खेलकुद | फूटबल
भोलिका सम्भावना
फूटबलमा एकपछि अर्को उत्कृष्ट प्रदर्शन दोहोर्याइरहेका
नेपाली यु–१७ टोलीका केही खेलाडीहरू कौशल र सम्भावनाका दृष्टिले कहलिएका
'सिनियर' खेलाडीहरू भन्दा कम छैनन्।
तीन वर्षयता
नेपालका कलिला फूटबलरहरूले भारतका आसाम, सिक्किम र नयाँदिल्ली तथा
सिङ्गापुर, मलेसियामा विपक्षीहरूविरुद्ध देखाएको उत्कृष्ट खेल–कौशलले
एउटा सुखद् सम्भावना देखाएको छ, त्यो हो आगामी वर्षहरूमा नेपाली फूटबलमा
प्रतिभाहरूको अभाव हुनेछैन। नेपाली फूटबलमा देखिँदै आएको हरि खड्का,
उपेन्द्रमान सिंह, सुरेन्द्र तामाङ जस्ता दिग्गजहरूको वर्चस्वलाई चेतन,
भरत, रुपक, रञ्जित, विकास जस्ता प्रतिभावान खेलाडीहरूले तोड्न गाह्रो
हुनेछैन। त्यसको पछिल्लो सङ्केतका रूपमा लिन सकिन्छ, गत महिना भारतको
नयाँदिल्लीमा सम्पन्न सुब्रतो कपमा नेपालका अण्डर–१४ र अण्डर–१७ टोलीले
पाएको सफलतालाई।
त्यसैगरी अखिल नेपाल फूटबल संघको महत्त्वाकाङ्क्षी योजना
एन्फा एकेडेमीको तेस्रो ब्याचका यी होनहार फूटबलरहरूले गत भदौमा सिङ्गापुरमा
सम्पन्न एफएफसी अण्डर–१७ च्याम्पिअनसीपमा कोरिया र जापानी टोलीविरुद्ध
देखाएको खेलकौशल विदेशीका लागि पनि प्रशंसनीय बनेको थियो।
सुब्रतो कपमा पहिले अण्डर–१४ र त्यसपछि लगातार दुई पटक
अण्डर–१७ स्पर्धा जितेको वर्तमान किशोर टोलीका यी प्रतिभावान् खेलाडीहरू
१५ कात्तिकदेखि काठमाडौँमा शुरु भएको सानमिगल शहीद स्मारक लिगमा सङ्कटा
क्लबबाट मैदानमा उत्रँदैछन्। सङ्कटाले एन्फा एकेडेमीको पूरै अण्डर–१७
टिम (प्लेइङ ११) लाई एक वर्षका लागि रु.१० लाखमा अनुबन्ध गरेको छ।
“हामीले यिनीहरूको प्रतिभा देखेर नै अनुबन्ध गरेका हौँ”, सङ्कटाका
फूटबल व्यवस्थापक रवि बज्राचार्य भन्छन्। लामो समयदेखि यी खेलाडीलाई
प्रशिक्षण दिँदै आएका डिकेन सुवालका अनुसार, यिनीहरूमा रहेको कमजोरी
भनेकै अनुभवको कमी हो। तर, खेलका हरेक पक्षमा यिनीहरू नेपालका उत्कृष्ट
खेलाडीभन्दा कम देखिँदैनन्। उनी भन्छन्, “विदेशमा निरन्तर खेल्ने र
राम्रो प्रशिक्षणको अवसर पाए भने यिनीहरूले हाम्रो क्षेत्रका जुनसुकै
विदेशी टिमलाई कडा चुनौती दिन सक्छन्।”
कस्ता छन् त नेपालीका भोलिका फूटबल–स्टार?
