हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

स्याबास ममता

किरण पाण्डे

सरकारी सेवामा प्रवेश गर्ने ममता खनालको वर्षौँदेखिको धोको बडा दशैँ, २०६३ को मुखैमा आएर साकार भयो। न्याय सेवाका दर्जन भन्दा बढी शाखा अधिकृत पदका निम्ति लोकसेवा आयोगले लिएको परीक्षा उत्तीर्ण हुने उनी एक्लो महिला बनिन्। त्यसको तयारी उनले कानूनमा स्नातक (बीएल) पूरा गरेर समाजशास्त्रमा स्नातकोत्तरको जाँच दिएपछि २०६० सालदेखि थालेकी रे! यसअघि दुई पटकको प्रयास सफल नभए पनि उनले अठोट छोडिनन्। हरेस खानु आफ्नै बाटो अवरुद्ध गर्नु हो भन्दै उनी 'नाम निकाल्ने' एकल अभियानमा लागिरहिन्। आठ महिनाकी काखकी छोरी स्याहार्दै थालेको उक्त प्रयास छोरी साढे तीन वर्षकी भएपछि साकार भएको हो भन्छिन् उनी। सो सफलतामा पति, सासू, ससुराको समेत ठूलो सहयोग छ। घर–परिवार सम्हाल्दै लोकसेवाको तयारीमा बिताएको तीन वर्ष लामो परिश्रम सम्झ्िँदै ममता भन्छिन्, “लिखित परीक्षासम्म भान्छाको पूरै जिम्मा सासूले लिनुभयो, म पढ्नतिर लागेँ। आखिर मेहनत खेर गएन।”

साउन २०३६ मा महोत्तरीको गौशाला–२ मा जन्मिएकी ममताले एसएलसी दिँदा उमेर नपुगेपछि जन्ममिति बढाएर २० कात्तिक २०३५ बनाएकी थिइन्। वीरगञ्जबाट आईएल पूरा गरेपछि काठमाडौँको नेपाल ल क्याम्पसमा छात्रवृत्ति पाइन् र पछि त्रिचन्द्र क्याम्पसबाट एमए पूरा गरिन्। न्याय सेवा अन्तर्गतका सरकारी वकिल, कानून र न्याय समूहमध्ये पछिल्लो समूहकी नव–अधिकृत ममताले पाँच साताको तालिम सकिएपछि कुनै अदालतमा कार्यभार सम्हाल्ने छिन्। अहिलेसम्म कुनै दुर्गम जिल्लाको भ्रमण नगरे पनि 'जुनसुकै जिल्ला जान तयार भएर सेवा प्रवेश गरेको' उनी बताउँछिन्।

अधिकृतमा पाँच वर्ष पूरा भएपछि उपसचिवका निम्ति खुला प्रतिस्पर्धा गर्ने उनको सोचाइ छ। उपसचिव बनेपछि जिल्ला न्यायाधीशका रूपमा अन्यायमा परेकालाई न्याय दिने बाटो रोज्ने धोको पनि लुकाइनन्, ममताले। अनि, सरकारी सेवाको अन्तिम लक्ष्य नि? बिना कुनै हिच्किचाहट उनले भनिन्, “प्रधानन्यायाधीश बन्ने।” यो त अति–महवाकाङ्क्षा भएन र? उज्यालो अनुहारमा गम्भीरता ल्याउँदै उनले भनिन्, “सर्वोच्च अदालतको न्यायाधीशसम्म त पक्कै हुन्छु। भाग्यले साथ दिएमा प्रधानन्यायाधीश बन्ने आशा पनि छ।” यसो भनिरहँदा ममताको स्वर दृढ र अठोटयुक्त लाग्थ्यो। स्याबास ममता!