| •
ऋतुराज |
 |
ऋतुविचार
यो
कस्तो व्यवस्थापन?
अस्पताल र घाट
यस्ता दुई ठाउँ हुन्, जहाँ सामान्य मानिस इच्छा र खुसीले नभई बाध्यतावश
पुग्दछ।
एउटा अनुभव सुनाउँ्क घाटसित होइन अस्पतालसितको साक्षात्कार सम्बन्धमा।
तिहारको एक रात अस्पताल दौड्नुपर्ने अवस्था उत्पन्न
भयो। छोरी पेटको शूलले फत्र्याक–फत्र्याक परिरहेकी थिई। त्यस्तो बेलामा
अस्पतालको 'इमर्जेन्सी' याद आउँछ। 'इमर्जेन्सी' भन्नासाथ मेडिकल रिसर्च
सेन्टर भन्ने नाम राखिएका कुनै नर्सिङहोम नभई परम्परागत नामले चिनिने
वीर अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताल, यस्तैको याद आउँछ। दूरीका
हिसाबले पायक पर्ने शिक्षण अस्पताल थियो र त्यहीँ दौडेर गइयो झन्डैझन्डै
मध्यरातको बेलामा।
त्यसबेला नेवार मित्रहरू 'म्हपूजा' पछिको आनन्दमा र
गैरनेवार मित्रहरू देउसी खेल्नमा रमाइरहेका वा कुनै खालमा मार्रा भनेर
कराइरहेका हुँदा हुन्। आफूलाई भने त्यसबेला मधौरो छोरीका साथ शिक्षण
अस्पतालको इमर्जेन्सी वार्डको चक्कर काट्न परिरहेको थियो।
चाडबाडको बेला, त्यो पनि आधारातको समय। तर इमर्जेन्सीमा
मानिसको रेलापेला छ। खप्पर फुटेर, हात भाँच्चिएर, पोलिएर, काटिएर आएका
छन्। पीडाले कराएका छन्। डाक्टर, नर्सहरू एकपछि अर्को बिरामीलाई हेर्न–जाँच्न
व्यस्त छन्। पाका डाक्टर या नर्स छैनन्। शायद यस्तामा जोतिँदा हुन्
यिनै जवानहरू।
त्यहाँ एउटा बेग्लै संसार छ― अस्तव्यस्त र गन्जागोले।
अरू बेला कसैलाई कल्पना पनि हुँदैन त्यस संसारको। हे प्रभो, कहाँ आइपुगियो
भन्ने लाग्छ।
त्यहाँको अन्योलपूर्ण स्थिति हेर्दा पत्यार त लाग्दैन
कुनै उपचार सम्भव होला भन्ने। तर गजबसित एक्सरे भयो, पिसाब जाँचको
रिपोर्ट पनि आयो― केही कुरेरै सही। रातभर जागा रहेर उपचार सेवा पुर्याउने
स्वास्थ्यकर्मीहरूलाई क्याबात् भन्नै पर्छ।
प्रशंसाको त्यही शब्द त्यस ठाउँको भौतिक अवस्थाको हकमा
भने उपयोग गर्न सकिन्न। कस्तो टकटकाउँदो थियो त्यो अस्पताल जापान सरकारले
बनाएर नेपाल सरकारलाई हस्तान्तरण गर्दा। आफूले त बनाउन सकेनौँ। अरूले
बनाएर दिएको पनि जतनले राख्न सकेनौँ। अस्पतालको प्राङ्गणमा ठडिएका
अग्लाअग्ला ल्याम्पपोस्टका कुनै बत्ती बल्दैनन्। पञ्चकको रातमा कस्तो
देखिँदो हो त्यो ठाउँ आफैँ कल्पना गर्नोस्। नाम दर्ता गर्ने ठाउँ र
त्यहाँबाट जाने भित्री बाटामा पनि धेरै ठाउँमा बत्ती छैनन्। कुनै जान्ने
मान्छेले होला ती ठाउँका ट्युबलाइटहरू निकालेको अथवा निकालेर फेरि
राख्न नभ्याएको। रातको समय भयमिश्रित भाव लिएर मानिस त्यस ठाउँबाट
ओहोरदोहोर गर्छन्।
दारुण अवस्था त शौचालयको छ। रेसेप्सनदेखि सबभन्दा नजिकको
शौचालयमा पिसाब फेर्ने मात्र प्रावधान छ। वास्तवमा त्यो मूत्रालय मात्र
हो दिसा गर्ने ठाउँ नभएको युरिनल, वास वेसिन त छन्। नभएको एउटै कुरा
हो पानी। पानीको एक थोपो कतै छैन। पानी आउला भनेर होला बडो मिहिनेतसाथ
सबैतिरका पानीका पाइपहरू झिकिएका छन्। त्यो मिहिनेतको उद्देश्य शौचालयलाई
फोहोर र दुर्गन्धित राख्नु हो भने त्यो उद्देश्य सफल भएको छ। महिला
शौचालयको पनि उस्तै दुर्गति रहेको कुरा छोरीबाट थाहा भयो, जहाँ उसले
पिसाब जाँचका लागि दुईपटक पस्नुपरेको थियो।
अस्पताल यस्तो ठाउँ हो जहाँको वातावरण सफासुग्घर र स्वस्थकर
हुनुपर्छ। तर त्यस राति अस्पतालको जति भाग देखियो त्यो त त्यस्तो थिएन।
शिक्षण अस्पताल भनिन्छ, यसको सञ्चालनको जिम्मा कसैको
पक्कै हुँदो हो। कुनै समिति या केही हुँदो हो जसले त्यहाँको व्यवस्थापन
हेर्दो हो। यदि त्यस्तो कुनै निकाय छ भने त्यससित प्रश्न छ, चाहिएको
ठाउँमा बिजुली पनि बाल्न नसक्ने र जाबो एउटा शौचालयलाई ठीक अवस्थामा
राख्न नसक्ने यो कस्तो व्यवस्थापन हो?
