]
हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

अलगधारका मोडल

व्यापारिक घराना ज्योति समूहका सुहृद फुर्सदको समयमा मोडलिङमा रमाउन चाहन्छन्। म्यानहण्ट २००३ का उपाधि विजेता उनी कोरियामा २००५ मा सम्पन्न अन्तर्राष्ट्रिय म्यानहण्टमा सहभागी भइसकेका छन्। अमेरिकाबाट इञ्जिनियरिङ म्यानेजमेण्टमा स्नातकोत्तर गरेका सुहृदले भिजुअल र केही पेपर एड समेत गरेका छन्। उनी भन्छन्, “म व्यवसायी हुँ, मोडलिङ मेरो शोखमात्र हो।”

मोडलिङमा लागेको पाँच वर्षमा आयुषी शाहले सामसुङ, कोकाकोला, टु पीएम लगायतका २० टीभी र पेपर एड, १२ म्युजिक भिडियो र केही स्तरीय फेशन शोमा भाग लिइसकेकी छन्। मिस भ्यालेण्टाइन २००१, आयुषी अनलाइन फोटो शेसन गर्न रुचाउन्नन्।

त्रकारसँग प्रायः तर्कन खोज्ने आयुषी भन्छिन्, “मलाई धेरैले चिनुन् भन्ने लाग्दैन।” व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी उनको चाहना ब्याङ्किङ् क्षेत्रमा लाग्ने छ। ल
अनुशील

मोडल: आयुषी शाह र सुहृद ज्योति
तस्बिरः अनुप प्रकाश
शृङ्गारः चाहना ब्युटिपार्लर, बागबजार
पहिरनः युएफओ/डट, काठमाडौँ मल
स्थानः गोकर्ण फरेष्ट गर्फ रिसोर्ट एण्ड स्पा

अनुशील


रमझम रिपोर्ट

लोभलाग्दो छलाङ

बाह्र वर्षअघिसम्म निर्माण गर्ने र हेर्ने माहोल नै नभएको नेपालमा अहिले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रन सक्ने वृत्तचित्र बन्न थालेका छन्।
डम्बरकृष्ण श्रेष्ठ

केसाङ छेतेनको वृत्तचित्र रातो मत्स्येन्द्रनाथ ले अमेरिका, जापान, फ्रान्समा प्रदर्शनको अवसरसँगै पेरिसको एक महोत्सवमा मेन्सन अवार्ड समेत पायो। अमेरिका र बेलायतमा हुनै लागेको चलचित्र महोत्सवहरूमा पनि उनको वृत्तचित्र छनौट भएको छ। यस पटक २१–२५ मङ्सिरमा राजधानीमा हुने काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २००६ मा पनि केसाङको नयाँ वृत्तचित्र हामी कुनाका मान्छे छनौट भएको छ।

बाह्र वर्ष अघिसम्म नेपालमा अहिलेको जस्तो वृत्तचित्र निर्माण गर्ने र हेर्ने दर्शकको माहोल नै थिएन। राजाको जिल्ला भ्रमण र विभिन्न ठाउँका वर्णनहरू नेपाल टेलिभिजनमा वृत्तचित्रका रूपमा प्रसारण हुँदै आएका थिए। नेपाल वातावरण पत्रकार समूहको स्थापनापछि सञ्चालित आँखीझयाल कार्यक्रमले नेपाल टेलिभिजनमा त्यहाँको शैली भन्दा फरक कुरा समेटिएका वृत्तचित्रहरू प्रसारण गर्न थालेको थियो। तर आज नेपालमा वृत्तचित्र निर्माणको लहर नै चलेको छ, यसका दर्शक पनि मज्जैले बढेका छन्। नेपालीहरूले बनाएका वृत्तचित्रहरू विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रदर्शन भएर पुरस्कृत समेत हुँदै आएका छन् भने यसको व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजार समेत विस्तार हुने सम्भावना बढ्दै गएको छ।