भरत खवासः सधैँजसो
चर्चामा रहने जुनियर खेलाडी हुन् भरत। राम्रा स्कोरर, निकै छरिता र
शक्तिशाली शूट हान्न सक्ने भरत मैदानमा अग्रपङ्ति र मिडफिल्ड जहाँबाट
पनि खेल्न सक्ने क्षमता राख्छन्। चाँदनी मावि, शंखमूल, काठमाडौँमा
१० कक्षामा अध्ययनरत १७ वर्षीय भरतले नेपाली अण्डर–१७ टोलीबाट खेल्दै
प्रायः हरेक म्याचमा गोल गरेका छन्। अन्तर्राष्ट्रिय स्तरको स्ट्राइकरमा
हुनुपर्ने हरेक गुण उनीसँग रहेको प्रशिक्षकहरूको दाबी छ। हरि खड्का
र बार्सिलोनाका स्ट्राइकर इटोका प्रशंसक भरतले एएफसी अण्डर–१७ प्रतियोगिताअघि
मलेसियामा भएको सउदी अरब र मलेसियाविरुद्धको अभ्यास खेलमा लोभलाग्दो
प्रदर्शन गरेका थिए। तर उनी अहिलेको आफ्नो प्रदर्शनबाट सन्तुष्ट छैनन्।
राष्ट्रिय टोलीको अनिवार्य सदस्य बन्ने धोको बोकेका भरत भन्छन्, “आगामी
लिगमा उत्कृष्ट प्रदर्शन गर्ने धोको छ।” मोरङ निवासी भरतलाई खेल्न
बाहिर जाँदा पढाइ छुट्ने चिन्ताले भने निक्कै सताउँछ। तर उनी दृढ छन्,
फूटबलमा जस्तै पढाइमा पनि राम्रो नतिजा ल्याउने कुरामा।
चेतन घिमिरेः जनकपुरका
१७ वर्षीय चेतन युवा खेलाडीहरूको वर्तमान पङ्तिमा उत्कृष्ट मानिन्छन्।
यसपल्टको सुब्रतो कपमा नेपाली अण्डर–१७ टोलीलाई विजयी बनाउन उनको अहं
भूमिका रहेको थियो। चेतनले फाइनलमा त्रिपुराविरुद्ध दुई गोल मात्र
गरेनन्, विपक्षी प्रशिक्षकहरूको समेत प्रशंसा बटुले। सुझबुझ भएका,
अनुशासित र मेहनती खेलाडीका रूपमा परिचित चेतन ड्रिब्लिङ र पोस्ट–आक्रमणमा
पनि अव्वल मानिन्छन्। यसै वर्ष नोबेल एकेडेमीबाट प्रथम श्रेणीमा एसएलसी
उत्तीर्ण उनी पढाइमा समेत निकै मेहनती मानिएका फूटबलर हुन््। प्रशिक्षक
सुवालका अनुसार, चेतनले 'फिनिसिङ लाइन' मा अझ सुधार ल्याउन सके उनमा
उत्कृष्ट फरवार्ड बन्ने प्रशस्त सम्भावना छ। थ्री–स्टारका स्ट्राइकर
सुरेन्द्र तामाङ भन्छन्, “अभ्यासलाई निरन्तरता दिए भविष्यको राष्ट्रिय
टोलीको अगुवा स्ट्राइकर बन्ने खुबी छ, चेतनसँग।”
 |
| विकाससिंह
क्षेत्री |
विकाससिंह क्षेत्रीः
नेपाली अण्डर–१७ टोलीको रक्षा पंक्तिका सशक्त खेलाडी
विकासबाट बल फुत्काउन विपक्षीलाई निकै हम्मे पर्छ। विपक्षीलाई मार्किङ
गर्न माहिर विकासलाई शारीरिक बनोटले पनि राम्रै साथ दिएको छ। उनको
खेलशैलीमा राष्ट्रिय टोलीका पूर्व कप्तान तथा कुशल डिफेन्डर राजु शाक्यको
झल्को पाउँछन्, धेरैले। शाक्यकै भनाइमा पनि विकासमा लोभलाग्दो जुझारुपन
र आत्मविश्वास देख्न सकिन्छ। प्रशिक्षकहरू भन्छन्, “उनले हेडिङमा चाहिँ
अलि सुधार गर्नु जरुरी छ।”
कक्षा १० मा अध्ययनरत्, सिन्धुपाल्चोकका १७ वर्षीय विकासले
१२ वर्षको उमेरमै एन्फा एकेडेमीमा आउने अवसर पाएका थिए। अण्डर–१७ टोलीका