रक्सीको 'रोयल' ब्रान्ड
यसपालि दशैँ र तिहारबीचको समयमा एउटा ठूलो निर्माण कार्य
तदारुकतासाथ सम्पन्न भयो सिंहदरबारको मुख्य प्रवेशद्वारको अघिल्तिर।
भन्नुहोला, के पृथ्वीनारायण शाहको भग्न प्रतिमा फेरि बन्यो? होइन,
त्यो बने पनि त्यसलाई निर्माण कार्य भनिँदैन। त्यो त मरम्मत–सम्भार
गरेको ठहरिन्छ। यो सम्पन्न भएको निर्माण कार्य पृथ्वीनारायणको सालिक
सामुन्ने सडकछेउ खडा भएको बडेमानको होर्डिङ हो― हुँदो ३०–४० फिट लम्बा–चौडा।
त्यस होर्डिङमा मन्सुर अली खान पटौदी र शर्मिला टेगोरका
पुत्र सैफ अली खानको तस्बिर छ, जसमा उनी आधा जीउ नाङ्गो पारेर उभिएका
छन्। छेउमा नेपालमा उत्पादित भनिएको 'रोयल' नाम जोडिएको ह्विस्कीको
बोतलको तस्बिर पनि छ।
विक्रमको २०६३ साल लागेदेखि नै 'रोयल' र त्यसको नेपाली
रुपान्तरमाथि कस्तो आपत् आइलाग्यो त्यो सबैले जाने–देखेकै कुरा हो।
रोयल नामधारी संस्था र निकायहरूलाई रातारात आफ्नो नाम फेर्दाको कत्रो
फजिती भएको थियो।
अहिले 'रोयल' नाम बोकेको त्यो ह्विस्कीको प्रचार गर्ने
होर्डिङ सिंहदरबारकै मुखेञ्जी खडा गरिएको छ। सिंहदरबार भनेको सिंहदरबार
हो फोहोरा दरबार होइन। सिंहदरबारमा सरकारको सचिवालय छ, संसद छ, मन्त्रालयहरू
छन्, प्रधानमन्त्रीको कार्यालय छ। लोकतान्त्रिक सरकारको मुटु हो सिंहदरबार।
त्यस्तो ठाउँको अघिल्तिर 'रोयल' नामको होर्डिङ, के अचम्म?
के यो कोटको कठालोमा श्रीपेचको सट्टा टेकवीर मुखियाले
डिजाइन गरिदिएको नयाँ ब्याज भिरेर त्यही बाटो हिँड्ने सांसद र मन्त्रीहरूको
दिमागमा बारम्बार 'रोयल' शब्द घुसाउने उपाय हो? अथवा अबको नेपालमा
'रोयल' शब्दचाहिँ सबैतिरबाट हटेर केवल रक्सीको ब्रान्डमा सीमित रहनेछ
भन्ने सन्देश दिन खोजिएको हो?
ख्याल ख्यालमा ...
काठमाडौँको टुँडिखेल छेउ नेपाल वायुसेवा निगमको भवन र वैदेशिक हुलाक
कार्यालयबीचमा ठडिएको विशाल सपिङ सेन्टरको भवनमा 'काठमाण्डू मल' लेखिएको
बडेमाको साइनबोर्ड देखेर एक जनाले सोधेः “युरिया मल सुनिएको थियो,
कम्पोस्ट मल सुनिएको थियो, प्राङ्गारिक मल सुनिएको थियो, रासायनिक
मल सुनिएको थियो, चिनी मल र गेडा मल पनि सुनिएको थियो। यो कुन चाहिँ
मल पर्यो काठमाण्डू मल?”
अर्काले भनेः धनीमानी र आधुनिकहरूले किन्ने र खाने ठाउँलाई
'मल' भन्छन्। यो उनीहरूकै 'मल' हो।
|