देश | समाचार
बाँकेः बाढीपछि महामारी सरकार उत्तिकै उदासीन
 |
| गोठमा सुतिरहेको सात वर्षीय बिरामी छोरा रहिसलाई हेरेर चिन्तित
पिप्रहवाका मुन्सी खाँ। |
बाँकेको फत्तेपुर
गाविस–५, पिप्रहवाका भगवतीप्रसाद यादवका १३ वर्षे छोरा रामाशिष र १६
वर्षीया छोरी कुश्मीलाई १० कात्तिक बिहान एक्कासि ज्वरो आयो। ज्वरोसँगै
हातगोडा काँप्ने, जीउ दुख्ने र रिँगटा लाग्ने हुँदै बेलुकी दुवै बेहोस
भए। ११ कात्तिक बिहान बेहोसीमै उनीहरूको मृत्यु भयो। भगवती र उनकी
पत्नी पनि बिरामी छन्। यस्तै लक्षण देखिएका अमिन खाँकी २५ वर्षीया
पत्नी र डेढ महिनाको बच्चा स्वास्थ्यचौकी लैजाने तयारी गर्दागर्दै
बिते। रोगले सरिफ खाँलाई सन्तानविहीन बनाउँदै उनका १२, ८ र ६ वर्षका
छोरा नादिर, कुमरुद्दिन र बबरुद्दिनको ज्यान लियो। नेपालगञ्जको भेरी
अञ्चल अस्पताल पुर्याइएकी रामफेरन यादवकी श्रीमतीको ज्यान त बच्यो,
तर गर्भमा रहेको बच्चा जोगिएन।
भदौको बाढीले १२ जनाको ज्यान लिएर हजारौँ परिवारलाई घरवारविहीन पारेको
पीडा सेलाउन नपाउँदै राप्तीपारिका फत्तेपुर, गङ्गापुर, नरैनापुर र
होलिया गाविसमा एकाएक 'अज्ञात' रोगको महामारी फैलिएको छ। कात्तिकको
पहिलो सातादेखि अचानक फैलिएको महामारीबाट १४ कात्तिकसम्ममा फत्तेपुरमा
२३, गङ्गापुरमा १०, होलियामा २ र नरैनापुरमा दुई जना मरेका तथा सयौँ
बिरामी भएका छन्। महामारी प्रभावित सबै ठाउँको विवरण आउन बाँकी रहेकोले
मर्ने र बिरामी हुनेहरूको सङ्ख्या अझ्ै बढ्ने अनुमान छ। “यो महामारी
नै हो, तर औलो हो कि अन्य कुनै भाइरल डिजिज, परीक्षणपछि मात्र पत्ता
लाग्छ” नेपालगन्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. गोपाल श्रेष्ठ
भन्छन्, “तर सङ्केत डरलाग्दो देखिएको छ, यो कुनै खतरनाक रोगको प्रकोप
पनि हुनसक्छ।”
 |
| आँगनमा लडेकी गङ्गापुर, सोनवर्षाकी बिरामी एक किशोरी र उनका
चिन्तित आफन्त। |
प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले खटाएका स्वास्थ्यकर्मी
र प्राविधिकहरूको टोलीले बिरामीबाट सङ्कलन गरेको रगतको नमूनाको प्रारम्भिक
परीक्षणमा दुई जनामा 'पीएफ' नामक कडा औलोको जीवाणु भेटिएको छ। जनस्वास्थ्य
कार्यालय, बाँकेका महामारी नियन्त्रण शाखा प्रमुख रामबहादुर चन्द भन्छन्,
“यो सबैभन्दा खतरनाक औलोको जीवाणु हो। हामी अरूको पनि परीक्षण गर्दैछौँ।
त्यसपछि केही भन्न सकिन्छ।”
चिकित्सकका अनुसार, औलोका 'पीएफ', 'पीएम', 'पीभी' र 'पीओ' गरी चारथरी
जीवाणु हुन्छन्, जसमध्ये पीएफ सबैभन्दा कडा मानिन्छ। यसले सीधै मानिसको
कलेजोमा आक्रमण गरेर तत्काल मान्छेको ज्यान लिन सक्छ। विभिन्न पशुपन्छीमा
पाइने परजीवी (प्यारासाइट) प्रकृतिको यो जीवाणुलाई लामखुट्टेले सार्छ।
