पुस्तक
| समीक्षा
वैचारिक यात्रा
किताबः स्वतन्त्रता मन्तव्य यात्रा
लेखकः कृष्ण पहाडी
प्रकाशकः मानवअधिकार तथा शान्ति समाज, काठमाडौँ,
२०६३
पृष्ठः १८२, मूल्यः रु.१७५
मानवअधिकारकर्मी कृष्ण पहाडी वक्तृत्व–क्षमतामा जति
प्रखर लाग्छन्, लेखन/विश्लेषणमा पनि कम छैनन् भन्ने प्रमाण हो, स्वतन्त्रता
मन्तव्य यात्रा। मूलतः यो यात्रा–वृत्तान्त हो। एक वर्षअघि एम्नेष्टी
इन्टरनेशनलको निमन्त्रणामा पश्चिमी गोलार्द्ध पुगेका पहाडीले आफ्ना
मन्तव्यहरूमार्फत् जे जसरी विश्वसमुदायको ध्यान नेपालको तत्कालीन अवस्थातिर
आकृष्ट गरे, त्यसको लिपिबद्ध अभिलेख पनि हो यो पुस्तक।
१९ माघ २०६१ लगत्तैको पाँचमहिने बन्दीजीवनपछि युरोप,
अमेरिकाका विभिन्न संस्था, फोरमहरूमा 'मानवअधिकार योद्धा' का रूपमा
उनको स्वागत भयो। प्रशस्त अन्तरक्रियाहरू भए र पहाडी ती अवसरहरूलाई
स्वाधीनता, आत्मसम्मान, समानता र अधिकारप्रतिको वैचारिक अभियानका रूपमा
उपयोग गर्दै प्रस्तुत भए। नेपालको लोकतान्त्रिक आन्दोलनमा अन्तर्राष्ट्रिय
सद्भाव, समर्थन जुटाउने काममा त्यो अभियानको समेत उल्लेख्य भूमिका
रह्यो। अनुभवका तिनै पोकाहरूलाई पहाडीले पुस्तकमा फुकाएका छन्। पुस्तकमा
प्रसङ्गअनुसार, तत्कालीन शाही सत्ताको व्यवहार र त्यसको विरोधमा उठेका
आवाजहरूको रोचक विश्लेषण भेट्न सकिन्छ। यात्रामा लेखक जहाँ जहाँ पुगेका
छन् त्यहाँको इतिहास, संस्कृति र शासन–संरचनाका रमाइला दृष्टान्तहरू
उधिनेर पाठकलाई आफू सँगसँगै डोर्याउने प्रयत्न गरेका छन्। आठ देशमा
हजारौँ मान्छेसँगको प्रत्यक्ष साक्षात्कारका क्रममा लेखकले जुन विचार
र लक्ष्यको वकालत गरेका छन्, सचेत नेपालीले त्यसमा आफ्नै दृष्टिकोण
र गन्तव्यको अनुभव गर्न सक्छन्।
मन्तव्य यात्रा मा प्रशस्तै आएका निजी प्रसङ्गहरूले
पहाडीको विगत, वर्तमान र उनका अडान/आदर्शका कुरा बुझन सघाउँछन्। तर,
एउटै किताबमा यात्रा–वर्णनदेखि जीवन–दर्शनसम्मका धेरै कुरा समेट्न
खोज्ने हतार देखाएका छन् पहाडीले। पूरक सामग्रीका रूपमा पुस्तकको अन्त्यतिर
समेटिएका पाँच परिच्छेद एउटा सिङ्गो आत्मकथाका विषयवस्तु बन्न सक्थे।
तथापि, रसपूर्ण छ पहाडीको तेस्रो पुस्तकाकार कृति। पढ्न थालेपछि नसिध्याई
उठ्नेहरू कमै हुनेछन्। सार्वजनिक महवका दृष्टिकोणहरू बुझन, पर्गेल्न
लामा विचार र बोझ्िला विश्लेषणहरू भन्दा अनुभवजन्य छरिता सामग्रीहरू
