सम्पादकीय
मूल कारण 'सिण्डिकेट' प्रणाली
यान्त्रिक गडबडी, क्षमताभन्दा बढी यात्रु र
चालकको लापरवाही– सवारी दुर्घटनाका देखिने कारणहरू हुन्160। तर, तिनको
उपचार खोज्न नदिने 'सिण्डिकेट' प्रणाली समस्याको मूल जड हो।
गएको साउन महिनायता
भएका चार ठूला सडक दुर्घटनामा करीब ९० जनाको ज्यान गएको छ, दुई सय
जति घाइते भएका छन्। सिन्धुपाल्चोक, डडेलधुरा, धादिङ्ग, महादेवबेसी
र सल्यान, खरिबोटमा भएका सवारी दुर्घटनामा परम्परा निर्वाह गर्दै छानबिन
समिति बनाइदिएर सरकारले आफ्नो 'कर्तव्य' पूरा भएको ठानेको छ। प्रतिनिधिसभा,
राजनीतिक दल र नागरिक समाज यसप्रति वेखबर देखिन्छन्– मानौँ बसमा यात्रा
गर्ने ती 'अभागी' हरू नै दुर्घटनाका निम्ति जिम्मेवार थिए। अन्यथा
सयको हाराहारीमा नागरिक मारिएका र त्यसको दोब्बर घाइते भएका मामिलामा
सामान्य छानबिन समिति बनाइदिएर सरकार उम्कन पाउने थिएन।
मिति र स्थान फरक भएपनि यी दुर्घटनामा केही समानता छन्–
ती सवारी साधन वर्षौँ पुराना थिए। तिनले क्षमताभन्दा बढी यात्रु बोकेका
थिए। दुर्घटनाग्रस्त सबै बसहरू 'सिण्डिकेट' अर्थात् चक्र प्रणाली अन्तर्गत
चलेका थिए। र, त्यहाँ ट्राफिक प्रहरीको उपस्थिति थिएन।
सार्वजनिक यातायात क्षेत्रमा आँखा लगाउँदा स्पष्ट देखिन्छ–
पुराना बसहरू बिना मर्मतसम्भार सञ्चालन गरिएका छन्। तिनको पर्याप्त
अनुगमन हुनेगरेको छैन। समयमा मर्मतसम्भार भएको छ वा छैन र लामो वा
छोटो दूरीमा चल्ने कस्तो अवस्थाका सवारी साधन कति वर्षसम्म गुड्न पाउँछन्
भन्ने सरकारी नीतिनियम कागजमा मात्रै छन्, कार्यान्वयनमा छैनन। सरकारले
'रुट परमिट' को औपचारिकता मात्र पूरा गरिदिएर के कस्तो अवस्थाको गाडी
कुन सडकमा गुडाउने/नगुडाउने भन्ने जिम्मा सम्बन्धित बस मालिक र सवारी
चालकमै छोडिदिने गरेको छ। यी सबैको परिणाम हुन् यस्ता दुर्घटनाहरू।
कुनै पनि सवारी साधन लामो वा छोटो दूरीमा निश्चित समयसम्म चलेपछि वातावरणीय
दृष्टिले पनि त्यसलाई थन्क्याउनु वा पुनः मर्मत गर्नुपर्ने हो, तर
त्यसको पालना भएको देखिँदैन।
क्षमताभन्दा बढी यात्रु बोक्नु दुर्घटनाको अर्को कारण
देखिन्छ। सरदर ५० जनाको क्षमता भएका बसहरू ९० वा त्योभन्दा पनि बढी
यात्रु बोकेर हिँडेका हुन्छन्। सल्यानको दुर्घटनामा ४२ जनाको मृत्यु
र त्योभन्दा बढी घाइते हुनु यसैको परिणाम हो। यात्रा गर्न आवश्यक न्यूनतम
सुविधाको कुरै छाडौँ, अटाउञ्जेल कोचेर यात्रा गराउने शैलीलाई समेत
असामान्य मान्न छोडिएको छ। यस्तै लापरवाहीका कारण सवारी साधनहरू असन्तुलित
भएर दुर्घटनामा पर्ने गरेका छन्। त्यस बाहेक सडकको अवस्था, चालकको
लावरपाही र विभिन्न भवितव्यहरू पनि सडक दुर्घटनाका कारण रहेका छन्।
तर, दुर्घटनाको मूल कारणको खोजी गर्ने हो भने व्यवसायीले
सञ्चालन गरेका 'सिण्डिकेट' (चक्र प्रणाली) सँग जोडिन आइपुग्छ। खुलाबजार
र प्रतिस्पर्धी व्यवसाय विरुद्धको यो प्रणाली अहिले पनि कतिपय पहाडी
क्षेत्र र नारायणी पश्चिमका सडकमा कायम छ।