डा. श्रेष्ठ भन्छन्, “पीएफ जीवाणु यति खतरनाक हुन्छ, सङ्क्रमणको केही
घण्टामै बिरामीको मृत्यु हुनसक्छ।”
कसरी फैलियो महामारी
कात्तिकको पहिलो सातादेखि फत्तेपुर र गङ्गापुरमा अचानक मानिसहरू
बिरामी पर्न थाले। तर धेरैले सामान्य ज्वरो भन्दै उपचारमा चासो देखाएनन्।
धेरै त कमजोर आर्थिक अवस्थाले गर्दा पनि विस्तारै ठीक भइहाल्ला भनेर
बसे। तर उल्टो परिवारका परिवार बिरामी हुनथाले। गाउँका स्वास्थ्य चौकी
तिहारको विदामा बन्द थिए। राप्ती तर्नुपर्ने भएकोले बिरामीलाई समयमा
नेपालगन्ज पुर्याउन सकिने स्थिति पनि थिएन। कतिलाई सीमावर्ती भारतीय
बजारका स्वास्थ्य संस्थातिर लगियो, तर तीमध्ये केहीको त्यहाँ पनि पुग्न
नपाउँदै मृत्यु भयो।
महामारीको कारण के हो, जनस्वास्थ्य कार्यालय पनि वेखबर छ। बाँकेका
जनस्वास्थ्य अधिकृत जयबहादुर कार्की भन्छन्, “दुई जनामा औलोको जीवाणु
त भेटियो, तर कसरी यस्तो भयो थाहा छैन।” भदौमा आएको भीषण बाढी यो महामारीको
प्रमुख कारण हुनसक्ने धेरैको अनुमान छ। भदौको दोस्रो साता आएको बाढीले
सबैभन्दा बढी फत्तेपुर, गङ्गापुर, होलिया र नरैनापुरमै असर पारेको
थियो।
त्यहाँका गाउँहरू चार–पाँचदिनसम्म डुबेका थिए। घर, खाद्यान्नलगायत
सबै सम्पत्ति बगाएको थियो। खानेपानीका धारा समेत बगेकाले धेरैले नदी–नालाको
फोहोर पानी पिएर गुजारा गरेका थिए। कति हप्तादिनसम्म भोकभोकै बसेका
थिए। राहत पर्याप्त थिएन। यो सबैले उनीहरूको स्वास्थ्यस्थिति कमजोर
बनाएको थियो। यहीबेला फैलिएको औलोको प्रकोपले तुरुन्तै असर गर्यो।
डा. श्रेष्ठ भन्छन्, “उचित खाना र पानी नपाएका मानिसमा रोग प्रतिरोधात्मक
शक्ति कमजोर हुँदैजान्छ, त्यही भएर यति ठूलो महामारी फैलिएको हुनसक्छ।”
महामारीले एउटै घरका चार जनासम्मको ज्यान लिएको छ। परिवारै बिरामी
परेका छन्। तत्काल उचित उपचार नपाए स्थिति अझ्ै नाजुक बन्ने खतरा छ।
बिरामीहरू उपचारको याचना गरिरहेका छन्। श्रीमती र काखेबच्चा गुमाएका
पिप्रहवाका अमिन शेख र उनका दुई छोरा पनि बिरामी छन्। “हामीलाई छिटो
डाक्टर र औषधिको व्यवस्था गरिदिनुस् र बचाउनुस् हजुर, नत्र हामी मर्छौँ”,
गोठमै पल्टिरहेका अमिनले १३ कात्तिकमा हिमाल संवाददातासँग भनेका थिए।
 |
| सोनवर्षामा रगतको नमूना सङ्कलन गर्दै स्वास्थ्यकर्मी। |
महामारी फैलिएका गाउँहरू नेपालगञ्जबाट २० किलोमिटर पूर्वमा पर्दछन्।
तर, महामारी फैलिएको दुई साता हुनलाग्दा, १४ कात्तिक बेलुकीसम्म पनि
प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र औषधि पठाइएको छैन। १३ कात्तिकमा
जनस्वास्थ्य कार्यालयले पठाएको सामान्य स्वास्थ्यकर्मी र प्राविधिक
टोलीले बिरामीको रगतको नमूना सङ्कलन गर्नेबाहेक केही गरेेन। स्वास्थ्य
मन्त्रालयले १४ कात्तिकमा पठाउने भनेको चिकित्सक र प्राविधिकहरूको
