सम्झाना
उनीहरूले मृत्युपूर्व भनेका थिए...
ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा
परी मृत्यु हुनु १५ घण्टाअघि ६ असोज साँझ सदरमुकाम फुङलिङमा आयोजित
कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय संरक्षण परिषदलाई
हस्तान्तरण गर्ने कार्यक्रममा संरक्षणविद्हरूको एउटै मत थियो– संरक्षण
क्षेत्र पृथ्वीको उपहार हो।
 |
| सबै तस्बिरः राजेन्द्र श्रेष्ठ |
डा. हर्क गुरुङ्ग
राजनीतिशास्त्रीहरू एकअर्काको कुरा काट्नमै व्यस्त
भएकाले उनीहरूलाई म अनुरोध गर्दिनँ, तर काठमाडाँैका बुद्धिजीवी, प्राध्यापक
या 'सिनियर' विद्यार्थीहरूलाई अनुरोध गर्न चाहन्छु– तपाईँको जिल्लामा
जे जे विशेषता छन्, तिनका बारेमा अध्ययन गर्नुपर्यो। तिनको प्रचार
गर्नुपर्यो। ताप्लेजुङ्ग दुई वटा कुरामा नेपालमा अगुवा छ– पर्यटन
व्यवसायमा, पर्वत यात्रा/पर्वतारोहणमा। १५२ वर्ष अगाडि अर्थात् सन्
१८५४ मा नेपालमा पहिलो पर्वतयात्री भित्रिएको जिल्ला हो ताप्लेजुङ्ग।
मान्छेको पुर्खा बाँदर हो भनेर प्रमाणित गर्ने वैज्ञानिक (भित्तामा
टाँसेको 'डार्विन इनिसियटिभ' लेखिएको पोष्टरलाई इङ्गित गर्दै) डार्विनको
एकदमै मिल्ने साथी थिए वनस्पतिशास्त्री हुकर। तिनै वनस्पतिशास्त्रीका
छोरा जेडी हुकर दार्जीलिङबाट आएर ताप्लेजुङ्गका विभिन्न हिमाली ठाउँहरू
घुमेका थिए। आज बेलायतमा पाइने धेरै किसिमका गुराँसका बीउ, बेर्नाहरू
उनैले सिक्किम र ताप्लेजुङ्गबाट लगेका हुन्।
जेडी हुकरकोे किताब तपाईँहरू अझै पनि बजारमा पाउन सक्नुहुन्छ।
त्यसबाट थाहा पाउनुहुन्छ, त्यो बेला वालुङ्गको गुम्बा
(ओलाङचुङ्गगोला) कति सम्पन्न थियो, घुन्साको गुम्बा कति सम्पन्न थियो
भन्ने कुरा। अङ्ग्रेजले एक जना बङ्गालीलाई तिब्बती माष्टर बनाएर, सीआईडी
बनाएर टासी गुम्बा पठाएको थियो। त्यो मान्छे पनि यही जिल्ला भएर दुई
पटक हिँडेको थियो। त्यसैगरी आजभन्दा ११७ वर्षअघि सन् १८८९ मा बेलायतका
नामूद भूगोलविद् तथा पर्वतारोही डग्लस थ्रेस्ाफिल्ड इटालीका एक नामूद
फोटोग्राफर लिएर यहाँ आएका थिए। गारुण्ड भन्ने बेलायतका भूगर्भशास्त्री
र सिक्किमका गाइड विण्डी नाम्ग्यालसहित चार जनाले पनि कञ्चनजङ्घाको
फेरो मारेका थिए।
बोटानिष्ट हुकरसम्बन्धी एउटा मजाको कथा पनि छ। सिक्किमले
पस्न नदिएपछि नेपालमा चिठी पठाउँदा जङ्गबहादुरले उनलाई लिन दार्जीलिङमा
दुई जना हवल्दार र चार जना सिपाही पठाएका थिए। हुकरलाई मेहरमानीसाथ
घुमाइयो। तर, डग्लस थ्रेस्ाफिल्ड चाहिँ नेपाललाई नसोधिकन सिक्किमबाट
पसेका थिए। उनी 'हामी हिमालै हिमाल जाने हो कसैले पनि थाहा पाउँदैन'
भन्ने सुरमा थिए। साथमा आठ जना गोर्खाली पुलिस थिए, दार्जीलिङमा भर्ना
भएका। जम्मै घुमेर आइसकेपछि उनीहरूलाई घुन्सामा धनकुटाबाट आएका एक
भन्सार अधिकारीले समातेछन्।
किताबमा बयान छ– भन्सार अधिकृत बाहुन थिए, दौरा सुरुवाल
लाएका। घुन्साको जाडोमा लुग्लुग् कामिरहेका। रुघाखोकी पनि लागेको थियो।
यो मुलुकमा किन आइस् भनेर पहिले त यिनीहरूलाई राशन नबेच्नू भन्ने उर्दी
दिए उनले। भोलिपल्ट अङ्ग्रेज टोलीको बन्दुक खोसेछन्। अनि थ्रेसफिल्डले
त्यसै त भएन, धनकुटा लगे भने आफ्नो समय बर्बाद् हुन्छ भनेर ती अधिकृतलाई