नेपालमा वृत्तचित्रको यो वातावरण तयार गर्ने श्रेय भने हिमाल एशोशिएसनलाई जान्छ। जसले एक दशक अघिदेखि नै हरेक दुई वर्षको अन्तरालमा दक्षिण एशियाली चलचित्र महोत्सव र काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव को आयोजना गर्दै आएको छ। महोत्सवसँगै यसले राजधानी बाहिरका शहरदेखि संसारभरका चलचित्र महोत्सवहरूमा नेपाली वृत्तचित्रहरू पुर्‍याउने काम गरिरहेको छ। सन् १९९४ मा सो एशोशिएसनले नेपालमा पहिलो पटक फिल्म हिमालया नामबाट अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गरेको थियो। सीमित, त्यसमा पनि पर्यटक र राजधानीमा बसेका विदेशीहरू नै त्यसबेलाका दर्शक थिए। पहिलो महोत्सवको दाँजोमा अहिले नेपाली दर्शकसँगै नेपाली वृत्तचित्र निर्माण गर्नेहरू पनि बढेका छन्। हिमाल एशोशिएसनका अध्यक्ष बसन्त थापा ५/६ वर्ष यता नेपालमा बढेको वृत्तचित्रको आकर्षण देखेर दङ्ग छन्। राजधानी बाहिरका शहरहरूमा वृत्तचित्र प्रदर्शनको माग पनि निकै बढेको उनी बताउँछन्। थापा भन्छन्, “अहिले दर्शक त बढेका छन् न,ै महोत्सवमा नेपाली वृत्तचित्रको सहभागिता पनि बढेको छ।”

एसोसिएशनले यस्ता महोत्सवहरू गरेर नेपाली वृत्तचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित गराएको चलचित्रकर्मी केसाङ छेतेन बताउँछन्। भन्छन्, “कतिपय नयाँ प्रविधि र विकास अरू देशमा भएपछि मात्र नेपाल आउँथ्यो तर वृत्तचित्रको विकास नेपालमा पनि अन्य विकसित देशहरू सँगसँगै भइरहेको छ। यस्तो हुनमा फेस्टिवलहरूको प्रमुख हात छ।”

को भन्दा को कम

रातो मत्स्येन्द्रनाथ

अहिले थुप्रै सिर्जनशील नेपाली युवाहरू वृत्तचित्र निर्माणमा जुटेका भेटिन्छन्। एक समयमा वैकल्पिक चलचित्र आन्दोलन भन्दै वृत्तचित्र र डकुड्रामा निर्माणको प्रचार गर्ने दीपेन्द्र गौचन, छिरिङ रितार, नवीन सुब्बाहरूको पङ्ति अहिले निकै लामो भइसकेको छ। त्यसबेला गौचन र सुब्बाको डकुड्रामा क्रमशः उजेली र खाङ्गरी अनि छिरिङको वृत्तचित्र डजन कम एनी मोर लगायतको चर्चा हुन्थ्यो। मोहन मैनाली, केदार शर्मा, ध्रुव बस्नेत, किरणकृष्ण श्रेष्ठ, केसाङ छेतेन, प्रणय लिम्बू, दिनेश देवकोटा, रवि बराल, दिलभूषण पाठक, शेखर खरेल, रम्यता लिम्बू, गिरीश गिरी आदिको नाम पनि एक दशक अघिसम्म 'फिल्म मेकर' का रूपमा सुनिँदैनथ्योे। अहिले यिनीहरूले बनाएका वृत्तचित्र तथा डकुड्रामाहरूले सबैलाई चर्चासँगै अलग्गै पहिचान पनि दिलाएको छ।