बढी उपयोगी, रुचिकर हुन्छन्। त्यसैको दृष्टान्त हो– स्वतन्त्रता मन्तव्य
यात्रा।
कलाको
अभिलेखन
किताबः आरएन जोशीः वाइडनिङ द होराइजन
अफ नेपलिज आर्ट
लेखकः वंशी श्रेष्ठ
प्रकाशकः पार्क ग्यालरी, ललितपुर, २००६
पृष्ठः १०५
 |
कलाकार रामानन्द जोशीको कलामय जीवनको एउटा अभिलेख हो,
यो किताब। एक सफल कलाकर्मीको ५० वर्षे जीवनका विभिन्न आयामलाई धेरथोर
निफनेर प्रस्तुत गर्ने काममा लेखक वंशी श्रेष्ठले पुस्तकमा नेपाली
कलाको संक्षिप्त इतिहाससमेत समेटेका छन्। कलाकार जोशीको संक्षिप्त
जीवनी, उनको सामाजिक सक्रियता, उनकै पहलमा स्थापित पार्क ग्यालरी र
सो ग्यालरीमार्फत् फैलिएको कला–चेतनाको पृष्ठभूमिमा जोशीका दृष्टिकोण/आवाजहरूलाई
लेखकले यथासंभव तौलिएका छन्। “कलाबिनाको जीवन अपूर्ण हुन्छ” भनिरहने
जोशी दृश्यचित्रका एक सफल अगुवा थिए अनि तैलचित्रमा उनले अलग्गै शैली
स्थापित गरेका थिए। 'माई ल्याण्ड एण्ड माई पिपुल' शीर्षकका उनका शृङ्खलाबद्ध
चित्रहरूको तत्कालीन परिवेशमा बेग्लै वजन र महव थियो– पुस्तकले यस्ता
धेरै तथ्यहरू उजागर गरेको छ। र, उसरी नै देखाएको छ– तन्त्रविद्यालाई
कलामा उतार्ने जोशीको विशेष खुबी। यद्यपि, विवरण/विश्लेषणहरू अत्यन्त
संक्षिप्त छन्। तिनबाट पाठकको तिर्खा मेटिँदैन। चित्र–तस्बिरहरूले
भने सानोतिनो दस्तावेजकै स्वरुप पाएका छन्। भाषा अङ्ग्रेजी नै भएपनि
अनावश्यक 'जार्गन' हरूबाट मुक्त छ पुस्तक तर आम कलाप्रेमीलाई यसको
विज्ञापित मूल्य (रु.९५०) ले शुरुमै तर्साउँछ। प्रकाशकले नेपाली पाठकको
बेवास्ता गरेका त होइनन्?
तथापि, पुल्चोक–ललितपुरमा भर्खरै पूर्णाकार पाएको आरएन जोशी आर्ट म्युजियमको
शुभारम्भ र जोशी–गाथामा आधारित पुस्तक–प्रकाशनलाई नेपाली कला र यसको
अभिलेखनमा अर्को उपलव्धि भन्दा अन्यथा हुँदैन।
साङ्गीतिक
चिन्तन
किताबः कहाँ गए ती दिनहरू
लेखकः अम्बर गुरुङ
सम्पादकः देवेन्द्र भट्टराई
प्रकाशकः रत्नपुस्तक भण्डार, काठमाडौँ, २०६३
पृष्ठः १००, मूल्यः रु.१३५
अम्बर गुरुङ– सङ्गीत सिर्जनाको एउटा जीवन्त नाम। चालीस
वर्षअघिको उनको सोचाइ र अहिलेको चिन्तन/विश्लेषणमा धेरै फरक आइसकेको
छ। दार्जीलिङबाट पहिलोपल्ट नेपाल आउँदा उनीभित्र धेरै जिज्ञासाहरू
थिए तर अहिले उनीसँग जवाफहरू छन्, भोगाइका अनगिन्ती तरेलीहरू छन्।