टोली 'जहाज मिलेन' भनेर काठमाडौँमै बसेको छ। अहेवको भरमा चलेका स्थानीय
स्वास्थ्य चौकीहरूले एक सातादेखि चिकित्सक र औषधि पठाउन पटकपटक जनस्वास्थ्य
कार्यालयमा अनुरोध गरेका थिए। गङ्गापुर स्वास्थ्य चौकीका निमित्त इञ्चार्ज
अहेव नारायण शर्मा भन्छन्, “हामीले अनुरोध गर्यागर्यै छौँ, तर अहिलेसम्म
न डाक्टर आए, न औषधि।”
महामारीबाट ३७ जनाको ज्यान गएको छ, सयौँ जीवनमरणको दोसाँधमा छन्।
तर सरकार, स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरू गम्भीर देखिँदैनन्।राप्तीपारिका
सयौँ बिरामी 'डाक्टर' र 'औषधि' भन्दै चिच्याइरहेका बेला १४ कात्तिकमा
मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशकसहित ३० भन्दा
बढी चिकित्सक नेपालगञ्जको एउटा सुविधासम्पन्न रेस्टुरेन्टमा 'वार्षिक
समीक्षा' गरेर बसिरहेका थिए। भेरी अञ्चल अस्पताल प्रमुख डा. उषा शाहसहित
नेपालगञ्जमा भएका अरू चिकित्सकहरू पनि माओवादी स्वास्थ्यकर्मीहरूको
राष्ट्रिय भेलामा अबिर र माला लगाउँदै र माओवादी प्रवक्ता कृष्णबहादुर
महरासँग फोटो सेसन गराउँदै रमाइरहेका थिए। आफ्ना स्व्ाास्थ्यकर्मी
रात–दिन जनताको उपचारमा खटेको दाबी गर्ने माओवादीका एक सयभन्दा बढी
स्थानीय स्वास्थ्यकर्मी पनि सोही भेलामा मुठ्ठी कसेर 'लालसलाम' र 'अभिवादन'
गर्दै थिए। अलिपर उपचार नपाएर छट्पटाइरहेका सयौँ मानिसको चित्कारले
कसैलाई छोएको थिएन!
दुई महिनाअघि बाढी आउँदा सरकारले उद्धार र राहतमा जुन उदासीनता देखाएको
थियो, महामारी फैलिँदा पनि त्यस्तै शैली दोहोर्याएको छ।
•
रामेश्वर बोहरा, नेपालगञ्ज
सांसदलाई माओवादी अवरोध
 |
| माओवादीले अवरोध गरेपनि देउपुरमा भएको काङ्ग्रेसको कार्यक्रममा
सहभागी जनता। |
द्वन्द्वका
कारण लामो समयसम्म्ा गाउँ जान नसकेका पर्वत क्षेत्र
नं. १ का सांसद तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद
जोशीलाई नेकपा (माओवादी) का कार्यकर्ताले गाउँ जान रोक्ने प्रयास गरेका
छन्। सांसद जोशीलाई विद्यालय, मोटरबाटो र विद्युत् सेवा विस्तार तथा
कार्यकर्ता भेटघाटको कार्यक्रम लिएर ३ र ४ कात्तिकमा उत्तरी पर्वतको
देउराली र भुकताङ्गले गाविसमा जान लागेको बेला माओवादीले कार्यक्रममा
अवरोध पुर्याउन खोजेका थिए। सांसद जोशीसँगै पर्वतका प्रमुख जिल्ला
अधिकारी कमलकान्त रेग्मीसहित जिल्लाका सुरक्षा अङ्ग र केही कार्यालय
प्रमुखहरू पनि त्यहाँ पुगेका थिए। माओवादी अवरोध हुँदाहुँदै पनि देउपुरमा
कार्यक्रम सम्पन्न भएको थियो।
माओवादी कार्यकर्ताले सांसद जोशी सहभागी
हुने कार्यक्रमस्थल देउरालीस्थित हिमाञ्चल माविको मूलद्वारमा ताल्चा
लगाइदिएका र स्वागतद्वार बनाउन ल्याइएका सामग्री फिर्ता गरिदिएका थिए।
