हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

विज्ञान–विचार

अतीतका रहरहरूमा लप्सी, तितौरा र च्याम्पटी

तर मेरा ध्वाँसे दलिनमा
अल्छी मान्दै पुरानै गुँडमा
बस्न आउने यी कुमालकोटी देख्दा
मन किन पुरानै सपना बटुल्न पुग्छ!
अनि मलाई यी साराका सारा प्रकृतिलाई
एक पल्ट रोगन गरिदिउँ जस्तो लाग्छ!

पारिजात, नयाँ वर्ष आजका नेपाली कविता, वि. सं. २०५०, नेराप्रप्र

डा. तीर्थबहादुर श्रेष्ठ

तस्बिरहरूः मीन बज्राचायर्
लप्सीको गेडा, च्याम्पटी र यसको घुमाइ।

नयाँ वर्षको आगमनमा पुरानै सपना बटुल्ने कवयित्री पारिजातका मनले झैँ हाम्रा मनले पनि अतीतका रहरहरू खोज्दा रहेछन्। नेपाल सम्वत् ११२७ को नयाँ वर्ष (न्हुदँ) का दिन आफ्नै स्थूल शरीरको पूजा (म्हपूजा) गर्ने सामग्री खरीद गर्न काष्ठमण्डप, गणेशस्थान पुगेको थिएँ। लप्सीका गेडाहरू २०/३० वटाका स–साना भागमा लहरै बेच्न राखेको देखेर पुराना सम्झनाहरूले मलाई पछ्याउन थाले। र, पाठक वर्गमा हार्दिक शुभकामनाका साथ मेरा अतीतका केही रहरहरू समर्पण गर्ने रहर गरेँ।

लप्सीको तितौरा 'पाउँ' सम्झेपछि मुख रसाएर आउँछ। खानै पर्दैन। देख्न पनि पर्दैन, केवल सम्झे पुग्छ। हाम्रो मुख वरिपरि लुकेर बसेका तीन जोडी थुक ग्रन्थीहरू (salivary glands) दायाँ बायाँ कानको तलतिर गालाभित्र एक जोडी, तल्लो बङ्गाराको मुनितिर अर्को जोडी र जिब्रोकै मुनि तेस्रो जोडी) यतिकै सक्रिय हुन थाल्दछन्। थुक ननिली सुखै पाउँदैनौँ। तिहारताका तयार भएर रूखभरि पाक्ने अमिलो फल 'आमाली' (नेवारीमा) अर्थात् लप्सीको कुराले मुखमा र्‍यालमात्र हैन, मेरो बाल्यावस्थाको खेलजीवन पनि झल्झली भएर आउँछ किनभने लप्सीको गेडा 'च्याम्पटी' हाम्रो प्रिय खेलौना थियो।

च्याम्पटीको तल्लो छेउ ढुङ्गामा घोटेर टुप्पो तिखार्ने, त्यसलाई लट्टुझैँ फननन् घुमाएर जुधाउने र हारजितमा रमाउने हाम्रो मीनपचास विदाको रहर थियो। मौसम अनुसार खेलिने यो खेलमा आफ्नै मौलिकता पनि छ तर आजभोलि यस्ता खेलहरू लोप भइसके। धन्य! चङ्गा र पीङ भने अझै जीवित छन्। च्याम्पटीलाई आजभोलि चुल्होमा बालिन्छ, खेलिँदैन। यतिको साह्रो, दह्रो र खप्ने काठ पदार्थबाट कुनै कलात्मक वस्तु बनाउन सकेका छैनौँ। च्याम्पटीको प्रत्येक गेडामा पाँच वटा आँखा हुन्छन्। पाँचमुखे रुद्राक्ष झैँ प्रत्येक आँखाले एक भ्रूणलाई प्रतिनिधित्व गरेको हुन्छ। असामान्य च्याम्पटी चारआँखे वा तीनआँखे पनि हुन्छ तर एकआँखे भएको भने थाहा छैन। लप्सीको गेडा अङ्कुराउँदा तिनै आँखा अनुसार नवजात लप्सीको जन्म हुन्छ।

