस्या जति जटिल रहेनछन्। उस्तै देखिएका समस्याको पनि स्वरुप र प्रकृतिमा भिन्नता रहेछ।

को कति उदार/अनुदार?

डकुमेन्ट्री निर्माण।

समस्याको ओइरोले किशोर/युवाहरूभन्दा किशोरी/ युवतीहरूलाई बढी सताएको छ। बाबुआमा पनि उनीहरूप्रति बढी अनुदार रहेको अध्ययनले देखाएको छ। बङ्गलादेशका किशोरीहरूले देखाएको प्रमुख समस्या हो– उनीहरूलाई बाबुआमाले निजी कुराहरूमा समेत अनावश्यक दबाब दिन्छन्। प्रायः कुर्तासुरुवाल मात्र लगाउने ती किशोरीको आफूले चाहेको कपडा लगाउन नपाउने गुनासो छ। पढ्ने विषय छान्न पनि उनीहरू स्वतन्त्र छैनन्। धार्मिक कट्टरताको प्रभावले हुनसक्छ, बङ्गलादेशका किशोरीहरूले केटा साथी बनाएको अभिभावकले रुचाउँदैनन्। केटा साथीको नोटकपी प्रयोग गरेको समेत नरुचाउने मानसिकता कतिपय अभिभावकमा अझ्ै रहेको देखाइएको छ, डकुमेन्ट्रीमा। सामाजिक काममा भाग लिन घरबाट स्वीकृति नपाउनु बङ्गलादेशी किशोरीहरूको अर्को समस्या हो। प्रजनन स्वास्थ्यका विषयमा खुलेर कुरा गर्न सक्ने वातावरण नहुनुलाई त्यहाँका किशोरी/युवतीहरूले गम्भीर समस्याका रूपमा औँल्याएका छन्।

चेतना, आधुनिकता सबै दृष्टिले दक्षिण एशियामै अगुवा मानिने भारतीय शहरका किशोरी/युवतीका समस्या भने एक शताव्दी पुराना जस्ता देखिन्छन्। भारतीय किशोरीहरूले बनाएको डकुमेन्ट्री एक युवतीले मन्दिरमा भगवान् शिवसँग 'बाबुआमाको माया पाउँ' भन्दै प्रार्थना गरिरहेको मार्मिक दृश्यबाट शुरु भएको छ। छोरा भएर जन्मिन नसकेकै कारण बाबुआमाको माया नपाएकी शहरी युवतीको उदाहरणले समेत देखाउँछ, त्यहाँ विद्यमान भेदभावको स्थिति। राम्रो कपडा लगाएर बाहिर निस्कँदा समेत छोरीको कसैसँग सम्बन्ध छ कि भनेर तर्सनेे अभिभावकहरू त्यहाँ अझ्ै छन्। छोरीहरू जतिबेला पनि घरमै बसिदिए, भान्छामा सघाइदिए हुन्थ्यो भन्ने सोचाइ देखिन्छ बाबुआमामा। डकुमेन्ट्रीले भारतीय अभिभावकहरूमा देखिने यस्ता सङ्कीर्णतालाई केलाएर उनीहरूलाई सचेत बनाउन खोजेको छ।

फोटोग्राफी अभ्यास।

नेपालका किशोरीहरू तुलनात्मक रूपले कम समस्यामा भएको युथ एक्सप्रेसन अभियानका सहभागीहरूको निष्कर्ष छ। “हाम्रो सर्वेक्षणमा छोरा र छोरी बीचको भेदभाव अन्यत्रभन्दा कम देखियो,” भन्छिन् कार्यक्रमकी अर्की सहभागी सुनिता श्रेष्ठ। साथीभाइसँग घुम्न दिने कुरामा पनि काठमाडौँका अभिभावकहरू धेरै अनुदार छैनन्। तर उनीहरू घरबाटै साथी लिएर गए हुन्थ्यो भन्ने सोचाइ राख्छन्। सुनिता थप्छिन्, “घुम्न जानै नदिने त देखिएन तर 'टाइममै ग्ाएर टाइममै आउ” भन्ने गरेको पाइयो।” नेपाली किशोरीहरूले यौन शिक्षाका बारेमा खुलेर कुरा गर्न नपाउनुलाई प्रमुख समस्याका रूपमा लिएका छन्। यसले पनि देखाउँछ, उनीहरू आफ्नो स्वास्थ्यका बारेमा सही जानकारी राख्न चाहन्छन्।