जोगीमाराका ज्यूँदाहरू

मोहन मैनालीकोे जोगीमाराका ज्यूँदाहरू, सिक्स स्टोरिज, ध्रुव बस्नेतको रक्ताम्य गराहरू, स्कुल इन द क्रस फायर, किरणकृष्णको भेडाको ऊन जस्तो, सा... कर्णाली, केदार शर्माको अर्को उज्यालो, अक्षरको उज्यालो खोज्दै, मृत्युबाट जन्मनेहरू, केसाङ छेतेनको जोगीमाराका ज्यूँदाहरू प्रणय लिम्बूको इतिहास जित्नेहरूका लागि, दिनेश देवकोटाको लक्ष्मण मगर, रम्यता लिम्बू र सपना शाक्यको डटर्स अफ एभरेष्ट, रवि बरालको चमेली, दिलभूषण पाठकको न्युजरुम बाहिर, शेखर खरेलको काठमाडौँ ओडिसी, गिरीश गिरीको टीम नेपाल हेर्ने दर्शक अहिले निकै भइसकेका छन्। यस्तै वृत्तचित्रहरूले पाएको सफलता र अन्तर्राष्ट्रिय महोत्सवसम्म पुग्ने लोभलाग्दो अवसरका कारण यस क्षेत्रतर्फ आकर्षित हुने युवाहरूको सङ्ख्या ह्वात्तै बढेको छ। यही आकर्षणले गायक धीरज राईले समेत गायक ओमविक्रम विष्टमाथि वृत्तचित्र बनाए। युवा चलचित्रकर्मी मनोज पण्डितले नेपालको ऐतिहासिक सिमाना खोज्दै ग्रेटर नेपाल बनाए। विकासे संघ–संस्थाहरूले आफ्ना गतिविधि समेटेर बनाउने वृत्तचित्रहरूमा धेरैले काम समेत पाउँदै आएका छन्।

इतिहास जित्नेहरूका लागि

पछिल्लो समयमा राजधानीको जय नेपाल हलमा दर्शकले किरणकृष्ण श्रेष्ठको सा...कर्णाली टिकट काटेर हेरे। केदार शर्माको अपाङ्गपन बारेको अर्को उज्यालो ब्रिटिश फिल्म इन्ष्टिच्युटको अध्ययन सामग्रीकै रूपमा राखिएको छ। गएको अगस्टमा जापानमा भएको हिमालयन फिल्म फेस्टिवलमा सहभागी भएका नेपालका सात वृत्तचित्रमध्ये ध्रुव बस्नेतको स्कुल इन द क्रस फायर जापानी भाषामा रुपान्तरण गरेर ५ कात्तिकमा पुनः प्रदर्शन गरिएको छ। उनको रक्ताम्य गराहरू अष्ट्रेलिया र फिनल्याण्डको स्थानीय टेलिभिजन च्यानलले आफ्नै भाषामा रुपान्तरण गरेर प्रसारण गरेका छन्। बस्नेत महोत्सवबाटै आकर्षित भएर आफू वृत्तचित्र निर्माणमा लागेको बताउँछन्। भन्छन्, “यस्ता महोत्सवले यसतर्फ लाग्न आकर्षित मात्र गरेन, अन्तर्राष्ट्रिय क्षेत्रमा पुग्ने अवसर समेत जुटाइदिएको छ।” मोहन मैनालीको जोगीमाराका ज्यूँदाहरू अमेरिका, क्यानडा, नेदरल्याण्ड, डेनमार्क, हङकङ, कोरिया लगायतका देशहरूमा प्रदर्शन भइसकेको छ। महोत्सवले विदेशीका चलचित्रहरू उनीहरूसँगै बसेर हेर्ने वातावरण जुटाउनुका साथै बनाउन प्रोत्साहन गरेको उनी बताउँछन्। उनी भन्छन्, “वृत्तचित्र बनाएपछि देखाउने अवसर समेत यसले दिएको छ।”