भनेछन्, “हामी तिब्बतको सिमानाबाट आएका हौँ, त्यसैले बन्दुक लिनुपर्यो
(त्यतिबेला सिक्किम र तिब्बतबीच सम्बन्ध राम्रो थिएन)। यो हाम्रो सुरक्षाका
लागि हो। खानेकुराहरूको पैसा हामीले तिरेका छौँ। माथि धेरै हिउँहुरी
बतासले गर्दा बाटो बिर्सिएर हामी यता आएका हौँ।”
उनले “तिमी साह्रै रोगी जस्तो छौँ नि, निको हुने भए
औषधि दिन्छु” भनेर औषधि पनि दिएछन्। त्यो खाएपछि भन्सार अधिकृत ठीक
भएछन्। उनले बन्दुक पनि फिर्ता गरेछन्। उनीहरूले औषधि भनेर अलिकति
ह्वीस्की दिएका रहेछन्। तपाईँहरूको जिल्लामा एकसय वर्ष अगाडि भएका
यस्ता कुरा उजागर गर्दै जानुभयो भने यो जिल्ला कस्तो रहेछ भनेर आकर्षण
र जिज्ञासा बढ्छ। बाहिरबाट आएका मानिसबाट तपाईँहरूले सिक्न सक्नुहुन्छ
अनि आम्दानी पनि हुनेभयो।
संरक्षण क्षेत्रका बारेमा नेपालमै पहिलोचोटि आजभन्दा
१३–१४ वर्ष अगाडि नयाँ अभ्यास भएको हो। त्यसमा मिङ्मा शेर्पा र चन्द्र
गुरुङ्ग नै संलग्न थिए। अन्नपूर्ण संरक्षणमा त्यो लागू भयो। त्यहाँ
एउटा गैरसरकारी संस्था र स्थानीय जनताहरू भेला गरेर काम गरियो। अन्नपूर्ण
क्षेत्रमा तारबार पनि छैन, बन्दुक बोकेकोे सिपाही पनि छैन। त्यो नमूना
हामीले विश्वमा पेश गर्यौँ। त्यसैगरी उत्साहित भएर यताउति घुम्यौँ।
त्यो पहिलो कदम भयो। योभन्दा पनि अगाडि बढ्न सक्छौँ भन्ने विश्वास
लागेर नै विश्व वन्यजन्तु कोष यहाँ आयो।
सरकार, मन्त्रालय, विभाग पनि यसमा लाग्यो। अब अर्को
अवधारणा आएको छ, जसमा गैरसरकारी संस्था पनि हुँदैन। स्थानीय जनताले
सञ्चालन गर्छन्। सरकारले नैतिक समर्थन र आवश्यक सहयोग गर्छ। विश्व
वन्यजन्तु कोषले प्राविधिक सहयोग जुटाउँछ। विदेशी सहयोग सधैँ समातिराख्ने
होइन। त्यसैले यो परिषदको जिम्मा आएको छ। डराउनुपर्दैन, तपाईँहरूले
राम्रोसँग सञ्चालन गर्न सक्नुहुन्छ।
डा. जिल बौलिङ्ग
भर्खरै ताप्लेजुङ्गमा हेलिकप्टरबाट झरिन्छ कि झरिँदैन
जस्तो लागेको थियो। तर ठ्याक्कै उतारिदिनुभयो। त्यसपछि हिँडेर आउँदा
थाहा भयो– ताप्लेजुङ्ग प्राकृतिक दृश्यले मात्र रमणीय रहेनछ, यहाँका
वासिन्दाहरू पनि साह्रै राम्रा र हँसिला रहेछन्। यो प्रकृति र यहाँका
वासिन्दाहरूको सम्मिश्रणबाट म प्रभावित भएकी छु। संरक्षण क्षेत्र समुदायलाई
हस्तान्तरण गर्ने यो प्रक्रिया विश्वमा नै नमूना हो। यसलाई मूर्त रुप
दिन विश्व वन्यजन्तु कोष सदैव तयार रहनेछ।
डा. चन्द्र गुरुङ्ग
विश्व वन्यजन्तु कोष संरक्षणका लागि सदैव विभिन्न संघसंस्थासँग
हातेमाले गर्न चाहन्छ। केही वर्षअगाडि संरक्षणमा दिलोज्यान दिएका ताप्लेजुङ्गको
कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना (के―क्याप) मा रहेका आमा समूहलाई
काठमाडौँमा बोलाएर अब्राहम संरक्षण पुरस्कार दिने मौका पाएका थियाँै।
नेपाल पत्रकार महासंघ, ताप्लेजुङ्ग शाखाका पत्रकारहरूले द्वन्द्वको
समयमा पनि संरक्षणको महत्त्व बुझेर त्यसलाई पूरा गर्नुभयो। त्यसैको
फलस्वरुप आज विश्व वन्यजन्तु कोषले २००६ को अब्राहम संरक्षण पुरस्कार
प्रदान गर्ने मौैका पायो। त्यसका लागि यहाँका पत्रकारहरूलाई हार्दिक
धन्यवाद दिन चाहन्छु। आज यो हस्तान्तरणका अवसरमा नौ वर्षसम्म संरक्षणका