किशोर–समूहहरूले गरेका अध्ययनहरूले समेत तीन देशका युवकहरूले प्रायः उस्तै समस्या भोगिरहेका देखाएका छन्। यसमा पनि नेपालका युवकहरू केही बढी सुविधाभोगी र स्वतन्त्र पाइएका छन्। उदाहरणका लागि, ढाकाका बाबुआमा आफ्ना किशोर छोराछोरीले मनोरञ्जनमा धेरै समय नदिउन् भन्ने चाहन्छन्। “तर हामीकहाँ कहिलेकाहीँ राति ८, ९ बजेसम्म साथीहरूसँग रमाइलो गरी बस्दा पनि बाबुआमाले धेरै गाली गरेको पाइएन,” भन्छन् अर्का सहभागी हरिकृष्ण श्रेष्ठ। नेपाली किशोरहरूको अनुभवमा केटा र केटीको स्वाभाविक मित्रतालाई उनीहरूका अभिभावकले भन्दा पनि अरू मान्छेले गलत अर्थ लगाउँछन्। हरिकृष्ण भन्छन्, “केटी साथीहरू बनाउँदैमा बाबुआमाले नराम्रो मानेको देखिएन, खाली गर्लफ्रेण्ड चाहिँ चाँडै नबनाए हुन्थ्यो भन्ठान्दा रहेछन्।”

भारतीय किशोरहरूमा भने पढाइको विषयलाई लिएर बाबुआमासँग कुरा मिल्दोरहेनछ। आफ्नै आँखा अगाडि पढेमात्र पढेको ठान्ने अभिभावकहरूको आनीबानीसँग उनीहरूको गुनासो छ। यसलाई छोराछोरीप्रतिको अविश्वास ठान्छन् उनीहरू। पुग्ने गरी बाबुआमाले 'पकेट मनी' नदिँदा कुनै बेला पैसा चोर्नुपर्ने बताउँछन् भारतीय किशोरहरू। नेपाली किशोरहरूले पनि कहिलेकाहीँ यही तरिका अपनाउने गरेको सर्वेक्षणले देखाएको छ।

“आफ्ना कुरा बाबुआमासामु बुझ्ाउनसक्ने गरी राख्यो भने समस्या जस्तोसुकै भएपनि समाधान गर्न सकिन्छ” भन्छिन् अर्की सहभागी सुनिता सिंह। पहिले आफूलाई प्यान्ट लगाउन समेत नदिने बाबुआमालाई 'कन्भिन्स' गराउन सफल भएकी छन् अहिले उनी। र, उनलाई विश्वास छ– यो डकुमेन्ट्री हेरेपछि अरू धेरै बाबुआमाले आफ्ना छोराछोरीका कुरा सुनिदिने र बुझ्िदिनेछन्। “अबको हाम्रो काम हुनेछ अभिभावकलाई तन्नेरीका समस्याका बारे जानकारी गराउने,” परियोजनाका पाठ्यक्रम विकास विशेषज्ञ समिर लेप्चा भन्छन्, “यसका लागि हामी यो डकुमेन्ट्री कुनै संस्थालाई जिम्मा लगाउनेछौँ।”

अभिभावकलाई बुझ्ाउने काम शुरु गर्नुभन्दा पहिले नै युथ एक्सप्रेसन प्रोजेक्टका सहभागी विद्यार्थीहरूले आफूमा थुप्रै परिवर्तन आएको ठम्याइसकेका छन्। प्रोजेक्टमा भाग लिएपछि आत्मविश्वास र सञ्चार–क्षमता बढेको बताउँछन् उनीहरू। प्रकृति थापा भन्छिन्, “पहिला मान्छेहरूको अगाडि बोल्नसमेत हिच्किचाहट हुन्थ्यो, अहिले मज्जाले आफ्ना कुरा राख्न र तर्कवितर्क गर्न सकिन्छ।” सञ्जय भन्छन्, “यति मात्र होइन, पत्रकारिता र फोटोग्राफीसम्बन्धी हामीले पाएको तालिमले हाम्रा निम्ति थप दुई करिअरको छनौट दिएको छ।”