तिनै अनुभवका केही चरणलाई उनले कहाँ गए ती दिनहरू मा समेटेका छन्।
गुरुङको लेखाइले देखाउँछ– उनी गीतकार, गायक, सङ्गीतकार मात्र हैनन्
कुशल निबन्धकार समेत हुन् र उनका निबन्धमा विचारको बोझ् छैन, भोगाइका
रमाइला प्रसङ्गहरूलाई उन्न खप्पिस छन् अम्बर। उनका अनुभवजन्य अभिव्यक्तिहरूमा
समेत साहित्यिक स्वाद भेट्न सकिन्छ।
कहाँ गए ती दिनहरू लाई खोजी–साहित्यको सँगालो भन्दा
अन्यथा हुँदैन किनकि दुर्लभप्रायः भइसकेका कतिपय आलेख खोजीखोजी यसमा
समेटिएको छ। निबन्धहरू केही भावपरक छन्, केही संस्मरणात्मक र व्यक्तिपरक
पनि छन्। नेपाली कवि–कलाकारका कथाव्यथा, पीडागुम्फनका कुराहरूसँगै
सङ्गीतसाधनामा लागेका नयाँ पुस्तालाई घच्घच्याउने थुप्रै सामग्री भेट्न
सकिन्छ यसमा। मान्छेको अन्तरमनलाई सोझ्ै समाउन पुग्ने सङ्गीतको तीक्ष्ण
प्रभाव माथिका घोत्ल्याइँहरू सँगसँगै भेट्न सकिन्छ लेखकले सञ्चारमाध्यममा
वलिको बोको हुनुपरेका तीता अनुभव अनि मुद्राराक्षस र चेतना राक्षसको
मीठो तुलना। “राष्ट्रको ढुकढुकीसँग हाम्रो उद्गारको समन्वय भएन भने
हामीले गाएको डाँफे र हिमाल, पहाड र गुराँस, देउराली र बेँसी सबै बेकार
हुनेछन्” जस्ता अभिव्यक्तिले पाठकलाई सोचमग्न बनाउँछन्।
शङ्कर लामिछाने, अगमसिंह गिरी, उत्तम कुँवर जस्ता स्रष्टाहरूको
व्यक्तित्व–चित्रण सङ्ग्रहको अर्को विशेषता हो। दुःखलाई थालको भात
र सुखलाई बटुकाको तरकारी सम्झ्ने अम्बरका अनुभूतिहरूमा एकै पटक धेरै
खाले स्वाद भेट्न सकिन्छ। उनको मीठो, परिपक्व लेखनीलाई ठम्याउन यही
कृतिभित्रका 'स्याव्वास कान्छा र कान्छी!' जस्ता निबन्ध नपढी हुन्न।
पुराना निबन्धमा नयाँ प्रसङ्ग भेटिनु र रचनाकाल अनुरुप निबन्धको क्रमबद्धता
नहुनु कृतिका असहज पक्ष हुन्। २० सालको निबन्धमा भूपि, कटुवाल बितिसकेको,
माधव घिमिरेलाई राष्ट्रकवि भन्न थालिसकिएकोे जस्ता प्रसङ्ग घुसाइदिएर
सम्पादकले अम्बरलाई अप्ठ्यारोमा पारेका छन्। तर, अरू सबै कुरामा अम्बरको
लेखनीले जितेको छ। अम्बर गुरुङले आफ्नो लेखन–अध्यायलाई सँगालोका रूपमा
सार्वजनिक गरेर आफ्नो साङ्गीतिक जिन्दगीलाई अझ् सार्थक बनाएका छन्।
आन्दोलनको
दस्तावेज
किताबः लोकतन्त्रः अपहरण र अवतरण
लेखकः श्रवण शर्मा, माधव पन्थी
प्रकाशकः दीपालक्ष्मी आचार्य शर्मा, काठमाडौँ, २०६३
पृष्ठः १५४, मूल्यः रु.२००