लागि दिलोज्यान दिएर काम गरेका के―क्याप व्यवस्थापन समितिका अध्यक्ष
दावाछिरिङलगायत सम्पूर्ण सदस्यलाई धन्यवाद दिन चाहन्छु। यो पहिलो खुट्किलो
हो। यसलाई अगाडि बढाउन विश्व वन्यजन्तु कोष सधैँ सहयोग गर्न प्रतिबद्ध
छ।
डा. दामोदर पराजुली
 |
अब्राहम संरक्षण पुरस्कार प्राप्त गर्न सफल ताप्लेजुङ्ग
पत्रकार महासंघलाई बधाई। नेपाल जैविक विविधताको क्षेत्रमा धनी छ। काठपातहरू
काट्ने, बिक्री गर्ने, त्यसबाट केही पैसा आम्दानी हुन्छ अनि सदुपयोग
ठहर्छ भन्ने हाम्रा पुराना मान्यता र सोचाइ आज विल्कुल फरक भएका छन्।
जैविक विविधताले भरिपूर्ण यस्ा किसिमका संरक्षण क्षेत्रमा भएका बहुमूल्य
जडिबुटीहरूको सदुपयोग गरेर त्यसको बजारीकरण जस्ता कार्यबाट वन क्षेत्रलाई
अलिकति पनि नाश नगरी फाइदा लिन सकिन्छ। पश्चिमी नेपालका ८–१० उच्च
पहाडी जिल्लामा यार्सागुम्बाबाट स्थानीयवासीहरूले धेरै फाइदा लिन थालिसकेका
छन्।
ताप्लेजुङमा पनि गत वर्ष यार्सागुम्बाको अध्ययन भइसकेको
छ। तर विश्लेषण हुन बाँकी छ। बर्सेनि तीन मेटि्रक टन जति यार्सागुम्बा
उत्पादन हुने पश्चिम क्षेत्रमा हामी अहिलेसम्म पुग्न सकिराखेका छैनौँ,
अनुसन्धान गर्न सकिराखेका छैनौँ तर पनि नेपालमा मोटामोटी रूपमा चार
मेटि्रक टन यार्सागुम्बा पाइन्छ। अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य
रु.२ लाख ५० हजार प्रतिकिलो छ। त्यसैले यार्सागुम्बा जस्तो प्राकृतिक
नासोलाई हामीले बचाइराख्नु पर्छ। यस क्षेत्रको विकासका लागि नेपाल
सरकार एवम् वन तथा भू संरक्षण मन्त्रालयले सदैव सहयोग गरिरहने प्रतिबद्धता
व्यक्त गर्न चाहन्छु।
दावाछिरिङ्ग शेर्पा
कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाले दीर्घकालीन स्वरुप
लिएर प्रभावकारी कार्य गर्दै र आफ्नो आधारभूत आवश्यकता पूरा गर्दै
आएको छ। संरक्षण क्षेत्रमा ३५ किलोवाटको लघु जलविद्युत् आयोजना निर्माण
गर्नुपर्ने देखिन्छ। २ सय ७२ घरमा सौर्य उर्जा जडान गर्नुपर्ने, गैरकाष्ठ
वन पैदावारका लागि संरक्षण क्षेत्रमै कम्पनी खोलेर उद्योग सञ्चालन
गर्नुपर्ने, पर्यटन पूर्वाधार विकासका लागि सरकारले ठोस कार्यक्रम
ल्याउनुपर्ने, मेची राजमार्गलाई कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनासम्म
पुर्याउनुपर्ने, कञ्चनजंघा संरक्षणमा भएका जडिबुटीको चोरी पैठारी
रोक्ने सम्बन्धमा मन्त्रिपरिषदले सोच्नुपर्ने हुन्छ। विश्व वन्यजन्तु
कोषले संरक्षण क्षेत्रको व्यवस्थापन हस्तान्तरण गरेर हाम्रो जिम्मेवारीलाई
बढाइदिएको छ। यसमा जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जाहेर गर्न
चाहन्छु। यहाँसम्म आएर सहयोग गर्ने विश्व वन्यजन्तु कोष परिवारलाई
संरक्षण क्षेत्रवासीको तर्फबाट धन्यवाद दिन चाहन्छु।
पाउली मस्टोनेन
नेपालमा जैविक विविधता र सांस्कृतिक संरक्षणमा ध्यान
दिइएकोमा धेरै खुशी लागेको छ। ताप्लेजुङ्गको यो ऐतिहासिक कार्यक्रममा
भाग लिन पाएकोमा आफैँलाई भाग्यमानी ठानेको छु। द्वन्द्वका समयमा संरक्षणको
काम कसरी गर्न सकिन्छ भन्ने बारेमा नभएर भविष्यमा संरक्षण र शान्तिका
बारेमा छलफल गर्ने कामनाका साथ आफ्नो कुरा टुङ्ग्याउन चाहन्छु।
|