यात्रुहरू आफूले चाहेको जस्तो बसमा चढ्न पाउँदैनन् किनकि
सिण्डिकेट प्रणालीले तिनलाई छनौटको विकल्प दिँदैन। लाइनमा जुन गाडी
उभिएको छ, त्यसैमा चढ्नुपर्छ। त्यो हिँडेपछि वा कोचाकोच गरेर भरिएपछि
मात्रै अर्काको पालो आउँछ। क्षमता भन्दा बढी यात्रु भएको बसमा चढ्दिनँ
भनेर छनौट गर्न पनि यात्रुहरूले सक्दैनन्। यसरी कोचाकोच भएर यात्रा
तय गर्न विवश यात्रुहरू दुर्घटनाको सामना गर्न विवश हुन्छन्।
सिण्डिकेट प्रणालीका असरहरू पनि उत्तिकै गम्भीर छन।
यो प्रणालीले सवारीधनीहरूका संस्था यातायात व्यवसायी समिति र यातायात
कर्मचारीलाई मनपरी गर्ने छुट दिएको छ। सम्बन्धित समितिको स्वीकृतिमा
मात्रै कुनै निर्दिष्ट रूटमा नयाँ बसले प्रवेश पाउने हुनाले त्यस्तो
'स्वीकृति' लिन सजिलो छैन। भएका गाडीहरू जसोतसो गुडुञ्जेलसम्म बिना
मर्मतसम्भार चलाइन्छन। यात्रुहरूको सुविधाबारेमा सोचिँदैन। सल्यान
दुर्घटनामा छतमा समेत खचाखच यात्रु भरिएको बस उकालो चढ्न नसकेर पछाडि
सर्दा ब्रेकले काम नगरेपछि सडकबाट तल खसेको थियो। त्यसको तीन दिनअघि
८ कात्तिकमा तुलसीपुरबाट बाङ्गेलाकुरीका लागि हिँडेको सो बस सल्यानको
धनवाङ, चोरखोलामा ब्रेकफेल हुँदा भित्तामा ठोक्काएर जोगाइएको खुलासा
भएको छ। हामफालेर ज्यान जोगाउन सफल खलासी जीवन नेपालीले तिहारमा धेरै
कमाउने लोभमा बिना मर्मत चलाएका कारण त्यो दुर्घटना भएको तथ्य लुकाएनन्।
तसर्थ, चक्र प्रणालीको अन्त्य नगरी यस्ता दुर्घटनाको वास्तविक उपचार
खोज्न सम्भव देखिँदैन भन्ने अब पुष्टि भइसकेको छ।
सरकारले 'दुर्घटनाको कारण पत्ता लगाउन' श्रम तथा यातायात
मन्त्रालयका प्रवक्ता उद्धवप्रसाद बास्कोटाको संयोजकत्वमा चार सदस्यीय
छानबिन समिति गठन गरेको छ। तर, छानबिन समितिले विगतमा झ्ँ 'ब्रेक फेल
भएको' वा 'क्षमता भन्दा बढी यात्रु बोकेको' प्रतिवेदन दिएर उम्कन पाउने
अवस्था अब हुनुहुन्न। ब्रेक फेल हुँदाहुँदैको गाडी किन सडकमा गुड्यो
र क्षमता भन्दा बढी यात्रु त्यही गाडीमा चढ्न किन विवश भए, त्यसको
खोजी गर्नुपर्छ। सिण्डिकेट प्रथाको अन्त्य यो समस्याको पहिलो उपचार
हो। यसले यात्रुहरूलाई सुविधायुक्त सेवा दिने मामिलामा प्रतिस्पर्धी
वातावरण निर्माण गर्दछ। विकल्प भएपछि ५० यात्रु बोक्ने क्षमता भएको
गाडीमा सय जना चढ्ने अवस्था आउँदैन। प्रतिस्पर्धात्मक वातावरणमा यातायात
सञ्चालन गर्न दिँदा नयाँ बसहरू भित्रिएर पुरानाहरू या त बाहिरिने थिए
या समयमा मर्मतसम्भार गरेर 'कण्डिशन' मा चल्न बाध्य हुन्थे।
तर, पटक पटकको प्रयासका बाबजूद नारायणी पश्चिम क्षेत्र,
अरनिको राजमार्गको काठमाडाँै–जिरी खण्ड र पूर्वी पहाडी जिल्लाका सडकहरूमा
कायम 'सिण्डिकेट' प्रणाली हटाउन सरकार सफल भएको छैन। अहिलेसम्मका प्रयासलाई
'सिण्डिकेट' समर्थक व्यवसायीहरूले असफल पार्दै आएका छन। त्यसकारण,
यो छानबिन समितिले सिण्डिकेट प्रणालीको खारेजी नै दुर्घटना र क्षति
कम गर्ने प्रभावकारी उपाय हो भन्नेमा ध्यान दिएमा त्यो समस्या समाधानको
दीर्घकालीन उपाय हुनसक्छ।
|