स्कुल इन द क्रसफायर

पहिले वृत्तचित्रलाई चलचित्र नै हैन भन्ने अवस्था रहेकोमा हिमाल एशोशिएसनले गर्ने गरेका महोत्सवहरूले नयाँ क्रान्ति नै ल्याइदिएको बताउँछन् चलचित्र निर्देशक यादव खरेल। चलचित्रहरूमा मायाप्रीतिका कुरा हुन्थे तर वृत्तचित्रहरूमा सामाजिक समस्या र यथार्थ धरातल सँगै संस्कृति, वातावरण, भूगोललगायतका विविध विषय समेटियो। खरेल भन्छन्, “चलचित्र क्षेत्रमा सकारात्मक आन्दोलन हो यो। दर्शकहरूले टिकट काटेर वृत्तचित्र हेर्न थालेका छन्, जिल्ला जिल्लामा मातृ भाषाहरूमा समेत यस्ता चलचित्र निर्माण हुन थालेका छन्।” पाँच वर्षअघि आफू चलचित्र विकास बोर्डमा अध्यक्ष हुँदा ५२ देशका समूहहरू नेपालको विषयमा वृत्तचित्र बनाउन आउँदा यसको धेरै सम्भावना आफूले देखेको उनी बताउँछन्। भन्छन्, “विदेशीहरू आएर डकुमेण्ट्री बनाएर व्यापार गर्छन् भने नेपालबारे उनीहरू भन्दा बढी बुझ््ने नेपालीले यो काम किन गर्न सक्दैनन्?” प्रयोगका हिसाबले पनि नेपालीहरू वृत्तचित्र निर्माणमा सफल रहेको उनी बताउँछन्।


तयारी महोत्सवको

हिमालयन ड्रिम्स।

काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २००६ का निम्ति विश्वका २३ देशबाट आएका १३५ वृत्तचित्र तथा चलचित्रमध्ये ५० छानिएका छन्। महोत्सव निर्देशक रम्यता लिम्बूका अनुसार नेपालीले बनाएका १२ मध्ये तीन वृत्तचित्र छनौटमा परेका छन्। तिनमा केसाङ छेतेनको हामी कुनाका मान्छे, सुविना श्रेष्ठ र एलेक्स ग्याबेको द लाष्ट रेस र सङ्गीता श्रेस्तोभाको डान्सिङ काठमाडौँ रहेका छन्।
धेरै पर्वतीय मुलुकहरूमा हुने गरेको यो महोत्सव हिमाल एशोशिएसनले सन् २००० बाट नेपालमा शुरु गरेको हो। हरेक दुई वर्षमा हुने सो महोत्सव यसपटक कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा हुँदैछ। महोत्सवमा सहभागी हुन धेरै विदेशी 'फिल्म मेकर' हरू काठमाडौं आउँदैछन्। महोत्सवको प्रमुख उद्देश्य चलचित्र निर्माणको नयाँ–नयाँ शैली र विषयवस्तु बारे नेपालीहरूलाई जानकारी दिनु समेत रहेको आयोजनाका अध्यक्ष बसन्त थापा बताउँछन्। भन्छन्, “नेपाल र काठमाडौँलाई विश्वभर चिनाउने उपाय पनि हो यो। नेपालीले बनाएका फिल्म विदेशीले हेर्ने र विदेशी फिल्म मेकरहरूबाट उनीहरूको सीप सिक्ने अवसर पनि मान्न सकिन्छ यसलाई।”

पाँचदिने महोत्सवमा क्यानडाको वान्फ फिल्म फेस्टिवल २००५ मा देखाइएका उत्कृष्ट चलचित्रहरू समेत प्रदर्शन हुनेछन्। त्यस्तै द्वन्द्व झ्ल्काउने केही चलचित्रहरूका साथै जापानीहरूले मनास्लु हिमाल चढेको ५० वर्षको अवसरमा विशेष प्रदर्शनी र कार्यक्रम पनि हुनेछ। भारतको सरकारी वृत्तचित्र निर्माणमा संलग्न नेपाली मूलका एनएस थापाले बनाएका पर्वतीय चलचित्रको प्रदर्शनीका साथै हिमाली भरियाबारे छलफल, पुस्तक/तस्बिर प्रदर्शनी समेत हुने भएको छ।

