हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

गाँसबास नै लोकतन्त्र

'भैरपेट भातो नइ' (रिपोर्ट/एउटा अर्कै नेपाल, हिमाल १–१५ कात्तिक) ले मुलुकमा लोकतन्त्रको अभ्यास कहिले हुने हो भन्ने प्रश्नलाई गम्भीर रूपमा उठाएको छ।

मुलुकमा शान्तिवार्ताको अभ्यास चलिरहँदा थुप्रै जनताका निम्ति संविधानसभाभन्दा मह।वपूर्ण कुरा बाँच्नका लागि खानेकुरा भएको छ। भात खान नै मुस्किल परेका जनताका लागि बास र गाँसको अपेक्षा नै संविधानसभाको निर्वाचन हो। अन्नको भण्डार भनेर चिनिने मधेशमा भोकमरीको अवस्था सिर्जना हुनु सम्पत्तिको न्यायोचित बाँडफाँड नहुनु हो। जति दुःख गर्दा पनि भोकभोकै बस्नुपर्ने अवस्थाको अन्त्य नै गरीब परिवारका लागि लोकतन्त्रको अनुभूति हो।

भुमराज तिवारी
बेल्कोट–७, अमारे डेउडी


आवश्यक छ सीमा नियन्त्रण

देशमा राम्रो कमाइको कुनै आधार नभएकाले छिटो धन कमाउने उद्देश्यले खाडी राष्ट्र जाने युवतीहरूको विचल्ली हुने गरेको खबर बारम्बार सुनिँदै आएको हो। खुला सिमानाका कारण दलालहरू बिना कुनै डर यो व्यवसाय सञ्चालन गरिरहेका छन् (रिपोर्ट/कुवेत जान दिल्लीको बाटो, १–१५ कात्तिक)। मानव तस्करी लगायतका यस्ता आपराधिक गतिविधि रोकथामका लागि सिमानालाई नियन्त्रण गर्न अत्यावश्यक भइसकेको छ।

सुब्रत स्वार, सुयश स्वार
पो.व.नं. ५०३, काठमाडौँ


बिदा र भत्ता सबैको हक

१–१५ कात्तिकको ऋतुविचार स्तम्भ पढेपछि ऋतुराजलाई सुब्बासाहेबले दिएको भोज पचेन जस्तो लाग्यो। सुब्बा साहेबले अर्काको पर्वमा भोज खुवाएर गल्ती गर्नुभएछ। ऋतुराजको विचारमा अर्कैको चाडपर्वमा रमाउनु पनि नहुने रहेछ। यथार्थमा, जनजातिले दशैँ बहिष्कार गरेका होइनन्, जनचेतना जागेको हो। जनजातिलाई फुर्सदको समयमा सधैँ नै दशैँ हुन्छ। असोजको दशैँ कुर्नुपर्दैन। हुनेलाई दशैँ, नहुनेलाई त दशा नै हुन्छ।

रह्यो बिदा र भत्ताको कुरा। दशैँ र तिहारको लामो बिदा कटाएर जनजाति र अन्य धर्मावलम्बीहरूका पर्वमा सार्वजनिक बिदा र दशैँ पेस्की जस्तै भत्ता दिने व्यवस्था हुनुपर्छ। विदा र भत्ता राज्यको ढुकुटीबाट दिने कुरा हो, यसमा सबैको समान हक छ। एउटाको बिदामा अर्काले काम गर्ने व्यवस्था भए जनता र देशको हित हुनेथियो।

धबु तमु
रामनगर, बुटबल–१२


विद्वत्ताको दुरुपयोग!