उनीहरूले गाउँवासीलाई कार्यक्रममा सहभागी भएमा कार्वाही गर्ने धम्की
दिएका थिए। भुक एवं झ्िलीबराङ्गमा कार्यक्रममा जान लागेका मानिसहरूलाई
रोकेर फिर्ता पठाए। माओवादीले गाउँ–गाउँमा 'संविधानसभाको निर्वाचन
गर र नेता गाउँमा आऊ' भन्ने लेखिएका तुल टाँगेका छन्। माओवादीको मगरात
मुक्ति मोर्चाका संयोजक नविनले “पहिला राजनीतिक निकास नभई कुनै पनि
विकास चाहिँदैन भनेर जनताको माग अनुसार अवरोध गरेको” बताएका छन्।
“विकासका कार्यक्रममा अवरोध पुर्याएर माओवादीहरू विकास विरोधीको रूपमा
चिनिएका छन्,” जोशी भन्छन्, “गाउँवासीहरूलाई तर्साएर विकासका काममा
समेत जुट्न नदिनु आफैँमा निरङ्कुशता हो र माओवादीले त्यही चरित्र देखाएका
छन्।” सांसद जोशीले दलका नेता पुगेको कार्यक्रममा स्थानीय जनतालाई
रोक्ने माओवादीको यो व्यवहारले संविधानसभा पनि निष्पक्ष नहुने सङ्केत
गरेको बताएका छन्।
•
दुर्गाप्रसाद शर्मा
पूर्वमा
हात्ती–आतङ्क
जङ्गलमा श्रीमतीसँगै
घाँस काट्न गएका झ्ापा शान्तिनगर–१, गुराँसवस्तीका
मङ्गलसिंह प्रधान साँझ् एक्लै घर फर्कनु पर्यो। ३० असोज साँझ् धुलाबारी–बर्ने
सडक खण्डको मङ्गलबारेमा जङ्गली हात्तीको आक्रमणमा परेर उनकी श्रीमती
मैयाँ मारिइन्। सोही हात्तीले राति १० बजे शान्तिनगर–१, अमरवस्तीका
भीमबहादुर राईकी श्रीमती विष्णु मायालाई घरमा सुतिरहेको बेला कुल्चेर
मार्यो भने ३ कात्तिकमा रतुवामाई वृक्षरोपण आयोजनामा घाँस काट्न गएका
झ्ापा, सतासीधाम गाविस–७ का तीलबहादुर भण्डारीको ज्यान लियो। जङ्गली
हात्तीले ४ देखि ११ कात्तिकसम्ममा मोरङ र सुनसरीमा पनि आठ जनाको ज्यान
लिएको छ, जसमा सुनसरी, पाँचकन्याका गणेशबहादुर रावत, पकली–२ का रहिम
मियाँ, धरानकी सुष्मा भुजेल र पदमकुमारी बुढाथोकी, हासपोसाकी धनकुमारी
राई र सुकमाया धामी, मोरङ, मधुमल्लाका धनबहादुर तामाङ र केराबारीका
नरेन्द्र पाण्डे थिए। तीनै जिल्लामा घाइतेहरू पनि धेरै छन्।
“घरमा बस्नेहरूको समेत ज्यान जोखिममा छ”, झ्ापा, शान्तिनगरका
पुष्पराज भट्टराई भन्छन्, “कुन बेला हात्तीले के गर्छ भन्न सकिन्न।”
स्थानीय वासिन्दाका अनुसार गोली लागेर घाइते भएकोले हात्तीले मानिसहरूको
ज्यान लिएको हो। मेचीनगर–६, थोप्लेविरानका किसान लक्ष्मीप्रसाद न्यौपाने
भन्छन्, “घाइते हात्तीलाई मान्छे देख्नै हँुदैन।”
हात्तीले पूर्वोत्तर झ्ापाका बाहुनडाँगी, खुदुनाबारी,
मेचीनगर, बुधबारे, शान्तिनगर, अर्जुनधारा, शनिश्चरेलगायत झ्ण्डै एक
दर्जन गाविसका किसानहरूको सयौँ विगाहा धानबालीमा समेत क्षति पुर्याएको
छ। सुनसरी र मोरङमा एक दर्जन घर र प्रशस्त धानबालीमा क्षति पुगेको
छ। जिल्ला प्रशासन कार्यालय, सुनसरीले क्षतिको पूर्ण विवरण आइनसकेको
बताएको छ। जिल्ला वन कार्यालय, सुनसरीका प्रमुख मुरारीप्रसाद पोखरेल