नेपालीहरूमध्ये हरेक म्याच पूरै अवधि खेल्ने सम्भवतः उनी एक मात्र
खेलाडी हुन्। ब्राजिलका डिफेन्डर लुसिओको खेल शैलीलाई आफ्नो आदर्श
मान्ने विकासलाई खेलका कारण पढाइमा धेरै ध्यान दिन नसकेकोमा भने चिन्ता
लाग्न थालेको छ। राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेर धेरैभन्दा धेरै
अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने रहर बोकेका विकास अहिले क्लबहरूले
फूटबलप्रति देखाएको चासोबाट दङ्ग छन्। उनको भनाइमा, “खेलाडीहरूलाई
सानैदेखि 'ग्रुम' गर्न सकियो भने अझ राम्रो हुन्छ।”
 |
| रुपक श्रेष्ठ |
रुपक श्रेष्ठः गोलरक्षक
उपेन्द्रमान सिंहका अनुसार रुपकमा सफल गोलरक्षक हुने प्रायः सबै गुणहरू
छन्। उपेन्द्र भन्छन्, “रुपकको डाइभिङ, किकिङ हरेक पक्ष उत्कृष्ट छ।
मेहनत जारी राखे भविष्यको नेपालको नम्बर एक किपर हुन् उनी।” सिक्किममा
सम्पन्न मिनी साफमा रुपकको प्रदर्शनबाट औधी प्रभावित उपेन्द्रका अनुसार
उनमा दक्षिण एसियाकै उत्कृष्ट गोलरक्षक बन्ने सम्भावना छ। मिडफिल्डर
रञ्जित श्रेष्ठका जुम्ल्याहा भाइ रुपकलाई प्रशिक्षक सुवाल 'गोलपोस्टको
चितुवा' नै मान्छन्। सुवाल भन्छन्, “उसमा सामान्य किपरभन्दा विशिष्ट
कौशल छ।”
सफल किपर बन्ने सम्भावना बोकेका रुपकले रियल म्याड्रिडका
आकर क्यासियोस र नेपालका उपेन्द्रमानसिंह जस्तै किपिङ गर्ने धोको सँगालेका
छन्। गत वर्ष एएफसी अण्डर–१७ छनौट प्रतियोगितामा उज्वेकिस्तानविरुद्ध
गरेको प्रदर्शनलाई आफ्नो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन ठान्छन् उनी।
अनुभवी प्रशिक्षक महेश्वर मुल्मीको प्रत्यक्ष निगरानीमा
प्रशिक्षण लिँदै आएका यी खेलाडीबाट स्वयं मुल्मी पनि निकै आशावादी
छन्। उनको भनाइमा राम्रो खेलस्तर भएका टीमविरुद्ध खेल्न पाउने हो भने
यी खेलाडीहरूले प्रतिस्पर्धात्मक खेल देखाउन सक्छन्। उनीहरूसँगै निराजन
मल्ल, प्रवीण कार्की, सन्दीप थापा, अनिल ओझा, दीपक भुषाल, विराज महर्जन,
रविन श्रेष्ठ, पुकार विक, आजाद प्रधान, बुद्ध चेम्जोङ, स्वस्तिक वशिष्ठ,
भीम लामा, रोशन कार्की र किरण लिम्बूजस्ता प्रतिभाशालीे किशोरहरूले
आगामी दिनमा गर्ने मेहनत र मैदानमा देखाउने लगनशीलताले नेपाली फूटबलको
भविष्य निर्धारण गर्ने पक्का छ।
 |
| रञ्जित श्रेष्ठ |
रञ्जित श्रेष्ठः स्पेनिस
लिग भन्नासाथ राति जुनसुकै बेला उठेर टिभीसामु बस्ने रञ्जित अण्डर–१७
टोलीका प्रभावशाली मिडफिल्डर हुन्। प्रशिक्षक डिकेन सुवाल रञ्जितलाई
नेपाली टोलीको मेरुदण्ड नै मान्छन्। प्लेमेकर रञ्जित फूटबलका हरेक
प्राविधिक पक्षमा कुशल छन्। टोलीले पछिल्लो समयमा पाएका प्रायः सफलताहरूमा