नेपालको लोकतान्त्रिक आन्दोलन, यसका आरोह–अवरोह, चरित्र
तथा विशेषताको आकलनसँगै पछिल्लो जनआन्दोलन (२०६३) का घटना–विवरणलाई
एकैठाउँमा समेटिएको दस्तावेज हो लोकतन्त्रः अपहरण र अवतरण। ऐतिहासिक
जनआन्दोलन–२ र यसको पृष्ठभूमिमा केन्द्रित हुँदाहुँदै पनि पुस्तकले
जनआन्दोलनका प्रारम्भिक चरणहरू (राणाविरोधी आन्दोलन), नेपालको पहिलो
जनक्रान्ति (२००७) देखि २०६२ सालसम्मका निरङ्कुशता विरोधी सबैखाले
आन्दोलन र विद्रोहको धेरथोर समीक्षा गरेको छ। विषयवस्तुका आधारमा यसले
इतिहासको झ्झ्ल्को दिएपनि प्रस्तुतिका हिसाबले अभिलेख र विश्लेषणको
संयोजन मान्न सकिन्छ यसलाई। शाही निरङ्कुशताको शृङ्खलाबद्ध प्रस्तुति
अनि जनआन्दोलन–६३ का शहीद र घाइतेहरूको नामावली यसको थप विशेषता हो।
इतिहास–लेखन सजिलो काम होइन। राजनीतिक आन्दोलनसम्वद्ध
दस्तावेजहरूको संयोजन र विश्लेषण पनि उत्तिकै चुनौतीपूर्ण काम हो।
लेखकद्वयले त्यो हिम्मत देखाएका छन् र लोकतान्त्रिक आन्दोलनको केस्रा
केस्रा केलाउने कोशिश गरेका छन्। पुस्तकको अधुरो/आलोच्य पक्ष हो– धेरै
कुरामा लेखकहरूले चञ्चुप्रवेश मात्र गरेका छन्। विषय/ प्रसङ्गहरूलाई
पूर्णाकार दिन पुस्तक चुकेको छ। त्यति हुँदाहुँदै पनि लोकतान्त्रिक
चेतनाको खाँचो औँल्याउँदै आन्दोलनलाई लिपिबद्ध गर्ने प्रयास भने प्रशंसनीय
छ।
प्राप्त
कृति
 |
समानान्तर आकाश
(उपन्यास)
उपन्यासकारः पद्मावती सिंह
प्रकाशकः साझ्ा प्रकाशन काठमाडौँ, २०६२
पृष्ठः १७९+मूल्यः रु.१६२
|
 |
इञ्जिनियरको क्लिनिक
(संस्मरण–सँगालो)
लेखकः भुवन चन्द ठकुरी
प्रकाशकः शहीद दशरथ चन्द मेमोरियल ट्रष्ट, काठमाडौँ,२०६३
पृष्ठः २०८+, मूल्यः रु.१५०
|
 |
शब्दको सुवास
(गजल–सङ्ग्रह)
गजलकारः सरला जोशी
प्रकाशकः शिव जोशी, नारायणगढ, २०६३
पृष्ठः १०३+, मूल्यः रु.१०१
|
|
आमूल परिवर्तनको खाका
(दस्तावेजहरूको सङ्कलन)
सम्पादकहरूः राजेन्द्र महर्जन, झ्लक सुवेदी
र पुष्कर गौतम
प्रकाशकः नवदीप प्रकाशन काठमाडौँ, २०६३
पृष्ठः २३४, मूल्यः रु.१६०
|
|
माउण्टेन इन्क्यान्टेसन्स्
(लघुकथा–सङ्ग्रह, अङ्ग्रेजीमा)
लेखक/सम्पादकः थोरङ्–ला
प्रकाशकः साइलेन्ट हिमालया, काठमाडौँ, २००६
पृष्ठः १६८, मूल्यः रु.४५०
|
|
बुद्धधर्म र व्यवहार
(लेख–सङ्ग्रह)
लेखकः सुवर्ण शाक्य
प्रकाशकः शरण प्रकाशन काठमाडौँ, २०६०
पृष्ठः १८४, मूल्यः रु.८० |
|