'मोफसलका सिर्जना र धरावासी' (हिमाल साहित्य, १६–३१ असोज) मा लेखक जीवा लामिछानेले राधा उपन्यासको अत्यधिक प्रशंसा गरेर कृष्ण धरावासीले गरेको धर्मसंस्कृतिप्रतिको आक्षेपलाई ढाकछोप गर्न खोजेका छन्।

शक्तिस्वरुपा राधालाई भक्तजनहरू आराध्यदेवीका रूपमा स्मरण गर्छन्। त्यस्ती श्रद्धेय व्यक्तिलाई 'रखैल' जस्तो तुच्छ विशेषण दिनु विद्वत्ताको सदुपयोग हो वा दुरुपयोग? विचारणीय छ। कृष्णकथालाई मनखुसी पुनर्लेखन गर्ने उपन्यासकार धरावासीको प्रयत्नले मूल कथा र आस्थामाथि हिलो छ्याप्छ। कृष्णचरित्रमा भगवान् कृष्ण केवल १३ वर्षको उमेरमा मथुरा आई गोकुल फर्कदै नफर्केको तथ्य देखिँदैन न त राधा मथुरा गएको प्रसङ्ग छ। १३ वर्षका बालकले रखैल राख्ने कुरा लेख्नु जिम्मेवार लेखकलाई सुहाउँछ र? यस्ता कपोलकल्पित कुरा लेखी धर्म–द्रोहतिर पाठकलाई बहकाउन खोज्नु उचित हो र?

हिन्दू धर्म बाहेक अरू धर्मावलम्बीले आफ्नो धर्मसंस्कृतिमा आँच आउने कुरा लेख्न पाउँदैनन्। कसैले दुस्साहस गरेमा 'फतवा' का उदाहरणहरू थुप्रै छन्। तर, धार्मिक उदारताका कारण यसका अनुयायीहरू आफ्नै धर्ममाथि मनगढन्त प्रहार गर्न आफ्नो बुद्धि, चातुर्य खर्च गरी खुसी हुन्छन् र पुरस्कार पनि पाउँछन्। यो कुरा हिन्दूहरूमा मात्र संभव छ। राजनीतिक स्वार्थका कारण देशलाई धर्मनिरपेक्ष बनाइएको छ जसको परिणाम देखिन थालिसकेको छ। यो चिन्ताको कुरा हो।

आत्माराम ओझ्ा
महेन्द्रनगर, कञ्चनपुर


सही समीक्षा

'भूगोलमै हराए भूगोलका ज्ञाता' (सम्झ्ना, १६–३१ असोज) का प्रस्तोता वसन्त थापालाई धन्यवाद दिनैपर्छ डा. हर्क गुरुङको जीवनवृत्तको सही समीक्षाका निम्ति। गुरुङ समाजमा सूर्य र चन्द्र छुट्याएर देखाउने महान् व्यक्ति गुमाउनु पर्दा समुदाय नै आहत बनेको छ। देशले उहाँलाई सधैँ सधैँ सम्झ्िरहनेछ।

पुलप्रसाद गुरुङ
प्रकाशक/सम्पादक नादा टाइम्स, सेलोङगार, मलेसिया


झ्न् झ्न् निरङ्कुश

'जबर्जस्तीको सहारा' (रिपोर्ट/माओवादी मजदुर युनियन, १६–३१ असोज) ले धेरैले बोल्न नसकेको कुरा बोलिदिएको छ। ८० प्रतिशत भूभाग कब्जामा रहेको दाबी गर्ने (यथार्थ जेजस्तो होस्) कमरेडहरूले अब नेपालको शतप्रतिशत स्थानमा नै स्वेच्छाको आवरणमा चन्दा आतङ्क र सङ्गठन विस्तार गरिरहेका छन्।

आज गरीब, निमुखा नेपाली जनताले माओवादीलाई आफूले खान पस्केको दालभातको समेत अंश छुट्याउनु परेको छ। विस्थापितहरू घर फर्कन सकिरहेका छैनन्। पत्रकार, मानवअधिकारवादीहरूले गल्ती देखाइदिइहालेमा माफी माग्ने तर गल्ती महसूस नगर्ने 'क्रान्तिकारी' हरूको व्यवहार झ्न् निरङ्कुश भएन र?

पृथ्वीजङ्ग पाण्डेय
सुकदेव रिसाल मङ्गला माई मावि, पिस्कर, सिन्धुपाल्चोक


को उपबुज्रुक?