दर्शकको बढ्दो चापका कारण ४/५ स्थानमा समेत एकै साथ न्यूनतम शुल्क लिएर चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको छ। यस महोत्सवमा छनौट भई प्रदर्शन हुनेमध्ये दर्शक छनौटका आधारमा एक उत्कृष्ट चलचित्र छानिनेछ। दक्षिण एशियाली चलचित्र महोत्सवमा भने तीन वटा उत्कृष्ट चलचित्र छनौट गरी नगद पुरस्कार समेत प्रदान गरिँदै आएको छ। सो महोत्सवमा समावेश भई छानिएका १५ चलचित्रलाई ट्राभलिङ फिल्म साउथ एशिया भनेर विश्वका विभिन्न देशहरूमा वर्षभरि प्रदर्शन गरिँदै आएको छ।


सम्झाना इब्सन

दश दिन दश नाटक

डम्बरकृष्ण श्रेष्ठ

'पुतलीको घरमा' अभिनय गर्दै शेखर चापागाइँ र निशा शर्मा।

विश्व प्रसिद्ध नाटककार हेनरिक इब्सनको मृत्यु–शतवार्षिकीका अवसरमा राजधानीको गुरुकुलमा १५ कात्तिकबाट इब्सन नाटक महोत्सव २०६३ शुरु भएको छ। रङ्गसंस्था आरोहणको आयोजनामा भइरहेको दश दिने महोत्सवमा नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश र नर्वेका रङ्गकर्मीहरूको सहभागिता छ। तीन वर्षअघि इण्टरनेशनल थिएटर इन्ष्टिच्युट (आईटीआई) ले नेपाल, भारत र बङ्गलादेशका रङ्गकर्मीको सहभागितामा र नेपालका रङ्ग संस्थाहरूको सक्रियतामा बाह्र वर्षअघि दश पूर्वी एशियाली देशहरूको सहभागितामा द वीग वीन नामक नाटक महोत्सव भएको थियो। तर, इब्सनको सम्झ्नामा विश्वभर भइरहेका महोत्सव–शृङ्खलाकै अर्को कडीका रूपमा नेपाली रङ्गमञ्चमा भइरहेको अन्तर्राष्ट्रियस्तरको यो महोत्सव नेपालमा पहिलो हो। एशियामा इब्सन का नाममा यस्तो महोत्सव बङ्गलादेश र पाकिस्तानले गरिसकेका छन्। आरोहणका निर्देशक तथा रङ्गकर्मी सुनील पोखरेलका अनुसार, महोत्सवमा दक्षिण एशियामा इब्सनका नाटकले पारेको प्रभावको समीक्षासँगै उनका चर्चित नाटकहरूको मञ्चन हुनेछ।

सहभागी पाँच देशका रङ्गकर्मीहरूले इब्सनका दश नाटकहरू प्रस्तुत गर्ने छन्। नेपालबाट सुनील पोखरेलको निर्देशनमा महान शिल्पी उद्घाटन नाटकका रूपमा मञ्चन भइसकेको छ भने गुरुकुलकै पुतलीको घर तथा एम आर्ट थिएटरबाट वीरेन्द्र हमालको निर्देशनमा खुशीको मृत्यु मञ्चन हुँदैछन्। पुतलीको घर ले यसअघि एशियादेखि युरोपसम्म नाटक मञ्चनमा अलग्गै कीर्तिमान कायम गरेको छ। वीरेन्द्र हमालले भने इब्सनका तीन कवितालाई जोडेर नाटकको विषयवस्तु बनाएका छन्। भारतका चार नाट्य समूहले जन–शत्रु, देशद्रोही, प्रेतछायाँ र इब्सनलाई इब्सनसँग खाना खान निम्तो शीर्षकका इब्सनसम्बद्ध नाटकहरूको मञ्चन गर्दैछन्। मञ्चन हुने अन्य नाटकहरूमा नर्वेको जङ्गली हाँसको कथा, पाकिस्तानको दुश्मन र बङ्गलादेशको पुनरुत्थान रहेका छन्।