हात्ती अझ्ै धरान आसपासको चारकोशे जङ्गलमै रहेको र कुनैपनि बेला यसले
थप क्षति गर्नसक्ने बताउँछन् ।
हात्ती आतङ्कबाट जनता पीडित बनेका भएपनि सरकारी निकाय
समस्याको समाधान गर्न उदासीन रहेको स्थानीय वासिन्दाहरू बताउँछन्।
“गाउँमा विद्युत् विस्तार भए हात्ती नियन्त्रण गर्न सकिन्थ्यो”, झ्ापा,
शान्तिनगरका किसान विमल खनाल भन्छन्। जिल्ला वन कार्यालयले हात्ती
लखेट्न टर्च र ब्याट्री बाहेक केही दिँदैन। जिल्ला प्रशासन, गाविस
र नगरपालिकाले मृतकका परिवारलाई रु.१ हजार र घर भत्किएकाहरूलाई रु.५००
भन्दा बढी दिँदैनन्। झ्ापाका कामु प्रमुख जिल्ला अधिकारी विष्णु अर्याल
भन्छन्, “हात्ती पीडितलाई भनेर छुट्टै बजेट आउँदैन, त्यसैले चाहेर
पनि पर्याप्त सहयोग गर्न सक्दैनौँ।”
झ्ापामा हात्ती आतङ्क रोक्न बीसौँ वर्षदेखि गरिएका प्रयास
पनि असफल भएका छन्। हात्ती नियन्त्रणका लागि गरिएको मौरीपालन र बाहुन–डाँगीमा
निर्मित दुईदर्जन टुङ्ग वेवारिसे छन्। पछिल्लो पटक शाही सरकारका जिविस
सभापति राजेन्द्र लिङ्देनले रु.३० लाखको लागतमा बनाएका सुरुङबार पनि
बेकम्मा भएको छ।
•सुब्रत
न्यौपाने, झ्ापा
रविन गिरी, धरान
जता हेर्यो त्यतै
गाँजा
 |
| कालिकाटारमा भारतीय गाजा मिस्त्रीः क्यामराको अगाडि कोही पोज
दिँदै त कोही मुन्टो बटार्दै। |
एक–डेढ
दशकदेखि गाँजाखेती हुने गरेको मकवानपुरको उत्तर–पश्चिमी भेगका १३ गाविसमा
यस वर्ष अत्यधिक गाँजा लगाइएको छ। विगतमा कुनाकाप्चा र अनकन्टार ठाउँमा
मात्र देख्न सकिने गाँजाका बोट यसपटक जता हेर्यो त्यतै लहलहाइरहेका
देखिन्छन्।
सरकारी प्रतिबन्ध त छँदैछ, केही वर्ष अघिसम्म मकवानपुरमा
कर लिएर गाँजाखेती गर्न दिने गरेका स्थानीय माओवादीले पनि पछिल्लो
समय रोक लगाएकाले गाँजाखेती घटेको थियो। तर यस पटक 'राजनीतिक मुद्दालाई
प्राथमिकता दिएकोले अन्य कुरा हेर्न नभ्याएको' माओवादीहरूको प्रतिक्रिया
छ। उता मध्यक्षेत्र प्रहरी कार्यालय, हेटौँडाका डीआईजी हेम गुरुङ भन्छन्,
“गाँजाखेती नियन्त्रण गर्न सामुहिक प्रयासको खाँचो छ। स्थानीय जनता,
प्रहरी, प्रशासन र राजनीतिक पार्टी सबै एक भएमात्र नियन्त्रण हुनसक्छ।”
मकवानपुरको उत्तर–पश्चिम क्षेत्रका कालिकाटार गाविसका
टकुवा, कटुन्जे, नागसेरा, धस्राङ, दिग्चे र ड्याङप्रम, नामटारका भालुटार,
सादिडाँडा, वेतिनी, छापडाँडा, थोपसिराङ र मरङकोट, भार्ताका गरौटी र
विलौनी तथा सरिखेतका पलाँसे, चुर्लिङ र मुग्रिकोट गाँजा लगाइएका प्रमुख
क्षेत्र हुन्। सदरमुकाम हेटौँडाबाट सबैभन्दा नजिक राक्सिराङको चैनपुरदेखि
नै गाँजाखेती देखिन्छ। त्यस्तै खैराङ, डाँडाखर्क, गोगने र आग्रा गाविसमा
पनि लगाइएको छ। असार साउनमा रोपिएको उन्नत जातको गाँजा हिजोआज दुईफिट