च्याम्पटीलाई घुमाएर खेल्न केही प्रविधि, सीप र चतुर्‍याइँको पनि जरुरी पर्दछ। त्यसैले गतिलो, पोसिलो र बान्की मिलेको गेडा छानेर त्यसको फेदको भागलाई ढुङ्गामा चारैतिरबाट घोट्दै बीचमा चोसो वा टुप्पो निकालिन्छ। त्यसले सानो लट्टुको आकार लिन्छ। अनि त्यसलाई दुई औँलाले च्यापेर घुमाइन्छ। घोटेको सन्तुलन मिलेन भने त्यो च्याम्पटी जँड्याहा मान्छे दौडेजस्तै रिँगाई, रिँगाई घुम्छ। छोडेको ठाउँमा बस्दैन। त्यस्तो च्याम्पटीलाई 'याना च्याम्पटी' भनिन्छ र त्यसले प्रतियोगितामा भाग लिन पाउँदैन। सन्तुलित घुमाइ, धेरैबेर घुमिरहन सक्ने र अरूलाई ठक्कर दिएर रिंग बाहिर फ्याँक्न सक्नेले खेल जित्दछ। यो 'ढेँ ढेंँ बल्ला' खेल बक्सिङ जस्तै रोमाञ्चक हुन्छ।

आफ्नो च्याम्पटीलाई च्याम्पियन बनाउनु छ भने एक विशेष प्रविधिको आवश्यकता पर्दछ। त्यसका लागि फोनोग्राममा रिकार्ड बजाउँदा प्रयोग हुने सियो चाहिन्छ। सियोको टुप्पोलाई च्याम्पटीको टुप्पोमा मिलाएर ट्वाक्क ठोकिदिए सियोको टुप्पो भाँचिन्छ र भित्रै बस्छ। काँडा बिझेजस्तै सियो बिझेको च्याम्पटी गेडालाई बिस्तारै घोट्दै जाँदा सियोले टुप्पोमा स्थान पाउँछ। त्यो सियोटुप्पे 'मुलुच्वका' च्याम्पटी धेरै बेर घुम्न सक्छ। त्यो घुमाइ आकर्षक पनि हुन्छ। स्लेट पाटी, सिंहमरमर, ऐना जस्ता राम्रा चिप्ला ठाउँ वा चिल्लो कागजमा त्यसलाई जोडसँग घुमाएर छोड्ने हो भने एकठाउँमा टक्क अडेर घुम्छ। यसरी घुम्नेलाई सेरा च्याम्पटी भनिन्छ। यस्तो गेडालाई रातो, नीलो रङ्गले सिँगारेर अझ बढी मोहक बनाउन पनि सकिन्छ।

दुईवटा घुमेको वस्तु आपसमा भेट्दा त्यो भेटले ठक्करको रुप लिन्छ। त्यस अवस्थामा गह्रौँ वस्तुले हलुङ्गो वस्तुलाई टाढा फ्याँकिदिन्छ। त्यसैले च्याम्पटी जुधाउँदा ठूलो कदको ढाडे अर्थात् ढंपु च्याम्पटीले फुच्चे अर्थात् चिंपुलाई टाढा फ्याँकिदिन्छ तर निश्चित घेरा (रिङ) बाहिर पुर्‍याउन सकेन भने चिंपुको जीत हुने सम्भावना धेरै हुन्छ। किनभने, चिंपु घुमिरहँदा ढंपु मरिसकेको हुन्छ। पृथ्वीको गुरुत्वले गह्रौँलाई धेरैबेर घुम्न दिँदैन।

च्याम्पटीलाई गह्रौँ बनाउन त्यसभित्र सीसाधातु भर्ने चलन छ। यो धातु गह्रुँगो तर छिटै पग्लने र छिटै जम्ने हुन्छ। पहिले लप्सीको गेडा भित्रको गुदीलाई पाँचवटै आँखाभित्र सुइरो घुसाई घुसाई बाहिर निकालिन्छ। त्यसपछि थोरै थोरै सीसा आगोमा पगालेर आँखाको प्वालबाट भित्र पठाइन्छ। ज्यादै सफा हात, धैर्य र सीपले यो काम सम्पन्न हुन्छ। पाँचै वटा आँखाबाट बराबर सीसा भित्र पठाउन सकिएन भने च्याम्पटी 'याना' हुन्छ। सन्तुलित मात्रामा सीसाभित्र परेमा त्यो गहुँ्रगो च्याम्पटीले अरू सामान्य च्याम्पटीलाई छुनासाथ सीमापारि (रिंगबाहिर) फ्याँकिदिन्छ। तर, यस्तो च्याम्पटी अरूको दाँजोमा धेरै बेर घुम्न सक्तैन तसर्थ हार्ने जोखिम रहन्छ। सामान्यतया यस्तो च्याम्पटीसँग अरू च्याम्पटी जुधाउन सबै तयार हुँदैनन्।