नाटकसँगै महोत्सवमा साङ्गीतिक समूह सुकर्मले इब्सनका नाटकमा आधारित साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्दैछ। महोत्सवका अवसरमा इब्सन कार्यशालासँगै रङ्गकर्म सम्बन्धी चार पुस्तक सार्वजनिक गरिँदैछ, जसमा अभि सुवेदीको नेपाली थिएटर एस आई सी इट, इब्सनको नाटक अ डल्स हाउस को अनुवाद पुतलीको घर, शिव रिजालको नेपाली रङ्गमञ्चः स्रोत, साधना र सृजना एवं प्रकाश सुवेदी, जिवेश रायमाझ्ी र बलबहादुर थापाको सम्पादनको इब्सनः वियोण्ड टाइम एण्ड स्पेस रहेका छन्।

आईटीआई का नेपाल च्याप्टर अध्यक्ष तथा नाटककार अभि सुवेदी नेपाली रङ्गकर्मको इतिहासमा यस पटक भइरहेेको महोत्सवले ठूलो मह140व राख्ने बताउँछन्। नेपालमा हुने इब्सन महोत्सवको चर्चा आफूले केहीअघि कोरियामा समेत सुनेको बताउँदै सुवेदी भन्छन्, “नेपाली रङ्गकर्मलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने काम यसले गर्छ नै, विदेशी रङ्गकर्मीहरूसँगको सहकार्यबाट समेत धेरै कुरा सिक्न सकिन्छ।”

नेपालमा राष्ट्रियस्तरको नाटक महोत्सव हरेक वर्ष सरकारी स्रोतबाट गरिँदै आएपनि निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय महोत्सव हुनु आफैँमा उल्लेख्य कुरा हो। सरकारीस्तरमा देशको कला र संस्कृतिलाई विदेशमा प्रचार गर्ने सांस्कृतिक सोच नै नभएको सुवेदी बताउँछन्। भन्छन्, “यहाँ सांस्कृतिक नीति नै छैन, एकेडेमी मनोरञ्जनको सानो थलो मात्र भएको छ।” यो पृष्ठभूमिमा आरोहणले आफ्नै प्रयासमा आयोजना गरेको महोत्सवका लागि नर्वेजियन दूतावास, बीपी कोइराला इण्डिया नेपाल फाउण्डेशन, एमएस नेपाल आदिले भरथेग गरेका छन्।

गुरुकुलको रङ्गमञ्चमा लगातार दश दिन ४५ नेपाली र ९७ विदेशी रङ्गकर्मीको अभिनय हेर्न पाइने छ। महोत्सवले नेपाली रङ्गकर्मीहरूलाई नयाँ उर्जा दिने अपेक्षा गरिएको छ। सुनिल पोखरेल भन्छन्, “फरक–फरक देशका प्रस्तुति र शैली हेर्न पाउनु नेपाली रङ्गकर्मीहरूका लागि राम्रो अवसर पनि हो।” रङ्गकर्मीहरूका विचारमा यसले विश्व रङ्गमञ्चमा समेत नेपालको दरिलो उपस्थिति देखाउने छ।

अनुशील


रमझम विविध

कोरियामा नेपालीपन

दक्षिण कोरियामा रहेका नेपालीहरूको संस्था नेपाली समाज कुमीको सक्रियतामा त्यहाँको कुमी शहरमा चौथो एशियन महोत्सव सम्पन्न भएको छ। २९ असोजमा भएको सो महोत्सवमा नेपालीहरूले नेपालको पहिचान झ्ल्कने पहिरन, गीत–सङ्गीत, नृत्य, नाटकसहितको सांस्कृतिक कार्यक्रमसँगै परिकारहरूको प्रदर्शनी गरेका थिए। नेपालको इतिहास, पर्यटकीय क्षेत्रको बारेमा समेत जानकारी दिइएको महोत्सवमा सात देशको सहभागिता रहेको थियो भने कोरियन नागरिकहरूको समेत उल्लेख्य सहभागिता रहेको आयोजक नेपाली समाज कुमीका सचिव अशोक बस्नेतले जनाएका छन्।