१–१५ असोजको ऋतुविचार पढ्दा अचम्म र दुःख दुवै लाग्यो। 'उपबुज्रुक' शीर्षक दिइएको लेख–अंशमा कसैको वैयक्तिक जीवन र स्वतन्त्रतामाथि प्रहार मात्र हैन, सत्यतथ्यलाई बङ्ग्याई मिथ्या प्रचारसमेत गरिएको छ। त्यहाँ एक लेखकले अर्को लेखकको सफलतामा गरेको इर्ष्या, डाह स्पष्ट अनुभव गर्न सकिन्छ।

ऋतुराजले मिथ्या कुरा गनर्ुुअघि के ध्यान दिएनन् भने द हिमालयन टाइम्स मा लेख्ने राजेश वाध्वा होइनन्, राकेश वाध्वा हुन्। त्यस्तै आफू विदेश जाँदा पत्नीलाई पनि लान सक्नु वा लानु नराम्रो वा लज्जाजनक कुरा हुँदै होइन। त्यसले त ती दुवैबीचको अगाध प्रेमको सङ्केत गर्छ।

लेखकले संयुक्त राष्ट्रसंघको प्रसङ्ग उठाएका छन् तर राष्ट्रसंघका कारणले विश्वको कुन भागमा अमनचयनको स्थिति आएको छ, प्रस्ट गरेका छैनन्। संयुक्त राष्ट्रसंघको चक्की खाएको भए पूर्वी एशिया कहाँ हुन्थ्यो, हामी आफ्नै देशको दुरवस्थाबाट कल्पना गर्न सक्छौँ। ऋतुविचार मा प्रस्तुत लेखकको आग्रहबाट स्पष्ट हुन्छ, उनी मिथ्या प्रचार गर्ने रोग 'डोनर ड्रिभन सिन्ड्रोम' बाट ग्रसित भएका वा विकासका बारेमा चासो राख्ने तर विकास विरोधी छन्।

लेखमा प्रा. अमर्त्य सेन र डा. मनमोहन सिंहलाई जोडिएको रहेछ। प्रा. सेनको अर्थशास्त्रीय दृष्टिकोणको लेखकले पूरै खिल्ली उडाएको यसबाट स्पष्ट हुन्छ। प्रा. सेन विश्वव्यापीकरण र सर्वमान्य अर्थशास्त्रीय सिद्धान्तका विपरीत कहिल्यै मत राख्दैनन्। कृपया उनको 'डिभलपमेन्ट एज फ्रिडम' नामक पुस्तक पढ्नुहोला। मनमोहन सिंहले नब्बेको दशकको प्रारम्भमा भारतमा आर्थिक उदारीकरणको बीजारोपण गर्दा पक्कै पनि सर्वमान्य अर्थशास्त्रीय सिद्धान्तमाथि दृष्टिगोचर गरेका थिए होलान्। ती सिद्धान्त भनेका व्यक्तिगत सम्पत्ति, व्यक्तिगत मुनाफा, व्यक्तिगत स्वतन्त्रता, बजार अर्थतन्त्र, विश्वव्यापीकरण आदि हुन्। यी सिद्धान्त नअपनाएको भए भारतले २.३ प्रतिशतको आर्थिक वृद्धिदरलाई एक दशकमै ८–१० प्रतिशतको स्तरमा पक्कै पुर्‍याउँदैनथ्यो। जीवनस्तर उकास्ने यो भन्दा उत्तम उपाय केही भए कृपया सुझ्ाउनुहोला।

ऋतुराजले अमेरिका, पूर्वी एशिया र भारतको प्रसङ्ग उल्लेख गरे पनि उनीहरूको आर्थिक उन्नतिका कारणबारे कम लेखेका छन्, जुन राकेशले विगत लामो समयदेखि गर्दै आएका छन्। अब भन्नुहोस्, उपबुज्रुक स्तम्भकार को?

कृष्णप्रसाद न्यौपाने
साउथ एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजी, मानभवन, ललितपुर