च्याम्पटी घुमाउने सीप हासिल गर्न मेहनत र नियमित अभ्यास आवश्यक पर्दछ। बूढीऔँला र माझीऔँलाले गेडालाई च्यापेर चुट्की बजाउँदा बल प्रयोग गरे झैँ औँला फट्कारेमा च्याम्पटी घुमाउन सजिलो हुन्छ। बूढीऔँला र चोरऔँलाले अझ बढी जोडसँग घुमाउन सकिन्छ। सिकारुहरूले भने चोरऔँला र माझीऔँला बटारेर च्याम्पटी घुमाउन मन पराउँदछन्। यस तरिकाबाट धेरै जोडले च्याम्पटी घुम्दैन। आफ्नो नियन्त्रणमा घुमाउने खेलौना भएकाले सामान्य बोलिचालीमा पनि 'च्याम्पटी घुमाएजस्तै घुमाइदियो' भन्ने वाक्यांश प्रचलित बन्न पुगेको हो। आजभोलि च्याम्पटीको खेल प्रायः लोप भइसकेको छ तैपनि मान्छेले मान्छेलाई च्याम्पटी घुमाएजस्तो घुमाउने 'खेल' भने बढ्दै गएको आभास हुन्छ।

नेपाली जिब्रो, नेपाली स्वाद
लप्सीको थिलथिलो गुदीबाट बनेका अनेकौँ प्रकारका माडा र क्याण्डी मिठाईहरू बजारमा पाइन्छन् तर परम्परागत तितौराले पनि आफ्नो ठाउँ छोडेको छैन। नुन, खुर्सानी र चिनीको मात्रा मिलाएर तितौराका परिकार बनाइन्छन्। उहिले स–साना मस्यौराका रूपमा नाङ्लोमा सुकाएर तितौरा बनाइन्थ्यो। पछि नाङ्लो वा काठका फल्याकमा कागज बनाउँदा झैँ माडा फैलाएर सुकाउने चलन आयो। यस्तो माडा काटेर तितौरालाई टुक्रा टुक्रा बनाउन सजिलो भयो। यीमध्ये अधिक मसला र पीरोयुक्त तितौरा 'ल्यासे पाउँ' अर्थात् तरुनी तितौराका रूपमा प्रख्यात भयो। करीब ४५ वर्ष पहिलेका कलेज पढ्ने ठिटाठिटीहरूमा 'ल्यासे पाउँ' खान, खुवाउन हात पसार्ने बानी सर्वप्रिय थियो। हुनपनि, अमिलो देखेर मुखमा र्‍याल आएपछि कसले कसलाई नाइँ भन्ने र?

लप्सी उमालेर हातले माडेपछि गुदी छुट्टिन्छ तर बोक्रामा केही अमिलो गुदी बाँकी रहेकै हुन्छ। यस्तो बोक्रा सुकाएपछि तिनलाई चूर्ण (धूलो) बनाउन सजिलो हुन्छ। लप्सीको यस्तो धूलोबाट नेवारी भोजको एक अभिन्न परिकार 'पाउँ क्वा' अर्थात् तातो अमिलो झोल बनाइन्छ। त्यसमा हिंगसहितको खुर्सानी र मसलाले जिब्रो पड्काउने गरीको स्वाद थपिदिन्छन्। हरियो लपेसमा सेतो चिउरा तथा मासु र तरकारीले पेट अघाएपछि 'पाउँ क्वा'को पालो आउँछ। त्यसको लगत्तै साग र दही थपेपछि फलफूलका साथ भोज सिद्धिन्छ। आजभोलिका अन्य भोजभतेर र दैनिक खानामा पनि लप्सीको अचारले विशेष स्थान पाउने गरेको छ तर 'पाउँ क्वा' को भने बेग्लै महत्त्व छ।

लप्सी माडा, क्याण्डी वा तितौरा नेपाली सौगातको रूपमा समुद्रपारका देशहरूमा पठाउने चलन मौलाउँदो छ। विदेशमा बस्ने नेपालीलाई नेपाल सम्झाउने खाद्यवस्तुमा लप्सीका परिकारको आफ्नै स्थान छ। लप्सीको गुदी पौष्टिक छ भन्ने कुरा प्रा. डा. दयानन्द बज्राचार्यको अनुसन्धान तथा कृषि विभागको खाद्य विश्लेषण, २०५० ले समेत प्रमाणित गर्दछ। अमिलोमा लगभग १० प्रतिशत प्रोटिन तथा ८ प्रतिशत गुलियो भाग मौजुद हुनु र प्रत्येक सय ग्राम गुदीमा झण्डै २२० मिलिग्राम क्याल्सियम हुनु यो फलको विशेष गुण पनि हो।