प्रवासमा मुनामदन

मातृदीप राई

हङकङ नेपाली कला मन्दिर तथा पीके कलेज, हङकङ नेपाली विभागको संयोजनमा नेपाली विद्यार्थीले नेपाली भाषा र साहित्यको अध्ययन र संस्कृतिप्रतिको अभिरुचि बढाउने उद्देश्यले ५ कात्तिकमा पीके कलेजको सभाहलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाए। 'देवकोटा जयन्ती २००६' कार्यक्रममा पीके कलेजका विद्यार्थीहरूले छात्रा सुप्रिया गुरुङको निर्देशनमा मुनामदन को एक अंशलाई गीति नाटकका रूपमा प्रस्तुत गरेका थिए। नेपाली कला मन्दिरका अध्यक्ष तथा हङकङमा नेपाली भाषालाई अध्यापन गराउन सङ्घर्षरत एकराज राईले 'जयन्ती कार्यक्रमः सन्दर्भ हङकङेली नेपाली समाजको स्थिति' विषयमा बोल्दै देवकोटाको जीवनी तथा कृतिबारे प्रकाश पारेका थिए। हङकङका कवि, साहित्यकार, शिक्षक, लेखक, पत्रकार तथा विभिन्न विद्यालयका विद्यार्थीहरूले कार्यक्रममा महाकविको जीवनी तथा आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए।

देवराज, हङकङ

आभासको धुन

राजधानीको केशरमहलस्थित 'स्वप्न बगैँचा'को उद्घाटन महोत्सव अन्तर्गत १२ कात्तिकको साँझ् आभासले आफ्नो साङ्गीतिक प्रस्तुतिबाट श्रोताको मन जिते। नेपालय आयोजक रहेको आभासको एकल साङ्गीतिक कार्यक्रममा उनले गीतमार्फत् प्रेम, खुशी र विरह तथा सामाजिक धरातल उन्मुखजीवनका दुई पाटाहरूलाई उजागर गरेका थिए। उनले आफ्नो अल्बम पला..पला... का केही गीतसँगै डेढ दर्जन गीतहरू प्रस्तुत गरेका थिए। करीब एक दर्जन वाद्यवादक संलग्न टोलीका साथ आफ्ना सिर्जना प्रस्तुत गर्ने आभासको गायन करीब दुई घण्टासम्म चलेको थियो।

रक दार्जीलिङ

६ वर्षअघि वेब म्यागेजिनमा छापिएको दार्जीलिङको रक पुस्ताबारेको आवरण कथाका आधारमा तयार गरिएको वृत्तचित्र ईन ट्वीन विद दार्जीलिङ १० कात्तिकमा राजधानीमा प्रदर्शन गरियो। युवाकर राजकर्णिकार र छिरिङ छोदेनको निर्देशनमा बनेको यो वृत्तचित्रले चार दशकअघि नै रक सङ्गीतको केन्द्र बनेको दार्जीलिङको साङ्गीतिक इतिहासलाई समेटेको छ। दार्जीलिङमा सन् १९६२ तिर हिलियन ब्याण्डको स्थापना भएपछि देखा परेको पश्चिमा सङ्गीतको प्रभाव र त्यसपछिका ब्याण्डहरूको सङ्घर्ष र गतिविधि वृत्तचित्रमा समेटिएको छ। आधा घण्टाको वृत्तचित्रमा पिटर जे कार्थक, लुई ब्याङ्कसलगायतको अनुभवसमेत समाहित छ।