अग्लो भइसकेको छ भने कतै–कतै बेर्ना पनि सारिँदैछ।
गाँजाबाट राम्रो आम्दानी हुने किसानहरू बताउँछन्। कति
अवैध भए पनि प्रहरी, प्रशासन र माओवादी सबैलाई आम्दानीको केही हिस्सा
दिएपछि हस्तक्षेप नहुनेमा ढुक्क छन्। अघिल्लो वर्ष गाँजा नरोप्न उर्दी
जारी गरेका माओवादीले यसपालि केही नभनेकाले उनीहरूबाट पनि विरोध नहुने
किसानहरूको बुझ्ाइ छ। यी जानकारी दिने स्थानीय किसानदेखि शिक्षक र
गाविस सचिवसम्म सबैले आफ्नो नाम नछापिदिन अनुरोध गरे।
मकवानपुरका यी विकट गाउँमा सस्तो श्रम, अनुकूल हावापानी
र सुरक्षित स्थान देखेर भारतीय गाँजा तस्करहरू पल्किएका छन्। उनीहरूले
आफैँ जग्गा भाडामा लिएर वा किसानहरूसँग साझ्ेदारी गरेर खेती गरेका
छन्। एक विगाह जमिनबाट भाडामा लगाए प्रति सिजन रु.१ लाख र आफैँले खेती
गरे रु.२ लाखसम्म आम्दानी हुने किसानहरू बताउँछन्।
यस भेगमा 'चिप्पडा' र 'मिर्चैया' जातका गाँजा लगाइएको
छ। यी गाँजालाई तीन पटकसम्म यूरिया र डिएपी मल अनि तीनै पटक सिंचाई
आवश्यक हुन्छ। मल हाल्ने र पानी लगाउने काम ठीक समयमा नभए गाँजाको
बोट मर्ने भएकाले तस्करहरूले गाउँमै गाँजा मिस्त्री पठाउने गरेका छन्।
•
सन्तोष न्यौपाने, हेटौँडा
रारा
चिनाउने अभियान
अपार प्राकृतिक सौन्दर्य, अमूल्य जडिबुटी र पवित्र तीर्थस्थलहरू
भएको मुगु जिल्लामा पाँच वर्षपछि २०–२१ कात्तिकमा फेरि 'रारा महोत्सव'
हँुदैछ। माओवादी जनयुद्ध र स्थानीय निकाय जनप्रतिनिधि विहीन भएका कारण
२०५८ पछि महोत्सव हुन सकेको थिएन।
१०.५ वर्ग कि.मी. क्षेत्रमा फैलिएको नेपालको सबैभन्दा ठूलो र गहिरो
रारा ताल तथा ६८१७ मिटर अग्लो काञ्जिरोवा हिमालको काखमा रहेको मुगुमा
यसपटक महोत्सव गर्न सबै क्षेत्र लागेका छन्। महोत्सवका लागि नेपाल
पर्यटन बोर्डले रु.२ लाख ३० हजार, मुगु जिविसले रु.२ लाख र कर्णालीका
चार जिविसले रु.५०–५० हजार खर्च गर्ने भएका छन्।
पर्यटन र स्थानीय कृषि तथा घरेलु उत्पादनको प्रचारमा
जोड दिइने महोत्सवमा ठूलो जमघट हुने विश्वास आयोजकहरूको छ। महोत्सवको
आकर्षणको रूपमा 'रारा म्याराथुन– २०६३' हँुदैछ, जसमा राष्ट्रिय तथा
दक्षिण एशियाली धावकहरूले रारा ताल वरिपरि १६ कि.मी. को बाटोमा दुई
चक्कर लगाउनेछन्।
महोत्सवको तयारी र प्रचार–प्रसारका लागि राजधानीमा चन्द्रबहादुर
शाही र हस्तबहादुर मल्लको अगुवाईमा एक व्यवस्थापन उपसमिति गठन गरिएको
छ। नेपाल वायु सेवा निगमले १७ देखि २३ कात्तिकसम्म नेपालगञ्ज–ताल्चा
दैनिक तीन उडान गर्नेछ। विदेशी तथा स्वदेशी पर्यटकहरूलाई लैजाने–ल्याउने
काम राइका ट्राभल्स एण्ड टुर्सले गर्नेछ। राइकाका प्रबन्ध निर्देशक
अमर शाही भन्छन्, “हामीलाई फाइदाको हैन, रारालाई देश–विदेशमा चिनाउने
चिन्ता छ।”
•
सुमन मल्ल
|