लप्सीको वानस्पतिक स्वभाव पनि उत्तिकै रोचक छ। चाँप, गुराँस, सुन्तला वा अनारजस्ता फूल फुल्ने बिरुवामा पृथक् रूपमा भाले बोट र पोथी बोट भन्ने हुँदैन। फूल फुल्दा प्रत्येक फूलमा पुंकेशर र स्त्रीकेशर साथसाथै हुन्छ र हरेक रूखमा फल लाग्छ तर लप्सीमा त्यस्तो हुँदैन। भाले फूल फुल्ने वृक्षमा पोथी फूल फुल्दैन। त्यसैले रोपिएका बिरुवामध्ये फल लाग्ने र नलाग्ने वृक्ष बराबरी हुन्छन्। फूल नफुलेसम्म भाले र पोथी छुट्याउन सकिन्न। तसर्थ पोथी बिरुवा कलमी गरेका बेर्नाहरूले वृक्षरोपणमा प्राथमिकता पाउने गर्दछन् तर साँढे छाडा छोडेझैँ केही भाले वृक्ष पनि त्यहाँ नभई हुँदैन।

लप्सीको बोट २०/३० मिटरसम्म अग्लो हुन सक्छ। हाम्रो देशमा प्राकृत रूपमा लप्सीको आफ्नै वन छैन। यो वृक्ष सामान्यतया चिलौने र कटुसको वनको आसपासमा फाट्टफुट्ट भेटिन्छ। नेपालका वन–वर्णनहरूमा लप्सीका बारेमा छिटफुट मात्र उल्लेख हुने गरेको छ। यसको आर्थिक महत्त्व दिनप्रतिदिन बढ्दै गएको र सामुदायिक वनका दृष्टिले लाभप्रद भएकाले २९ पहाडी जिल्लाहरूमा यसको उपस्थिति रहेको लप्सी विशेषज्ञ डा. कृष्णचन्द्र पौडेलको अनुभव छ। काठमाडौँ उपत्यकाका पशुपति–गुह्येश्वरी, गोदावरी, फर्पिङ्ग, हात्तीवन, नागार्जुन, इचङ्गु आदि स्थानहरूमा पुराना सप्रेका बोटहरू पाइन्छन्।

परापूर्वकालदेखि वाल्मीकि रामायणमा समेत नेपालको श्लेषमान्तक वन (लप्सीको रूखले भरिएको) को उल्लेख छ। पश्चिमा वनस्पतिशास्त्रले भने लप्सी पत्ता लगाउने श्रेय कलकत्ता वनस्पति उद्यानका तत्कालीन सुपरिटेन्डेन्ट विलियम रोक्सवर्घलाई दिएको छ। जुनबेला नेपाली र अङ्ग्रेजी कम्पनी सरकार आपसमा युद्ध गर्दै थिए र कुँवर बलभद्र सिंह, सरदार अमरसिंह थापा, भक्ति थापा आ–आफ्नो वीरताका गाथा विश्व इतिहासमा अङ्कित गर्दैथिए, त्यही बेला सन् १८१४ मा रोक्सवर्घ लप्सीको चित्राङ्कन गरिरहेका थिए।

उनले नेपाली लप्सीलाई स्पोण्डियास एक्जिलारिस (spondium axillaries) भन्ने नाम सुझाए। नामकरण शुद्धाशुद्धि गर्ने सिलसिलामा आजभोलि ल्याटिन भाषाका आधारमा हाम्रो लप्सीलाई पूरै जिब्रो बटारिने गरी 'कोइरो स्पोण्डियास एक्जिलारिस' (choero spondium axillaries)भन्नुपर्ने हुन्छ। नत्र अरू संसारले बुझ्दैन। लप्सीलाई बाह्य संसारसँग परिचित गराउन नेपाली हुलाक टिकटमालामा पनि यसलाई समावेश गरिएको छ। लप्सी नेपाल बाहेक भारतका सिक्किम र असम, थाइल्याण्ड, दक्षिणी चीन तथा जापानसम्म पाइने वनस्पति हो तर यसको स्वादमा पल्केको जिब्रो भने नेपाली नै हुनुपर्छ।