उनको महत्त्वपूर्ण भूमिका रहेकोे थियो। भद्रपुरका १७ वर्षीय 'स्टायलिस'
खेलाडी रञ्जित काठमाडौँ, महाराजगञ्जको टुंग्राम एकेडेमीबाट एसएलसी
दिने तयारीमा छन्। फ्रान्सका स्टार जिनादिन जिदानको प्रायः सबै खेल
हेर्ने रञ्जितलाई खेलको मूल्याङ्कन नै नगरी 'नेपाली खेलाडीले नराम्ररी
हारे' भनेको सुन्दा नरमाइलो लाग्छ। गत वर्ष काठमाडौँमा सम्पन्न एफएफसी
अण्डर–१७ कपमा उज्जेकिस्तान विरुद्ध हानेको बल गोलपोस्टमा लागेर फर्किएपछि
पुनः किपरलाई लागेर गोल भएको क्षणलाई निकै सुखद् मान्छन् उनी।
सानमिगल लिग शुरु
१५ कात्तिकदेखि काठमाडौं,
त्रिपुरेश्वरस्थित रङ्गशालामा २०६३ सालको शहीदस्मारक सानमिगल 'ए' डिभिजन
लिग शुरु भएको छ। 'ए' डिभिजनका १४ क्लबहरूबीच तीन महिनासम्म सञ्चालन
हुने यो प्रतियोगिताको विजेताले रु.२० लाख र उपविजेताले रु.१० लाख
हात पार्नेछन्। त्यसैगरी तेस्रोदेखि आठौँसम्म हुने क्लबले रु.५ लाखदेखि
क्रमशः रु.४० हजारसम्म पाउँनेछन््। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई
कार तथा अन्य ६ विधामा उत्कृष्ट ठहरिने व्यक्तिलाई पुरस्कारस्वरुप
यामाहा मोटरसाइकल प्रदान गरिने एन्फाले जनाएको छ। यसवर्षदेखि एन्फाले
टिकट बिक्रीबाट उठेको सम्पूर्ण रकम सहभागी क्लबहरूलाई नै दामासाहीका
हिसाबले वितरण गर्ने घोषणा गरेको छ। करीब रु.६६ लाख खर्च हुने यस प्रतियोगितामा
जम्मा १८२ वटा खेलहरू सञ्चालन हुनेछन्।
फ्रेण्ड्सको जर्सीमा इन्भेष्टमेण्ट
नेपालको चर्चित फूटबल क्लब फ्रेण्ड्स, कोपुण्डोललाई नेपाल इन्भेष्टमेण्ट
ब्याङ्कले प्रायोजन गर्ने भएको छ। राजधानीमा शुरु हुन लागेको शहीद
स्मारक सानमिगल फूटबल लिगको पूर्वसन्ध्यामा आगामी एक वर्षका लागि प्रायोजन
गर्ने गरी दुवै पक्षबीच सम्झौता भएको हो। सम्झौता अनुरुप प्रायोजन
बापत ब्याङ्कले फ्रेण्ड्स क्लबलाई रु.६ लाख उपलब्ध गराउने छ भने क्लबका
खेलाडीहरूले सो अवधिसम्म आफ्नो र ब्याङ्कको लोगो अङ्कित जर्सी लगाएर
मैदानमा उत्रने छन्। ब्याङ्कले फूटबलको प्रबर्द्धन र विकासका साथै
सामाजिक दायित्व निर्वाह गर्ने क्रममा उक्त क्लबसँग साझेदारी गरेको
बताएको छ।
योगेशको प्रिमियरसीप यात्रा
विश्वकप फूटबल २००६ का बेला कार्ल्सवर्गद्वारा प्रायोजित इङ्गलिस
प्रिमियरसीप भाग्यशाली चिठ्ठाका विजेता योगेशभक्तवादे श्रेष्ठले लण्डन,
एमफिल्डस्थित लिभरपुलको गृहमैदानमा लिभरपुल र टोटेनह्याम–बीचको खेल
मात्र हेरेनन्, लिभरपुलका कप्तान स्टेफेन जेरार्डलाई 'म्यान अफ द म्याच'
उपाधिद्वारा पुरस्कृत गर्ने सौभाग्य समेत पाए। अनुभव सुनाउँदै लिभरपुलका
पुराना समर्थक योगेश भन्छन्, “जेरार्डलाई पुरस्कृत गर्न पाउनु मेरो
मात्र नभएर सम्पूर्ण नेपालीको सम्मान ठानेको छु मैलेे।”
|